प्रवास

धुर्मुस सुन्तली फाउन्डेसनलाई युकेबाट २० लाख रुपैयाँ

लन्डन—धुर्मुस सन्तुली फाउन्डेसनलाई हेल्प नेपाल फाउन्डेसनले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। हेल्प नेपालले बुधबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो।

संस्थाका अध्यक्ष दिनेश शर्माले भने, 'भूकम्प गएका बेला पीडितको नाममा संलग्न भएको सहयोग रकम हामीले धुर्मुस सन्तुली फाउन्डेसनलाई उपलब्ध गराउने निर्णय गरेका हौं।' ब्लु अर्किट रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा हेल्प नेपालका अध्यक्ष शर्माले भने 'भूकम्प पीडितलाई सहयोग गर्नका लागि उपयुक्त प्रोजेक्टको खोजीमा थियौं, धुर्मुस सन्तुलीले सञ्चालन गरेको सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत वस्ती निर्माणलाई हेल्प नेपालले उपयुक्त ठहर गर्‍यो र त्यही परियोजनालाई सहयोग गर्ने निर्णय गरेको हो ।'

पत्रकार सम्मेलनमा संस्थाका सचिव रोशी श्रेष्ठले फाउन्डेसनले स्थापनाकालदेखि गरेको कामको फेहरस्त प्रस्तुत गरेकी थिइन्।

करिब ४ करोड भन्दा पनि बढी अनुमानित लागत रहेको गिरान्चौर एकीकृत बस्ती निर्माण परियोजना सम्पन्न गर्न विभिन्न मुलुकमा बस्दै आएका नेपालीहरुले सहयोग पुर्‍याइरहेका छन्। गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि स्थापना भएको धुर्मुस सुन्तली फाउण्डेशनलाई विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुका संघसंस्थाले सहयोग गर्दै अाएका छन्।

प्रकाशित: ४ असार २०७३ ०६:३४ शनिबार

धुर्मुस सुन्तली फाउन्डेसनलाई युकेबाट २० रुपैयाँ