ब्लग

यसकारण म बिहारी होइन

केही दिन अघि अन्तर्राट्रिय श्रम संगठन ( आइएलओ) ले नेपालमा आदिवासीजनजातिको अधिकारको सवालमा आयोजना गरेको तीन दिने तालिम कार्यक्रममा म सहभागिको रुपमा उपस्थित थिए।राजधानीको बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा तीन दिने तालिम आयोजना गरिएको थियो । आदिवासी जनजातिको अधिकारबारे तालिम प्राप्त गर्न विभिन्न संचारमाध्यमका प्रतिनिहरुको सहभागिता थियो। नागरिक दैनिकको प्रतिनिधित्व गर्दै मैले सहभागिता जनाएको थिए।

तालिमबारे शिक्षण गर्न स्वदेशी तथा विदेशी विज्ञहरुको सहभागिता रह्यो । तीन दिनभित्र हामीलाई विज्ञहरुले आइएलओको काम कर्तब्य, आदिवासी जनजातिको नेपाल र विश्वमा अवस्था तथा तीनका अधिकारको विषयबस्तुहरुमा जानकारी गराइयो।

तालिमको तेस्रो दिन आइएलओको लेवर स्टेन्डरका वरिष्ठ बिशेषज्ञ तथा दक्षिण एसियाकै वर्क टिमका प्रमुख कोएन कोमपियरको कक्षा थियो। उनी विगत २० वर्षदेखि भारतको नयाँ दिल्ली आइएलओको कार्यलयमा दक्षिण एसियाकोलागि काम गरिरहेका छन् ।

उनले आफनो कक्षामा सहभागि प्रतिनिधमध्ये कुनकुन समुदायको उपस्थित रहेको छ भनी प्रश्न गर्दा सबैले आ–आफनो नामसहित समुदायको परिचय दिए। पालो आयो मेरो । मैले म रुबी रौनियार मधेशी समुदायबाट भने । यति भन्नासाथ उनले आश्चर्य मान्दै तुरुन्तै प्रश्न गरे 'आरयु विहारी ?'उनको यो प्रश्न सुन्नासाथ मेरो होस हवासनै उड्यो । किन भने तराईमा हाम्रो पुस्ताको एक सय वर्ष भन्दा पनि पुरानो इतिहास छ।

हजुर बुवाले मलाई भन्नु हुन्थ्यो उहाँको हजुर बुवा वीरगंजमै जन्मनु भएको थियो । ति विदेशी विज्ञको एक शब्दले मेरो मस्तिष्कमा हलचलनै मचाइदिएको थियो। म मात्र होइन मसँगै तालितमा सहभागि सबै संचार माध्यमका विभिन्न समुदायका मित्रहरुको समेत होस् हवास उड्यो ।

मैले पनि तरुन्तै ति नेदरल्याण्का विज्ञ कोएनलाई समझाए नेपाललाई तराई भनेको भारत होइन । नेपालको एक क्षेत्र हो। नेपाललाई तीन भौगोलोलिक क्षेत्रमा बाडिएको छ। हिमाल,पहाड र तराई। तराई हाम्रो नेपालको सुन्दर शान्त र हरियालीले भरिपुर्ण क्षेत्र हो ।

मेरो जन्म वीरगँजमा भएको हो। वीरगंज तराई क्षेत्रमा पर्छ। मेरो राष्ट्रियता नेपाली हो। तराई हाम्रो नेपालको एउटा भौगोलिक क्षेत्र हो । तराईमा बस्नेलाई तराईवाशी तथा मधेशी भनिन्छ । हामी सबै जुनसुकै समुदायको भए पनि पहिले हामी नेपाली हौं भनेर भन्दा उनी बल्ल कुरा बुझे ।

मेरो यो जावाफ सुनेर तालिममा सहभागि सबै साथीहरुले ताली बजाएर समर्थन गरे। विज्ञ कोएनले कुरा बुझेपछि उनले सरी म्याम भनिहाले । तालिम कक्षा समाप्त भएपछि साथी संचारकर्मी सरिता ढकालले रुवी जी तपाईले यी विदेशी विज्ञहरुलाई नेपाली राष्ट्रियताबारे राम्रो पाठ सिकाउनु भयो भनिन् । सबैसाथीहरुले समेत मलाई धन्यवाद दिए । हामी नेपालको जुन स्थान (हिमाल ,पहाड र तराई)मा जन्मे पनि हाम्रो राष्ट्रियता नेपालीनै हो ।

त्यसपछि मैले आइएलओ नेपाल अफिसका सलोमान राजबंसी सरलाई भने सर तपाईहरुले कुनै विदेशी विज्ञलाई हामीलाई तालिम दिनकालागि बोलाउनु हुन्छ भने पहिला तिनीहरुलाई हाम्रो देशको भौगोलिक अवस्थाबारे राम्रो तालिम दिनुस । सलोमान सरले पनि महसुस गर्नू भयो र हस भनेर जवाफ दिनु भयो ।

किन भने जुन विज्ञ २० वर्षदेखि भारतको दिल्लीमा आइएलओमा कार्यरत छ उसको दिमागमा तराई भनेको विहार हो बुझाइ बस्नु हाम्रोलागि दुर्भाग्य हो। त्यही भएर नेपालमा कार्यरत अन्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले समेत नेपालबारे राम्ररी बुझनु आवश्यक छ । भौगोलिक क्षेत्र,बसोबास,रहनसहन ,धर्म,संस्कृति आदिबारे बुझेर मात्र नेपालका विभिन्न क्षेत्रमा काम गर्दा उचित हुने छ ।

यो त भयो विदेशीहरुको बुझाई तर अझै हामी नेपालीहरुमा समेत तराईमा बसोबास गर्ने सबै विहारी हुन् भन्ने धारणा कायमै छ । नेपाल भनेको काठमाडौं मात्र हो भन्ने बुझाई कायम भएकै कारण हामीविच समस्या आएको मलाई लाग्छ । हाम्रो देश जातीय,भाषिक,भौगोलिक विविधता भएको सुन्दर देश हो। यी सबैलाई साथमा जोडेर मात्र समग्र राष्ट्रको निर्माण हुन्छ । हाम्रो देशमा सदियौं देखि हिमाली,पहाडी र तराईबासीहरु एक आपसमा मिलेरै बस्दै आएका छन् । एक आपासमा सहयोग गरेरै आज हाम्रो देश विकासको बाटोमा अघि बढेको हो।

मलाई अझै समझाना छ । २०४८ सालमा म एसएलसी पास हुँदा मेरो जन्मथलो वीरगंज बडानम्बर १२का परियार,श्रेष्ठ,गिरी,थापा,लामा,तेलीलगाएतका दाजुभाई साथी तथा अंकलहरुले बधाई दिनु भएको थियो । साथै खुसियाली साट्नु भएको थियो छोरीले एसएलसी पास गरि भनेर । त्यतिखेर मलाई मैले निकै ठूलो काम गरेकोले सबैले बधाई र माया गरेको महसुस भएको थियो । म आफनो परिवारले बधाई दिएको भन्दा पनि टोलका विभिन्न थरका साथीभाई अंकल तथा आंटिको शुभकामना पाउँदा निकै खुशी भएको थिए ।

मेरो जन्म थाले बीरगँजमा मैले आफनो जिवनको १९ वर्ष विताउँदा सम्म मलाई कहिल्यै मधेशी र पहाडिविच कुनै विभेदको भानै भएन । गिरी अंंकल,श्रेष्ठ अंकल,लामा अंकल,परियार दाई ,थापा भाई सबैले भोजपुरी भाषानै बोल्नु हुन्छ । हामी मधेशी र पहाडी समुदाय आफनो टोल छिमेकमा मिलेर हासीखुशीनै बिताएकोले होला मलाई कुनै विभेद महसुस नभएको ।

स्कुल पढ्दाको मेरो सबै भन्दा मिल्ले साथीनै मनिसा मान्धर थिइन् । मैले उनलाई मेरो निकै नजिकको प्यारो मित्र मान्छु । सुःखदुःख सबै साट्ने उनैसँग थियो र अहिले विवापछि पनी हामी फोन सम्पर्कबाटै सबै कुरा सेयर गर्छौ । स्कुल पढ्दा मनिसा मानन्धर मेरो असल र प्यारो मित्रको रुपमा थिइन् । मलाई कहिल्यै उनी पहाडी समुदायको वा उनले मलाई कहिल्यै मधेशी समुदायको भनेर कुने भेउनै मैले पाइन । न उनलेनै पाएको मलाई लाग्छ । मेरो मनमा अझै पनि उनीनै मेरो सबै भन्दा मिल्ने साथी हुन् । फोनमा कुरा हुँदा उनी पनि मलाई जिवनको मिल्ने साथी रुबी तिमीनै हो भन्छिन् ।

हाल संविधान जारी भएपछि मधेशी र पहाडीबीचको विभेदले सबैको मन रुवाएको छ । तराईको समस्याको समाधान हामी सबै मिलेर गर्नू पर्छ । काठमाडौंमा बसेर तराईकोबारेमा बुझन सकिन्दैन । सरकारले संविधान त जारी गर्यो तर त्यसमा गरिएको ब्यवस्थाबारे देशका नागरिकहरुलाई बुझाउन नसकेको कारणनै समस्या उत्पन्न भएको हो ।

सरकरले संविधान जारीसँगै भोजपुरी,मैथली,अवधि,तामाङ,मगर,गुरुङ,राजबंशीलगायत जतिपनि भाषाभाषि सूचिकृत छन् ति सबै भाषामा संविधानमा उल्लेख भएका ब्यवस्थाहरुको बारेमा रेडियोबाट चेतनामूलक सूचना प्रभाव गर्नू पथ्र्यो । यसबाट देशका सबै नागरिकले आ–आफनो क्षेत्र,समुदाय,जातियलगायतका हक अधिकार समबन्धि ब्यवस्थाबारे सजिलै बुझन सक्थे ।

तराईका छोरी सिमापारी र सिमापारिका छोरी तराईमा विवाह गर्ने हाम्रो परम्पारनै हो । यसो भएकोलेनै भारत र नेपालको तराई क्षेत्रको समाजिक,सांस्कृतिलगायतका विषयहरु मिल्छन् । रोटी र बेटीकोसमबन्ध छ भारतसँग । तर यसो हो भन्दैमा तराईमा बस्ने सबै विहारी होइन भन्ने कुरा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै बुझाउन अब सरकारले ठोस कदमने चल्नु पर्छ । यसकोलागि रेडियो तथा टिभिबाट चेतनामूलक कार्यक्रमनै संचालन गर्नू पर्ने आवश्यक छ ।

अहिले तराईको समस्या नेताहरुविच अहमको लडाई,मधेशप्रतिको नकरात्मक दृष्टिकोण र तराईको समस्याको यथार्थ नबुझेकै कारणको उपज हो । जसको मारमा हामी सर्वसाधारण नागरिकहरु परेका छौं ।

नेताहरुबीच बार्ताको बातावरण बनाएर आन्तरिक कुरा पहिले मिलाएर समाजिक,आर्थिक,राजनैतिक र प्राविधिक रुपमै समाधान गर्नू पर्ने मैले देखेको छु ।

हामी स्वाभिमानी नेपाली हौं । चाहे त्यो मधेशी होस् या पहाडी होस् । सबैलाई हाम्रो नेपाल र राष्ट्रियता प्यारो छ । मधेशीले पनि नेपाललाई उत्तै माया गर्छन् । यो देश हामी सबै को हो । हामी एक आपसमा लड्यौं भने यसको फाइदा हाम्रा सत्रुहरुलाईनै हुने हामी एक आपसमा लड्यौं भने यसको फाइदा हाम्रा सत्रुहरुलाईनै हुने छ । यो हामीले समयमै बुझे मात्र देशमा सदभाव कायम हुने र विकासको बाटोमा अघि बढ्छ ।

प्रकाशित: २६ आश्विन २०७२ ०१:३० मंगलबार