ब्लग

कसले प्लेट जुधाएछ, बाबु?

बस् यत्ति नै रहेछ यो जिन्दगीको भाग र भोग!
काठमाडौँ, सुन्धारास्थित कार्यालयमा महाभुइँचालोको झट्का बेहोर्दा यस्तै लागेको थियो। हल्लाइकै बीचमा त्रस्त हुँदै सडकमा के निस्केको थिएँ, धरहरा गायब थियो। सबैतिर भागाभाग, कोकोहोलो, यत्रतत्र धुलाम्मे! ध्वस्त धरहराबाट जीवनको भीख माग्नेहरूको चित्कार कहालीलाग्दो थियो। मजस्ता धेरैले के गर्ने भन्ने भेउ पाइरहेकै थिएनन्। जे त पर्ला भन्दै ध्वस्त धरहरा खोतल्न कस्सिइहाले केही तन्नेरी।भग्नावशेषबाट घाइते निकाल्दै, अस्पताल कुदाउँदै गर्न थालियो। मैले आफूलाई पनि उद्धार टिममै धकेलेँ। त्यहाँ धेरै देखेँ, धेरै भोगेँ। यसो भनौँ, जीवनलाई यसका सम्पूर्ण भयानक कोणहरूबाट जानेँ। निर्जीव बन्दै गरेका मान्छेहरू! चुपचाप गुहार मागिरहेका आँखाहरू! मृत्युको मुखबाट थुतिएपछि मान्छेले दिने प्रतिक्रियाहरू! जीवनको आशा मारिसकेको मान्छेलाई जोगाउन सक्दाको आत्मसन्तोष पनि।

जिउँदो मान्छे नरहेको निर्क्योलसाथ भग्नावशेषलाई डोजरको जिम्मा लगाइन्छ। मेरा लुगामा घाइते र लासहरूको रगत लतपतिएको थियो। त्यसमाथि धुलो मिसिएर कटकटिएको। चार घण्टापछि भारी मनसहित अफिस फर्किंएँ।

त्यसपछि सुरु हुन्छ मेरो भूकम्पलेखन। र, दुःखको अभिलेखीकरण। जसलाई समाचार पनि भनिन्छ।

मेरो विचलित हालत देखेर विश्वमणि पोखरेललगायत नागरिककर्मी दाइहरू झस्किनुभयो। उद्धार कार्यमा साथ दिएर फर्केको सुन्दा उहाँहरुले उद्धार अनुभूति लेख्न भन्नुभयो। जसोतसो हजार हाराहारी शब्द लेखेर कोठातिर हानिएँ।

कोठाभित्र पस्नै पाइएन। सानो ठाउँमा कोचिएर रात काट्न खोज्दै थिएँ। मौसम पनि धोकेबाज साबित भयो। पानीमा भिज्दै हिलाम्मे बारीमा रात गुजारियो। रात पनि कति लामो हो?

भोलिपल्टदेखि दौडधुप सुरु भइहाल्यो। निलो साइकलमा निलो क्याप लाएर झोला बोकेको मेरो आकृति काठमाडौँ उपत्यका चहार्न थाल्यो। महाभैँचालोले उपत्यकामा पुर्या एको क्षति आँखैले देख्यो। भोलिपल्टदेखि अफिसमै रात काट्न चाहेँ। आर्मी अफिसर्स क्लबस्थित पालमा विस्थापित अफिसमा पनि उस्तै कष्टकर रात बिते। दर्के झरीलाई पालले थेग्न नसकेपछि इमाडोलस्थित प्रेसमा कार्यालय सर्योफ।

लेख्नु के थियो? विपद्को व्याख्या गर्नु थियो, पीडाको बयान गर्नु थियो। केही तथ्यांक हाल्नु थियो, घाइते र मृतकको। र, मन भारी बनाउनु थियो।

वैशाख १२ को भूकम्पपछि शुक्रवारमा '९० साल भूलाउने ७२ साल' शीर्षकमा कभरस्टोरी प्रकाशित भयो। निकै हतारमा प्रकाशित यो अंकमा समाचार, फिचरहरूसँगै मेरो आफ्नै अनुभूति पनि छापियो। धरहराको उद्धार तस्बिरले भोलिपल्टका पत्रपत्रिकाको अघिल्लो पेज भरिएका थिए। जसमा निलो क्यापवाला मेरो आकृति पनि देखिन्थ्यो। त्यही फोटो शुक्रवारको मेरो अनुभूतिमा छापिएको संयोग बिर्सन सक्दिनँ।

भैँचालोपछिको पहिलो हप्ता ९० सालको भैँचालो भोगेका नेपालका एक जिउँदा इतिहास संस्कृतिविद् सत्यमोहन जोशीसँगको भेट मेरा लागि पनि प्रेरक बन्यो। शोकलाई शक्तिमा बदल्ने क्षमता भए नेपाल जापान बन्न समय नलाग्ने बताउँदै उनी भन्दै थिए, 'मैले एउटा अर्को खट्को काटेँ। यस्ता ठूला विपत्बाट बाँच्नु भनेको इतिहास बन्नु हो। अब सबैले सिक्नुपर्छ, बाँच्नुभन्दा ठूलो कुरा केही गर्न सक्नु हो। अरूका लागि केही गर्न सके न जीवन अर्थपूर्ण बन्छ।' ९० सालअघि नै बनेको उनको घर कुशलै थियो। देशव्यापी भएको मानवीय क्षति र सांस्कृतिक सम्पदामा पुगेको ठूलो नोक्सानी उनका लागि निकै अप्रिय थियो।

साइकलमै कुदेर राजधानीको बेहालको रमिते बन्दै बित्यो पहिलो हप्ता। दोस्रो हप्ता झन् धेरै तरंगित थिएँ म। उद्धार टोलीको मनोबल बढाउने र मृत्युबाट पार पाएकाहरूको कथाले आशाको सञ्चार गर्ने योजनासहित रिपोर्टिङको दौडधुप थालियो। २२ घण्टापछि, ३३ घण्टापछि, ७५ घण्टापछि, ८२ घण्टापछि, १ सय २० घण्टापछि! भग्नावशेषभित्र घण्टौँ पुरिएका तथा च्यापिएकाहरूको सफल उद्धार भइरहेका यी खबरहरू पीडामा मलम बनिरहेका थिए। नयाँ जुनी पाएका ती घाइते र उनीहरूका आफन्तहरूसँगको भेट म अहिले पनि सम्भि्करहन्छु।

नयाँबसपार्कस्थित होटलबाट ८२ घण्टापछि उद्धार गरिएका अर्घाखाँचीका ऋषिराम खनाललाई अस्पतालको बेडमै भेटेँ। दुबई उड्ने तयारीमा रहेका उनी ध्वस्त होटलमा पुरिएका थिए। एउटा खुट्टा गुमाउँदा दुःखी थिए। तर, खुशी थिए, फेरि जन्मन पाउँदा। उनको अनुभूति सुन्दा मन कहिले भारी हुन्थ्यो, कहिले हलुका।

उनले बेहोरेको भूकम्प यस्तो थियो, 'पूरै हल्लिन थाल्यो। हल्लिनेबित्तिकै होटल त गर्ल्याम्म भासिइहाल्यो। होहल्ला मच्चियो। म पनि घाँटीका नसा चुँड्ने गरी कराउन थालेँ। मरेँ भन्ठानेँ। झ्याप्प छत खस्यो। तर, कोल्टे परेर बस्यो। देब्रे खुट्टो पिलरले क्याच्च किच्यो। 'पूरै संघर्ष गरिरहेँ। 'बाहिरको आवाज सुन्छु। मलाई कसैले वास्ता नगरेजस्तो लागेर रिस उठ्छ।... बोल्नै नमिल्ने भएपछि घाँटी भिजाउनुपर्ने भयो। पाकेटको रुमाल झिकेर पिसाबले भिजाउँदै मुखमा हाल्न थालेँ। धेरै पटक पिएँ पिसाब। 'बीचबीचमा बेहोस हुन्थेँ या निदाउँथेँ। सपना देख्थेँ। कहिले घर पुगेको, कहिले विदेश। कहिले नर्क त कहिले स्वर्ग। 'बाहिर निकाल्न लागेको पत्तो पाएँ। मरिसकेको मान्छेलाई खाडलबाट बाहिर तानेको जस्तो पो लाग्दै छ। म त ज्युँदै पो छु भन्ने पनि सोच्छु। हलचल गर्नै नसक्ने अवस्थामा बाहिर आउँदा सबैलाई धन्यवाद दिएँ।'

ऋषिरामसँग अहिले पनि मेरो फोन सम्पर्क हुन्छ। सञ्चै भएको खबर सुनाउँदै दुःख पोख्छन्, 'बच्चाबच्ची भुलाउनबाहेक अरू केही गर्न सकेको छैन।' सम्झाउन खोज्छु, 'नआत्तिनुस् दाइ, जीवन भनेकै यही हो।'

यता ट्रमा सेन्टरको हालत पहिलो हप्ताको तुलनामा सुव्यवस्थित बन्दै थियो। स्वतःस्फुर्त डटेका ती स्वयंसेवकहरूलाई सम्मान गर्न सक्ने शब्द मेरो शब्दकोशले दिने सामर्थ्य राख्दैन। यी तन्नेरीहरूको खटनपटन देख्दा लाग्यो, मान्छे चिन्ने संकटकै बेला हो। ट्रमा छेउछाउकै तन्नेरीहरू मिलेर 'आई टू वी' अभियान पनि थालेका थिए। शहरको नयाँ पुस्ता समाजप्रति उत्तरदायी नभएको देख्नेहरूलाई सुदन गुरुङ, विवेकमान सिंह, जुगल तण्डुकारहरू चक्मा खुवाइरहेका थिए। आफैँलाई बिर्सेर आर्थिक, भौतिकलगायत स्रोत खन्याएर उद्धार र राहतमा खनिएका यी तन्नेरी अहिले पनि पुनर्निर्माणको काममा बिनास्वार्थ लागिरहेको सुन्दा अपार हर्ष लाग्छ।

ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूलाई भेट्न चाहेँ। घाइतेलाई ट्रमाकै अवस्थामा डिस्टर्ब गर्नु अमानवीय हर्कत हुँदै हो। उपचारमा दिलोज्यान दिइरहेका चिकित्सकहरूको अनुमतिबमोजिम अवस्था सुधि्रएकाहरूलाई भेटेँ। उनीहरू आफूहरूले नयाँ जुनी पाएकोमा धेरैजसो शब्द धन्यवादमै खर्चिन्थे। धरहराबाट उद्धार गरिएका बाग्लुङका कृष्णप्रसाद शर्मा बेडमै सुस्केरा हालिरहेका भेटिए। उनको हात भाँच्चिएको थियो, टाउकोमा चोट थियो। आफन्तको अनुमति लिएर कुरा गर्न चाहेँ। 'ठीकै छु, कुरा गर्न सक्छु' भनिहाले। कुरा गर्दागर्दै उनी आत्तिन्थे। उनको कुरा सुनेर लाग्यो, त्यो डरलाग्दो क्षणसँग लड्ने मनोबल अझै प्राप्त गरिसकेका रहेनछन्। छिटो कुरा सकेर निस्कन म आत्तिएँ। भन्दै थिए, '...धरहरा हल्लिन थाल्यो। सातौँ तलाबाट एक्कासि दोस्रो तलामा कसरी झरेँ? याद छैन। दाइ उतिबेलै बित्नुभयो। म पनि मरेँ भन्ने सोचेँ। त्यसपछि थाहा छैन। होसमा आउँदा अस्पतालमा थिएँ।' उनी भगवान्सँग जति कृतज्ञ थिए, त्यति नै उद्धार र उपचारमा सघाउनेहरूप्रति आभारी थिए। ध्वस्त धरहराबाट खोतलेर निकालिएका कृष्ण मात्र होइनन्, अहिलेसम्म भेटेका हरेक घाइते नयाँ जुनीलाई अरूका लागि खर्चनुपर्छ भन्नेमा एकमत थिए।

भूकम्पपछिका केही हप्ता एम्बुलेन्स र शववाहनका गुरुजीहरूले शुक्रवारको जीवन संवाद स्तम्भमा आफ्ना अनुभूति साटे। क्षतविक्षत घाइतेहरूलाई अस्पतालसम्म पुर्यााउने र मृत्युसँग हारेर दुनियाँ त्यागिसकेका शरीरहरू गाडीमा राखेर कुदाउनुपर्ने 'दुखियारी' पेशा गरेर जीवन धानिरहेका यी गुरुजीहरू जीवनका नौला आयामहरू शुक्रवारसँग साट्थे।

भक्तपुरतिरको दौडधुप पनि सम्झन्छु। २२ घण्टापछि उद्धार भएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत चर्चा कमाएका पाँचमहिने बालक सोनिस अवाललाई बोकेँ। सोनिसकी आमा र उनकी दिदीको खुशी मैले थोरै भए पनि महसुस गरेँ। दत्तात्रेय टोल नै क्षतविक्षत थियो। छोरालगायत चारजना आफन्त गुमाएकी संगीता अवाल, दुई छोराछोरी गुमाएकी मिना अवाल लगायतका पीडा सहिनसक्नु थियो। घरबाससँगै अन्नपानी गुमाएर बिचल्ली परेका यी परिवारलाई थोरै भए पनि राहत जुटाउन लाग्नु कर्तव्य नै सम्झेँ। फेसबुक स्ट्याटसको सहारामा दाता मिले, गायक हेमन्त शर्मा र बेलायत बस्दै आएकी सुषमा सुब्बा। पाँच परिवारलाई उनीहरूकै मागअनुसार लगभग ३० हजार रुपैयाँ बराबरको राहत सामान बाँडियो। नयाँ जुनी पाएका पाँचमहिने बालकलाई शिक्षामा साथ दिने सुषमाजीले वचन दिनुभयो।

काठमाडौँका दक्षिणकाली, युटिकी, छैमले, चाल्नाखेल र ललितपुर बुङ्मतीतिर चहार्दा धेरै भयानक दृश्यहरूको सामना गरियो। युटिकीको एउटा दृश्यले मुटु नै चोइटाइदियो। विध्वस्त घर खोतल्दै आमा अन्न बटुल्दै थिइन्। पाँच कक्षा पढ्ने छोरो किताब खोज्न असिनपसिन थियो। रुन्चे स्वरमा ऊ भनिरहेको थियो, 'किताब नभेटिए के पढ्ने?'

युटिकीमा मन्दिरअगाडि केही प्रौढ पुरुष बसिरहेका थिए। अन्य नेपालीको जस्तै उनीहरूको गफको 'इपिसेन्टर' पनि भुइँचालो नै थियो। एकजना प्रौढले मलाई भने, 'प्लेट जुधेर भुइँचालो गयो भन्छन्। धर्तीमुनि कत्रा–कत्रा प्लेट हुन्छन्? कसले प्लेट जुधाएछ, बाबु? भारतले कि चीनले?' प्रश्न रोचक थियो। मैले विकिपेडियामा अलि–अलि पढेको आधारमा घिसिपिटी उत्तर दिएँ।

०००

केही दिन बिदा लिएर घर सुर्खेत गएँ। शारीरिक र मानसिक तनावहरू बिसाउनु थियो। तर, सिंगो देश दुखिरहेको बेला त्यसो गर्न कहाँ सम्भव थियो र? गाउँमा खुला दिसामुक्त क्षेत्र घोषणाको कार्यक्रम रहेछ। त्यही मञ्चलाई उपयोग गरेर गाउँले र आफन्तहरूबाट थोरै भए पनि राहत बटुल्न खोजेँ। मेरो मटेला गाउँ पनि दुखिरहेको देशलाई मलम लगाउन चाहन्थ्यो। सात हजार रुपैयाँ जुट्यो। एक हजार थपेर नुवाकोटका नवराज लामिछानेलाई जस्ता पुर्यामइयो, उहीँ पुगेर। अपरिचत मटेला गाउँको अपरिचित मान्छेबाट पाएको जस्ता स्विकार्दै उनी मुस्कुराए। उनको मुस्कान अहिले पनि सम्भि्करहन्छु। त्यो मनै हलुको बनाउने उनको शीतल मुस्कान!

यता, राजधानी पालमय बनिसकेको थियो। गिद्धे नजर लाउनेहरू नाना बहानामा पालमुनि घुसिरहेका थिए। पालहरूले बलात्कार, बेचबिखन, चोरीलगायत गम्भीर घटना सामना गरिरहेका थिए। यही विषय समेटेर शुक्रवारमा 'पालमुनि बास, त्रासैत्रास' कभरस्टोरी लेखियो।

भूकम्पपछिको शुक्रवारको चौथो अंक शिक्षासम्बन्धी थियो। विद्यार्थीहरू चिन्तित थिए, अब कहाँ पढ्ने? विपत्पछिको अवस्थालाई सामान्यीकरण गर्न र पठनपाठन सुचारु गराउन चौतर्फी आयाम बटुल्ने प्रयास थालियो। सरकारी अधिकारीहरू भन्दै थिए, 'विद्यार्थीलाई स्कुलसम्म पुर्याबउनै मुस्किल छ।' शिक्षाविद् केदारभक्त माथेमा, विद्यानाथ कोइराला, तीर्थ खनियाहरू विद्यार्थीलाई त्रासबाट मुक्ति दिने उपाय सिकाउँदै थिए। विद्यानाथ कोइराला भन्दै थिए, 'जागिरे मानसिकताका मास्टरहरू जति ढिला स्कुल खुल्यो, उति मस्ती हुने सोच्छन्। अवस्थालाई सामान्य बनाउन स्कुलको भूमिका कति हुन्छ? थाहै छैन। यतिबेला स्कुल खोलेर किताब रटाउन थालिहाल्ने होइन। रमाइलो स्कुल चलाऔँ। त्यही रमाइलोसँग विषयवस्तु जोड्दै जाने हो।'

राजधानीको केन्द्र वसन्तपुर क्षेत्रको अवस्था भयावह देखिन्थ्यो। यहाँका बासिन्दाको भोगाइ पीडादायी थियो। भत्कने भत्किगए, भत्कन खोजेका तर नभत्केका घरले जीवन त्राहीत्राही थियो। पाल टाँग्ने खाली ठाउँ पाउनै मुस्किल। एउटा पालुमुनि नियालेँ– भाँच्चिएको हात घाँटीमा झुन्डाएकी, एउटा आँखा मात्रै देख्ने सुकमाया श्रेष्ठलाई छोराले कपडा लगाइदिँदै थिए। भत्केको काष्ठमण्डप छेउमा गएर लप्सी, खुर्पा बेच्न थाल्छिन्, सुकमाया। टन्टलापुर घामले टाटिएको मलाई यी आमाले प्रेमसाथ दिएको लप्सी असाध्यै मीठो लाग्यो। ध्वस्त काष्ठमण्डपलाई देखाउँदै उनी भन्दै थिइन्, 'विचरा भगवान् त दुःखमा छन्। मान्छेको त के कुरा भो र?'

धराप बनेका घर देखाउँदै घरबेटीहरू भन्थे, 'राजधानीमा घर छ, सडकमा बास छ।' लगत्तै राज्य व्यवस्था समितिको सभाकक्षामा उपत्यकाभरका सांसद्हरू विज्ञसँग सल्लाह लिँदै गरेको जानकारी पाएँ। शहरी योजनाविद्हरू माधवभक्त माथेमा, सुदर्शन तिवारी, हरिदर्शन श्रेष्ठ लगायतले शहरको पुनर्निर्माणबारे जानेको बताए। माथेमाले आफूले सुर्खेत, वीरेन्द्रनगरको योजना बनाएको अनुभव सुनाउँदै शहरको ऐतिहासिक पहिचान जोगिने गरी गर्न सकिने पुनर्निर्माणबारे दिएको लामो अभिव्यक्तिमा मेरो पनि चाख रह्यो।

साउनको अन्त्यतिर काभ्रेपलाञ्चोकको पहरी बस्ती गइयो। जहाँ 'धुर्मुस–सुन्तली नमुना एकीकृत बस्ती'ले अन्तिम रूप पाउँदै थियो। बस्ती टाढैबाट आँखामा परिहाल्थ्यो। सीताराम कट्टेल र कुञ्जना घिमिरेलगायत हास्यकलाकारहरू जुटेर निर्माण गरेको यो बस्ती साँच्चै नमुना थियो। हरेक दृष्टिले सुव्यवस्थित थियो। हास्यकलाकारको टिमले यसरी हँसाउँदै–हँसाउँदै बस्ती नै बनाइदेलान् भन्ने वीरमान, सानु र श्याम पहरीहरूले कहिले पो सोचेका थिए होलान् र?

०००

राहत र पुनर्निर्माणका काममा चासो कायमै थियो। विदेशबाट प्राप्त सहयोगलाई युवाहरू मिलेर सिन्धुपाल्चोकमा एउटा बस्तीकै पुनर्निर्माण गरेको खबर पाइयो। घर हस्तान्तरण कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भगवान कोइरालालगायतसँग सडकका पहिरो पन्छ्याउँदै भदौको अन्त्यतिर सिपापोखरे पुग्दाको अनुभव विशेष थियो। उत्साहसाथ तन्नेरीहरूले बनाएका आधुनिक घरहरू पाउँदा पीडित गाउँलेको मुहारमा छाएको उज्यालो देख्ने मौका जुर्योथ। बिहेभोज चलिरहेका बेला गएको भूकम्पले डेढ दर्जनको एकै चिहान बनाइदिएको दुःखद विगत बिर्सन खोज्दै थिए उनीहरू। त्यही बिहेका दुलाहा बुद्धिमान तामाङ 'जीवन संयोग रहेछ' भन्दै दुलहीसँगै घर हस्तान्तरण कार्यक्रममा मुस्कुराउँदै थिए। भुइँचालोको पहिलो झट्कासँगै आमा बनेकी यही टोलकी सीता तामाङले आफ्नी छोरीको नामै 'भुइँचाली' राखिदिएकी थिइन्।

कलाकार हरिवंश आचार्यले शुक्रवारसँग भनेको सम्झन्छु, 'नेपालीको जातै अचम्मको!' हो पनि, नेपालीको जातै अनौठो! जति संकट पर्दा पनि नआत्तिने। सामना गर्न सक्ने। पुरानै लयमा फर्कन बेर नलाउने।

२०७२ साल भूकम्पमय रह्यो। कम्पनमय रह्यो। तर, दुःख–कष्ट सामना गर्ने नेपालीको ज्याद्रोपनलाई भने भुइँचालोले हल्लाउन सकेन।

प्रकाशित: १२ वैशाख २०७३ ०१:३२ आइतबार