ब्लग

उनीहरू गालीका लायक छैनन्

गालीको न्यूनतम प्रतिष्ठा हुन्छ । जो गालीको लायक नै हुँदैन, उसलाई गाली गर्नु आफैँमा एउटा नालायकी हो । जो गालीको योग्य हुँदैन, उसलाई गाली गर्नु आफैँमा एउटा अयोग्यता हो । जसले धक–शरम, लाज–लज्जा यावत् बेचेर खाइसकेको छ, उसलाई गाली गर्नु आफैँमा एउटा निर्लज्जता हो।प्रधानमन्त्रीलाई गाली नगर्नुस् । उनी निरीहताको अभूतपूर्व प्रतीक हुन् । सेतै कपाल फुलेका व्यक्तिलाई गाली गर्नु यसै पनि सभ्यता र संस्कारविपरीत हुन्छ । घर ढलेका, प्रियजन गुमाएका दुःखी र शोकाकुल जनतालाई उनले ‘मेरो आफ्नै निवास चर्केर बिचल्लीमा छु’ भन्दै निर्दयता मिश्रित निरीहता प्रकट गरे । लाखौँ जनताले ‘त्रिपाल–त्रिपाल’को चित्कार गरिरहँदा के भुलिरहेका छन् भने प्रधानमन्त्री स्वयम् एक बर्काे त्रिपालका आकांक्षी हुन् । आलस्य, अकर्मन्यता र सुस्तताले प्रभावहीनताको महारथी भएका उनलाई गाली गर्नु शरमको कुरो हो ।
मन्त्रीहरूलाई गाली नगर्नुस् । विध्वस्त बस्तीहरू अवलोकन गर्न आउँदै छन् उनीहरू । जसरी आउँछन् दूरदेशका पर्यटक । आफ्नो खण्डहर अगाडि उभिएर अभिवादन गर्नुहोला । शिष्टाचार प्रदर्शन गर्नुहोला । पर्यटक हाम्रा पाहुना हुन् भन्ने सरकारी नारा नभुल्नुहोला ।  
सभासद्हरूलाई पनि गाली नगर्नुस् । जनताका नाममा आएका पाल उछिट्याउने उपक्रममा लागेर जनप्रतिनिधिले कुनै गल्ती गरेका छैनन् । विपद्मा आफ्नो र आफ्नो परिवारको ख्याल गर्नु मान्छेको आधारभूत दायित्व हो । सभासद्का पनि परिवार हुन्छन्, आफन्त हुन्छन्, नातागोता हुन्छन् । जो सदाका लागि हुन्छन् । चुनावताका उसको हातबाट एउटा स्वस्तिक चिह्न उम्काएपछि जनताको औचित्य त्यहीँ, त्यतिखेरै समाप्त हुन्छ ।
सरकारलाई गाली नगर्नुस् । सरकार युद्धस्तरमा आफ्नो काम गरिरहेको छ । भत्केका घर र मरेका मान्छेका संख्या सार्वजनिक गरिरहेको छ । अंक र आँकडा प्रस्तुत गरिरहेको छ ।
छ महिनाअघि विपद् व्यवस्थापन विज्ञहरूले सरकारलाई एक लाख पाल र केही लाख मान्छेलाई पुग्ने चार वर्षसम्म नबिग्रने ‘ड्राई फुड’ जम्मा गरेर राख्न सुझाएका थिए । आफ्नो पीएचडीको दम्भले नै देश चलाइदिन्छु भन्ने एकजना मन्त्रीले उनीहरूलाई हकारेर पठाएका थिए । त्यति चिज ‘स्टक’ रहेका भए आज बिचल्लीको नक्सा केही फरक हुन्थ्यो होला ।
कर्मचारीतन्त्रलाई गाली नगर्नुस् । बरु खेद प्रकट गर्नुस् । वैशाख १२ गते शनिवार गएको महाभैंचालोले कर्मचारीहरूको म्यारिजको खालमा बाधा पु¥याएको थियो । तर, उनीहरू सम्हालिए र सार्वजनिक बिदाको आनन्द लिइछाडे । जसको करको पैसाले उनीहरू पालिएका छन्, तिनलाई विपत्ले मरणासन्न बनाउँदा पनि उनीहरू शनिवार मनाएर बसिरहे । यसै पनि लोकसेवा आयोगले कण्ठ गर्न सिकाउँछ, महसुस गर्न सिकाउँदैन । ‘फिल’ गर्न सिकाउँदैन ।
दुईचार जनालाई एकदुई किलो चामल बाँडेर समाजसेवी, राष्ट्रसेवी, जनसेवी र अरू के–के सेवी हुन खोजिरहेकालाई पनि गाली नगर्नुस् । अनि, एक पाकेट चाउचाउसँगै एक थान बाइबल बाँडिरहेकालाई पनि गाली नगर्नुस् । सबैका आ–आफ्नै ‘मिसन’ हुन्छन् । तत्काललाई तपाईंको मिसन बाँच्नु होला । जरुरी छैन, अरूको मिसन तपाईंलाई बचाउनुपर्छ भन्ने हुन ।
अब बाँकी जिन्दगी राहतकै भरमा कटाउँछु भन्नेहरूलाई पनि गाली नगर्नुस् । परनिर्भरता भनेको दासता पनि हो । दास हुन खोज्नेहरूलाई गाली नगर्नुस् । एकै दिनमा दश ठाउँमा राहत थाप्न पुग्नेहरूलाई पनि गाली नगर्नुस् । छिमेकीले एउटा पाल नपाउँदा दशवटा पाल बटुलेर राख्ने पीडितलाई गाली नगर्नुस् ।
कसैलाई गाली नगर्नुस् । आफ्ना समस्त आक्रोशलाई जोगाएर राख्नुहोला । पछि काम लाग्न सक्छ । उसो त नलाग्न पनि सक्छ ।
तपाईंको भत्कन बाँकी के थियो र ? हिजो जुलुसमा हिँड्दा, नारा लगाउँदा, लोकतन्त्रका लागि गोली थाप्दा तपाईंले देखेका सपनाहरू भत्किसकेका थिए । गरिबी, बेरोजगारी, महँगी, असुरक्षाले तपाईंको जिन्दगी भताभुंग भइसकेको थियो । भत्कन बाँकी थियो त त्यही एउटा घर । जसलाई तपाईं भावुकतावश आफ्नो भन्नुहुन्थ्यो । भुइँचालाले त्यही एउटा घर त भत्काइदियो नि ।
र, तपाईंको भत्केको घरभन्दा ढलेका राष्ट्रिय सम्पदा महŒवपूर्ण छन् । तपाईंको घरभन्दा पहिले धरहरा बनाउन उद्यत सम्पदाप्रेमीहरूलाई पनि गाली नगर्नुस् । तपाईंको दुःख पनि एउटा सम्पदा हो । त्यसलाई जोगाउन, त्यसलाई बचाउन, त्यसलाई नासिन नदिन राज्य प्रतिबद्ध छ, दृढसंकल्पित छ । राज्यलाई गाली नगर्नुस् ।

प्रकाशित: १० जेष्ठ २०७२ ००:२६ आइतबार