ब्लग

विदेशी भूमिबाट तिमीलाई चिठ्ठी

प्रिय सखी
अटुट माया एवम् सम्झना।
म त यहाँ आरामै छु, तिमीलाई सञ्चै छ? भनेर पनि कसरी सोधुँ ? अहिले तिमी र देशमाथि आइपरेको विपत्तिमा मैले खोक्रो सहानुभूति देखाउन बाहेक केही गर्नै सकिनँ।

 

अहिले म दु:खी छु, म यसकारण दुःखी छु कि यस्तो विपत्तिको समयमा तिमीहरू विपत्तिमा तिमीहरु सामु हुन सकिनँ, तिमीहरूले जस्तै मैले पनि यो दैवी प्रकोपको सामना गर्न सकिनँ।

हाम्रा पूर्खा र बुढापाकाले भन्ने गर्थे, 'दैवको अगाडि कसैको केही लाग्दैन।' आज ती भनाई प्रमाणित भए। आफ्नै अगाडि सबै तहस–नहस हुँदा रामराम भन्नु बाहेक अरु केही गर्न नसकिने रहेछ। मलाई यस्तो दुःखद परिस्थितिमा तिमीसँगै हुन मन थियो। तिमीसँगै रुन मन थियो। तिमीसँगै यो दैवी विपत्तिको सामना गर्न मन थियो। आफ्नो मातृभूमिमाथि चिरा–चिरा परेको मेरो प्यारो देशको भूमिमा रही सेवा गर्न मन थियो। आफूले चाहे जस्तो नहुने रहेछ सखी।

हुन त म त्यहाँ भएको भए पनि के नै गर्न सक्थें होला र? तर टाढा भएर होला मनमा अनेकथरि विचार आउँदो रहेछ। मपनि तिमीसँगै भएको भए प्रकृतिक विपत्तिमा परेकाहरूको सेवामा खट्ने थिएँ होला। आर्थिक सहयोग गर्न नसकेपनि पनि श्रमदान अवश्य गर्ने थिएँ। तिमीले जस्तै तिमीहरूसँगै डर र त्रासबीच चौरमा रात काट्ने थिएँ। हो सखी, यस्तै यस्तै कुराले मनलाई झन पिरल्छ।

देशभित्र रोजगारीको अवसर तथा काम गर्ने वातावरण नभएर अभाव नै अभावमा बाँच्नुपरेको अवस्थामा बाध्य भएर गरिबीलाई छिचोल्न जन्मभूमि गाउँ, देश र तिमीलाई छोडेको पनि धेरै वर्ष भइसक्यो ।

पराई देशबाट केही धन कमाएर घरपरिवारसँगै रमाएर बसौंला, सुखसँग खाऔंला, भन्ने एउटा झिनो आशा र सपना बोकेर आएकी थिएँ। तर मेरा ती सबै सपना चकनाचुर भएका छन्। मेरो पनि घर भत्कियो रे, गाउँ उजाड भयो रे भन्ने सुनेको छु। सखी, मेरो गाउँ र घरमा जेजति क्षति भएको छ, मैले जेजति पीडा भोगेको छु त्यो तिम्रो अगाडि केही होइन। किनभने मेरो परिवारका सबैजना सकुशल हुनुहुन्छ।

तिमसँगैको त्यो अन्तिम पलमा बसेर दुःखका कुरा गरेको अस्ति जस्तै लाग्छ। मैले मेरो सपना र कल्पना तिमीलाई सुनाउँदै थिएँ, तिमी सुन्दै थियौ। भोलिको कुरा हामीलाइ केही थाहा नहुँदो रहेछ। हाम्रा हजारौं दाजुभाइ दिदीबहिनीको मृत्यु, राष्ट्रिय तथा विश्वसम्पदा सम्पत्तिहरू आँखा चिम्लिन नपाउँदै तहस–नहस भए। बाँच्ने आधारै सकिएझैं अनुभूति भयो। प्रकृतिको अगाडि हामी कसैको केही नचल्ने रहेछ सखी। हामीमाथि ठूलै विपत्ति आएको छ। यस्तो भयो भन्दै हामीले हार मान्नु हुँदैन सखी। तिम्रो त झन मेरो भन्दा बढी पीडा छ। ममा भन्दा बढी साहस छ र त आज तिमी एक्लैले हिम्मत जुटाएर समाना गरेकी छौ।

सुन्छु तिम्रो घर पनि गयो रे, बुवा आमा, दाजु बहिनी, सबै जना एकै साथ भाग्न खोज्दा खोज्दै भग्नावशेषमा पुरिनु भयो रे। जेगरे पनि तिम्रो भागको दुःख र पीडा म आफूले लिन र भोग्न सक्दिन। म त केवल सहानुभूति देखाउन मात्र सक्छु। तिमीले यतिखेर भोग्नु परिरहेको पीडा महसुश गर्न म स्वयम् त्यस्तै पीडादायी आगोमा जल्नुपर्छ जुन आगोमा तिमी अहिले जलिरहेकी छौ।

मान्छेले आफूलाई परेको दुःख र पीडा मात्रै महसुस गर्न सक्छ, जसलाई परेको छैन उसले देखाउने भनेको र दिने भनेको साहनुभूति मात्रै हो जस्तो लाग्छ मलाई।

हो तिमीलाई असह्य पीडा भएको छ तर तिमी महान छौ। तिमी आफ्नो यो सब पीडा भुलाई दुःखीहरुको लागि समर्पित भएकी छौ। वास्तविक मानव त्यो हो जो आफ्नो पीडालाई भन्दा अर्काको खुशीकोलागि समर्पित रहन सक्दछ। आफ्नो लागि जिउने यहाँ धेरै छन्। सखी तर तिमी महान छौ जसले आफ्नो पीडालाई थाँती राखेर अरुको पीडा र घाउमा मल्हमपट्टी लगाउन अघि सरेकी छौ। प्रिय! यहाँ तिम्रो, मेरो सबैको सपना टुटेको छ। आफूलाई सम्हालेर, आफैंले आफैंलाई सान्तवना दिएर दुःखेको देशलाई मल्हमपट्टी गर्ने तिम्रो साहसलाई म सलाम गर्छु।

ए अँ तिमीले र मैले विदाइको पलमा गरेको एउटा बाचा अधुरै रहने भयो। म विदेशबाट फर्केपछि पूरा काठमाडौं घुम्ने, धरहराबाट काठमाडौं नियाल्ने, नेपालका रमाइलो ठाउँ भ्रमण गर्ने सपना। देश नै तहस नहस भएको छ। धरहरा नै तहस नहस भएपछि हाम्रो सपनाको के कुरा।

सखी, सखी, जीवनले प्रत्येक व्यक्तिको भागमा विपत्तिको हिस्सा दिएकै हुन्छ। फरक यति हो हिम्मत नहारी अघि बढ्नु। यो सबै नेपाली मिलेर शोकलाई शक्तिमा बद्ल्ने समय हो। राम्रा, हरियाली हराभरा गाउँ, शहर र सम्पदाले भरिपूर्ण देश बनाउनु छ।

सखी, यस्तो दुःखद समयमा पनि मलाई एउटा कुराले मन शान्त पार्छ। त्यो हो नेपालीको हिम्मत र विश्वास। हो हाम्रो विश्वास अझै डगमगाएको छैन। हरेक वर्ष भूकम्पको धक्का ब्यहोर्ने जापान र सुनामी बेहोर्ने देशहरू त फेरि उठेका छन्। हामी अझै उठ्न सक्छौं। हिमाल, पहाड र तराई सबै मिली सुन्दर नेपाल पुननिर्माण गर्न सक्छौं।

विदेशीभूमिबाट उही तिम्रो सखी
दीपिका

प्रकाशित: २४ जेष्ठ २०७२ ०२:५० आइतबार