सिपाही अर्थात् प्रतिबद्ध, इमानदार र जुझारु।
सिपाही अर्थात् योद्धा।ललित दाइ (सबैले आदरका साथ ललितकृष्ण श्रेष्ठलाई पुकार्ने नाम) आफूलाई फुटबलको यस्तै योद्धा भन्न रुचाउँथे। नेपाली फुटबलका विभिन्न भूमिकामा ३५ वर्षभन्दा लामो समय सेवा गरेका ललित दाइसँग सिपाही स्वभाव त थियो नै, उनमा संकटमोचकको क्षमता पनि थियो। उनी मृदुभाषी थिए, कसैलाई भनि नबिराउने। अनि, कसैलाई बिझ्नेगरी नभन्ने। आफूलाई सिपाही घोषणा गरे पनि काममा एकनास डटिरहने स्वभावका कारण पछिल्लो दशक उनी नेपाली फुटबलको एउटा निर्विवाद नेता थिए।
शुक्रवार ललितपुर, भैँसेपाटीस्थित नयाँ घरमा साइत गरेर सरेका उनकोे करेन्ट लागेर सोही रात विष्मयकारी मृत्यु भयो। नेपाली फुटबलमा सामान्य चासो राख्नेसम्मलाई स्तब्ध पार्दै ललित दाइले मृत्युवरण गरे। आफूलाई सिपाही भन्ने फुटबलका नेताको मृत्युले उनी अध्यक्ष रहेको रुस्लान थ्री स्टार क्लब, कार्यवाहक अध्यक्षका रूपमा कार्यरत अखिल नेपाल फुटबल संघ (एन्फा) मात्र नभई पूरै देशको खेलकुदमा भर्न नसकिने रिक्तता छोड्यो। हजारौँ फुटबलप्रेमी आँखालाई आँशुमा डुबाएर उनले महायात्रा तय गरे।
ललित दाइ फुटबलका त्यस्ता सेतु थिए, जसले थुप्रै पटक एन्फालाई धराशायी हुनबाट जोगाउने काम गरे। खेलाडीका रूपमा औसत स्तरको रक्षक थिए उनी। पाटन, मंगलबजारमा जन्मेका उनले टोलकै थ्री स्टार क्लबबाट किशोरावस्थादेखि फुटबल खेल्न थाले। डी डिभिजनदेखि नेपाली फुटबलको शीर्ष डिभिजनसम्म पुर्या उँदा उनले क्लबबाट फुटबल खेले। ए डिभिजनमा क्लब पुगेपछि एउटा खेलदौरान घुँडामा चोट लागेपछि ललित दाइको खेल करिअरमा पूर्णविराम लाग्यो। तर, तत्कालै उनी व्यवस्थापनमा लागे।
खेलाडीका रूपमा अघोषित सन्न्यास लिएपछि उनले केही समय थ्री स्टारमै व्यवस्थापकीय भूमिका निर्वाह गरे। २०५० सालमा ए डिभिजन क्लब समन्वय समितिको संयोजक हुन भ्याइसकेका ललित दाइ २०५१ देखि निरन्तर एन्फाको कार्यसमितिमा कार्यरत रहे। सुरुमा रुक्मशमशेर राणा अध्यक्ष हुँदा एन्फामा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेका श्रेष्ठ सहसचिव, प्रवक्ता, उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षको जिम्मेवारीसम्म पुगे।
प्रशासकका रूपमा यति लामो यात्रा तय गर्ने क्रममा फुटबलका विवादलगायत सबै गतिविधिमा ललित दाइ केन्द्रविन्दुमा रहने गर्थे। हरेक तीनचार वर्षका बीचमा विवादले बिथोल्ने फुटबलमा ललित दाइको भूमिका सदा समन्वयकारी हुने गर्थ्यो। एन्फा र पत्रकारका बीचमा हुने असमझदारी हटाउनेदेखि लिएर फुटबलभित्रै विवादरत दुई पक्षलाई एक ठाउँमा ल्याउन पनि उनै ललित दाइको भूमिका खोजिन्थ्यो।
उनी भन्ने गर्थे, 'जीवन छोटो छ, साथी! केही अमर काम गरेर जानुपर्छ।' फुटबलमा कायापलट गर्ने उनको चाहना थियो, तर कसैलाई चिढाएर होइन। सबैलाई मिलाएरै नेपाली फुटबलको विकास सम्भव देख्थे उनी। त्यसैले पटक–पटक विवाद र आन्दोलनको भुमरीमा फुटबल पर्दा पनि उनी सबैलाई मिलाएरै हल निकाल्ने प्रयासमा रहन्थे। युवा विकास परियोजनालाई व्यापक र व्यवस्थित पार्ने उनको सपना थियो। आफैँले संयोजक भएर एन्फा एकेडेमी चलाएकाले पनि होला, उनलाई युवा खेलाडी उत्पादनको छुट्टै नशा चढिसकेको थियो। उनी चाहन्थे– देशमा दर्जनभन्दा बढी आवासीय एकेडेमी हुन्, हरेक वर्ष तीन सयको हाराहारीमा प्रतिभावान् खेलाडी उत्पादन हुन्, कम्तीमा भारतीय क्लबमा नेपाली खेलाडीको दबदबा होस्, दक्षिण एसियाली स्तरमा नेपाली फुटबल सधैँ नम्बर एक भइरहोस्। त्यसका लागि देशभित्रका क्लब तथा जिल्ला फुटबल संघहरूलाई सक्रिय बनाउने योजना उनले सुनाउन भ्याएका थिए हामीलाई।
शुक्रवारको दिन घरमा पूजा चलिरहँदा पनि फोनमा ललित दाइसँग कुराकानी भएको थियो। मैले पूजामा नबोलाएको भन्दै उनीसँग ठट्टा गरेँ। ललित दाइले स्थायी रूपमा घर सर्ने बेला बोलाउने भन्दै मेरो कुरालाई खास महŒव दिएनन्। उनले मसँग त्यस्तो ठट्टाका लागि फोन गरेका थिएनन्। शनिवार दिउँसो भेट्न उनले मलाई फोन गरेका थिए।
'नेपाली फुटबलमा केही गर्नुपर्छ, साथी! त्यसका लागि सल्लाह गर्नुछ। तपाईं भोलि बिदा भए पनि आउनुस् है।' उनले मसँग बोलेका अन्तिम वाक्य यिनै थिए। अफसोच! त्यो सल्लाह हुन पाएन। मलाई बिदा भए पनि भेट्न आग्रह गरेका उनले यो धर्तीबाटै बिदा लिए।
पण्डितले शुक्रवार घर सर्नका लागि साइत जुराएका थिए। शुक्रवार नसरे महिनौँसम्म फेरि साइत नभएको बताएपछि तयार भइनसकेको घरमा एक दिनका लागि पूजा गरेर साइत छोप्न बाध्य भएका थिए ललित दाइ। त्यो दिन पूजा गरेर साइतको एक रातका लागिमात्र उनी त्यहाँ गएका थिए। पाटनको पुरानो घर भूकम्पले चर्केका कारण उनले घर सर्न हतार गर्नुपरेको थियो। आफ्नै घरमा बिजुली जोड्न नभ्याएकोले छिमेकीकोबाट एक रातका लागि अस्थायी पारामा ल्याएको बिजुलीका कारण वाइरिङ राम्रो थिएन।
भूकम्पपछि मैले राष्ट्रिय टोलीलाई विदेशमा गएर केही टिमसँग उपकारी खेल गराएर पीडितको राहतमा अर्थ संकलन गर्न सकिने सल्लाह ललित दाइलाई दिएको थिएँ। त्यसमा उनी सकारात्मक थिए। देशभित्र फुटबल नभएका बेला राष्ट्रिय टोलीलाई खेलको अनुभव दिन पनि पाइने, सँगै भूकम्पपीडितको घाउमा थोरै भए पनि मलम लगाउन पाउने आशले उनी निकै उत्साहित थिए। कतार वा अन्य कुनै खाडी मुलुकमा खेल गर्न सकिने उनको आश थियो र यसका लागि केही दिनमै पहल गर्ने विचारमा थिए।
पछिल्लो एक वर्षदेखि चलिरहेको विवादले उनको टाउको खाइरहेको थियो। तीन उपाध्यक्ष र एक कार्यसमिति सदस्य एन्फा अध्यक्ष गणेश थापा र नेतृत्वविरुद्ध आन्दोलनमा थिए। आन्दोलनकारी पक्षले कार्यसमितिका सबै बैठक बहिष्कार गरिरहेको थियो। ललित दाइले भने असहमति बैठकमै राख्न असन्तुष्ट पक्षलाई सार्वजनिक रूपमा अनुरोध गरिरहेका थिए। वार्ता र सहमतिबाटै विगतका अरू विवादजस्तै यो पनि मिल्नेमा उनी आशावादी थिए।
नेपाली फुटबललाई अर्धव्यावसायिक बाटोमा डोहोर्या्उने जस पनि ललित दाइलाई नै जान्छ। अभाव र गरिबीमा घिसि्रइरहेका नेपालका क्लबमा प्रायोजक ल्याउने क्रान्ति उनले बडो जोखिम मोलेर लिएका थिए। २०६१ सालमा क्लबको नाम नै फेरेर नबिल थ्री स्टार बनाउने गरी उनले नबिल बैँकसँग सहकार्य सम्झौता गरे। त्यतिखेर क्लब बेचेको भनेर उनको निकै आलोचना भयो। समर्थकहरूले घेरा हालेर उनीविरुद्ध नाराबाजी गरे। तर, उनले मोलेको त्यो जोखिम वर्षहरू बित्दै जाँदा सही कदम प्रमाणित भयो। अहिले ११ वर्षका बीचमा अधिकांश क्लबले आफ्ना नाममा प्रायोजकको नाम जोड्न थालिसकेका छन्।
नियमित आयस्रोत केही नभएको थ्री स्टार क्लबलाई देशकै नम्बर एक बनाउन ललित दाइको प्रेरणादायी नेतृत्वको अहम् भूमिका रह्यो। खेलाडीलाई आकर्षक मूल्यमा अनुबन्ध गर्नेदेखि व्यापारिक प्रतिष्ठानसँग व्यावसायिक सम्बन्ध जोड्नेमा उनी नेपाली फुटबलका पायोनियर नै रहे।
व्यक्तिगत जीवन र परिवारलाई समेत महत्व नदिई उनी हरदम अरूको सहयोगमा तल्लीन रहे। आफ्नै छोराछोरी अस्पतालमा भर्ना हुँदा समेत एकेडेमीमा रहेका बाल खेलाडीको मालिस गरेर बस्ने भनेर एन्फाभित्र प्रशंसित ललित दाइको जीवनको अर्को पाटो के थियो भने उनी अत्यन्तै सरल र सहज व्यक्तित्वका धनी थिए। साथीभाइसँगको जमघट जीवन्त र 'भाइब्रेन्ट' बनाउन गीत गाउनदेखि चुटकिला मार्नसमेत खप्पिस थिए उनी। 'तिमीसँग डुंगामा घुम्दाघुम्दै फेवा ताल/ नसोध कस्तो भयो होला मेरो दिलको हाल' उनले गाइरहने गीत थियो। यो गीत गाउँदा उनी निकै भावुक हुन्थे। लय मिलाएर गाउँथे। तर, म उनलाई जिस्काउन त्यही गीत यसरी गाइदिन्थेँः
टिमीसँग दुंगामा घुम्डाघुम्डै फेवा टाल
नसोढ कस्टो भयो होला मेरो डिलको हाल।
त्यसपछि उनी हाँस्दै भन्थे, 'यस्तो नक्कली कुरा नगर। मेरो गाउने शैली त्यो होइन। म त यसरी गाउँछु– तिमीसँग डुंगामा...।'
ललित दाइलाई हामीले सम्झने अरू केही शब्दावली छन्। उनी भन्ने गर्थे– नसा–नसा थाहा छ, जुत्ता खुट्टा खियाएर आएको, हारहुरे, लठेउरो। कसैले बढी कुरा गरेजस्तो लागे उनी 'साथी, धेरै गफ नदेऊ न, मलाई पनि फुटबलको नसा–नसा थाहा छ' भन्थे। ललित दाइ जिस्काउनका लागि पनि सहज थिए। त्यसैले उनको सहजताको फाइदा उठाएर हामीले कहिलेकाहीँ उनको सफलता भाग्यको कारण हो भन्दा उनी 'जुत्ता खुट्टा खियाएर यहाँसम्म आइपुगेको हो, साथी!' भन्थे। त्यस्तै बढी गफ गर्ने र कम काम गर्नेलाई हारहुरे तथा सोझो खालको मानिसलाई लठेउरो उनले सम्बोधन गर्ने शब्द थिए।
शनिबार पशुपति आर्यघाटमा अन्तिम संस्कार भइरहँदा, उपस्थित हजारौँ शुभचिन्तकका आँखा रसाइरहँदा खेल पोशाक निर्माता आरजे स्पोर्ट्सका प्रबन्धक जनक न्यौपाने भक्कानिँदै थिए, 'जीवनमा सबैभन्दा ठूलो जीत मलामी कमाउनु हो। ललित दाइले धेरै ठूलो जीत हासिल गर्नुभएको रहेछ।'
एन्फा अध्यक्ष गणेश थापाको स्मरण अझ मार्मिक थियो। एक दिन थापा र ललित दाइ एन्फा एकेडेमीको अवलोकनमा थिए। एउटा कोठामा तार लिस्टीबाट फुत्केर झोलिएको रहेछ। त्यत्तिकैमा ललित दाइले होस्टलका वार्डेनलाई बोलाएर रिसाउँदै हकारेछन्, 'बच्चा बस्ने ठाउँमा यस्तरी तार झोलिने गरी राख्ने हो? केही भयो भने?' यति सुनाउँदा थापाले पनि आँशु रोक्न सकेनन्। भक्कानिँदै भने, 'अरूका बच्चाको उसलाई त्यति चिन्ता थियो। तर, आज आफैँ नांगो तार छोएर हामीलाई छोडेर गयो।'
अर्काका लागि बाच्नेहरूसँग आफ्ना लागि सोच्नेसम्म फुर्सद हुँदैन। ललित दाइ त्यस्तै थिए। उनले आफ्ना लागि सोच्न भ्याएनन्। आदरणीय ललित दाइप्रति हार्दिक श्रद्धाञ्जली!
प्रकाशित: ६ असार २०७२ ०२:१६ आइतबार