ब्लग

यो देशको मुहार हेर्न सडकमा आउँ

देशको मुहार फेर्न भन्दै नेपालमा थुप्रै आन्दोलन भए । आन्दोलनको केन्द्र सडक नै बन्यो। नेताले हामी सडकमा जान्छौ भन्यो भने लौ अब यो नेताको पार्टीले संघर्ष गर्न लागेछ भन्ने बुझिन्छ । सडक अहिले पनि आन्दोलनमय छ । संविधान सभाले उत्कृष्ट संविधान दिन्छ भनेर नेपालमा सडक तातेकै हो ।

त्यही संविधान सभाले संविधान जारी गरेपछि फेरि पनि सडक तातेकै छ । आन्दोलन गर्न पार्टीहरु पटक पटक सडकमा आएपछि यो देशको मुहार खै कत्तिको फेरियो ? मुहार फेर्नुको अर्थ राम्रो बनाउने हो । अहिले सडकमा आएर हेर्ने हो भने यो देशको प्रष्ट मुहार हेर्न पाइन्छ । जुन मुहार अर्थात अनुहार राम्रो होइन झनै बिग्रीएको छ ।

नारायणगड-मुग्लिन सडक खण्ड हुँदै फिस्लिङसम्मको लगभग ५० किलो मिटर यात्रा गर्दा अनुभव भयो, देशको दुरावस्था बस बनेर गुडी रहेको छ । यो सडक आफैमा राम्रो होइन । तर पहिला यो बाटोमा गुडेका गाडी हेरेर देशको अवस्था अनुमान हुन्थेन । अचेल 'ओ हो देश खत्तम नै भएछ हो' भन्ने दृश्य आँखा सामुन्ने आउँछ यो बाटेमा हिड्दा । यो खण्डमा मालबाहक ट्रकको भिड लाग्छ । कि गुडी रहेका हुन्थे वा ठाउँ ठाउँका साना साना चीया पसल अगाडी रोकिएका हुन्थे मालबाहक ट्रक । अहिले फाट्ट फुट्ट कहि कतै देखिन्छन ट्रक । सडकलाई फराकिलो बनाउने काम सुरु भएको छ । तर काम रोकिएको छ । सारा मेशिनहरु थुप्रिएर बसेका छन् । संविधान आएसँगै तातेको सडक आन्दोलनको प्रभाव हो यो ।

भारतको अघोषित नाकाबन्दी छ । इन्धन आएको छैन । नाकाबन्दी र इन्धन अभाव भएपछि किन देखिउन ट्रकका ताँती ? किन हुन्थ्यो निर्माणको काम । यहाँ सर्वसाधरणको चुल्हो नै बल्न नसक्ने अवस्था आयो । ठूला ठूला आयोजनाहरु रोकिनुको विकल्प रहेन अब । कुरा यत्ति मात्रै होइन । यो बाटो देशको पूर्व र पश्चिमी भागलाई राजधानीसँग जोड्ने मुख्य मार्ग पनि हो । देशको पश्चिमी तराई तुलनात्मक रुपमा शान्त छ । पूर्वी भेग अशान्त छ । यो अशान्तको प्रभाव देखिन्छ यो बाटोमा गुड्ने यात्रु बसमा ।

पुर्वबाट आउने हुन वा पश्चिमबाट आउने हुन सवै साना ठूला यात्रु बसहरुमा साझा दृश्य देखिन्छ । त्यो हो छतमा मान्छे, खाना पकाउने ग्यासका सिलिन्डर र पेट्रोलका जर्किन । काठमाडौंबाट जाँदै गरेका बसहरुमा पनि यही देखिन्छ सायद भाँडाहरु खाली होलान । उताबाट आउने गाडीका छतमा रहेका भाँडाहरु भने भरिएका हुन्छन् होला । अहिले छत खाली भएको गाडी देख्न पाइदैन । पहिला पहिला पनि छत त खाली हुन्थेन । त्यति बेला छतमा मान्छे बस्दैन थिए । तर तरकारीका डोकादेखि अन्य व्यपारिक समानहरुले छत भरिएकै हुन्थ्यो । अहिले बसको छतमा व्यक्तिगत प्रयोजनका लागि जोहो गरेको इनधन भरिएका भाँडाहरु हुन्छन् ।

जर्किन वा साना प्लाष्टिकका ड्रम हुन वा ग्यासका सिलिन्डर बसको छतमा बसेर काठमाडौं भित्रदै गरेका छन् भने ति समानहरु बोराले राम्रोसँग बेरिएको हुन्छ । दुर्घटना हुँदा यस्ता अति प्रज्वलनशिल पदार्थका कारण ज्याद नै अप्रिय घटना हुन सक्छ भनेर प्रहरी प्रशासनले यसरी इन्धन ओसार्न रोक लगाएको छ । त्यसैले प्रहरी प्रशासनको आँखा छल्न बोराले बेरेको हुनु पर्छ इन्धनका भाँडाहरु । तर सिलिन्डर र जर्किन हो भन्ने कुरा आकार प्रकारले प्रष्ट हुन्छ बोराले बेरे पनि । यात्रु बसदेखि ट्याक्सि र कार जीपमा पनि देखिन्छ जोगाड गरेका इनधनका भाँडाहरु । ग्यास सिलिन्डर र जर्किनहरु मात्रै होइन दाउराका भारी पनि देखा पर्छन कुनै बेला ।

पछिल्लो पटक सप्तरी प्रकरणपछि पूर्वी तराईमा अशान्ति तेज भएको छ । राजमार्गमा गाडी चलाउने र रोक्ने क्रममा भएको तनावले आन्दोलनकारी र स्थानीयको ज्यानै गयो । यस्तो बेलामा पनि पूर्वका गाडी काठमाडौं आउन जान रोकिएका छैनन् । पूर्वका यात्रु बस चिन्ने सजिलो तरिका छ । त्यो हो उताबाट आएका बसको अगाडी सिसा नै हुँदैन । कि खुल्ला हुन्छ कि प्लाष्टिकले छोपेको हुन्छ ।

सडकमा उर्लेको तनाबका बीचमा पनि जोखिम मोलेर यात्रा गर्न तम्सनुको कारण कुनै सानो छैन होला । बाध्यताले यात्रा गर्दा ज्यानै जोखिममा राखेका छन् । सडक देशको बिग्रदो राजनैतिक माहौलको साक्षी बनेको छ यो बेला । देशको ऐना पनि बनेको छ भन्दा हुन्छ । किन कि देशको हालत सडकमा छर्लङ्ग देखिन थालेको छ । जनताले सास्ती बेहोरेका छन् त्यो पनि देखिन्छ । कालो बजारी मौलाएको छ त्यो पनि सडकबाटै चाल पाइन्छ ।

इनधनको कालो बजारी यो बेलामा चर्केको छ, उत्कर्षमा छ । स्कुले बालबालिकादेखि आयल निगमका उच्च व्यक्तिसम्म यो काममा संलग्न छन् भन्ने सुन्नमा आएको छ । बसका छत छतको इनधन पनि बजारबाट भन्दा कालो बजारबाटै आएको होला । तेलको कालो बजारी गरेर मान्छेले गाडी किने भन्नेसम्मको चर्चा छ । सडकमा एउटा पिकप भ्यान देखियो । काठमाडौंबाट मुग्लिन तर्फ आउँदै गरेको सो सानो गाडीको पछाडी टन्नै प्लाष्टिकका ड्रम थिए । पिकप भ्यानले नम्बर प्लोटसम्म राख्न भ्याएको थिएन । भर्खर भर्खर किने झै लाग्थ्यो । गाडी ड्रम राखेर खास के उद्देश्यले जाँदै थियो थाहा भएन तर धेरैले सोचे यो गाडी काठमाडौंबाट डिजेल पेट्रोल लिन ठोरी वा पश्चिम तराईका कुनै नाका जाँदैछ । सायद यो गाडी पनि तेल बेचेरै पो किनियो कि ? यो अनुमान मात्रै हो तर यही कुरा सही नै ठहरिने अवस्था पनि छ अचेल ।

सडकमा तीन महिनाभन्दा बढी भयो आन्दोलन चलेको । यो बीचमा सडकमै ४०-४५ जनाको ज्यान गयो । देश जर्जर बन्दै छ यो हेर्न सडकमा आउनु पर्दैन भान्सा भान्सामा सन्देश गइ सकेको छ । तै पनि सडक तात्न कम हुने संकेत छैन । अहिलेको सडक आन्दोलनले देशभन्दा पनि समुदायको मुहार फेर्ने लक्ष्य बनाएको छ । देश समुदाय सुमदाय मिलेर नै बन्ने हो । समुदायको मुहार बदलिए देशकै मुहार चम्कने हो । तर देशको मुहारमा संकटका रेखाहरुको लहर चलेको अवस्थामा साच्चि नै यो आन्दोलनको तौर तरिकाले हित नै गर्ला कि अहित, सोच्ने बेला भएको होेइन र ?

प्रकाशित: ७ मंसिर २०७२ २३:२० सोमबार