ब्लग

दाहाललाई प्रश्न: पुष्पलाल हुने कि केशरजंग ?

नेपालको कम्युनिस्ट राजनीतिमा दरभङ्गा प्लेनम चर्चित छ। त्यसकै सेरोफेरो बाट कम्युनिस्टहरूले 'प्रगतिशील राष्ट्रवाद' र 'मण्डले वा महेन्द्रीय राष्ट्रवाद' भन्ने दुई शब्दावलीलाई आफ्नो साथमै राख्न थालेका हुन्। विं.सं. २०१७ सालको सो प्लेनमपछि नै आफ्नो अनुकूलताअनुसार प्रगतिशील वा मण्डले राष्ट्रवादको पगरी गुथाउने चलन सुरु भयो। अहिले चलेको राष्ट्रियता कुन प्रकारको हो त्यो तपाईं आफैँ छुट्याउनुस्। मैले भने यसलाई 'मौखिक राष्ट्रवाद' भन्ने गरेको छु । काम कम, बोली ज्यादा।नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ प्रगतिशील राष्ट्रवादका हिमायती थिए। उनलाई 'लाल गद्दार' सम्म भन्न पछि नपरेका महान् क्रान्तिकारीहरू अहिले पनि जीवितै छन्। यो वा त्यो रूपमा राष्ट्रवादको परिभाषा दिँदै आफ्नो हरेउ रूप प्रकट गरिरहेकै छन्।

पुष्पलाललाई गद्दार देख्दा राजासँग घाँटी जोड्ने केशरजंग रायमाझीलाई राष्ट्रवादी देख्ने कम्युनिस्टहरूको एउटा समूह नै थियो। कालान्तरमा रायमाझी 'लाल गद्दार' सावित भए भने पुष्पलाल क्रान्तिकारी।

समय फेरिएको छ। पात्रहरू फेरिएका छन्। नेपाली कम्युनिस्टहरूको मूल प्रवृत्ति भने फेरिएको छैन। उनीहरूले केशरजंग प्रवृत्ति फेरि दोहोराएका छन्, राजावादी र पश्चगामी कमल थापासँग घाँटी जोडेर। संसद्मा ३८ औँ प्रधानमन्त्रीको निर्वाचन भैरहँदा एउटा अप्राकृतिक गठबन्धन देखियो। जसलाई हतार–हतार 'राष्ट्रवादी' गठबन्धनको संज्ञा दिइयो। दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र एनेकपा माओवादीसहित राजतन्त्रवादी पार्टी राप्रपा नेपालको गठबन्धन। सैद्धान्तिक र विचारिक हिसाबले बिलकुल दुई किनाराको गठबन्धन! जसलाई अझ सोझो भाषामा भन्ने हो भने 'अपवित्र गठबन्धन' भन्न सकिन्छ।

राप्रपा नेपालका अध्यक्ष तिनै हुन्, जसले दशकअघि लोकतान्त्रिक आन्दोलन दबाउनका लागि सत्ताका सबै अस्त्र प्रयोग गरेका थिए। कस्तो अचम्म ! गणतन्त्र ल्याउन एक भएकाहरूसँग गणतन्त्र ल्याउनै नदिन सम्पूर्ण शक्ति प्रयोग गर्नेको साख्खे दाजुभाइको जस्तो मिलन।

इतिहासमा १० वर्ष कुनै लामो समय होइन। यस अर्थमा कि १० वर्षअघिको आन्दोलनबाट प्राप्त महŒवपूर्ण उपलब्धि संविधानसभाबाट संविधान बनाउने काम भर्खर सकिएको छ। भर्खरमात्र आन्दोलनमा मारिएका सहिदका रगतका टाटा भुइँमा सुक्दै छन्। घाइतेका घाउमा खत बस्दै छ। तर विडम्बना ! उनै कमल थापाहरूसँग प्रचण्ड र केपी ओलीजस्ता विद्रोहको भट्टी र तापबाट निस्किएका नेताहरू घाँटी जोड्दै छन्। र, भन्दै छन्– 'हामीले जित्यौँ।'

सहिदका सन्तानले प्रश्न गर्लान्। प्रचण्ड कमरेड कमल थापासँग मितेरी गाँस्नलाई १७ हजारले बलिदान दिनुपथ्र्यो र ? तपाईं कुन चमकमा उत्तर दिनुहुन्छ ? र भन्नुहुन्छ कि राजनीतिमा असम्भव भन्ने केही हुँदैन। कम्युनिस्ट राजनीतिका जटिल शब्दभण्डार झुपडीमा बस्ने ती सहिद परिवारलाई बुझ्न अवश्य कठिन हुनेछ। आफ्ना सन्तानलाई गणतन्त्र ल्याउन हिँड्दा गोली हान्नेहरूसँग मिलेर सत्ताको सिँढी उक्लिएको कुरा भने उनीहरूले प्रस्टै बुझ्ने छन्।

ओली कमरेड ! तपाईं पनि झापा विद्रोहको तापबाट आएको नेता हो। म पनि कुनै समय 'झापाली क्रान्तिकारीहरू' जस्तै बन्ने सपना सँगाल्थेँ। तपाईं त्यो विद्रोहको मुख्य कमान्डर । दुई लालयोद्धा प्रचण्ड र तपाईंले विपरीत ध्रुव, जसविरुद्ध नेपाली जनताले संघर्ष गरे, उनैसँग घाँटी जोडिदिनुभयो । कहाँ हरायो तपार्इंहरूको आदर्श ? ओली र प्रचण्डको मिलन अनौठो होइन। तपाईंहरू सारतः उही दर्शनबाट प्रेरित र प्रशिक्षित हुनुहुन्छ। कमल थापासँग तपाईंहरूको मिलन अनौठो र रहस्यमय हो। साथमा, विष्मयकारी पनि ।

कम्युनिस्ट भएकाले कमल थापाहरूसँग मिल्न हुँदैन भन्ने मेरो तर्क होइन । मेरो कुरा यत्ति हो कि आन्दोलमा मारिएका ती सहिद जसले आज तपाईंलाई गणतन्त्र नेपालको प्रधानमन्त्री बन्ने बाटो बनाइदिए, त्यही बाटोमा टेकेर किन राजावादीहरूसँग हात मिलाउनुभयो ? मेरो प्रश्न यत्ति हो ।

तपाईंलाई सहिदकी बूढी आमाले सोध्ने छिन्, 'बाबु, मेरी छोरी व्यवस्थाविरुद्ध लडी तर त्यही जोगाउनेसँग तपाईंले मितेरी साइनो किन लगाउनुभयो ?' उनका आँशु पुछ्दै चित्तबुझ्दो जवाफ दिन सक्नुहुन्छ, प्रचण्ड कमरेड ?

आखिर तपाईंहरू पनि केशरजंग रायमाझीको 'लोकतान्त्रिक भर्सन'का रूपमा देखिनुभयो। उनले राष्ट्रियता भन्दै राजासँग मिलेर पञ्चायतको सेवा गरे । तपाईंहरूले राष्ट्रियता भन्दै १० वर्षमै राजावादीहरूको कर्तुत बिर्संदै राजतन्त्रका पहरेदारहरूसँग सत्ताको लागि अंकमाल गर्नुभयो।

प्रचण्ड कमरेडले संसद्मा बोल्दै प्रश्न पनि गर्नु भयो, 'मातृका बन्ने कि बीपी बन्ने ?' तपार्इंलाई पनि प्रश्नका चाङ छन्। अहिलेलाई एउटै प्रश्न पर्याप्त छ– 'पुष्पलाल बन्ने कि केशरजंग रायमाझी ?'

प्रकाशित: २५ आश्विन २०७२ ००:५५ सोमबार