ब्लग

नयाँ वर्षमा फोटो खिच्ने ९ सूत्र

प्रविधिको सुलभता र स्मार्ट फोनको ब्यकपताले सबैलाई फोटोग्राफीतर्फ आकिर्षित गरेको छ। फोटोग्राफी मानिसहरुको लत बनिसकेको छ। सहज र सुलभ प्रविधिले फोटोग्राफी आम मानिसको दैनिकीजस्तै बन्न पुगेको छ। फोटोग्राफीका लागि स्मार्ट फोन बरदान नै साबित भएको छ।

स्मार्ट फोनको सुलभता र यसमा भएको इन्टरनेट कनेक्सनले गर्दा व्यवसायिक फोटोग्राफरहरु पनि स्मार्ट फोनतिरै आकिर्सित भएका छन्। किनकि फोनबाटै फोटो खिच्न र तत्कालै सेयर गर्न निकै छरितो हुन्छ। म पनि फेसबुक वा अन्य समाजिक सञ्जालमा ९० प्रतिशत स्मार्ट फोनकै फोटो सेयर गर्छु।

एक दशक अघिसम्म फोटोग्राफी भनेको सिमित प्रोफेसनल र शौखिनहरुको पहुँचमा मात्र थियो। हालः संसारका एकतिहाइको हातमा कुनै न कुनै प्रकारका क्यामेरा छन्। प्रोफेसनल क्यामेरा होस् वा फोनमा जडित क्यामेराबाट फोटो खिच्ने शौख हरेक व्यक्तिमा उभारिएर आएको छ। त्यसो त हालः संसारभरि ५ अर्ब ८० करोड क्यामेरा छन्। सन् २०१४ मा मात्र १ अर्ब ८ करोड क्येमारा बिक्री भएका तथ्यांक छ। जसमा सामान्य फोन क्येमारा, स्मार्टफोन र परम्परागत क्यामरा र प्रोफेसनल क्यामेरा पर्छन्। तथ्यांकअनुसार २०१४ मा मात्र दस खर्ब फोटो खिचियो। क्यामेरा आविस्कार भएयता आजसम्म करिब ५० खर्ब ७० अर्ब फोटो खिचिएका छन्।

आजको यो अवस्थामा तपार्इँ हामी सबै फोटोग्राफीको दुनियामा जानेर वा अन्जानमै प्रवेश गरेका छौं। अधिकांश हामी फोटोग्राफर भएका छौं। फोटोग्राफीको यो दुनियामा पाँच प्रतिशतले प्रोफेसनल क्यामेरा चलाउँछन भने ९५ प्रतिशतले त फोनबाटै काम चलाउँछन्। स्मार्ट फोनको सुलभता र यसमा भएको इन्टरनेट कनेक्सनले गर्दा प्रोफेशनल फोटोग्राफरहरु पनि स्मार्ट फोनतिरै आकर्षित भएका छन्। किनकि फोनबाटै फोटो खिच्न र तत्कालै सेयर गर्न निकै छरितो हुन्छ। मेरै सन्दर्भमा पनि फेसबुक वा अन्य सोसल मिडियामा सेयर हुने फोटोमध्ये ९० प्रतिसत स्मार्ट फोनकै फोटो छन्।

व्यक्तिले आफ्नो रुचीअनुसारका विषयवस्तु र आवश्यकतामा फोटो खिच्छन्। कसैले साथीभाइ, परिवारका त कसैले भ्रमण र रमाइलो अवसरका फोटो खिच्छन्। कतिपयले आफ्नो व्यावसायिकता अनुकूलका फोटो खिच्छन्। आजकल धेरैले अफूले खिचेका फोटोहरु कुनै न कुनैरुपमा सोसल मिडियामा पोष्ट गरेका हुन्छन्। केहीले व्यवसायिक प्रयोजन तथा वेवपेजमा ती फोटोको प्रयोग गरेका हुन्छन्। कितपयले त मूलधारका सञ्चार माध्यमलाई फोटो र भिडियो दिएर नागरिक तहको फोटोपत्रकारिता गरेका पनि छन्।

यतिबेला हामी नेपालीहरु नयाँ वर्ष २०७२ को पूर्वसन्ध्यामा छौं। हामीले आफ्नो सोसल मिडिया वा फोन म्यासेजबाट साथीहरुमाझ तथा आफन्तजनलाई शुभकामना सन्देश आदानप्रदान गरिराखेका छौं। यस्तो अवसरमा हामी आफैँले खिचेका तस्विरलाई उपहारको रुपमा डिजिटल वा प्रिन्ट गरेर बाँड्न पनि चाहना राख्छौं। यहाँ मसँग उपलब्ध फोटोहरु जुन मैले फोन क्यामरा, स्मार्ट फोन तथा परम्परागत क्यामेराबाट खिचेको छु, तिनै फोटोहरुलाई दृष्टान्तमा राखेर नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न उपयोगी उपायकाबारे चर्चा गर्नेछु।

तपाईं आफ्नै फोनबाट राम्रो फोटो बनाउन सुक्नुहुन्छ। यो कुरा को हेक्का नहुँदा हामी धेरैजसोले गुगल सर्च गरी अरुका फोटोहरु कपी गरेर वा अरुले बनाएका शुभकामना संदेशलाई कपीपेस्ट गरेर सेयर गर्छौं जुन गैरकानुनी काम हो। अरुको सिर्जनालाई बिना अनुमति प्रयोग गर्नु नैतिक दृष्टिले पनि राम्रो होइन।

नयाँ वर्ष अवश्य पनि नयाँ उत्साह, उमंग र आशा लिएर आएको हुन्छ। ती आशा, उमंगलाई प्रस्तुत गर्न फोटो निकै सहयोगी हुनेछ। किनकि फोटो शब्दभन्दा पनि प्रभावकारी हुन्छ। एउटा कुरा सधैं मनमा राखिराख्नु होला, सामान्य क्यामेराले पनि असामान्य र धेरै प्रभावकारी फोटोहरु खिच्न सकिन्छ। फोटो खिच्ने भनेको पहिला दृष्टि (भ्यू) उत्पन्न गर्नु हो। त्यही दृष्टि अनुसारको चित्रलाई फ्रेममा उतार्ने उत्कठ चेष्टाले एउटा सफल फोटोग्राफरलाई जन्माउँछ।

खुसी, उमंग र उत्साह जगाउने खालका फोटोहरु कस्ता हुन्छन् त? के यस्ता अवसर र आवस्था झल्काउने दृश्यहरु हाम्रा वरिपरि सजिलै पाइन्छ? जसलाई आफ्नो क्यामेराले खिच्न सकियोस्। नयाँ वर्षको अवसरमा आशा, उमंग र खुसी व्यक्त गर्ने खालका फोटोहरू कसरी खिच्ने भन्नेबारे प्रमुख नौं पक्षबारे यहाँ तस्विरसहित चर्चा गर्न सान्दर्भिक हुनेछ।
सूर्योदय

सूर्योदय र यसको ज्योति हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण र प्रखर अवस्था हो। सूर्योदयलाई खुसी, आशा, विश्वास र नयाँ सुरुवातको प्रतीकका रुपमा लिइन्छ। समग्र जीवात्मालाई ऊर्जा दिने अलौकिक क्षमता हुन्छ सूर्योदय र यसको प्रकाशमा।

तपाईँले कुनै पनि डाँडाबाट उदाएको घाम होस् वा खोला, पोखरी वा अन्य पानीमा पोखिएको पहिलो झुल्कोलाई खिचेर हाम्रो जीवनको एउटा अवसरका रुपमा चित्रित गर्न सक्नुहुनेछ। सूर्योदयलाई उतार गर्ने अनगिन्ती अवसर र अवस्था हुन सक्छन्, त्यो तपाईँको सिर्जना शक्ति र तात्कालीन वातावरणीय परिस्थितिमा भर पर्छ।
दीयो वा मैन बत्ती

सूर्यजस्तै मैनबत्ती वा दीयोको प्रकाशले पनि हाम्रो मनमा बेग्लै खुसी र आशाको प्रचार गर्न सक्छ। तपाईँसँग भएको सामान्य फोन क्यामेरा वा प्रोफेसनल क्यामेराबाट यस्तो फोटो खिच्न सकिन्छ।
ड्रिंक्स तथा मिस्ठान्न

पश्चिमी जगतमा खुसीयाली बाँड्न सँगै बसेर पिउने चलन सामान्य छ। यो चियर्स कल्चर विश्वभर फैलिएको छ। अल्कोहल वा नन अल्कोहल ड्रिंक्सलाई एकआपसमा चियर्स गर्दै खुसी व्यक्त गरेको क्षणलाई फोटोमा उतारेर पनि एउटा सकारात्मक र उत्साहजनक अवस्थालाई झल्काउन सकिन्छ। यस्तो फोटोहरु शुभकामना सन्देशको रुपमा बाँड्ने चलन मौलाउँदै गएको छ। आकर्षकरुपमा सजाएको मिस्ठान्न तथा फलफूलका फोटोले पनि उमंग फ़ैलाउँछ।
फूल


फूल पनि प्रकृतिको अत्यन्त सुन्दर र सृष्टिको अद्‍भूत आकर्षण हो। फूलले पनि मानिसहरुको मनमा उत्साह, खुसी र प्रेमको भाव पैदा गर्छ। शुभकामना बाँड्न फूल त झनै उपयुक्त मानिन्छ। सुन्दर फूलको नजिकबाट फोटो खिच्नुहोस्। शुभकामना बाँड्न तपाईँ आफैँ खिचेको त्यो फूलको फोटोस्तो उत्तम चिज अरु के नै होला र?
सहर र बत्ती


सहरको झिलिमिलिले पनि मानव सभ्यता, विकास र प्रगतिको यथार्थलाई बडो सजिलोरुपमा वर्णन गर्न सहयोग गर्छ। तपार्इँले आफ्ना साथीलाई तपाईँ बस्ने सहर, त्यहाँका सडक र भवनका रात्रिकालीन दृश्य, तथा तपाईँको गाउँको सुन्दरता टिलपिलाइ रहेको रात्रिकालीन दृश्य तस्विरमा उतारेर प्रस्तु गर्न सक्नुहुनेछ।

बेलुन
रंगिन बेलुन उडिरहेको दृश्य, बच्चहरु बुलनमा रमाएको दृश्यले अवस्य नै सबैको मनमा उत्साह र उमंग थप्छ। यस्ता दृश्यलाई सकेसम्म खिचेर संग्रह गर्नुभयो भने शुभकामना दिने बेलामा काम आउँछ। सूर्योदयका बेला उडाइएको हट एयर बेलुन खिच्नुभएको छ भने त त्यो सुनमा सुगन्ध नै हुनेछ।

रंग

होली खेल्दा वा अन्य अवसरमा लगाउने रंग तथा अविर र त्यो क्षणमा मानिसहरुको अनुहारमा उत्रिने उमंगलाई मिश्रण गराएर तस्बिरमा उतार्न सक्नु क्यामेरापर्सनको खुबी नै मानिन्छ। उमंग भरिएको वा विजित त्यो क्षण र त्यो चेहरामा व्याप्त अद्‍भूत खुसीका भावनालाई अत्यन्त प्रभावकारी रुपमा तस्बिरमा उतार्न एउटा योग्य फोटोग्राफरले हदैसम्म मेहनत गर्नुपर्छ। यस्ता अवसरलाई पनि फोटोग्राफरले खिचेर शुभकामना संदेश बाँड्न प्रयोग गर्न सक्छन्।
चराचुरुगीं र जनावर


चराचुरुगीं र जनावर पनि प्रकृतिका अत्यन्त सुन्दर सिर्जना हुन्। यिनिहरुको चुलबुल पन, चाल, बहुरंगी एवं चित्ताकर्षक स्वरुप, प्रेम र समागमका अवस्थालाई खिच्नसक्ने फोटोग्राफरहरुले निकै आकर्षक संदेश दिएका हुन्छन्। जनावरहरुको बच्चाको चञ्चलता, उनीहरुको मित्रता, प्रेम र निश्चलताले हामी मानव जातिको मनमा सधैं खुसी र शान्तिको प्रेरण दिइरहेका हुन्छन्। यस्ता अवस्थालाई खिच्नसक्ने व्यक्तिलाई कुशल फोटोग्राफर मानिन्छ।
प्रकृति

वनजंगल, ताल, खोलानाला, हिमाल, पहाड र सम्म फाँटका मनोरम दृश्यबाट पनि आकर्षक पोष्टकार्ड तथा शुभकामना सन्देस दिन सकिन्छ।

Bimal@BimalNepal.com

(हाल बोस्टन अमेरिकामा रहेका विमल फोटोग्राफी गर्छन्। अन्तर्राष्ट्रिय अवार्ड विजेतासमेत रहेका उनले खिचेका फोटोहरु विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित छन्। अबदेखि उनी नागरिकन्युजमा नियमित फोटो ब्लग लेख्नछन्।)

प्रकाशित: ३० चैत्र २०७१ ००:५५ सोमबार