ब्लग

गगनको लडाइ उनकै दिग्गजसँग

कांग्रेस महाअधिवेशनको माहोल सभापतिको पद भन्दापनि महामन्त्री को होला ? भन्ने विषयले स्वभाविक रुपमा धेरै चर्चा पाएको छ। आम कार्यकर्ता, शुभेच्छुक तथा महाधिवेशन प्रतिनिधिहरुको चासोको केन्द्र पनि बनेको छ। यो महाधिवेशनमा विभिन्न दृष्टिकोणबाट प्रतिस्पर्धा छ। पहिलो नम्बरमा नेपाली कांग्रेसको दोस्रो पुस्ता (Old guard) र तेस्रो पुस्ता (New Generation) बीचको प्रतिस्पर्धा। दोस्रो नम्बरमा पैतृक रगतसँगको नाता र पैतृक कर्मसँगको नाताबीच प्रतियोगिता, तेस्रोमा नातावादको संस्कार र त्यस्तो संस्कारलाई भत्काउनु पर्छ भन्ने संघर्षको प्रतिस्पर्धा अनि चौथोमा स्थायी शक्तिका गुटबन्दी-समूह तथा शक्तिलाई अनौंठो ढंगबाट परिवर्तन गरिनेबीच प्रतिस्पर्धा हुँदैछ।१६ वर्षको उमेरमा जब म काठमाडौं प्रवेश गरेँ, तबदेखि राजनीतिले हामीलाई सुख भन्दा धेरै दुःख दिएको अनुभव छ। यो मेरो व्यक्तिगत महशुस हो। जे जति भए, हामीले देख्यौं र भोग्यौं । यी सबै एउटा युगान्तकारी परिवर्तनको लागि थियो। त्यो लोकतन्त्रलाई बलियो बनाउन खर्चिएको समय थियो भनेर कसैले भन्दा चित्त त बुझाइएला तर सधैं त्यहीँ पुरानो कथा र व्यथा भरिएको रङ्गचित्रको मूकदर्शक मात्र भएर बस्न सकिन्न।

म लगायत मेरा पुस्ताका धैरै नेपालीहरु जो साधारण परिवारबाट हुर्केर आफ्नो जीवनको अधिकांश उर्जाशील समय देशको असहज राजनीतिक वातावरणभित्र गुज्रिएको भन्ने कुरासँग मलाई खासै गुनासो छैन । तर मेरो दुई महिनाको छोरीले अबको बीस वर्षपछि पनि हामीले जस्तै शास्ती खेप्नु पर्ला कि भन्ने कुरालाई लिएर म चिन्तित भने अवश्य छु। उनको पुस्तामा अमेरिका वा बेलायत पढ्ने अवसर पाउन न साह्रै गर्व गर्नुपर्ने बनोस् न त बाध्यात्मक परिस्थिति बनोस्। किनकि त्यो सुविधा नेपालमा नै हुनेछ। यो म एउटा पिता भएर देखेको सपना हो। म एउटा साधारण व्यक्तिको यो ठूलो सपना भविष्यको राजनीतिक वातावरणले कता लैजान्छ भन्ने विषयसँग मतलब राख्छ र यी सपनाहरु त्यसमा नै आश्रित हुन्छन्। जसरी हाम्रा नेताहरु समय–समयमा परिवर्तन र विकासको कुराहरु हावाको भरमा फुक्ने गर्छन्, मलाई लाग्दैन यो यत्ति चाँडो सम्भव र सजिलो छ । किनभने, अधिकांश जो व्यक्तिहरु परिवर्तनका कुरा गर्छन्, त्यस्ता नेताहरु नफेरुञ्जेल परिवर्तन सम्भव छैन । यो पक्का हो ।

हाम्रो संविधानले व्यवस्था गरेअनुसार राजनीतिक मैदानबाट नेता जन्माउने अवसर आम जनतालाई भन्दा पनि नेतागणहरुलाई नै दिएको छ। जुन अवस्थामा प्रजातन्त्रको नाममा शक्तिशाली 'elite democracy', 'exclusive democracy', 'legacy democracy', 'capitalist democracy', 'aloof democracy' र 'undergrounded democracy' को विकास र परिवर्तन हुने सम्भावना बढ्दो हुन्छ। यही प्रवृत्ति पार्टीहरुको आन्तरिक लोकतान्त्रिक अभ्यासमा पनि हुँदो रहेछ। जहाँ नेताचाँहि आम जनता र कार्यकर्ताले होइन, विभिन्न तबर–तरिकाबाट चुनिएर आउने हामी जस्ता प्रतिनिधिहरुले बनाउने गर्छैं। जो आफ्नो अमूल्य मत उनै पुरानो शक्ति केन्द्रलाई नै बुझाउने गर्छौं। यो कस्तो सम्बन्ध रहेछ भने नेता टिक्दा रहेछन् बफादार कार्यकर्ताले गर्दा र कार्यकर्ता टिक्दो रहेछ बफादार नेताहरुले गर्दा। जसका कारण एक किसिमका राजनीतिक कोरियोग्राफी संस्कारको विकास भएको रहेछ । त्यसो हुँदा, सबै कुरा बिग्रिहाल्छ भनी म भन्न नसकुँला तर त्यस्तो प्रवृत्तिले दूरदृष्टि र विचार नभएको तर भोट मात्र भएकाहरुले अन्तर–पार्टी राजनीति हुँदै राष्ट्रिय राजनीतिसम्म आक्रमण गर्न सक्ने क्षमता राख्दो रहेछ। यस्तो दुषित सम्बन्धमा आफ्ना बफादार मतदाताहरुलाई संरक्षण गर्ने पहिलो लक्ष्य हुँदो रहेछ यानकि मतदाताहरुलाई सेक्युलराइज गर्ने।

यी र यस्ता थुप्रै राजनैतिक संस्कृति र खिचातानीका वीचमा असल विचार र सोचाई बोकेकाहरुलाई लामो समयसम्म बन्धी बनाइएको रहेछ। अब त्यसविरुद्घमा गर्न सकिने एउटै मात्र उपाय भनेको प्रतिनिधि बनेर नेतृत्व दिन सक्नेखालको आसलाग्दो मान्छेहरुलाई शक्तिको केन्द्रमा पु¥याउन र उनको शक्तिको स्रोत बनी यस्तै महाधिवेशनहरुमा एक मत खसाली साथ दिनुपर्ने हुन्छ । सकिन्छ भने त्यस्तै एक मत बोकेकाहरुलाई पनि कम्तिमा मनाउने । र आज कांग्रेसको यो महाधिवेशनमा त्यो अवसर प्राप्त गरी एक मत खसाल्न सक्ने हैसियतका साथ यो लेखमार्फत् विचार आदानप्रदान गर्दछु। तसर्थ, यो तेह्रौं महाधिवेशनमा एक प्रतिनिधि भई परिवर्तनको पक्षमा एक मत खसाल्ने अवसर जो मिलेको छ, त्यसको लागि म मेरो क्षेत्रको सम्पूर्ण अग्रज र मित्रहरुप्रति कृतज्ञा प्रकट गर्न चाहन्छु।

महाधिवेशनको लागि देशका विभिन्न जिल्ला÷क्षेत्र÷गाउँ र विदेशका जनसम्पर्कबाट आएका महाधिवेशन प्रतिनिधिहरु केही अलमल देखिन्छ कि कसलाई आफ्नो अमूल्य मत हाल्ने ? अरुको कुरा सुन्ने कि आफ्नो अन्तरात्मालाई सोध्ने ...? देखेको कुरा पत्याउने कि नदेखेको कुराप्रति विश्वास गर्ने...? परिवर्तन कसको पक्षमा छ र को परिवर्तनको पक्षमा...? जसरी उम्मेदवारलाई चुनाव जित्न कठिन देखिन्छ, त्यत्तिकै कठिन मत खसाल्न अत्यन्तै दुर्लभ र सुनौंलो अवसर हो । आफ्नो बुद्धि र विवेकलाई प्रयोग गर्न...कसलाई मत हाल्ने भन्ने सवालमा खुलेर खासै कोही पनि बोलेको देखिन्न । किनभने आफूले सोचेको नजिकको विपरीत भइदिँदा त्यो आफ्नो राजनीतिलाई घातक हुन सक्छ ।

मैले पनि धेरै विचार र सोचबुझ गरेँ । मेरो द्विविधा भनेको मेरो एक व्यक्तिप्रतिको आस्था र मैले आस्था राखेको एक पार्टीको विचार÷आस्था हो । परिवर्तनको पक्षमा लड्दै आएका, बोल्दै आएका र सायद नेपाली कांग्रेसभित्रको अहिलेको पुस्ताको सबैभन्दा ख्याती कमाएका गगन थापा या आधुनिक नेपालको (Mastermind) कांग्रेसको महामानव वि.पि. पुत्र शशांक कोईराला...। यी दुबै व्यक्तिहरु धैरै धुरुन्धर र आ–आफ्नो तरिकाबाट बलिया उम्मेदवार हुन्। जोसँग मैले प्रत्यक्ष भेटी विभिन्न विषयमा कुराकानी गर्ने मौंका पाएको छु। यी दुबैका बारेमा विभिन्नखाले आलोचना पनि भइरहेका छन्। गगनलाई घैंटेसँग जोडेर उठाउने विषयदेखि लिएर राजनैतिक धैर्यता नभएको अर्को उपगुट निर्माणको एक कर्ता भएको आरोप छ। त्यस्तै, वि.पि. पुत्रलाई उनको राजनीतिक क्षमतामाथि प्रश्न उठाउने विषयदेखि उनी गणतन्त्र पछिको परिवर्तनको पक्षमा इमान्दार भएर उभिन्छन् कि उभिदैनन् भन्ने शङ्का गरिएको अवस्था छ । गगनको पक्षमा उनले ०६२/०६३ को जनआन्दोलन यता कमाएको व्यापक समर्थकहरु छन् जसबाट उनी एक राजनैतिक व्यक्तिको छवि मात्र नभई सेलेबे्रटी नै बन्न सकेका छन् भने वि.पि पुत्र शंशाङ्कका लागि उनको पिता र कोइराला परिवारको नाम नै काफी छ । सँग–सँगै नेपालप्रतिको अहम् चिन्ता पनि । मैले यसरी लेखिरहँदा देउवा पक्ष (प्यानल)बाट उम्मेदवारी दिएका अर्जुननरसिंह के.सी मैदानमा छैनन् भनेर नजरअन्दाज गरेको भने होइन, उनी आफ्नो ठाउँमा एकदम कुशल, क्षमतावान् र असल राजनीतिज्ञ हुन् । उनको जीत र हार कम्तीमा म जस्ताका लागि त्यत्ति चासो र हौसलाको विषय बन्दैन । उनको विषयमा मेरो विचार यति मात्र हो कि यो मार्ग उनले धैरै अगाडि गर्नुपथ्र्यो । अहिले देखिएको मार्ग कता कता गलत समयमा भएको महशुष हुन्छ । सबभन्दा महत्वपूर्ण कुरा गगन र शासंक कोईराला मैदानमा हुँदा उनको उम्मेदवारीले न त नयाँपनको कुनै आशा दिन्छ न त नयाँ पीढि हस्तान्तरणको नै ।

मेरो आफ्नो विश्लेषण यस्तो छ, जुन आम नेपालीको भन्दा त्यत्ति फरक नहोला । राजनीतिको यो विन्दुमा आइपुग्दा यो एउटा फिल्मी पर्दा वा स्क्रिन जस्तै हुँदो रहेछ । जनता आफ्नो हिरो आफैं चाहन्छ, नकि कसैले छानी दियोस् । कुनै पनि हिरोलाई लामो समयसम्म मनपराउनका लागि हामी उनी कुन परिवारका हुन् भनेर चिन्नुभन्दा पनि उनले फिल्म-मञ्च पाउँदा अभिनय कस्तो गरे÷गर्लान् भन्नेमा हुन्छ । हो, कुनै नामी चलचित्रकर्मीको छोरा वा छोरी हुँदा स्थापित हुन सजिलो होला, जस्तै बलिउडको अभिषेक बच्चन तर स्थायित्व दिन भने आफैंले प्रमाणित गर्नुपर्छ। सायद शशांक कोइराला र गगन थापा हाम्रा लागि 'रिल लाइफ'मा झैं मेल खानेगरी राजनीतिको वास्तविक जीवनमा एक ज्वलन्त उदाहरण हुन्। दुबै आ–आफ्नो हिरो जहाँ गगनले पटक–पटक आफूलाई राजनीतिको कुशल योद्घाको रुपमा प्रस्तुत मात्र गरेनन् तर प्रमाणित पनि गरे। जसले आफ्नो राजनैतिक माध्यमबाट उपलब्ध हुनसक्ने अवसरहरुलाई दाउमा राखेर भएपनि परिवर्तनको पक्षमा चट्टान बनेर बोले र उभिए। त्यसैले, उनी हरेक परिवर्तन चाहने युवाहरुको नायक भएका छन्। अहिलेको अवस्थामा मेरो पनि हो–क्षमा चाहन्छु शशाङ्कज्यू। एकपटक गगन जस्ताले देश हाँके सायद यो देशले काँचुली फेर्ने थियो कि ? साँच्चै परिवर्तनको महसूस गर्न पाइन्थ्यो कि ? भन्ने आशाको चरम स्थितिमा यो अधिवेशन पुगेको छ । 'गगन' भनेर भनिरहँदा उनी जस्तै परिवर्तनका पक्षमा वकालत गर्ने हरेक राजनैतिककर्मीहरुलाई पनि मैले अप्रत्यक्ष रुपमा सम्बोधन गरेको हँ। गगन वा शशाङ्कको हार या जितमा पीडाभन्दा उत्साह नै धेरै मिल्ने सम्भावना मैले देखेको छु । किनकी, कम्तिमा यसले एउटा पींढीको हस्तान्तरण भने ल्याउनेछ ।

म कुनै राजनैतिक पृष्ठभूमिबाट हुर्केको व्यक्ति होइन तर राजनीतिप्रति सोंच राख्ने प्रेरणा मलाई कांग्रेसका आदर्शवादी नेता र सिद्धान्तका प्रतिवादी वि.पि.को रगतले नभई उनको विचारलाई दिनदिनै स्पर्श तथा अनुशरण गर्ने गगनहरुले दिएका हुन् । मेरो लागि राजनैतिक चासो भनेको समय आवश्यकता अनुरुप र देशको वर्तमान अवस्थाको सही प्रतिनिधित्व गर्दै देशलाई उन्नत र समृद्धि मार्गतर्फ डो¥याउन सक्नेहरुको चयन प्रक्रियामा साथ दिनु हो । महाधिवेशन प्रतिनिधि हुँदैमा न म नेता हुन्छु न त हुनै पर्छ । मेरो एकजना साथी जो डेनमार्कमा रहन्छन्, उनले भनेको थिए, "We will laugh at our Prime minister's son if he introduces us as the son of an important person" त्यस्तो दिन नेपालमा कहिले आउँला भनी मेरो प्रतिज्ञा हो । जसका कारण सबै नागरिकलाई समान व्यवहार मिलोस् र राजनीतिका कारणले कुनै पनि नागरिकको भविष्यमा असर तथा अलमलको वातावरण सिर्जित नहोस् । यही विचारहरुलाई साथ दिनको लागि म उभिएको हुँ ।

मलाई लाग्छ, धेरैजना चिन्तनशील मित्रहरु राजनीतिलाई सोझ्याउन कम्तिमा यो स्थानसम्म आउन आवश्यक छ । यो लेख पढिसक्दा मेरा धेरैजना साथीहरु अचम्म हुनु हुनेछ मेरो राजनैतिक संलग्नताको विषयलाई लिएर । किनकी यो मेरो अत्यन्त नौलो परिचय हो । तर, छोटकरीमा भन्नुपर्दा कृपया राजनीतिबाट प्रभावित हामी यसलाई सोझ्याउन अर्थात् 'राईट ट्रयाकिङ' गर्न यत्तिको हैसियत र चिन्तन राख्दा नेतागिरी गर्न लागेछ र राजनैतिक व्यक्ति भएछ भनेर चाहिँ बुझ्नु हुने छैन । आज कांग्रेसको महाधिवेशनमा भाग लिँदै गर्दा म अरु पार्टी भित्र भएका असल व्यक्ति र राम्रा विचारहरुका विरुद्धमा भने उभिएको होइन ।

अन्त्यमा, गगन वा शशाङ्क जो जिते पनि नेपाली राजनीतिमा एउटा स्वच्छ र मिठो प्रतिस्पर्धा हुँदै छ । जसबाट जसको जीत भएपनि कम्तिमा यो देशले नयाँ पुस्ताको विचार बोकेका र देशप्रति गम्भीर चिन्तन भएका एक जुझारु नेता भेट्टाउनेछ । अनेकौं चिन्ता र आरोपका बाबजुद पनि गगनले देखाएको साहस तथा आँट अबको आउँदा दिनहरुको राजनीतिमा कोशेढुङ्गा हुनेछ भन्ने मेरो विश्वास हो । राजनीतिमा चुनौंती दिँदा देशलाई नै फाइदा पुग्छ भन्ने संस्कारको विकास हुन्छ भन्ने कुरामा म विश्वस्त छु । शशांक यो प्रतिस्पर्धामा नभइदिएको भए गगनको प्रतिस्पर्धामा जुन तहबाट कौतुहलता मिलेको छ, त्यो सायद मिल्ने थिएन होला । यस्तो संस्कार र प्रेरणा हरेक पार्टीका आसलाग्दा र प्रभावशाली युवा नेताहरुलाई पनि मिलोस् भन्ने कामना गर्दै बाँकी तेह्रौं महाधिवेशनको परिणामलाई जिम्मा लगाउँदै अहिलेको लागि नेपालको जय हुने गरेर, जय नेपाल !

(महासमिति सदस्य, सिन्धुपाल्चोक क्षेत्र नं ३)

प्रकाशित: २२ फाल्गुन २०७२ २०:१७ शनिबार