ब्लग

मुटुकाे अाैषधि 'ब्ल्याक'मा बिक्री

'एड्रिनालिन' भनेको अत्यावश्यक औषधी हो, जसको काम घटेको रक्तचाप बढाउने, मुटुको धड्कन बढाउने र मुटुको काम सहज बनाएर मानिसको प्राण जोगाउने हो। तसर्थ एड्रिनालिनलाई 'लाइफ–सेभिङ–ड्रग' भनेर चिनिन्छ। अनि 'ब्लाकमा' भन्ने प्रसङ्ग चाहिँ हाम्रो समाजका गलत प्रवृत्ति भएका व्यक्तिले कृतिम अभाव सिर्जना गरेर यसको सहज आपूर्तिमा कठिनाइ पुर्याई गलत तरिकाले लाभ लिने प्रसङ्गमा हो।

कुरा काठमाडौँको एक प्रतिष्ठित निजी अस्पतालको हो, त्यहाँ कार्यरत मेरा एकजना साथीले 'एड्रिनालिन ब्ल्याकमा पाउँछ नि!' भनेर सुनाए। अनि 'मैले दैनिक उपभोग्य वस्तु पेट्रोल, डिजेल, ग्याँस, मट्टितेल ब्ल्याकमा सुनेको थिएँ तर आज एड्रिनालिन पनि सुनियो' भनेर भनेँ। कुरा चाहिँ के रहेछ भन्दा त्यस अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका एक विरामीलाई एड्रिनालिन चाहियो भनेर उनले जानकारी गराएछन्। अनि अस्पतालको फार्मेसीमा एड्रिनालिन उपलब्ध नभएपछि अस्पतालकै एकजना कर्मचारीको सहयोगमा ती विरामीको आफन्तले एड्रिनालिन पाएछन्।

तर चार गुणा बढी मूल्यमा। चौबल मूल्य तिरेर एड्रिनालिन किन्ने ती विरामीको आफन्तले एड्रिनालिन उपलब्ध गराउनेलाई धन्यबाद दिँदै थिए। नदिनऊन् पनि कसरी ? जीवन–मरणको सवाल जो थियो।

कुरा एड्रिनालिनको मात्र होइन। अहिले अरु दैनिक जीवन यापन गर्न चाहिने सरसामानदेखि अत्यावश्यक औषधीसम्ममा यही व्ल्याक प्रवृत्ति चल्दै छ। अरु सामानको वैकल्पिक साधनस्रोत जुटाउन हाम्रो समाज सक्षम होला तर जीवन–मरणको सवालमा प्रयोग हुने अत्यावश्यक औषधीको के हुन्छ ? अत्यावश्यक औषधीको एकदुई मिनेटकै ढिलाइमा ज्यान जान सक्ने मात्र होइन औषधी नपाएर ज्यान गएको समाचारहरू पनि आउन थालिसकेका छन्। यो स्थिति आमजनतालाई मात्र होइन, स्वयम् आन्दोलनकारी र राज्यपक्षलाई पनि नपर्ला भन्न सकिँदैन। अनि एकपटक गुमेको मानवज्यान फर्केर पनि आउँदैन।

अहिलेको हाम्रो मानवसमाजले दैनिक उपभोग्य वस्तुको विकल्प खोजेर केही दिन दाउरामै खाना पकाएर, केही दिन हिँडेरै कार्यालय आउजाउ गरेर रमाउन सक्ला तर औषधीको विकल्प नपाएर अकालमा ज्यान गुमाउनु पर्दा त्यसको पीडा कति पीडादायी हुन्छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ।
आजको दिनसम्म आइपुग्दासम्म लगभग सबै मौजाद औषधीहरू सकिएर अभावको अवस्था सिर्जना भइसकेको पनि धेरै दिन बितिसक्दा पनि यसको जोहो गर्न सरकारी पक्षबाट खासै पहल भएको देखिँदैन । तर चिकित्सक संघले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको लागि आह्वान गर्ने निर्णय गरेको छ, जुन स्वागतयोग्य छ ।

समस्या परेर अन्तिम अवस्था नगुज्रिएसम्म समस्याको मर्म नै नबुझ्ने त हाम्रो राजनीतिक परिपाटी नै बसेको छ । तर स्वास्थ्य सेवा जस्तो मानवको ज्यान धरापमै पर्नसक्ने क्षेत्रको मर्म बुझ्न अन्तिम अवस्थासम्म कुर्न कत्तिको उपयुक्त होला ? राष्ट्रियताको भाषण दिँदै र गफ चुट्दैमा हाम्रो समाज अगाडि बढ्दैन । तसर्थ परिस्थितिको सही मूल्याङ्कन गरेर अगाडि बढ्ने हो कि?

(लेखक नेपाल मेडिकल कलेजका चिकित्सक हुन्)

प्रकाशित: १ मंसिर २०७२ ०५:१६ मंगलबार