ब्लग

देउवाले पन्छाउनु पर्ने तगारा

काठमाडाैं-नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले १३ औँ महाधिवेशनमा 'मेरो प्रतिबद्धता' शीर्षकमा वितरण गरेको प्रतिबद्धता–पत्रको दोस्रो बुँदामा 'नेताकोमा होइन जनतामा जाऊँ' अभियान सञ्चालन गर्ने उल्लेख गरेका छन्।

तर, उनी पार्टी सभापति निर्वाचित भएपछि मंगलवार झिसमिसे नहुँदैदेखि बुधवार रातिसम्म उनको बूढानीलकण्ठस्थित निवासमा देखिएको दृश्य हेर्दा उनलाई त्यो अभियान सञ्चालन गर्न उनकै कार्यकर्ता एवं शुभेच्छुकले बाटो छेक्छन् कि भन्ने शंका व्यक्त गर्ने प्रशस्त आधार दिएको छ । देउवा निवासको पटाङ्गिनीमा नेता, कार्यकर्ता एवं शुभेच्छुकले दिनभर लाइन बसेर उनलाई बधाइ तथा शुभकामना दिएका थिए । कुर्सीमा हात जोडेर बसेका देउवा माला, फूल र खादामा पुरिएका थिए ।

आफ्ना नेताप्रति कार्यकर्ताले सम्मानभाव व्यक्त गर्नुलाई सकारात्मक रूपमा लिनुपर्छ । तर, कांग्रेसभित्र शीर्ष नेतालाई मात्रै अति महŒव दिने र नेताले जसलाई काखी च्याप्छन्, ऊ नै पार्टीमा स्थापित हुने अलोकतान्त्रिक पद्धति हाबी भएकाले नै देउवाले प्रतिबद्धता–पत्रमा 'नेताकोमा होइन जनतामा जाऊँ' भन्ने अभियान सुरु गर्ने बताएका हुन् । तर, देउवा निवासमा दुई दिनमा देखिएका दृश्य आगामी दिनमा पातला हुँदै गएनन् भने उनले आफ्नो प्रतिबद्धता–पत्रमा उल्लेख गरेको महत्वपूर्ण बुँदा नै कार्यान्वयन गर्न सक्ने छैनन् । सभापति देउवाले नेतामुखी कांग्रेसलाई नीतिमुखी र जनतासँग टाढिने एवं नेतासँग टाँसिने कार्यकर्तालाई जनताको घरदैलोमा पठाउने काम गर्न सके भनेमात्र उनको यात्रा सफलतातर्फ अघि बढ्ने छ ।

पुरानो एवं ठूलो पार्टीको महाधिवेशन भएकै कारणले मात्र कांग्रेसको यति धेरै चर्चा भएको होइन । २०५३ सालपछि निरन्तर कोइराला परिवारमा रहेको कांग्रेस नेतृत्व १९ वर्षपछि कोइराला परिवार बाहिर गएकाले पनि यो दलप्रति कांग्रेस इतरकाले चाख दिइरहेका छन् । कांग्रेसभित्र झाँगिएको वंशवादलाई देउवा विजयले एक 'स्टेप' तल पार्न सकेकै कारण आज उनी चर्चाको शिखरमा छन् । बीपी कोइरालाको निकट रहेर आफ्नो राजनीतिक करिअर सुरु गरेका देउवाले ०४६ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको पनि साथ पाएका थिए । तर, उनले कोइराला क्याम्पका 'एस म्यान'का रूपमा मात्र आफूलाई सीमित गरेनन् । उनी कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको 'लिगेसी' लाई अघि बढाउने पात्रका रूपमा कांग्रेसमा स्थापित भए ।

कोइराला परिवारको विरासतविरुद्ध निरन्तर टक्कर दिँदै आएका देउवाले पूर्वको औद्योगिक नगर विराटनगरमा जरा गाडेर बसेको कांग्रेस राजनीतिको केन्द्रलाई सुदूरपश्चिमको डडेलधुराको असिग्राम गाउँमा पु¥याउन सफल भएका छन् । कांग्रेस स्थापनादेखि संस्थापनको दबदबामा रहेको पार्टी नेतृत्व गैरसंस्थापनमा 'सिफ्ट' हुनु कांग्रेस रूपान्तरणको महत्वपूर्ण खुड्किलो हो । तर, पार्टी सभापतिमा कोइराला थरको विस्थापनले मात्रै कांग्रेस रूपान्तरण भएको मान्न सकिन्न ।

कोइराला थरमा केन्द्रित रहेको कांग्रेसलाई देउवामा सार्दैमा मात्रै उनको दायित्व पूरा हुँदैन । देउवाले आफ्नो कार्यकालमा पार्टीलाई संस्थागत ढंगले सञ्चालन गर्न सके र बूढानीलकण्ठ निवासमा पाइला नटेकेका कार्यकर्ताले पनि कांग्रेस हुनुमा गर्व गर्न सकेभने मात्र उनी सफल सभापतिमा दर्ज हुनेछन् । अन्यथा, उनी एउटा शक्ति केन्द्र भत्काएर अर्को शक्तिकेन्द्र बनाउने, एउटा गुटलाई निस्तेज बनाएर अर्काे गुटलाई तेजस्वी बनाउने पात्रका रूपमा मात्र चित्रित हुनेछन् । देउवालाई समयले अभूतपूर्व अवसर दिएको छ– वंश र व्यक्तिकेन्द्रित पार्टीलाई जनतामाझ 'पपुलर' बनाउन सक्ने अवसर !

देउवा पहिलोपटक प्रधानमन्त्री भएको २० वर्ष पुगिसकेको छ । यो अवधिमा लोकतन्त्रको अब्बल अभ्यास गर्ने अमेरिकामा दुई राष्ट्रपतिले दुई÷दुई कार्यकाल पूरा गर्दै छन् । हामी भने अझै पनि शेरबहादुर देउवा पार्टी सभापति हुँदा उत्साही नजरले नियालिरहेका छौँ । यसबाटै हामी कस्तो लोकतान्त्रिक प्रक्रियाको अभ्यासमा छौँ भन्ने प्रस्ट हुन्छ । पार्टीभित्र नेतृत्व विकासका लागि अपनाउनुपर्ने न्यूनतम लोकतान्त्रिक पद्धतिलाई निस्तेज पारिएकै कारण देउवाजस्ता नेतालाई पार्टी सभापतिमा पुग्न ७० वर्षको हुनु परेको हो । अमेरिकामा ४७ वर्षीय बारका ओबामा राष्ट्रपति हुन सक्ने, तर हामी कहाँ ४४ वर्षका विश्वप्रकाश शर्माहरू पार्टीको केन्द्र्रीय सदस्यका लागि पनि शीर्ष 'दाइ'हरूकै पछि लाग्नुपर्ने लाजमर्दो अवस्था छ ।

सभापति देउवाले विगतमात्र हेरेर काम गरे भने उनको आगमी यात्रा धेरै कठिन हुने निश्चित छ । उनी बदलिएको राजनीतिक पृष्ठभूमिमा पार्टीको नेतृत्वमा पुगेका छन् । पार्टीभित्रको विभाजित मानसिकतालाई अन्त्य गर्ने र नेता तथा कार्यकर्ताको मूल्यांकन योगदान, सक्रियता एवं लोकप्रियताका आधारमा संस्थागत ढंगले गर्ने उनको प्रतिबद्धता व्यवहारमा लागू हुन सक्यो भने कांग्रेसभित्र थेग्रिएर रहेको विकृति बिस्तारै सफा हुँदै जानेछ । देउवा आफ्ना प्रशंसकहरूबाट घेरिएर बस्नेभन्दा पनि आलोचकका टिप्पणी सुन्नतिर लाग्नुपर्छ ।

विगतमा उनले गरेका केही अलोकप्रिय कामका नजिर अघि सार्दै अब पनि उनले त्यही गर्ने त होलान् नि भन्ने अनुमानलाई विफल तुल्याउने गरी काम गर्न सके भनेमात्र उनी सफल सभापति हुनेछन् । यसका लागि उनले पार्टी विधान 'फलो' गर्ने र महाधिवेशनमा आफूले अघि सारेका प्रतिबद्धता लागू गर्ने इमानदार प्रयास गरेभने उनी कांग्रेसभित्र सर्वस्वीकार्य नेताका रूपमा स्थापित हुनेछन् ।

यद्यपि, देउवा पार्टीभित्र असल सभापति भएर मात्र सुख पाउने अवस्थामा छैनन् । संसद्को ठूलो दल, जो प्रमुख प्रतिपक्षको भूमिकामा छ, उसले जनताको पक्षमा गर्नुपर्ने थुप्रै काम असरल्ल छन् । गत वैशाखमा गएको विनाशकारी महाभूकम्प, छिमेकी भारतले लगाएको नाकाबन्दी, जारी भएको संविधानको कार्यान्वयन, तराई–मधेशको असन्तुष्टिलगायत थुप्रै विषयमा पार्टीले लिने नीतिका बारेमा उनले फटाफटा निर्णय गर्नुपर्ने अवस्था छ । सरकार जनताका जल्दाबल्दा विषयमा अमानवीय ढंगले निरपेक्ष बसिरहेका बेला प्रतिपक्ष दलको तर्फबाट गर्नुपर्ने खबरदारीमा देउवा खरो ढंगले प्रस्तुत हुनुपर्ने अवस्था छ । सत्तारूढ घटक एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रिय सरकारकको कुरा उठाइरहेका छन् ।

उनले देउवासँग राष्ट्रिय सरकार गठनका लागि कुरा गर्ने बताइरहेका छन् । देउवाको कार्यकाल राष्ट्रिय सरकार गठनको चक्करबाट सुरु भयो भने उनले पार्टी शुद्धीकरणका लागि काम गर्ने समय पाउने छैनन् । उनी फेरि सत्ताकै खेलाडीका रूपमा चित्रित हुनेछन् । यो उनको पार्टी सभापतिको 'करिअरका' लागि घातक साबित हुन सक्छ । देउवाले प्रचण्डको राष्ट्रिय सरकार गठनको प्रस्तावलाई 'ठूला दल मिलेर लोकतन्त्रमा सरकार चलाउनु हुँदैन, यसले स्वेच्छाचारिता जन्माउँछ' भनेर प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् । देउवाको यो प्रतिक्रिया निकै परिपक्व देखिन्छ । ४७ वर्षमा गृहमन्त्री हुँदा र ५२ वर्षमा प्रधानमन्त्री हुँदाभन्दा देउवा अहिले उमेरसँगै राजनीतिमा पनि परिपक्व हुँदै गएको छनक उनले देखाएका छन् । उनको राजनीतिक परिपक्वता व्यवहारमा कसरी देखिन्छ त्यही आधारमा उनले जस वा अपजस पाउने छन् ।

पार्टीमा संस्थापन तहमा उक्लिएका देउवाले कोइराला परिवारभित्रका र त्यो परिवारलाई पछ्याएर राजनीति गरिरहेका आफ्ना सहकर्मीहरूलाई सन्तुलित ढंगले व्यवस्थापन गर्नुपर्ने चुनौती पनि छ । पार्टीको नेतृत्वमा पुग्न वंश परम्पराबाटै आउनुपर्छ भन्ने जरुरी छैन भन्ने तथ्य उनले स्थापित गरेका छन्, तर यसलाई संस्थागत गर्न गर्नुपर्ने धेरै काम बाँकी छन् । अघिल्लो सभापतिले जस्तो पार्टीका विभागहरू गठन नै नगर्ने, कार्यसमितिलाई पूर्णता नै नदिने, भ्रातृ तथा शुभेच्छुक संगठनको निर्वाचन नै नगर्ने गल्ती देउवाले पक्कै दोहो¥याउने छैनन् । उनले परिवर्तित सन्र्दभलाई केन्द्रमा राखेर १० वा २० वर्षपछिको कांग्रेस कस्तो बनाउने भन्ने कल्पना गर्ने र त्यही बमोजिम योजना बनाएर काम गर्न सकेभने मात्र उनी सफल सभापति हुन सक्छन् ।

कांग्रेसले महाधिवेशनपछि सम्पूर्ण ध्यान संविधान कार्यान्वयन र मुलुकको आर्थिक विकासमा लगाउने प्रतिबद्धता व्यक्त गरेको छ । संविधान संशोधनमार्फत सीमांकनलगायत विषय सम्बोधन गर्न अग्रसरता लिने, मधेशको मूल समस्या आर्थिक, सामाजिक सवाल भएकाले त्यहाँका जनताको जीवनमा सुधार र प्रगति ल्याउन अग्रसर हुनेलगायत नीति तथा कार्यक्रम अघि सारेको कांग्रेसभित्र परिवर्तनविरोधीहरू पनि उत्तिकै छन् । महामन्त्रीमा विजयी भएका बीपी पुत्र शशांक कोइराला यो संविधानलाई मान्ने कि नमान्नेमा कांग्रेसले बहस गर्नुपर्ने काइते तर्क गरिरहेका छन् ।

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता संविधानले संस्थागत गरेका परिवर्तनका एजेन्डालाई उल्टाउनुपर्ने जस्ता मत राख्ने महामन्त्री र हिन्दू राज्य हुनुपर्छ भन्दै सडकमा ¥याली गर्ने खुमबहादुर खड्काहरूको व्यवस्थापन देउवाले कसरी गर्छन् ? त्यही आधारमा उनको कार्यकाल कति सहज र कति जोमिखपूर्ण हुन्छ ? निक्र्योल गर्न सकिन्छ । आफ्नो लागि 'मास्क' लगाएर मत मागेका सहयोगी खड्कालाई पार्टीले आत्मसात् गरेको परिवर्तनका एजेन्डामा देउवाले पक्कै पनि सहमत गराउलान् । पार्टीको कमान्ड सभापतिमै हुने भएकाले उनले संविधानले संस्थागत गरेको र पार्टीले स्वीकार गरेका परिवर्तनका एजेन्डाविरुद्ध लागिरहने छुट महामन्त्री कोइरालालाई दिने छैनन् । सभापति देउवाले यी काम गरेर पार्टीलाई संस्थागत ढंगले अघि बढाउने हिम्मत गरे भने उनी सफल ठहरिने छन् ।

प्रकाशित: २७ फाल्गुन २०७२ ००:०२ बिहीबार