ब्लग

मिस्टर जोनलाई खुलापत्र

ठीक भन्नुभो, मिस्टर जोन! नेपाली पत्रकारले 'ननसेन्स' समाचार लेखे। गरिब देशका पत्रकारले के जान्दछन् र सटिक र वस्तुनिष्ठ समाचार लेखून्? धनी देशका पत्रकारले झैँ कुनै जासुसी संस्थाले दिएको बद्नियतपूर्ण सूचनाका भरमा उनीहरू 'इराकमा आमविनाशकारी हतियार छ' भनेर लेख्न जान्दैनन् र एउटा सिंगो राष्ट्रको विध्वस्तीकरणका लागि आधारभूमि तयार गरिदिन जान्दैनन्। इजरायलका हातबाट निहत्था प्यालेस्टिनी जनताको कत्लेआम भइरहँदा उनीहरू इजरायलको कदमलाई जायज ठहराउन जान्दैनन्।

गरिब देशका गरिब पत्रकारहरू, सानो देशका साना पत्रकारहरू, निर्धो देशका निर्धा पत्रकारहरू, भोको देशका भोका पत्रकारहरू 'सेन्स'युक्त र अर्थपूर्ण समाचार लेख्न जान्दैनन्। उनीहरूले कुहिएको चामल देखे र कुहिएको चामलबारे वाहियात समाचार लेखे। कुहिएको चामल सत्य हो। आफूलाई ब्रह्माण्डको हर्ताकर्ता ठान्ने तपाईंहरू जस्ताको प्रजातिलाई सत्य यसै पनि वाहियात लाग्छ, अप्रीतिकर लाग्छ। सत्य प्रकट गर्नेहरू तपाईंको प्रजातिका नम्बर एक दुश्मन हुन्। जस्तो कि एडवर्ड स्नोडेन। सत्यको भेद खोलिदिएको अपराधमा जो शिरमाथि मृत्युको तरबार लट्काएर संसारभरि भौँतारिरहेको छ।

मिस्टर जोन, तपाईंको आक्रोश जायज छ। २० लाख नेपालीको मुखमा माड लाइदिने महान् संस्था विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई हामीले सम्मान गर्नुपर्दैन? शक्तिशालीले दिएपछि दीनहीनले हात थापेर खुरुक्क लिनुपर्छ। त्यो कुहिएको चामल नै किन नहोस्। गरिबलाई दाताको अभिमानमा ठेस पुर्यााउने अधिकार हुँदैन। जस्तो कि तपाईंहरू ठान्नुहुन्छ, विनम्रबाहेक गरिबको अर्काे मुद्रा हुनु हुँदैन। किनभने, ऊसँग विकल्प र छनोटको सुविधा हुँदैन। तपाईंहरू जस्ताको प्रजाति र हामीहरू जस्ताको प्रजातिबीचको सम्बन्ध मालिक–दासकै हो। यत्ति हो–यो सम्बन्धको संस्करण आधुनिक छ।

अन्यथा हुन्थ्यो भने, मिस्टर जोन, हामीले तपाईंलाई 'जो चोर उसैको ठूलो स्वर' भन्न सक्थ्यौँ। कूटनीतिक मर्यादाको धज्जी उडाएको अपराधमा तपाईंलाई तत्क्षण गलहत्याउन सक्थ्यौँ। आफ्नो राष्ट्रको आत्मसम्मानको नाभी ताकेर तपाईंहरू जस्ताले घातक हमला गर्दा पनि हामी चुपचाप बस्छौँ। किनभने, हामी गरिब छौँ, भोका छौँ, पीडित छौँ।

छ वर्षअघि जाजरकोटमा डब्लूएफपीले बाँडेको चामलकै कारण फैलिएको झाडापखालाले तीन सय नेपालीको मृत्यु भएको थियो। तपाईंहरूलाई कठघरामा उभ्याउनुपर्ने हो। तर, हामीसँग त्यत्रो ताकत कहाँ? फेरि, कुहिएको चामललाई गुणस्तरीय, स्वास्थ्यकर र खान योग्य साबित गर्नका लागि रोममा एकसे एक प्रेस अधिकृतहरूको बटालियन हमेशा तयारी अवस्थामा रहन्छ।

राजनीतिक अभियन्ता तथा लेखक अरुन्धती रोयले यो युगलाई सिंगो मानवता र धर्तीका हरेक प्राणी अन्तर्राष्ट्रिय मुद्रा कोषको चेकबुक र अमेरिकी क्रुज मिसाइलको चेपुवामा परेको युग भनेकी छिन्। अब त्यसमा विश्व खाद्य कार्यक्रमको कुहिएको चामल पनि थपिदिँदा कसो होला मिस्टर जोन? तपाईंहरूलाई मन नपर्ला। उसो त तपाईंहरूलाई गरिब हाँसेको पनि मन पर्दैन, रोएको पनि मन पर्दैन। गरिबले खाएको पनि मन पर्दैन, भोको बसेको पनि मन पर्दैन। गरिबले बोलेको पनि मन पर्दैन, चुपचाप भएको पनि मन पर्दैन।

विश्वव्यापी खाद्य संकटमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकोमा डब्लूएफपी, खाद्य तथा कृषि संगठनको आलोचना उहिलेदेखि हुँदै आएको हो। सन् २००८ तिर संगठन पूर्णतः दिशाहीन भएको प्रतिवेदन सार्वजनिक भएपछि तत्कालीन निर्देशक ज्याक्स डिउफले संगठनको बचाउ गर्दै भनेका थिए, 'नीतिनिर्माताहरूको कृषिप्रतिको उपेक्षा, जनसंख्या वृद्धि, जलवायु परिवर्तन, खडेरी, आँधी आदिका कारण खाद्य संकट गहिरिएको हो। हरेक वर्ष सात करोड पचासी लाख शिशुलाई यो धर्तीमा विश्व खाद्य तथा कृषि संगठनले ल्याएको हो र?' तीमध्ये गरिब देशका शिशु अधिक हुन्छन्। आफ्नो वशमा हुन्थ्यो भने बच्चा जन्माउने गरिब माताहरूलाई डिउफले झ्यालखाना हालिदिन्थे होलान्।

मिस्टर जोन, कुरो ध्येय र नियतको हो। हरेक वर्ष असीभन्दा बढी देशका नौ करोड मान्छेका मुखमा चारो हालिदिने संस्था हो, डब्लूएफपी। पूर्व यूएस ट्रेजरी सचिव तथा विश्व बैंकका पूर्व प्रमुख अर्थशास्त्री ल्यारी समर्स डब्लूएफपी, एफएओजस्ता मञ्चमा अमेरिकाका तर्फबाट प्रतिनिधित्व जनाउँछन्। उनी हृदयमा कति हरि भएका मान्छे हुन् भने उनले अमेरिकाको विषालु फोहरमैला कम आम्दानी भएका देशमा व्यवस्थापनका लागि पठाउनुपर्ने वकालत गरेका थिए। उनको मानवतावादी धारणा यस्तो छ– 'गरिब देशका मानिस यसै पनि चाँडै मर्छन्। उनीहरूको आय आर्जनको सम्भावना कमजोर हुन्छ। त्यसैले उनीहरूको जीवन खासै मूल्यवान् हुँदैन।'

मिस्टर जोन, डब्लूएफपीको कुहिएको चामलले समर्सको सोच बोक्छ कि बोक्दैन? विश्व खाद्य कार्यक्रम बहुराष्ट्रिय कम्पनीहरूको 'विश्व खाने कार्यक्रम' पनि भएको छ कि छैन? डब्लूएफपीले परनिर्भरताको संस्कृति विकास गरेको छ कि छैन? स्थानीय उत्पादनलाई उपेक्षा गरेको छ कि छैन? बहुराष्ट्रिय कम्पनीहरूका लागि नयाँ बजार खोजिदिने काम गरेको छ कि छैन? यसै पनि खाद्य सहायता बहुराष्ट्रिय कम्पनीको नयाँ बजार कब्जा गर्ने एउटा रणनीति पनि हो। खाद्य सहायतसम्बन्धी अमेरिकी नीति नै छ– विकासशील राष्ट्रका सम्भावित बजारमा अमेरिकी कृषिजन्य सामग्रीको निर्यातलाई प्राथमिकता दिने।

विश्व खाद्य कार्यक्रमको तथ्यांकअनुसार यो धर्तीमा उनासी करोड पचास लाख मान्छे भोका छन्। यो संसारमा नौजनामध्ये एकजना मान्छे भोको छ। मिस्टर जोन, भोको मान्छेको भोकाउने पेटमात्र हुँदैन। सोच्ने मस्तिष्क र महसुस गर्ने मन पनि हुन्छ। ऊसँग हुने एक थान मुखले खाने काममात्रै गर्दैन, बोल्ने काम पनि गर्छ। भोकले उसलाई निरीह मात्र बनाउँदैन, विद्रोही पनि बनाउँछ। संसारभरिका भोकाहरू तपाईंहरू जस्ताको प्रजातिविरुद्ध उत्रिए भने के हुन्छ?

त्यसैले, मिस्टर जोन, कुहिएको चामललाई गम्भीरतापूर्वक लिनुहोस्।

प्रकाशित: २३ असार २०७२ २३:४४ बुधबार