ह्यारी पदीय रूपमा उच्च व्यक्ति भए पनि व्यक्तिगत रूपमा भने 'मस्त' मान्छे हुन्। नेपाल भ्रमणको समयमा पनि उनको त्यो स्वभाव प्रस्ट देखिन्थ्यो। तर, उनी जति नै रमाइला व्यक्ति भए पनि उनको भ्रमणले राजनीतिक प्रभाव भने अवश्य छोड्नेछ। अर्थात्, नेपालीले बेलायतका लागि रगत बगाएबापत पाएको 'वीर गोर्खाली' को उपाधिलाई उनले नेपाल आएर 'रिन्यू' गरेका छन्। जसरी उनका पूर्वजहरूले यो उपाधि बेला–बेला नेपाल भ्रमण गरेर नवीकरण गर्ने गर्थे।
उनको भ्रमणलाई नेपाल–बेलायत कूटनीतिक सम्बन्धको अवसर भने पनि खासमा यो असमान सुगौली सन्धिको दुई सयौँ वर्षगाँठ हो। सन् १८१६ मा तत्कालीन इस्ट इन्डिया सरकारसँग भएको असमान सुगौली सन्धिलाई कूटनीतिक सम्बन्धको रूपमा लिनु नै नेपाली शासकहरूको भूल थियो। यो त युद्धपछिको एउटा सम्झौता थियो।
सुगौली सन्धिपछि राज्यले नै आधिकारिक रूपमा मानव तस्करी गर्न थाल्यो भन्दा कुनै अतिशयोक्ति हुँदैन। किनभने, त्यसपछि औपचारिक रूपमा नेपालीहरू बेलायती सेनामा भर्ती हुन थाले। सुगौली सन्धि भर्तीको एउटा सम्झौता पनि थियो। तर, १८१५ बाट नै छिटफुट रूपमा नेपालीहरू बेलायती सेनामा भर्ती हुन थालिसकेका थिए। राज्यले नै गाउँ–गाउँमा गल्लावाल पठाएर युवाहरूलाई बेलायतका तर्फबाट लड्न पठायो। करिब दुई लाख युवा प्रथम विश्वयुद्धमा बेलायतको तर्फबाट लडेको पाइन्छ।
राणा शासकले आफ्नो शासन जोगाउन बेलायतीहरूको चाकरीस्वरूप नेपाली युवालाई युद्धमा लड्न पठाए। के यसलाई कूटनीति भनिन्छ? दुई सय वर्ष पुरानो युद्ध कूटनीतिको आधुनिक समयमा समीक्षा हुन जरुरी छैन? तर, नेपाली शासकहरूले कहिल्यै पनि यसतर्फ ध्यान दिएनन्। उता, 'गोर्खाली बहादुर' को तक्मा भिराएर बेलायती साम्राज्यले नेपाली युवालाई युद्धका मोर्चाहरूमा आज पर्यन्त होमिरहेको छ।
दोस्रो विश्वयुद्धमा पनि नेपालीहरूले त्यही नियति बेहोर्नुपर्योो। करिब २ लाख ५० हजार गोर्खाहरू युद्धमा सहभागी भए। प्रथम र दोस्रो विश्वयुद्धमा गोर्खालीहरूको यति ठूलो संख्या सहभागी भयो कि त्यो अहिलेको नेपाली सेनाको संख्या भन्दा पनि धेरै छ। यी युद्धमा झण्डै ६० हजार गोर्खाले ज्यान गुमाएका छन्। तर, बेलायत भने यो तथ्यलाई मान्न अझै तयार छैन। उत्तिकै संख्यामा घाइते र बेपत्ता भएको पाइन्छ। अझै पनि बेपत्ता लाहुरेको प्रतीक्षामा रहेका परिवार भेट्न सकिन्छ।
यसले के देखाउँछ भने आफूले लडाएका नेपालीहरूको खोजी, उपचार र राहतमा बेलायत सरकार जहिले पनि उदासीन रह्यो। तर, बेलायतको यस्तो कृतघ्नतालाई पनि नेपाली शासकहरूले मित्रता ठानिरहे। र, यसरी बेलायत बनिरह्यो नेपालको असल मित्र।
कुनै सार्वभौम राष्ट्रका नागरिक विदेशीका लागि लड्ने कुरा चानचुने होइन। तर, हामीले यसलाई ब्रिटिसहरूले भिराएको 'बहादुरीको तक्मा'ले छोपिरह्यौँ। ब्रिटिस महारानीले दिने भिक्टोरिया क्रसमा रमाइरह्यौँ।
१३ वटा भिक्टोरिया क्रस बेलायतले दिइरहँदा तिनै युद्धबाट 'सुकुम्वासी' बनेर फर्केका गोर्खाहरूबारे, सिउँदो पुछिएर बसेकाहरू र युद्धमा बेपत्ता छोराको बाटो हेर्दै बसेका आमाबाउहरूबारे न बेलायतले सोच्यो, न नेपाल सरकारले बुझ्न जरुरी ठान्यो।
नेपालका शाहवंशीय राजाहरू र राणा शासक बेलायका प्रिय थिए। बेला–बेला बेलायती राजपरिवारलाई उनीहरूले गरेका खातिरदारीले यो पुष्टि हुन्छ। राजा महेन्द्रले महारानी एलिजावेथलाई गरेको स्वागत होस् वा जंगबहादुरले १८५७ मा इस्ट इन्डिया कम्पनी सरकारका विरुद्ध भएको सिपाही विद्रोह दबाउन गरेको सैनिक सहयोग होस्, यी सबै नेपाली शासकले बेलायतलाई गरेको चाकरी थिए।
खास गरी बेलायती सेनामा नेपालका जनजाति समुदायका युवालाई भर्तीमा लिइन्छ। गुरुङ, मगर, राई, लिम्बूहरू गोर्खा सैनिकमा भर्ती लिने पुरानै चलन हो। र, जनजाति समुदायमा अझै पनि एकपटक 'लाहुरे देखाउने' भन्ने चलन छ। किन जनजातिहरू मात्रै रोजिए त भन्नेमा पनि एउटा कुटिल राजनीति तत्कालीन शासकहरूले अपनाएका छन्। तत्कालीन समयमा आफ्नो राज्य गुम्दा जनजातिहरू असन्तुष्ट थिए। त्यो असन्तुष्टि जुनसुकै बेला विद्रोहमा परिणत हुन सक्थ्यो। विद्रोहको खतरा पन्छाउन पनि जनजातिका युवालाई शासकहरूले त्यता पठाएको हामी सहज अनुमान गर्न सक्छौँ।
नेपाल र बेलायतबीच उच्चस्तरका भ्रमण बेला–बेला हुने गरेका छन्। सबैभन्दा पहिला श्री ३ महाराज जंगबहादुर राणाले सन् १८५० मा बेलायत भ्रमण गरेका थिए। २५ जनाको टोलीसहित उनी बेलायत पुगेका थिए। यो नै नेपालको तर्फबाट भएको पहिलो बेलायत भ्रमण थियो।
यस्तै बेलायतका तर्फबाट नेपाल आउने सम्राट जर्ज पञ्चम पहिलो उच्च व्यक्ति थिए। तर, उनी काठमाडौँ आएका थिएनन्। उनले तराईका जंगलमा शिकार खेलेर फर्केको इतिहासमा पाइन्छ।
ह्यारीकी हजुरआमा महारानी एलिजाबेथले नेपालको दुईपटक भ्रमण गरेकी छिन्। उनले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेकी थिइन्। युवराज चार्ल्सले २०३९ सालमा नेपाल भ्रमण गरेका थिए। यस्तै, युवराज फिलिपले समेत नेपाल भ्रमण गरेका थिए। फिलिप राजकुमार ह्यारीका हजुरबुबा हुन् भने चार्ल्स ह्यारीका पिता हुन्। सन् १९६१ को नेपाल भ्रमण समयमा महारानी एलिजाबेथले नेपालमा कालो झण्डाको समेत सामना गर्नुपरेको थियो। राजा महेन्›ले शासन आफ्नो हातमा लिएको समय नेपाल आएकी एलिजाबेथलाई नेपाली कांग्रेसका कार्यकर्ता शैलजा आचार्यहरूले कालो झण्डा देखाएका थिए। यसअघि र पछिका कुनै पनि भ्रमणमा बेलायती राजपरिवारले नेपालमा यस खालको विरोध झेल्नुपरेको छैन।
ह्यारीका पिता चार्ल्सले नेपाल भ्रमण समयमा पोखरामा ट्रेकिङसमेत गरेका थिए। उनी हिँडेको बाटोलाई अहिले 'रोयल ट्रेक' को नामले चिनिन्छ। चार्ल्सले कास्कीको कालिकादेखि माझठाना, बेगनास, हंसपुर हुँदै रूपाकोटसम्म पैदलयात्रा गरेका थिए। ह्यारी पनि पिताको पदचाप पछ्याउँदै नेपाल आइपुगेका छन्। उनको यो व्यक्तिगत भ्रमण मात्र होइन, 'रोयल राजनीति' पनि हो। यस राजनीतिको मूल नियत बेलायती सेनामा गोर्खालीहरू अझै बफादारीका साथ लडून् भन्ने हो। कवि भूपी शेरचनले यसै भनेका होइनन्, 'जहाँ स्वतन्त्र आमाहरूले छोरा होइन, लाहुरे मात्रै जन्माउँछन्।' बेलायती साम्राज्य रक्षाका लागि ज्यान दिने गोर्खाहरूप्रति राजकुमार ह्यारीको लगाव र प्रेम प्रसिद्ध नै छ। तर, बेलायती सेनाभित्र उनीहरूले बेहोरेका अन्याय र विभेदप्रति भने उनले आजसम्म केही बोलेका छैनन्। सम्भवतः बोल्ने पनि छैनन्। उनको 'रोयल राजनीति'को एजेन्डा त्यो हुँदा पनि होइन।
प्रकाशित: १० चैत्र २०७२ २२:०२ बुधबार