ब्लग

विष्णुमायालाई सुनिरहँदा सबैका आँखा भिजे

दुई हप्ताअघि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा दलित विद्यार्थी युनियनले डा विष्णुमाया परियारलाई सम्मान गर्दै बधाई ज्ञापन गर्ने र उनको अनुभव सुन्ने कार्यक्रममा सहभागी हुने अवसर मिल्यो।

एक सीमान्तकृत गाउँको मान्छे, महिला र कथित अछुत महिलाको सफलता र सामाजिक कार्यबारे पहिले सुनेको र कतै पढेको थिएँ। तसर्थ उहाँप्रति मेरा पनि जिज्ञासा र कौतुहलता थिए। नजिकबाट भेट्ने र सुन्ने रहर पूरा गर्न म दलित विषय र उहाँको बारे लेखिरहने संजिव कार्कीको साथ त्रिवि पुगें। सौभाग्य उहाँसँगै त्रिविदेखि अनामनगरसम्म एकै सवारीसाधनमा आउन पाइयो।

विष्णुमायाको सम्मान कार्यक्रम मेरा लागि नयाँ मान्छेबारे बुझ्ने मौका थियो। राज्यले नै सम्मान गर्नुपर्ने व्यक्तिलाई त्रिविमा विद्यार्थीहरूले सम्मान गरेर आफ्नो कर्तव्य निर्वाह गरे। तर, राष्ट्रिय–अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई नेपालले भने चिन्न सकेको जस्तो लागेन।

उनलाई नचिन्नुको पछाडि केही धेरै कारण छन्। इतिहासदेखि नै अन्याय गरिएको, पाखा पारिएको र दलित समुदायको मान्छेलाई आज पनि अभिशप्त भएर नै रहन बाध्य पार्ने कथित उच्च वर्गको सत्ता र शासकीय संरचना विद्यमान भएर हो कि भन्ने भान भएको छ। त्यसो हो भने दुर्भाग्य हो। हामीले परम्परागत रूपमा अवलम्बन गरेको जातीय छुवाछूत हाम्रो सभ्यतामाथिको फोहोर हो जुन संवैधानिक,मानवीय र संस्कारको हिसाबले एकदम त्रुटिपूर्ण छ। जसलाई सच्याउन नचाहनु भनेको अशिष्ट,अमर्यादित र अवैधानिक हो।

विश्वका ११०० भन्दा बढी स्कुल कलेज र विश्वविद्यालयमा जसको बारे पढाइन्छ, जसको सामाजिक कार्य, संघर्ष सफलता र जीवनीबारे विश्व जानकार हुँदा नेपाल अनदेखा गरिरहेको छ। यस्तो किन भयो? एक सीमान्तकृत समुदायको मान्छे, गाउँले,महिला र दलित आफ्नै बलबुताले यो स्थानमा पुग्दा गर्व गरेर सम्मान गर्न र अरू हजारौं विष्णुमायालाई प्रेरणा दिन पनि राज्य गम्भीर भएर लाग्नुपर्ने हो तर किन हो उपेक्षा गरेझैं लाग्यो।

मान्छेको आत्मसम्मानमा चोट लाग्दा दुख्ने मनको औषधि मर्यादा, सम्मान र समतामूलक हैसियत दिनु र उसको योगदानबारे अनुगृहीत हुनु हो। दुर्भाग्य आफ्नो नागरिकलाई विश्वले चिनेर विश्वकै सम्पत्ति,आदर्श प्रेरणा मान्दा उनका अनुभव र ज्ञान सफलता र संघर्षले प्रेरणा लिंदा नेपाल भने अझै जातीयताको दलदलमै छ। आजपर्यन्त विष्णुमायालाई अछूत नै देख्छ।

विभिन्न आरोह–अवरोह पार गरेर विष्णु जहाँ पुगिन् त्यहाँ राज्यको लगानी छैन। उनी आफ्नै ल्याकतले त्यहाँ पुगेकी हुन्। शारीरिक चोटभन्दा आत्मसम्मानमा लागेको चोट नै सबभन्दा पीडादायी र विषाक्त हुन्छ। नदेखिने तर दुखिरहने घाउ र दुख हो आत्मसम्मानको चोट। यस्तै चोट र दुख खेपेर पनि सफल बनेर विश्वमा चिनिएकी मान्छे हुन् विष्णु।

‘संसारमा सबैभन्दा खतरनाक मानिस नै अपहेलित मानिस’ भनेर नेल्सन मण्डेलाले भनेकै छन्। उपेक्षा, अपहेलना, छोइछिटो गरेर आत्मसम्मान र मर्यादा नदिएर नै राज्य सधै रहने हो भने ती अपहेलितको जनसंख्या मुलुकमा १५ % को हाराहारी छ। खतरनाक भएर निस्के भने...? सधैं सहेर बस्नु नै दलितको नियति पक्कै हुँदैन। सबै समस्याको समाधान व्यवस्था परिवर्तन भनेर व्यवस्था परिवर्तन गरेको तीन दशक बढी भैसक्यो। अझ सबै व्यवस्थाको मूल खाँबो राजतन्त्र भनेर त्यसलाई पनि विस्थापन गरेको डेढ दर्जन वर्ष हुन लाग्यो। यद्यपि राज्यको मूल चरित्र दलित,महिला र निमुखामैत्री भएन? आम रूपमा राज्यको चरित्रमा फेरबदल आएन? संरचनागत रूपमा संस्थागत गरिएको छुवाछूतमा कमी आएन।

महिला दलित, जनजाति र किनाराकृत मान्छेलाई हेर्ने राज्यको दृष्टि खोटपूर्ण नै रह्यो। छुवाछूतको नाममा मान्छे पिटिने,अपमानित गरिने र मारिने क्रम आजपर्यन्त तीन दशक अघिकै अवस्थामा छ। यो सब सत्तामा पुग्नेको दिमागमा जमेको जातीय छुवाछूतरूपी फोहोर सफा नभएर हो। एउटा कथित दलित सार्वजनिक धारामा पानी खाँदा मारिन्छ। एउटी महिलाको मृत्युको कारण उसको योनी र स्तन हुन्छ। एउटा गरिब सुखको मानो खाने अवस्थामा छैन। तब राज्य कसका लागि र किन? आफ्नो माटोमा अपमानित मानिस, आफ्नै दाइभाइबाट असुरक्षित नारी, श्रम गरेर पनि भरपेट खान नपाउने नागरिकका लागि देश आफ्नो कसरी हुन्छ?

विष्णुमायालाई गरिएको उपेक्षा यही मानसिकताको उपज भन्दा फरक पर्दैन। वैधानिक रूपमा नै (२०२० मुलुकी ऐन) नेपालले छुवाछूतलाई दण्डित मानेको करिब ६ दशक हुन् लाग्यो। संयुक्त राष्ट्रसंघले १९६७ देखि मार्च २१ लाई अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको रूपमा मनाउन लागेको ५५ वर्ष पूरा भयो। नेपालको संविधान २०७२ को प्रस्तावनामै सबै किसिमका विभेदको अन्त्य गर्ने भनेर लेखिएको छ भने धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हक, धारा ४० मा दलितको हक अनि धारा ४२ मा सामाजिक न्यायको हक र धारा २५५ मा राष्ट्रिय दलित आयोगलाई संवैधानिक आयोगको रूपमा व्यवस्था गरिएको छ।

त्यस्तै विभिन्न समयमा निर्माण गरिएका ऐन,कानुन र आचार संहिता, थुप्रै घोषणा, २०२० पछिका सबै संविधानमा जातीय छुवाछूत दण्डनीय अपराध उल्लेख छ। भेदभावविनाको समाज निर्माण गर्ने राष्ट्र संघको मानव अधिकारको विश्वव्यापी घोषणा पत्र १९४८ लाई नेपाल सरकारले अनुमोदन गरेको छ भने सबै प्रकारका जातीय विभेद उन्मुलनको महासन्धी १०६९ को पक्ष राष्ट्र नेपाल रहेको छ। नेतादेखि सांसद्,मन्त्री र प्रधानमन्त्री, राष्ट्रपतिको भाषणमा विभेदविरुद्दको मत अभिव्यञ्जित हुन्छ। तथापि किन हुन्छ जातीय विभेद? कहाँ छ जातीय विभेद गर्ने अधिकार? जातीय विभेदको मूल स्रोत कुन हो? उत्तर प्रष्ट छ।

हाम्रो मस्तिष्कको संरचनामा छ। जातीय विभेदको कानुन जुन कानुन हाम्रो सामाजिक संस्कार धर्म र परम्परामा आधारित छ।  तसर्थ हामी देशको कानुनी आदेश होइन हाम्रो सामाजिक र मानसिक संरचनामा रहेको कानुन मानेर देशको कानुन उल्लंघन गर्छौ। छुवाछूतको नाममा ज्यान हताहती गर्न सामान्य मान्छौ। आजको आवश्यकता देशको कानुन पल्टाएर कागजी खोस्टामा प्रत्यायोजित कानुन देखाउने नभएर हाम्रो मनमस्तिष्कमा भएको विभेदी संरचना हटाउने हो? कागजको अधिकार होइन मस्तिष्कमा विराजमान विभेदी संरचनालाई नवीन संरचनामा रुपान्तरण गर्ने हो।

पीडितलाई भन्दा पीडकलाई सजक बनाउने, कानुन सिकाउने र मान्छे बन्ने आचरण र अनुशासन सिकाउने हो। राज्य आफू कताबाट मिस गाइडडेड र मिस लिडिंग भएको छ। त्यसको समीक्षा गर्दै अघि बढ्नुपर्छ। छुवाछूतको समस्या लगायत अरू समस्या सम्बन्धित पक्षको मात्र होइन राज्यको आफ्नो समस्या भनेर आत्मसात गरेको दिन आधा समस्या हल हुन्छ भने बाँकी समस्या सफा गर्न राज्यका थुप्रै संयन्त्र र कतिपय नयाँ संयन्त्र निर्माण गरेर लाग्नुपर्छ। निश्चित समय तोकेर नै यो अमानवीय समस्यालाई सधैंका लागि चिहानमा पठाउनुपर्छ।

मलाई विष्णुमायाको सरलता र घमण्ड नदेखाउने स्वभावले विशेष खिच्यो। सेलिब्रेटीहरू घमण्ड गर्छन्। कार्यक्रममा सम्भावित उपस्थिति ग्यारेन्टी गरेर मात्रै जान्छन् तर विष्णुमायाले विद्यार्थीले गरेको त्रिवि हलको सामान्य कार्यक्रममा दिएको महत्त्व र समयले उनी सबैलाई समान रूपमा सम्मान गर्ने मान्छेको रूपमा बुझिन्थ्यो। आफ्ना भावना अनुभूति र भोगाइ,खेपेको,अपमान पाएको दुख सुनाउने क्रममा भक्कानिंदा आम विद्यार्थी र हलमा भएका मान्छे स्तब्ध भएर आँसु पुछिरहेको दृश्यले कसैका आँखा सुक्खा थिएनन् भन्ने बुझिन्थ्यो।

दलित अधिकार र समस्याको कुरा गर्दा पीडित र पीडक दुवै समुदायको मान्छेलाई तिनको आवश्यकताको आधारमा चयन गरेर घुलमिल गराउने विभेद मेट्ने प्रयास प्रशंसनीय लाग्यो। विभेद मेट्न अलग भएर होइन, दलित र गैरदलित घुलमिल भएर सबैको साथसहयोग लिएर अघि बढ्नुपर्ने कुराले मन छोयो। दलित समुदायमा मादक पदार्थ सेवन गर्ने र आफूभित्र पनि ठूलो र सानो भन्ने भेद रहेकाले त्यो भेद अन्त्य गरेर अरूसँग लड्न सकिने विचारले अत्यधिक सहभागी र कार्यक्रमका मुख्य अतिथि कर्णाली प्रदेशका सांसद् दानसिह परियारको पनि समर्थन र स्वीकारोक्ति पाएथ्यो।

समाज बदल्न शक्तिको होइन प्रेम, स्नेह र विश्वासको प्रयोग ज्यादा उपयुक्त हुन्छ भन्ने बौद्ध धर्मको दार्शनिकता विष्णुमायाको अभिव्यक्तिमा झल्किन्थ्यो। आफ्ना आमाबुबाप्रतिको असीम श्रद्दा र कृतज्ञता अनि देशको माटालाई चन्दन सम्झने विष्णुको नेपाल लगाव अतुलनीय लाग्यो। उनी आफू आफ्नो व्यक्तिगत सफलता र खुशीमा भन्दा आम मान्छे दलित विपन्न,सिमान्तकृत र महिलाको मुक्ति, आत्मसम्मान,प्रगति र खुशीमा ज्यादा रमाउने कुराले उनको अठोटलाई प्रतिबिम्बित गर्थ्यो।

आफूलाई विश्वले दिएको मान,सम्मान र इज्जत आम नेपालीको भएको र नेपाली छोरी हुनुमा गर्व भएको बताइरहँदा उनकाप्रतिको श्रद्धा अरू चुलियो। विष्णुले बोलिरहँदा कसैकाप्रति आक्रोश खिन्नता र उदाशीनता देखिएन बरु विद्यार्थीमाझ आफ्ना कुरा राख्न पाउँदा खुशी देखिनुको साथै अनुभव साट्न पाउँदा मजा मानेको देखिन्थिन्।

नेपालमा आइएसम्म पढेर अमेरिका गएर स्नातक, स्नातकोत्तर उत्तीर्ण विष्णुलाई पाइन् म्यानर कलेजलेसन् २०१३मा मानार्थ विद्यावारिधिले सम्मानित गरेको छ। विपन्न, गरीब र दलित गाउँले परिवेशबाट उच्च शिक्षा अध्ययनार्थ अमेरिका पुगेकी विष्णु एक प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित छन्।

विश्वप्रसिद्ध अमेरिकी प्रकाशक म्याकग्रो हिलले आफ्नो किताब ‘द राइटर्स माइण्डसेट’ मा डाक्टर विष्णुमाया परियारको जीवन संघर्षको कहानी यसपटक प्रकाशन गरेको छ। जुन किताब लिसा राइटले लेखेको हो। उक्त पुस्तकको ६९२ पृष्ठमा विश्वका चर्चित ५२ जना विविध क्षेत्रमा योगदान गरेका मान्छेहरूबारे लेखिएको छ। जसमध्ये ५९१– ५९४ बिच ४ पृष्ठमा डाक्टर परियारको जीवनी समावेश छ। यो पुस्तक ४३ लाख किन्ने ग्राहक भएको २०२०को आँकडा छ। यही पुस्तकको माध्यमबाट विष्णुमायालाई संसारभर पढाइन्छ।

२०१५ मा २७ सेप्टेम्बरलाई अमेरिकाको केन्टुकी राज्यले विष्णुमाया डे घोषणा गरेर भव्य सेलिब्रेट गरेको थियो। देश विदेशका ख्यातिप्राप्त तीन दर्जनभन्दा बढी सम्मान पुरस्कार र पदक प्राप्त विष्णु नेपालबाट भने प्रशंसामा एकशब्द पनि राज्यको औपचारिक निकायबाट नपाएकी व्यक्ति हुन्।

विष्णु प्राविधिक रूपमा नेपाली नागरिक होइनन् तर उनी नेपाललाई आफ्नो मनमुटु र मस्तिष्कबाट कहिल्यै हटाउन सक्दिनन। जसको उदाहरण उनले सहयोग जुटाएर स्कुल शिक्षादेखि विश्वविद्यालयसम्म पढ्ने २५ हजार बालबालिका, विद्यार्थी र उनले स्थापना गरेको दलित महिला उत्थान अभियान मार्फत सीप, श्रम र उद्यम गरेर आफ्नो जीवनबाट गरिवी र अभावलाई कायापलट गराउन दिएको योगदानले प्रमाणित गर्छ। उनको संस्था एडवान नेपाल मार्फत ६० हजारभन्दा बढी महिला संलग्न भएको देशभर ११९ महिला समूह क्रियाशील छन्।

विष्णुमायाबारे नेपालको शैक्षिकस्थलमा पनि पढाइ हुनुपर्छ भन्ने अभिप्राय र उहाँको योगदानबारे थोरै भए पनि सम्मान दिन सकियोस् भन्ने कुराले गर्दा सम्मान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजन गर्ने दीपा नेपालीको भनाइ थियो। प्रमुख अतिथि दानसिंह परियार र अर्का अतिथि मिमबहादुर परियारले विष्णुको जीवनी नेपालको शैक्षिक पाठ्यक्रममा राखिनुपर्ने माग गर्नुभएको थियो।

देशविदेशमा योगदान भएको नाम र चर्चा भएको मान्छेबारे राज्य बेखबर हुनु, राजनीतिक पार्टीहरू मौन रहनु र स्वयं दलितका संघसंगठनको उपेक्षा देखिनु सबैलाई बिझेको र खटकेको विषय थियो। आम सहभागीको आक्रोश र असन्तुष्टि यसैमा थियो कतै विष्णुमाया कथित अछूत हुनुको परिणति नै यस्तो उपेक्षा त होइन?

कुनै दिन कहिलेकाहीं विशेष हुन्छन्। मलाई पनि त्यो दिन विशेष स्मरणीय लाग्यो।नेपाली माटोमा जन्मेकी नेपाली हिलो धुलो खेलेर अमेरिका पुगेकी र त्यहाँ आफ्नो मेहनत,लगन र अठोटले स्थापित भएर न्यूजर्सी सिटीमा मेयरको सल्लाहकार समेत भइसकेकी उनी  हाल जर्सी सिटीको रोजगारी र तालिम समितिको विज्ञ सदस्यको रूपमा २०२४ सम्मको लागि नियुक्त भएकी छन्।

नेपाली झण्डालाई अमेरिकामा फहराएर नेपालको सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका र जर्सी सिटीलाई भगनी सिटीको सम्बन्ध निर्माताको अभियन्ता,सामाजिक कार्यकर्ता, मानवधिकारवादी, महिला हिंसा र लैगिक हिंसाविरुद्ध काम गर्ने विष्णुमायालाई भेटेर मैले उनको धेरै अनुभव सुन्ने मौका पाएँ। उनको यो अनुभव उपलब्धि सारा नेपालले सुन्ने वातारण बन्नुपर्छ तर यिनका लागि नेपालीले केही गर्न सकेका छैनन्। म मेरो अक्षरको खेती मार्फत सबै सरोकारवाला निकायको ध्यानाकृष्ट गर्दै मान्छेलाई जीवित नै रहँदा सम्मान गर्नुपर्छ योगदानको कदर गर्नुपर्छ भन्ने भावना सम्प्रेषण गर्न चाहन्छु।

राज्यले दिने सम्मान पदक विभूषण कति अयोग्य र असक्षमको गर्धनमा झुन्डिएको छ तर विष्णुको गलामा झुन्डिन पाए मात्रै कति पदकले आफै इज्जत पाएको अनुभूत गर्थे होला। सम्मान गर्ने संस्कृतिले सम्मान पाउने संस्कृति निर्माण गर्छ। सम्मान गर्ने संस्कृति निर्माण गरौ! विष्णुको उपलब्धिलाई कसैले हीनताबोध गर्नुपर्ने र लघुताभाष पाल्नुपर्ने कुनै कारण छैन। आज हामी संकुचित बन्यौ भने भोलिको पुस्ताले पनि फराकिलो छाती प्रदर्शन गर्ने संस्कार नजान्न सक्छ। तसर्थ योगदानलाई सम्मान गर्न हिच्किचाउने लघुताभाष र संकोची मन बिस्तारित बनाऊ।

प्रकाशित: ३ वैशाख २०७९ ०२:३६ शनिबार

दलित विद्यार्थी युनियन