राजेन्द्र महतोले पक्कै बुझ्नु हुनेछ पहाडको जन्म मेरो आफ्नै रहरले भएको हैन।
हृदेयश त्रिपाठीजी तपाईँ या म आफ्नै कारणले बाहुन भएका हैनौं।
हजुरबाले खोरिया फाँडेर बिराएको बिरौटे गरामा अन्न उब्जाएर गुजारा चलाएको झलझली सम्झन्छु। महन्थ ठाकुरजी सामान्ति संस्कारसँग मेरो कुनै साइनो छैन।
मेरा बा भारतीय प्रहरीका सिपाही थिए। उनैले लाहुरबाट ल्याएका 'जय हिन्द' लेखेका खाकी कपडा काटेर कमिज र जाँगे लगाएर हुर्केको मान्छे हुँ।
महामहिम रञ्जित रेलाई प्रष्ट पार्न चाहन्छु म भारतबिरोधी हैन। तर माफ गर्नुहोला भारतीय हस्तक्षेप र अनादर सहनै सक्दिन।
हो म स्वाभीमानी आम नेपाली हुँ। यसैमा म गौरव गर्छु र त्यही हैसियतमा मेरा बुझाइ र भावना यो लेखमा उतार्दैछु।
...
मेरो विचारमा पछिल्ला दिन दुईथरि अतिवादीहरु राजनीतिको सतहमा हाबी देखिएका छन्। उनीहरु जे हो त्यही भन्न सक्दैनन्। आफ्नो दायित्व र हैसियत बिर्सेर भ्रममा बाँचेका छन्। ती एकथरी हुन् मधेस आन्दोलनका नाममा भारतको काँध चढेर देशलाई ढुंगा हान्नेहरु। उनीहरु प्रत्यक्षरुपमा भारत निर्देशित भएर बन्द, हड्ताल र नाकाबन्दीको आडमा आन्दोलन सफल पार्ने र काठमाडौंको सत्ता डगाउने 'मोटो बुद्धि'का शिकार छन्। उनीहरु भारतीय हस्तक्षेप र नाकाबन्दीको बिरोध गर्नुपर्नेमा समर्थनमा बुर्कुसी मार्दैछन्। उनीहरु लघु स्वार्थका लागि बृहत उपलब्धि गुमाउने दुष्चक्रमा फस्दैछन्। जुनदिन उनीहरुको चेत खुल्नेछ र स्वयं अघि आएर भारतीय नाकाबन्दी मुर्दाबाद ! भन्नेछन् त्यो दिन सिंगो नेपाल जुरुक्क उठेर मधेस आन्दोलन जिन्दावाद ! भन्नेछ। त्यो दिन अविलम्ब आओस्।
अर्काथरी अतिवादी छन् जसले मधेस आन्दोलनमा एकोहोरो भारतीय उक्साहट मात्रै देख्छन्। त्यहाँ अधिकार र न्याय चाहिएको पटक्कै बुझ्दैनन्। मधेसी जनताको जायज माग, उनीहरुको चाहना र मधेसको लामो संघर्षले खोजेको सही निष्कर्षबारे उदासीन छन्। उनीहरु मधेसलाई निकट खिच्ने भन्दा पर धकेल्नेतर्फ उद्दत छन्। मधेस पनि देशभित्रकै भूगोल हो र त्यहाँ नेपाली नागरिक बस्छन् भन्ने उनलाई हेक्का छैन। काठमाडौंको सत्तासंगतले उनीहरुको चेतगुम भएको छ। जब यिनीहरुको चेत खुल्नेछ र मधेस आन्दोलन जिन्दावाद ! भन्नेछन् तब सिंगो मधेसमा 'नेपाली हामी एक हौं!' भन्ने ध्वनि गुञ्जिनेछ। त्यो दिन अविलम्ब आओस्।
एकाघरका यी दुई अतिवादीबीच अन्तर घुलन गराउने तत्वको खाँचो देखिएको छ। घर जलाएर खरानीको भाग लगाउने यिनीहरुको लडाइँ रोक्नुपरेको छ। मधेस आन्दोलनलाई भारतपरस्त भन्दै देखिनसहने एउटा र अर्को भारतीय हस्तक्षेपलाई न्यानो मानेर स्वीकार्ने परस्पर दुई गलत धारणाको सही अवसान गर्नु आजको मुख्य आवश्यकता हो। यो दायित्व पूरा गर्न स्थापित अहिलेका राजनीतिक दल वा चर्चामा रहेको 'नयाँ शक्ति' जस्ले पहल लिन्छ उसलाई इतिहासको गुन लाग्नेछ।
कष्ट सहने तर नझुक्ने जनमत
प्रतिकुल संविधानले चिढिएको भारतलाई नेताहरुले थप बिच्क्याउनेगरी खुलेआम वक्तब्यबाजी गरिरहे। नेताहरु सधैँ भारतको ईशारामा चल्ने गरेको आरोप लगाउने नेपाली ठूलो जमात आफ्ना नेताहरु एकाएक भारत बिरोधी भएको देखेर तरंगित बन्यो। एकातिर रिसाएको भारत कठोर बन्दै गयो। अर्कोतिर भारत बिरोधी नेपाली जनमत चुलिँदै गयो। त्यो क्रम अझै जारी छ। भारतको अघोषित नाकाबन्दीको परिणाम नेपाली जनजीवन निकै कठिन बनेको छ। तर कठिन परिस्थितिमा पनि भारतसँग नझुक्ने बरु कष्ट सहने नेपाली जनताको आत्मबल कायमै छ।
एउटा बाटो थुनिएपछि अर्को बाटो खोज्नु स्वभाविक हो। भारतले नाकाबन्दी गरेपछि मुख्य समस्या बनेको इन्धन अभाव टार्न अर्को छिमेकी मुलुक चीनसँग सम्बन्ध बढाउनु अनिवार्य देखिएको छ। सरकार अघि बढोस् चीन स्वागत गर्न र नेपाली जनता साथ दिन तयार देखिएका छन्। मौकामा हीरा फोर्ने बेला हो यो।
मधेस आन्दोलनको शुद्धता
सुरुका दिनमा मधेसी जनताको उल्लेख्य सहभागिता भएपनि पछिल्ला दिनमा मधेस आन्दोलनको शुद्धताबारे थुप्रै सबाल उठाउने ठाउँ छन्। जनबलमा आन्दोलन टिकाउन हम्मे पर्ने देखेपछि बाहिरी बलको सहारा लिएको मधेसी मोर्चालाई आरोप छ।मधेस आन्दोलनका नेतृत्वकर्ताले आन्दोलनको गरिमा र प्राप्त उपलब्धिलाई मधेसी जनताको जीवनमा घुलित गराउने दायित्व सधैँ बिर्सँदै आएका छन्। यसअघिका आन्दोलनबाट प्राप्त भएका भनिएका उपलब्धिले शोषित पीडित मधेसी जनताको जीवनमा के असर पार्योभ? समीक्षा जरुरी छ। मधेस आन्दोलन मधेसी नेताको सत्तारोहणको भर्या्ङ मात्रै बन्ने र सोझा मधेसी जनता सधैँ नेताका अश्त्र बनेर प्रयोगमा आउने अवस्था अब अन्त्य होला? यो प्रश्नको जवाफ खोजिनुपर्छ।
राजेन्द्र महतो, हृदयेश त्रिपाठी, महन्थ ठाकुर पञ्चायतदेखि हालसम्म पटक–पटक मन्त्री भए। उनीहरुको सत्ता र केन्द्रीय राजनीतिमा लामै समय हालिमुहाली चल्यो। परिवारिक सम्पन्नता, रहनसहन र सम्पत्तिको कुरा खुलाउँदा गोपनीयता र निजात्मक हकमा बाधा ठहर्ला। तर उनीहरुले अफूलाई दोस्रो दर्जाको नागरिक भनेर काठमाडौंले हेप्यो भन्दै जसरी चर्को भाषण गरेर भ्रम छरेका छन् त्यो नक्कली हो। बरु केन्द्रीय सत्ताले जस्तै उनीहरुले पनि मधेसी जनतालाई दोस्रो दर्जामै राखेर सत्तासुखमा रमाएको छर्लङ्ग छ। उनीहरुले मधेसी जनता र मधेस आन्दोलनको उचो पर्वत चढेर जे बोले पनि हुन्छ भन्ने भ्रम नपालेकै राम्रो।
सत्ताको खालमा छउन्जेल काठमाडौंमै रमाउने। जब खोजेको पद र भाउ मिल्दैन त्यसपछि काठमाडौंको सत्तालाई 'देखाइदिन्छु' भन्दै मधेस झर्ने उनीहरुको आदत बनिसकेको छ। उनीहरुका हर महत्वाकांक्षा पूरा गर्न मधेसी जनताले बारम्बार सघाएका छन्। जब महत्वाकांक्षा पूर्ति हुन्छ मधेस बिर्सन्छन् र काठमाडौंमै सुखभोगमा हराउँछन्। तैपनि मधेसी जनता चुपचाप सहन्छन्। जनता कतिसम्म सोझा छन् भन्ने प्रमाण योभन्दा अरु के हुनसक्छ? मधेसी नेताले जनता सोझा हुनुको मजा कतिसम्म लिनेहुन टुंगो छैन।
हिजोका मन्त्री ठाकुर, मन्त्री त्रिपाठी र मन्त्री महतोले आज मधेसको अधिकार माग्ने ठाउँमा उभिएर जे बोल्दैछन्, जे गर्दैछन् हिजो सत्तामा हुँदा आफूले के गरे? भोलि सत्तामा पुगेभने गर्लान् भन्ने के ग्यारेन्टी छ? अधिकार खोज्न मधेस झर्ने उनीहरु आफू सत्तामा हुँदा कर्तव्य के निर्वाह गरे? पचास प्रतिसत मधेसी मन्त्री भएको सरकार पनि चलेकै हो। त्योबेला के के उपलब्धि भयो? मधेसी जनताले हिसाव माग्ने कि नमाग्ने?
मधेसको नाममा एकमुष्ट आरक्षण दिइएको छ। के सबै मधेसीहरुलाई आरक्षण जरुरी छ? आदिवासी, उपेक्षित, दलित मधेसीलाई आरक्षण दिनु जति न्याय र अनिबार्य छ त्यत्तिकै सम्पन्न मधेसीलाई पनि आरक्षण दिने व्यवस्था अन्यायपूर्ण छ। मधेसका माथिल्लो जातका सम्पन्न मधेसीलाई कम आरक्षण वा आरक्षण नदिए पनि हुन्छ भन्ने कुरा किन उठाउन सक्दैनन् मधेसी नेताहरु? मधेसको नाममा पाएको आरक्षण कोटा मुसहर, डोम या यस्तै पिछडिएका वर्गका जनतालाई दिने कुरा किन गर्दैनन् मधेसी नेता? मधेसकै सामन्तबाट सबैभन्दा पीडित छन् त्यहाँका गरिबहरु। मधेसी गरिब जनतालाई निलेर बसेको मधेसको सामन्तवाद कहिले हट्ने हो?
घोत्लिनु पर्ने केही प्रश्न
मधेसमा भारतीय प्रधानमन्त्रीको जयजयकार हुने तर नेपाली नेता लखेटिने किन? सीमापारी गएर देशका सिपाहीलाई ढुंगा हानेको दाग कसरी मेटिएला? देशको अपमान गरेर मधेसको मान हुन्छ? मधेसमा जारी आन्दोलनको प्रकृतिले के संकेत गर्दैछ? मधेसी नेताहरूले भोली त्यहाँ आफैले राज्य चलाउने हैन र? पुलिस चौकी हटाउने, जलाउने किन? सुरक्षा कमजोर पारेर भोलि आफैले राज्य चलाउँदा कानुनको शासन चाहिदैन?अंगिकृत नागरिकता लिनासाथ मुख्य मन्त्री र प्रधानमन्त्री नै किन चाहिने? सांसद बन्ने अवसर त दिएकै छ नि । रैथाने मधेसी जनता ठूलो पदमा जाने कुराको किन बिरोध?
प्रकाशित: ९ कार्तिक २०७२ ००:३४ सोमबार