ब्लग

आफ्नै प्रतिपक्ष नेपाली कांग्रेस

नेपाली कांग्रेसको जन्म दुई पार्टीबीचको मिलन थियो। टुटफुट र आन्तरिक कलहकाबीच नेपाली कांग्रेस यहाँसम्म आईपुगेको छ। बी.पी. कोइराला र सूवर्ण शमशेर राणाको पहलमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता कायम भयो।

१२ फागुन, २००६, २७ मार्च १९५० मा दुई संस्थाका सभापतिहरू मातृकाप्रसाद कोइराला र महेन्द्र विक्रम विक्रम शाहले संयुक्त प्रेश विज्ञप्ति जारी गरी दुबै संस्थाको एकीकरण गरेर मजवुत पार्टी निर्माणको आवश्यकता महशुस गरे पश्चात कांग्रेसको उदय शक्तिको रुपमा भयो। त्यसअघि अखिल भारतीय कांग्रेसका नामले राजनीतिक गतिविधि सञ्चालन गर्दै नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको शुरुवात भएका थिए।  

नेपाली राष्ट्रिय कांग्रेस/जेलमा रहेका नेता टंक प्रसाद आचार्यलाई सभापति बनाउँदै बी.पी.कोईरालालाई कार्यवहाक सभापति चयन गरिएको थियो। नेपाली राष्ट्रिय कांग्रेसमा फुट हुँदा नेपाल प्रजातन्त्र कांग्रेसको जन्म भयो। २००५ साउन १ गते कलकत्ता स्कुल स्ट्रिटमा गरिएको भेला अनुसार २००५ पौष १७ गते महेन्द्रविक्रम शाहको अध्यक्षतामा नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना समेत भएको ईतिहास छ।

स्मरण गरौंः २००६ साल चैत्र १४ गते कलकत्ताको टाईगर सिनेमा हलमा आपसि तिक्ततालाई पन्छाउँदै प्रजातन्त्र स्थापना गराउने लक्ष्यकासाथ 'नेपाली कांग्रेस'को जन्म भयो।

सभापतिमा मातृका प्रसाद कोईराला, महामन्त्रीमा महेन्द्रविक्रम शाह र कोषाध्यक्षमा शुवर्ण शम्सेर राणा चयन भए। बी.पी. कोईराला, गणेशमान सिहं, सूर्य प्रसाद उपाध्याय, रुद्रप्रसाद गिरी, राजेश्वरीप्रसाद उपाध्याय, कुँवर कल्लुसिंह सदस्य भए। कृष्णप्रसाद भट्टराई सहायक महामन्त्रीमा चयन भएका थिए।

मुख पत्र 'नेपाल पुकार' र झण्डा चारतारे चुनियो।

नेपाली कांग्रेसको संघर्ष र अन्तर्राष्ट्रिय वदलिदो परिवेस सँगै १०४ वर्षीय राणा शासनको अन्त्य गर्दै २००७ सालमा मुलुकमा प्रजातन्त्र स्थापना त भयो तर पार्टी आफै भित्र आन्तरिक प्रजातन्त्रका लागि संघर्षरत रह्यो। २००७ साल पछि २०१५ सालसम्म निर्वाचन हुन नसक्नु को एउटा कारण पार्टीको आन्तरिक मतभेद सहायक बन्यो। मातृकाप्रसाद र सुवर्ण शमशेरबीचको मतभेदले पनि केही हद सम्म काम गरेको जनकारहरुको विश्लेषन रह्यो।

३० वर्षे पंचायती ब्यवस्थाविरुद्ध सफल जनआन्दोलनपछि मातृका र शुवर्ण शमसेरबीचको जस्तै समस्या, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोईरालामा पनि देखा पर्न थाल्यो।  

सफल अन्तरिम प्रधानमन्त्री सन्त छविका भट्टराई लाई र लौहपुरुष गणेशमानलाई निस्तेज पार्दै गिरिजाबाबुको युग आरम्भ भयो। शसक्त नेतृत्व क्षमताका धनी गिरिजाप्रसाद नेतृत्वको बहुमतीय सरकार छत्तीसे र चौहत्तरे भएर ढल्यो। मुलुकले मध्यावधि चुनावको सामना गर्नुपर्यो। नातावाद कृपावादविरुद्ध खडा भएका छत्तीसे कांग्रेसको नेतृत्व भट्टराईजी, जगन्नाथ आचार्य, चिरञ्जीवी वाग्ले हुँदै शेरबहादुर देउवासम्म आईपुग्यो, ३६/७४ , गिरिजा बाबू /कृष्णप्रसाद भट्टराई , सुशील कोईराला/शेर बहादुर, रामचन्द्र/शेरबहादुर, संस्थापन/प्रजातान्त्रिकको मारमा कांग्रेस फसिरह्यो, पार्टी फुटेर जुट्दा पनि नेताहरु जुट्न सकेनन् ।  

कांग्रेस पार्टी बहुमत गुमाएर सदनमा प्रतिपक्षी भयो तर आफै भित्रका प्रतिपक्ष (बागी) ले कांग्रेस मुक्त हुन सकेन, परिवर्तीय संघीय गणतान्त्रिक व्यवस्थाको अभ्यास भईरहेको वर्तमान परिप्रेक्ष्यमा समेत कांग्रेसमा सुधार देखिएको छैन।  

कमजोर सत्तापक्ष हुँदा प्रतिपक्षको भूमिका अपरिहार्य हुन्छ तर आन्तरिक किचलोले गर्दा जनतामा घोर निरासा ब्याप्त छ। जुन पंचायतका विरुद्ध ३० वर्ष संघर्षमा कार्यकर्ता लडे, १२ वर्ष माओवादी सित जुधे, हजारौं हजार पार्टीका नेता कार्यकर्ता थातथलो छाडेर विस्थापित भए, कैयौं दिदी बहिनीका सिन्दुर पुछिए कैयौं आमाका कोख विरान भए। तर आम जनता र पार्टीका कार्यकर्ताले कतैबाट अझै पार्टी र पार्टीका नेताबाट खुसी पाउन सक्ने अवस्था सिर्जित भएन।  

बहुलवादमा आधारित संघीय गणतान्त्रिक संविधान जारी भयो तर आधा जसो भाग मा यो संविधान पनि स्वीकार्य भएन, तराईबासी नागरिक (मधेसी जनता)को मन् जित्न कांग्रेसले सकेन। कारण यो नै हो कि पार्टीका नेता नीतिमुखि भएनन्, कार्यकर्ताको भावना कुल्चेर कहिले पंचायतका अवशेष बोकेका पार्टीको पछि लागे, कहिले प्रथम सत्रु तोक्ने कम्युनिस्ट सित सत्तामुखि गठजोड गर्न पुगे, बी.पी.कोईरालाको सपना र विचार आज बी.पी. जयन्तीमा सीमित भएक छ। लौहपुरुष गणेशमान ले भनेको सार्थक भनाई 'मान्छे कम्युनिस्ट हुन सक्छ तर कम्युनिस्ट मान्छे हुन सक्दैन' लाई कहिले गहिरिएर सोचेनन्। युगपुरुषको उपाधि आफैले दिएर गिरिजाप्रसादको सधै अपमान गरे, उनले भनेका 'माले, मसाले र मण्डले एउटै हुन'को अर्थ बुझ्नै चाहेनन्। भारतसित नझुकेर वर्तमान संविधान जनतामा समर्पित गर्ने सुशील कोईरालालाई संविधान पिता त भनिन्छ तर यै संविधानको पटकपटक बलात्कार गर्ने कम्युनिस्टको खिलाफ राजनीतिक लडाइँ लड्ने आट समेत आउँदैन।

४ वर्षको पार्टी कार्यकाल ५ वर्ष नाघिसकेको छ, भदौ १६/१९ मा केन्द्रीय महाधिवेशन र साउन १२ बाट स्थानीय अधिवेशन तोकिएको छ, तर ७१ वर्ष मा पनि कांग्रेस अझै क्रियाशील सदस्यता वितरणमा सधै जस्तै अल्झिरहेको छ  

आसन्न महाधिवेशन बाट नेपाली कांग्रेसको आउने ५ वर्षको लागि नयाँ नेतृत्व छनोट हुने आशा राखौं, एकातिर एउटा पक्षले बिजय प्राप्त गर्नेछ र पार्टीको संरचनामा स्थापित हुनेछ भने अर्कोतिर आफ्नै पार्टी भित्र योग्यताको आधारमा होईन चाप्लुसि,दलाली र गुलामीको आधारमा नेतृत्वमा स्थापित गराउने खेल जारि छ। यो महाधिवेशनको आधा वर्ष न नपुग्दै स्थानीय निर्वाचनको लहर शुरु हुने निश्चित प्राय छ। तर तहगत संरचनामा सधैजसो पुराना खियालागेका उर्जाहिन व्यक्तिहरुकै दावी देखिन पक्का हो। सहि व्यक्तिको छनोट सहि मतदाताले गर्न सक्छन् तर वडा, नगर र क्षेत्रीय सभापतिहरू आफू अनुकुल आसेपासे, घरपरिवार, छरछिमेक, कामदार, कारिन्दा, आफन्तहरुलाई क्रियाशील सदस्यको नाममा मतदाता बनाएर आफ्नो संगठन कब्जा नीतिमा व्यस्त छन्।

कथंकदाचित संगठनको चुनाव भयो भने त्यसको परिणामको बदला आउने स्थानीय निर्वाचनमा लिएर देखाउने पूर्व तयारीमा लागिरहेका छन्। योग्य सक्षम व्यक्तिहरुलाई भोलि टिकट दिन्छु भन्दै संगठनमा आउन रोक्ने प्रयास जारी छ। अनि आम चेतनशील जनता यो तमासा हेरेर मूल्यांकन गर्दै नेपाली कांग्रेसलाई हराउन नेपाली कांग्रेस नै पर्याप्त छ भन्ने ठोकुवा गर्दै आईरहेका छन्। सदबुद्धि आओस सबै कांग्रेस जनमा। नत्र भविष्यमा चाईनाको एक समयको लोकतान्त्रिक पार्टी कोमिन्ताङ जस्तै, भारतको भारतीय कांग्रेस जस्तै अवस्था बेहोर्नुपर्ने हुन सक्छ। जनता अझैपनि सबैभन्दा विश्वासिलो पार्टीको रुपमा कांग्रेसका साथमा छन्। केवल खाँचो छ त एउटा सुधारक नेतृत्वको।  

१४ औं महाधिवेशनपछि नेपाली कांग्रेस सुध्रोस, आफ्नै पार्टी भित्रको गुटबन्दी अन्त्य होस। आफै प्रतिपक्ष हुने प्रथा समाप्तिको कामनासहित १४ औं महाधिवेशनको पूर्ण सफलतामा मेरो यो विचारले थप सहयोग पुर्‍याउन सक्ने आशा राखेको छु।

आशा गरौं कार्यकर्ताको भावना र समयको माग अनि जनताको चाहनालाई कांग्रेसले सम्बोधन गर्न सकोस।
जय नेपाल

प्रकाशित: २२ असार २०७८ १३:४७ मंगलबार

नेपाली कांग्रेस आफ्नै प्रतिपक्ष