ब्लग

नुवाकोट टू सिन्धुकोट

दुई पिपल, नुवाकोटका कृष्णप्रसाद नेपालले आफू र आफ्नो काकाको परिवार अट्नेगरी जस्ताले छाएको र जस्ताले नै बारेको एकनाले अस्थायी टहरो निर्माण गरिसकेका छन्। छिमेकीहरू त्रिपालकै पछि लागिरहेका बेला उनी भने आफ्नै बारीको डिलमा रहेको बाँस काट्न व्यस्त थिए। 'त्रिपाल पाउनै गाह्रो, पाए पनि साह्रै अल्पकालीन हुने बुझेपछि म जस्तापाता र बाँसको प्रयोग गरेर टहरो निर्माण गर्नतिर लागेको हुँ,' नेपालले भने।उनले बनाएको टहरो चिटिक्क परेको छ। 'स्पेस' पनि फराकिलो देखिन्छ। टहरोभित्र परिवारका सबै सदस्यका लागि छुट्टाछुट्टै झुल टाँगिएका खाट राखिएका छन्। हावाहुरी आउँदा पनि छाना उडाउन नसक्नेगरी टहरो निर्माण गरिएको उनले बताए। 'स्थायी बसोबासको टुंगो नलाग्दासम्म बस्न मिलोस् भनेर टहरो निर्माण गरेको हुँ,' उनी भन्छन्। उनले स्थानीय सिकर्मीको सहयोगमा अस्थायी टहरो निर्माण गरेका हुन्।

'अस्थायी घरको नमुना काठमाडौँतिर प्रदर्शन भइरहेको छ भन्ने सुनेको छु तर हामीलाई कसैले नमुना दिएर टहरो बनाएका होइनौँ,' कृष्ण भन्छन्, 'स्थानीय सिकर्मीले जसरी बनाउन सुझाए, त्यसैगरी टहरो निर्माण गरेको छु।' भैँचालोपीडितका लागि अस्थायी बास बनाउन खटिएका विभिन्न राजनीतिक दलका कार्यकता तथा अन्य स्वयंसेवी कोही पनि कृष्णको गाउँमा पुगेका छैनन्। राहतको पाल काखी च्यापेर बाटोमा हिँड्नेहरू उनले बनाएको टहरो हेरेरमात्र अघि बढ्ने गर्छन्।

०००

सिन्धुकोट, माथिल्लो घ्याङ, सिन्धुपाल्चोकका सानु पासाङ लामाले वैशाख १२ गते आएको महाभैँचालोमा २४ वर्षीया छोरीलाई गुमाए। त्यस दिन माथिल्लो घ्याङमा बसोबास गर्नेहरू गाउँमा खानेपानी ल्याउन बिछ्याइएको पाइप मर्मत गर्न नजिकैको डाँडोमा गएका थिए। सिन्धुकोटको टुप्पोमा रहेको माथिल्लो घ्याङ बस्ती महाभैँचालोको एकै धक्काले ध्वस्त भएको स्थानीयले नजिकैको रहेको वनबाट हेरेका थिए। ध्वस्त भएको १० वटा घरमा चार जनाले ज्यान गुमाए। गत शनिवार माथिल्लो घ्याङ पुग्दा सबैले ध्वस्त भएको घरबाट पुराना जस्तापाता निकालेर अस्थायी टहरो निर्माण गरिसकेका थिए। 'चौबीसै घण्टा बेतोडले हावा चल्ने थुम्कोमा त्रिपालको भर परेको भए त हाम्रो बिजोग हुन्थ्यो नि,' माथिल्लो घ्याङवासीको एउटै आवाज छ। उनीहरूले अहिलेसम्म सरकारले वितरण गरिरहेको भनिएको राहत पाएका छैनन्। सामाजिक संस्थाले वितरण गरेको चाउचाउ, केही पोका बिस्कुट र प्रतिपरिवार १० केजीका दरले चामल पाएको बताउने माथिल्लो घ्याङवासी सरकारले दिने भनेको १५ हजार रुपैयाँ हात पर्ने हो भने जस्ताको अस्थायी टहरो अझै राम्रो बनाउन सकिने बताउँछन्। काँटीले प्वाल परेका र घर भत्किँदा ढुंगाले किचेर कच्याककुचुक्क परेका जस्तापातालाई ठोकठाक गरेर माथिल्लो घ्याङका स्थानीयले अस्थायी टहरो निर्माण गरेका छन्।

०००

महाभैँचालोले ध्वस्त भएका अन्य जिल्लाका भैँचालोपीडितहरू पनि अस्थायी बसोबासको बन्दोबस्त गर्न जुटिरहेको खबरहरू आइरहेका छन्। तर, सरकारले गर्छु भनेर पनि बेलैमा काम गर्न नसकेकाले जनधन दुवै गुमाएका र ध्वस्त भएको घरबाट जस्तापात तथा काठपात निकाल्न नसक्नेहरूले अस्थायी टहरो निर्माण गर्ने मेलोमेसो पाएका छैनन्। सिन्धुकोटकै ठाकुरप्रसाद लुइँटेल भत्किएको घरको धुरी ठाडै रहेको तर त्यो धुरीमा चढेर जस्तापाता निकाल्न नसकिने भएकाले अस्थायी टहरो निर्माण गर्न नसकिएको बताउँछन्। 'त्रिपालले वर्षा धान्न सकिँदैन भन्ने बुझ्दाबुझ्दै पनि जस्तापाता नभएका कारण टहरो बनाउन सकिएको छैन,' उनले भने।

'सरकारले जस्तापात किन्न रकम दिने निर्णय गरेको खबर सुनेपछि हामी भैँचालोपीडितहरू त्यही रकमको प्रतीक्षामा छौँ,' सिन्धुकोटका अर्का स्थानीय नारायणप्रसाद लुइँटेलले भने, 'सरकारले के गर्न सक्ने हो, त्यो बोल्नुपर्योव र बोलेको कुरा पुर्या उनुपर्योा।'

०००

काठमाडौँको साँखुदेखि सिन्धुकोटको माथिल्लो घ्याङसम्मको करिब ४० किलोमिटरको दूरीमा सडकको दयाँबायाँ धेरैले त्रिपालले बारेको अस्थायी बाससँगै जस्तापाताको अस्थायी टहरो पनि निर्माण गरेका छन्। सडकबाट देखिने ग्रामीण बस्तीहरू विभिन्न रङका त्रिपालले रंगिएका छन्। तर, कोही पनि त्रिपाल पाएको बताउँदैनन्। 'राहत त अलिअलि पाइएकै छ तर त्रिपाल चाहिँ पाइएको छैन,' सबै पीडितको एकै स्वर हुने गरेको छ। भैँचालोप्रभावित जुनसुकै जिल्लाका पीडितहरूको त्रिपाल नपाएको गुनासो एकैनासको छ। विपत्पछिको एक हप्ताका लागिमात्र उपयोगमा ल्याउन सकिने त्रिपाललाई अस्थायी बसोबास नै यही हो भनेजसरी प्रस्तुत गरिएपछि भैँचालोपीडितहरू अझैसम्म पनि त्रिपालकै पछि लागिरहेका भेटिन्छन्। सरकारले त्रिपालको विकल्प जस्तापात हो भनेर प्रति घरधुरी दुई बन्डलका दरले जस्तापात उपलब्ध गराउन थालेको भए उनीहरू अहिलेसम्म सम्हालिने अवस्थामा पुगिसकेका हुन्थे। महाभैँचालो गएको एक महिनासम्म खुला आकाशमुनि रात काट्न बाध्य पीडितहरू सरकारकै ढिलासुस्तीका कारण सामान्य जीवनमा फर्किन सकेका छैनन्।

०००

गत शनिवार ऊँ फाउन्डेसनले सिन्धुकोटमा आयोजना गरेको स्वास्थ्य शिविरमा आइपुगेका दुरबहादुर पाखि्रन असिनपसिन देखिन्थे। चर्को घाममा मकै गोडेर स्वास्थ्य शिविर आइपुगेका उनी राहतकै भरमा जीवन धान्न नसकिने भएकाले जसरी पनि आफ्नो खेती र पेशा गर्नुपर्ने बताउँछन्। अहिले राहत पाइयो भन्दै दंग परेर बस्न सकिएला तर अर्को वर्ष खाने अन्न उब्जाउन सकिएन भने भोकभोकै पर्नुपर्ने अवस्था आउने पाखि्रन बताउँछन्। 'गाउँको धुलेसडक वर्षा लागेपछि बन्द हुन्छ, त्यसपछि यहाँ कोही आउने छैनन्,' उनी भन्छन्। त्यसैले जस्तो दुःखकष्ट बेहोरेर भए पनि खेतीपाती गर्नुपर्ने सुझाव पाखि्रनको छ।

०००

स्वास्थ्य शिविरमा आएका भैँचालोपीडितसँग जिल्ला कृषि कार्यालयबाट खटिएका कर्मचारी बीउका लागि चाहिने परिणाम र जग्गाको क्षेत्रफल टिपिरहेका थिए। धान, कोदो, गहुँजस्ता बालीका लागि चाहिने बीउको परिणाम निकाल्नका लागि लगत संकलन गरिँदै थियो। स्थानीय रविन्द्र सिग्देल धानको ब्याड राख्ने बेलासम्म पनि लगत नै संकलन गरिरहने र बीउ नपाइने हो कि भन्ने चिन्तामा छन्। 'हामीले बेलैमा धानको बीउ पाउन सक्यौँ भने अर्को वर्षका लागि खाने अन्नको पीर हुँदैनथ्यो,' उनी भन्छन्, 'सरकारले आफ्नो आङ हलुका बनाउने हो भने भैँचालोपीडितहरूलाई बीउ र मलखाद उपलब्ध गराएर खेती गर्ने वातावरण बनाइदिनुपर्छ।'

प्रकाशित: १६ जेष्ठ २०७२ ०१:२७ शनिबार