यी र यस्ता अनेकौं प्रश्नहरुले गर्दा त्यहाँ जाने र आन्दोलनलाई प्रत्यक्ष अनुभव गर्ने धोको मनमा अझ बलियो हुँदै गइरहेको थियो। त्यही मेसोमा एकजना स्विडिस पत्रकार तथा फिल्म निर्माता लियो पाल्मेस्ट्रासँग वीरगञ्ज जाने निधो गरेँ। उनी मधेस आन्दोलनमाथि वृत्तचित्र बनाउन चाहन्थे।
काठमाडौं छोड्नुअघि तराई सञ्चारकर्मीका लागि असुरक्षित रहेको कुराहरु शुभचिन्तकहरुले सुनाए। मलाई मधेस आन्दोलनको वास्तविकता बुझ्ने इच्छा यति तीब्र भइसकेको थियो कि केहीबाट पनि म रोकिन चाहन्नथेँ। त्यसैले ती सबैलाई 'धन्यवाद' भन्दै सगरमाथा टेलिभिजनका विनोद अधिकारी सहित हामी तराई झर्यौं।
वीरगञ्ज जानु अघि नागरिक दैनिकका पत्रकार प्रकाश तिमल्सिनाले मधेसका केही पत्रकारसहित आन्दोलनकारी र राजनीतिक विश्लेषकका सम्पर्क नम्बर दिएका थिए। काठमाडौंबाट हिँडेको रात हामी रौतहटमा बास बस्यौं र भोलिपल्ट आन्दोलनको केन्द्र वीरगञ्जतर्फ सोझियौं।
चाडपर्वको समय भएर होला वीरगञ्ज त्यति अशान्त देखिँदैनथ्यो। चहलपहल धेरै हुने भएकाले घण्टाघर एउटा अव्यवस्थित बजार जस्तो देखियो। त्यहाँ स्थानीय अनुहारबाहेक बाहिरका मान्छे देखिएनन्। मेरो स्वीडिस साथी लियोलाई देख्नेहरुले फर्की फर्की हेरे। एउटा युरोपियनलाई स्थानीयले फर्किएर मात्र हैन उभिएरै समेत हेरे मानौं ऊ कुनै हलिउड हिरो हो।
पूर्व कुराकानीअनुसार केही समयपछि पत्रकार दीपेन्द्र चौहान हामीलाई लिन आए। त्यहाँबाट उनले हामीलाई उनकै कार्यालय पु¥याए। हाम्रो योजनाबारे छलफल भयो। हामीले मधेस आन्दोलनको वास्तविकता के हो? के हुन् मधेसका वास्तविक मुद्दा? बुझ्न चाहेको बतायौं र भेटन चाहेका मान्छेहरुका सुची देखायौं। त्यसमा रहेका केही नाम उनले हटाइदिए। केही नाम थपिदिए।
विश्वकै दुर्लभ दृश्य
साँझतिर बिरगञ्ज रक्सौलको नाका अवलोकनका लागि निस्कियौं। मितेरी पुलको बीचमा नै पाल टाँगेर मधेसी मोर्चाका नेता तथा आन्दोलनकारीहरु धर्नामा बसिरहेका रहेछन। सो पुलको किनारा विभिन्न नारासहित झण्डा तथा ब्यानरले रंगिएको थियो। सामान्यतः त्यहाँ कुनै देशका मानिस पनि बस्न मिल्दैन तर त्यहाँ कसैको रोकटोक थिएन। न नेपाल पक्षबाट, न भारतीय पक्षबाट। पुलैमा नाकाबन्दी समर्थक आन्दोलनकारीहरु थिए। 'नोम्यान्सल्यान्ड' क्षेत्रमा देखिएको विश्वकै दुर्लभ दृश्य देखेर स्वीडिस नागरिक लियो अनुहार रोमाञ्चक देखियो। पुलबाट दुई पाङ्ग्रे सवारी साधन भने ओहोरदोहोर गरिरहेका थिए। तिनलाई आवातजावतका लागि छेकवार थिएन। माहोल हेर्दा लाग्थ्यो त्यहाँ आन्दोलन हैन चाडवाड, उत्सव वा मेला लागिरहेको छ।संयोगवस धर्नास्थलमै आन्दोलनकारी पक्षका नेता सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भेटिए। उनको अनुमति पाएपछि अन्तर्वार्ता लिन तयार भयौं। एक्कासि त्यहाँका मानिसहरु हामीतिर ओइरिन लागे। सो पालमुनी महतोको वरिपरि एक किसिमको कृत्रिम माहोल सिर्जना भयो। साँच्चे त्यो दृश्य अनुभवी निर्देशकले तयार पारेको नाटकजस्तै थियो। भिडको पछाडीबाट एउटा अबोध बालक चिच्यायो– जय मधेस! एकाएक बद्लिएको माहोल देखेर मेरो विदेशी साथी बढी नै छक्क प¥यो। हामी सबै चकित खायौं। तिनको अभिभावक जस्ता देखिने एकजना पुरुष ती बालकलाई देखेर गर्व महसुस गरिरहेका थिए।
महतोले स्वायत्त मधेश र थरुहट प्रदेश, वैवाहिक सम्बन्धका आधारमा नागरिकता पाउनु पर्ने, सबै नागरिकले उच्च पदमा लड्न पाउनु पर्ने आदि मागहरु रहेको क्यामेरा सामु बताए। अन्तर्वार्ताको अन्तिममा क्यामरा अगाडि उभिएर सबैजनाले नारा लगाए– जय मधेस!
जबरजस्ती अन्तरर्वार्ता लिनुपर्दा
त्यसै बखत अर्का एकजना व्यक्ति हामी कहाँ आएर कहाँवाट आएको? किन आएको भन्दै सोधपुछ गर्न थाले। हामीले कुरा बुझ्यौं। उनी अर्को फरक मोर्चाका रहेछन त्यहीँ नजिकै अर्को पालमा बसेर धर्ना दिइरहेका। उनले आफ्नो अन्तरर्वार्ता लिइनुपर्ने अडान लिए। महतोको मात्रै अन्तरर्वार्ता लिएको तर आफ्नो दलको भने नलिएको उनीहरुको गुनासो थियो। त्यतिबेलासम्म हामी २०–३० जनाको समूहबाट घेरिइसकेका थियौं। प्रत्येकको माग थियो— आफ्नो अन्र्तवार्ता लिइ दिनुपर्ने। हामी अन्यौलमा पर्याैं। सबैलाई एकैचोटी अन्र्तवार्ता लिनसक्ने स्थिति थिएन। कसरी यो अवस्थालाई पार लगाउने? केही समयपछि निर्णय लियौं र आह्वान गर्याैं– तपाईहरु आफ्नो टोलीको कुनै एकजना प्रतिनिधि छान्नुहोस्। जो आउनुहुन्छ उहासँग अन्र्तवार्ता लिन्छौं। र, अन्ततः अर्को मोर्चा पक्षधरको नेताको पनि अन्र्तवार्ता लियौं।अर्को दिन बिहान ७ बजे हामीले पत्रकार चौहानलाई भारतिय वाणिज्य दुतावास अगाडिको चियापसलमा भेट्यौं। त्यहाँ बसेर एकछिन सबैको गफ सुन्यौं। यहाँका मानिसहरु काठमाडौंका सञ्चार माध्यमको चर्काे आलोचना गर्दै थिए।
त्यो दिन, नेपाली कांग्रेसका नेता अजय चौरासियाको घर पुगियो। उनको आलिसान बंगला रहेछ। त्यहाँ रहेका सबैले मधेश आन्दोलनको समर्थन गरे। विपक्षमा भने कसैले पनि बोलेनन्। आन्दोलनमा सहभागी नभए पनि नैतिक समर्थन रहेको भन्न कसैले छुटाएनन्।
त्यसपछि, एक मानव अधिकारवादी तथा प्रधानाध्यापकका घरमा गयौं। उनले फरक विचार राखे। मधेसमा नागरिकताको विषय मुद्दा नभएको र भारतले आन्दोलनबाट आफ्नो स्वार्थ पूरा गर्न खोजिेरहेको उनले सुनाए। बिरगञ्जमा प्रहरीले गोली प्रहार गरी मान्छे मारेको घटनाप्रति भने उनको कडा आपत्ति थियो।
त्यहाँवाट पत्रकार तथा राजनीतिक विश्लेषक चन्द्रकिशोरको निवासमा पुग्यौं। उनको निवास एउटा सानोतिनो पुस्तकालय नै रहेछ। त्यहीँ एकजना सद्भावनाका नेता पनि भेटिए। झा अघि उनै नेताको अन्तर्वार्ता सुरु गरियो। उनको जवाफ अघिल्लो दिन राजेन्द्र महतोले भनेभन्दा एक शब्द पनि यताउता थिएन। मानौं सद्भावनाका सबै नेताहरुले एकै राजनीतिक कक्षा लिएका छन् र एकै पाठ घोकेका छन्।
मधेसी हेपिएका छन्
त्यसपछि पालो आयो चन्द्रकिशोरको। उनले अहिलेको अवस्था मधेसमा पहिचानको राजनीति गर्दाको परिणाम भएको बताए। उनले आन्दोलनलाई एकै घरका सदस्यबीच फरक फरक बुझाई हुँदा अहिलेको अवस्था आएको बताए। परिवारको एउटा सदस्यलाई अर्का सदस्यले हेपेको महशुस भएकाले आन्दोलन चकेर्को झाले प्रस्ट्याए।उनका अनुसार नागरिकताको सवालमा पहाडमा बढी गैर कानुनीरुपमा नागरिकता वितरण भए पनि मधेश चाहिँ यो विषयमा बढी बद्नाम छ। त्यही कारण तराईका बासिन्दाले नागरिकता अधिकारबाट बञ्चित हुनु परिरहेको उनको बुझाइ रहेछ। त्यही सवालमा पहाडका मानिसहरु चाहिँ पहाडिया भएकै कारण राज्य आफ्नो भएको महशुश गर्ने, उनीहरुलाई आफनो राज्य हो भन्नेमा ढुक्क रहेको तर मधेसी समुदायलाई त्यही कुराले चोट पु¥याएको उनले सुनाए।
धोती, कुर्ता लगाए कै कारण आफुले पनि नागरिकताको लागि महिनौं धाउनु परेको आफ्नै अनुभव उनले साटे। भाषा र पोषाकका कारण यहाँका बासिन्दालाई नागरिकता पाउन गाह्रो भइरहेको उनको भनाइ थियो।
पान पसलबाट पेट्रोल बिक्री
समग्र मधेश आन्दोलनको विषयमा यति धेरै कुरा थाहा पाए पछि म केही भए पनि प्रस्ट भएँ। मैले काठमाडौंमा बसेर देखेको मधेस र यहाँ आएर देखेको मधेसमा केही अन्तर भेटेँ। त्यसपछि पुनः हामी मितेरी पुलतिर लाग्यौं, जहाँ धर्नाकारीहरु बसेका छन ।स्विडेनी मित्रलाई नेपाली भूभागमै एक स्थानिय पत्रकारको जिम्मा लगाएर हामी भारत, रक्सौलतर्फ गयौं। भारतले नेपालतर्फ आउने प्रवेशद्वारमा आफ्नोतर्फबाट छेकवार लगाएको रहेछ। त्यहाँबाट मुश्किलले दुई पाङ्ग्रे सवारी आउजाउ गरिरहेका थिए। नेपाल वारी होस वा भारत जताततै पेट्रोलियम पदार्थ बिक्रीमा थियो। किराना पसलदेखि पान पसलसम्म धेरै जसो पसलमा डिजेल, पेटोल बेच्न राखेको देखिन्थ्यो। रक्सौल पुगेर मोटरसाइकलमा तेल भरेर ल्याउनेहरु त्यहाँ धेरै भेटिए।
दुई दिन बिरगञ्ज बसेर हामी चन्द्रनिगाहपुर फक्र्यौं। पथलैयादेखि बिरगञ्जसम्म टेम्पुमा गएका थियौं। जसको भाडा प्रति ब्यक्ति एक सय तिरेका थियौ तर फर्किदा त्यसको भाडा बढेर १ सय ५० प्रति ब्यक्ति भइसकेको थियो। पथलैया बिरगञ्ज सडकमा सवारी साधन नचले पनि पथलैयामा रहेको महेन्द्र राजमार्गमा भने निष्फक्री गाडी चलिरहेका थिए। त्यहाँ कुनै अवरोध थिएन।
प्रकाशित: २६ कार्तिक २०७२ ०२:५७ बिहीबार