ब्लग

नेपालीको भाग्य

एउटा राष्ट्रिय टेलिभिजनमा जिल्लाको समाचार संयोजन गरिरहंदा सहकर्मीहरुले एउटा जोक बनाएका थिए- 'यसले तीन जना नमरिकन त समाचार नै हाल्दैन।' भएको पनि के थियो भने मान्छे मरेको समाचार त जसरी पनि परिहाल्थ्यो मैले संयोजन गरेको समाचारमा। त्यसरी मरेकोमा माओवादी युद्धको कारणले हुने झडप, सफाया, भिडन्त पहिलो नम्बरमा हुन्थे। माओवादीको विज्ञप्ति आउंथ्यो यति शत्रुलाई सफाया गर्‍यौँ  र हाम्रो यति जनाले विरगती पाए, त्यसैगरी सेनाले भन्ने गर्थ्यो कायरतापूर्ण आक्रमण पछिको प्रत्याक्रमणमा यति आतंककारी मारिए। त्यसरी समाचार तयार गरेर सम्पादकको चित्त त बुझाइन्थ्यो तर त्यो दिनको जागीर कहां पुरा हुन्थ्यो र?

प्रसारित समाचारमा उनीहरुले भनेकै अनुसार भएन भनेर सेनाको मुख्यालय र माओवादीको अज्ञातस्थलवाट आउने झपाराइ खान तयार भएर बस्थें। युद्धकालमा समाचारको खानी नेपालगन्जबाट संवाददाताले मध्यरातमा फोन गरेर भन्थे- 'हैन भाइ देश माओवादीले लिइसके समाचार टिप त कहां सुतेर पाइन्छ?' कुरा स्पष्ट थियो मध्य पश्चिमको कुन सदरमुकाममा माओवादीले धावा बोले।

मान्छे मरेको सामाचारको लागि माओवादी युद्धको मात्र योगदान कहां रैछ र माओवादी शान्तिप्रक्रियामा आएपछि अब कम होला कि भनेको त्यस्तो समाचार लेख्नै पर्ने भइरह्यो।

कहिले बाढी पहिरो, कहिले एकाबिहानै गाडीले बाटो बिराएर त्रिशुलीमा लाग्यो वा चटयांगबाट ज्यान गयो। त्यतिमात्र हैन रिसको झोंकमा वा दारु खाएको जोशमा छोराले बाबु मारेको खबर होस वा निकै थोरै रकम लुट्नको लागि गरिएको हत्या , आफ्नै शिक्षकवाट विद्यार्थी बलातकृत भएर मरणासन्न वा स्वास्नी अर्कैसंग सल्केको आरोपमा बन्चरोले हानेर अस्पताल लगेको खबर मान्छे मरेको वा मर्ने लागेको खबर त जसरी पनि लेख्नै पर्ने। अरु केही भएर मरेको खबर आएन भने अज्ञात रोग लागेर यति जना मरे भन्ने समाचार आइपुग्थ्यो टुपलुक्क मानौं मरेको कोटा त पुग्नैपर्छ जस्तो।

कहिलेकाहीँ जब सम्पादकरुपी हाकिम साबले सोध्थे -'हैन रमेश फलानो पत्रिका वा टीभीमा त १७ जना मरेको भनेर गयो नि हाम्रोमा किन १६ जना मात्रै छ? लाग्छ धेरै मरेको खबर दिन सक्नु नै राम्रो पत्रकारिता हो , यस्तो प्रश्न सुन्दा लाग्थ्यो सांच्चै हामी संवेदनाशुन्य भैसकेका छौं। म मान्छे मरेको खबर लेख्दालेख्दा दिक्क भएर कयौं पटक ओशो तपोवन पुगेको छु, माडी घटना, प्युठान बस दुर्घटना, पण्डित नारायण पोखरेलको हत्या यस्तो कयौं समाचार टाइप गरेपछि नागार्जुन पुगेको छु ध्यान गरेर आफूलाई सामान्य अवस्थामा ल्याउन।

जागीर छोडेर पढ्नलाई विदेशिएपछि लाग्यो अब मरेको खबर तथा जिल्लास्थित सहकर्मी र सम्पादकज्युको पेलाइबाट मुक्ति पाएँ। लण्डनमा पत्रकारिता गर्दै आएका मित्र नवीन पोखरेलले एकजना अनलाइन संचालककोमा लगेर सम्पादक बनाइदिएपछि छुटेको पत्रकारिता केही महिना पछि फेरि सुरु भयो। अब त मान्छे मरेको हैन विदेशी नेपालीले रेमिटान्स पठाएको, एनआरएन गतिविधिको समाचार लेख्ने भइयो भन्ने लाग्यो। अब त म पनि सानोतिनो एनआरएन भएँ भन्ठानेर नाक फुलाएर बसेको त यता पनि मान्छे मरेकै समाचार टाइप गर्नुपर्‍यो। त्यो पनि सम्पादक भएको पहिलो दिनमै। गोरखा जिल्लाबाट आएका राम वा श्याम बहादुरको घरबाट पैसा आउला र रिन तिरौला भनेर बसेका परिवार एक महिनामै शव आउँदा बुढा भएका बाबु ढले भनेर पत्रिकामा आएका समाचार साभार गरेर हाल्नुपर्ने अर्को दैनिकी जस्तै बन्न लाग्यो।

कुवेतमा नेपाली चेलीको हत्या, नेपाली कामदार साहुबाटै बलात्कृत, मलेसियामा नेपाली कामदारले भने अनुसारको तलब नपाएर बिचल्ली, सिंगापुरमा नेपाली गांजा सहित पक्राउ, हंगकंगमा शरणार्थी बन्न खोज्ने नेपालीलाई नेपाल पठाइयो जस्ता समाचार लेख्न शुरु भयो।


त्यसैगरी, अष्टेलियामा कलेज खारेज हुँदा नेपाली अलपत्र, फलानो देशको फलानो ठाउँमा नेपालीलाई कार्यक्रम गर्न स्थानीय हल दिइएन, नेपालीको कार्यक्रममा रक्सी पिएर हात हालाहाल गर्दा प्रहरी बोलाउनुपर्‍यो वा जनसम्पर्क समितिको बैठक वा अधिवेशनमा हानाहान जस्ता समाचार दिनहुँजस्तो टाइप नगरी धरै भएन।


राम्रो समाचार पनि नलेखिएको हैन जोअन्ना लुम्लीको सहयोगमा गोर्खाले न्याय पाए वा त्यस्तै तर गोर्खा सम्वद्ध संस्थाका करोडौ रकम हिनामिना वा अफगानिस्तनामा गोर्खा सैनिकको मृत्युजस्ता समाचारका अगाडि तिनीहरु ओझेलमा पर्ने।


एनआएरएनले आफुले पढेको विद्यालयमा दिएको एउटा कम्प्युटरको पनि समाचार प्रकाशन गरें मैले सानो भएपनि सहयोग त गरेछन् अरुले पनि गर्लान भने। तर मलाई नरमाइलो तब लाग्यो तिनै एनआरएन हरुकै अन्तराष्टिय कमिटीलाई सरकारले लाखौं रकम दिनुपर्ने रैछ उनीहरुको अधिवेशन गर्न भनेर। मातृभुमिको माया भनेर नथाक्ने हरुले तामाझाममा खर्च गर्ने त्यस्तो पैसो यसो दुर्गम तिर पठाए वा महाविर पुनको वायरलेसलाइ दिएमा सांच्चै मातृभुमि भनेर रटेको सार्थक हुन्थ्यो होला। अनि राम्रो खवर टाइप गर्न पाउं भन्ने मेरो चाहना पनि पुग्थ्यो कि। के हामी नेपाली जहां पनि र जहिले पनि दिक्कलाग्दा सामाचारको खानी मात्र हौं र? म आफुलाइ सकारात्मक चिन्तन राख्ने भन्ठानेपनि यी सवै दृष्टान्तले कता कता दिक्क भैसकें हाम्रो आफ्नै आनिबानी अनि नियति देखेर।

प्रकाशित: ११ कार्तिक २०६६ २२:०९ बुधबार