प्रवास

युरोपमा महजोडीको 'बाहुनबहादुर' र 'नेवारबहादुर' प्रस्तुति

डेनमार्क—मह जोडीको साथमा नर्वेबाट शुरु भएको दुई महिने मह सांगीतिक एवम् साँस्कृतिक युरोप यात्रा युरोपका विभिन्न १९ वटा देशमा थुप्रै कार्यक्रम गर्दै बेल्जियम पुगेर अन्त्य भएको छ। युरोप यात्रा पूरा गरेर मह नेपाल फर्किएका छन्।

महयात्राले युरोपका नेपालीहरुलाई भरपुर मनोरन्जन गराएको छ। महको कार्यक्रमले डेन्मार्कमा गहिरो छाप छोड्न सफल रह्यो।

हुन त महको प्रस्तुति भन्नै नपर्ने, मान्छे तान्न विज्ञापन गर्नै नपर्ने र कार्यक्रम जसले आयोजना गरेपनि सफल हुन्छ भन्नेमा दुईमत नहोला। नेपाली समाजमा उच्च छवि बनाएका हाँस्य ब्यङ्गका महारथिहरू मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको यो पछिल्लो प्रस्तुति पनि सामाजिक राजनैतिक ब्यङ्ग केन्द्रित रह्यो।

कार्यक्रमबारे आयोजकले कुनै अडियो, भिडियो रेकड़िंग नगर्न र कार्यक्रममा प्रस्तुत कुरालाई लिखितम वा मौखिक रुपमा प्रचार प्रसार नगर्न अनुरोध गरिएको थियो। त्यसैले कार्यक्रम भब्यरुपमा सम्पन्न भयो भन्ने समाचार बाहेक अन्य कुरा लेख्न कसैले पनि हिम्मत गरेनन्।

कार्यक्रममा मह जोडीको 'बाहुन बहादुर' र 'नेवार बहादुर'का साथै भारतले गरेको नाकाबन्दीसम्बन्धी गीत लगायतका प्रस्तुतिले नेपालको समसामयिक परिवेशप्रति पेचिलो व्यंग्य प्रहार गर्यो । मह जोडीसँगै नेपालबाट आएका कलाकारहरु यमन श्रेष्ठ, माण्डवी त्रिपाठी, नरेन्द्र कंसाकार, मोहित आचार्य समेतको प्रस्तुति रहेको कार्यक्रममा डेनमार्कबासी नेपालीहरुले भरपुर मनोरञ्जन गरे।

डेनमार्कको प्रस्तुति पश्चात स्थानीय कलाकारले 'खादा पाशा' प्रहशन प्रस्तुत गरेका थिए। 'खादा पाशा' निकै लोकप्रिय रह्यो। आफूले अन्य कार्यक्रममा सम्मान तथा भाषण गर्ने मञ्च पाउने लोभले सबैलाई मञ्चमा बोलाएर कार्यक्रम लम्ब्याउने, उनीहरुलाई शुभकामना दिन लगाउने, कार्यक्रम बोझिलो बनाउने र खादा ओढाउने तथा अरुले तपाइँ भनोस नभनोस आफै मपाई बन्ने विषयलाई प्रहसनमा समेटिएको थियो।

स्थानीय कलाकारलाई प्रहसनका लागि इनास डेनमार्कका महासचिब राजमान तामाङले संयोजन मिलाएका थिए।

सबै नाचगानको कोरियोग्राफी गरेका इनास डेनमार्कका सभापती सन्तकुमार थापा केही नाचमा आफैँ प्रस्तुत भएका थिए। उनले दर्शकबाट प्रशंसा पाए।

प्रकाशित: ४ असार २०७३ ०७:०८ शनिबार

युरोपमा महजोडीको बाहुनबहादुर नेवारबहादुर प्रस्तुति