ब्लग

तबला वादन क्षेत्रमा नेपाली महिलाको सहभगिता

संगीतको कुरा गर्ने हो भने आमाले बच्चालाई काखमा लिदै लोहोरी गाउदै नादको सृजना गर्छिन् ।  त्यहां देखि नै बालकले सांगितिक आनन्दको अनुभुति गर्न थाल्दछ । मानब जीवनको लागी नभई नहुने विषय हो संगीत । मानब जीवनमा जन्मदेखि मृत्युसम्म कहि न कहि संगीत जोडिएको हुन्छ ।  

बालक जन्मदा रोदनका साथ यो संसारलाई हेर्ने गर्दछ । यदि बालकको रोदन ध्वनी सुनिएन भने उसलाई स्वस्थ नभएको मानिन्छ । तत्पश्चात रोदन गराएर ध्वनी निकाल्ने प्रयास गरिन्छ । जन्मदा ऊ स्वयंले ध्वनी निकाल्छ भने मृत्युका बेला परम्परा अनुसार विभिन्न वाध्य यन्त्रका साथ सव यात्रा गरिन्छ ।

यसरी न्वारान, चुडाकर्म, ब्रतवन्ध, विवाह,चाडपर्व आदीमा सांगीतिक माहोलले स्थान ओगटेको पाईन्छ । विभिन्न शास्त्रहरुले उल्लेख गरे अनुसार संगीत साधनामा लाग्ने व्यक्ति शान्त स्वभावको हुने गर्दछन्। उसमा क्रुरता रहदैन । एउटा सभ्य समाजको विकास हुन्छ । हत्या,हिंसा,बलात्कार,लुटपाट आदी दुष्कर्म देखि ऊ माथि उठेको हुन्छ । साधना गर्ने,सत्य बोल्ने,शान्त रहने,दया गर्ने,अरुलाई सहयोग गर्ने,सबैमा सद्भाव समदृष्टि राख्ने खालको हुन्छ ।  

विशेष गरेर नेपाली समाज अलि बढि पितृसत्तात्मक रहेको भेटिन्छ । तसर्थ कुनै पनि विषय पहिला पुरुषले नै गर्नुपर्छ भन्ने देखिन्छ । तर आजको एक्काईसौं शताब्दीको समयमा आईपुग्दा शिक्षामा धेरै विकास भएको कारण र विभिन्न सामाजिक संजाल मार्फत अन्तराष्टिय जगतमा हरेक विषयमा महिलाहरुको सहभागीता बढ्दै गएको पाईन्छ । त्यसै अनुरुप नेपाल सरकारले पनि ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने संविधानमा उल्लेख गरेको छ । तदनुसार महिलामाथि हुने गरेका रुढीवादी,हिंसा आदी विस्तारै हटाउदै गएको परिप्रेक्षमा नेपाली महिलाहरुले पनि डाक्टर,खेलाडी,चित्रकार,वैज्ञानिक,कलाकार आदी बन्ने दृढ ईच्छाशक्तिका साथ लागि पर्दै आएका छन् । तसर्थ कुनै पनि विषय पुरुषले मात्र गर्नुृपर्छ भन्ने मानसिकताको अन्त्य भएको हो कि भन्ने अनुभुति गर्न सकिन्छ । महिला शशक्तिकरणको क्षेत्रमा ऊनिहरु धेरै अगाडि देखिएका छन् । हरेक विष्यमा लैंगिक सहभागीता समान रुपमा बढ्दै गएको पाईन्छ ।  

यसै गरी तबला वादनको क्षेत्रमा पनि महिलाहरुको सहभागिता केहि मात्रामा भए पनि बढ्दै आएको देखिन्छ । हुन त तबला वादन भनेको एसियाका पुरुषहरुकै विषय बन्दै आएको थियो । तर आजभोलि अनुसन्धान गर्दै जादा ललितपुर निवासी स्वर्गीय कमला श्रेष्ठ नेपालकै पहिलो महिला तबला वादक हुनुहुन्थ्यो भन्ने भेटिन्छ । साथै उहांले पद्मकन्या क्याम्पसमा उप प्राध्यापकको पदमा रहि लामो समय सेवा गर्नुभएको पाईएको छ । यसरी नै हाल पद्मकन्या क्याम्पसमै कार्यरत सह प्राध्यापक सुमित्रा श्रेष्ठ पनि महिला तबला वादक हुनुहुन्छ ।

नाद संगीत पाठशालाको संचालक सरीता मिश्र बरिष्ठ तबला वादकको रुपमा आफुलाई चिनाउन सफल हुनुभएको छ । उहां पनि हाल पद्मकन्या क्याम्पसमा कार्यरत हुनुहुन्छ । अर्कि महिला तबला वादक संस्कृति श्रेष्ठ नर्वेमा आफ्नो तबला वादनको प्रस्तुती दिदै रहनु भएको छ ।मन्जु नकर्मी पनि आफ्नो तबला वादनको क्षेत्रमा अगाडी हुनुहुन्छ ।

हाल अध्ययन र साधनाको क्रममा विभिन्न सामाजिक संजाल मार्फत देखिएका युवाहरुमा रुवी लाखे,मन्जु सुनार,सीता भण्डारी,शारदा डंगोल आदी छन् ।

हामीले जति लैंगिक समानताको कुरा गरे पनि तबला वादनको क्षेत्रमा पुरुषहरुलाई भन्दा महिलालाई बढी संघर्ष गर्नु परेको देखिन्छ । जसरी विवाह पूर्व महिलाहरुले तबलाको साधनमा यथेष्ठ समय दिन सक्षम भएका हुन्छन विवाह पश्चात त्यति धेरै यथेष्ठ समय दिन नसकेको पाईन्छ । यसमा केहि मात्रामा परिवारको पनि असन्तुष्टी हो की भन्न सकिन्छ । महिला भनेको घरको गहना हो उनीहरु घरको लक्ष्मण रेखा मै सिमित हुनुपर्छ भन्ने भनाईले पनि कता कता प्रभाव पारेको हो कि भन्ने पनि देखिन्छ । तर एक महिला शिक्षित भईन् भने पुरै परिवार र समाज शिक्षित हुन सक्छ भन्ने महिला अधिकार कर्मी श्री कमला भासिनको भनाईलाई यहाँ सार्थकता दिनु पर्ने हुन्छ ।

त्यहि भनाईलाई सार्थकता दिदै महिलाहरुलाई तबला वादनको क्षेत्रमा अगाडि बढाउनको लागि मिडियाको पनि धेरै ठुलो योगदान रहेको पाईन्छ । बारम्बार पत्रिका,रेडियो,टी भी अनलाइन आदी मा अन्र्तवार्ताका साथै वादन समेत सर्वसाधारणले देख्न,पढ्न र सुन्न सक्ने हुँदा अध्ययनरत महिलाहरुमा हौसला बढ्ने गरेको पाईएको छ । त्यसका लागि रेडियो नेपालमा हुँदै गरेको शास्त्रीय संगीतको कार्यक्रम अचानक बन्द भएको छ । नेपाल टेलिभिजनमा प्रशारित आलाप नामक शास्त्रीय संगीतको कार्यक्रम यसैगरी बन्द गरिएको छ । यसलाई पुन प्रशारण गर्नका लागि पनि जोडदार माग गरिन्छ ।

हाल केहि निजी टेलिभिजनहरुले यदाकदा शास्त्रीय संगीतको प्रशारण गरेको पाईन्छ भने मिथिला नेपाल टेलिभिजनले सातामा एक दिन शास्त्रीय संगीतको कार्यक्रम प्रशारण गर्दै आएको छ । नेपाल सरकार अन्तर्गत संस्कृति मन्त्रालयले पनि अन्तराष्टिय स्तरका सांस्कृतिक आदान प्रदानका कार्यक्रमहरुमा अनिवार्य रुपमा महिला हरुको सहभागीता गराउनु पर्ने देखिन्छ । उक्त कार्यले महिलाहरु अझ बढि तबला वादनको क्षेत्रमा सक्रिय रहने देखिन्छ ।

प्रकाशित: ९ असार २०७८ ०७:२० बुधबार