ब्लग

बच्चु कैलाससँग भेटेपछि

यो कुनै समाचार होइन । न अन्तर्वार्ता न कुनै पत्रकारिता नै । मेरो व्यक्तिगत जीवनको एउटा क्षण हो, जुन गायक बच्चुकैलाससँग जोडिएको छ । पत्रिका वा सञ्चारमाध्यममा आफ्नो कुनै पनि कुरा नलेखियोस् भन्ने चाहना भएका बच्चु दाइसँग जोडिएको प्रसंग हो यो । बिरामी पर्दा पारिजातलाई वीरअस्पतालमा कुर्दा बिताएका केही क्षणका सम्झना मसँग छन् । यस्तै अरुणा लामासँग गोपाल योन्जनको घरमा पुर्‍याउँदा र ल्याउँदाका । यस्ता व्यक्तित्व जससँग बिताएका क्षण बारे मैलै कुनै टिपोट गरिनछु । तर, तेस्रो पटक गल्ति नगर्न यो प्रसंग लेख्नु परेको हो ।

सुट, टाई, निधारको तलसम्म झरेको कालो टोपी, मोटो चश्मा र हँसिलो अनुहारमा गएको बिहीबार भेटिए बच्चु दाइ । सनराइज बैंकले प्रायोजन गरेको सांगीतिक एल्बम सार्वजनिक समारोह थियो त्यो । त्यस साँझको विशेष संगीत कार्यक्रममा मञ्चमा बोल्दा संगीतकार शम्भुजीत बांस्कोटाले बच्चुदाइ विशेष आग्रहमा यहाँसम्म आउनु भएको जानकारी दिए । सँगै बसेका राष्ट्र बैंक डेपुटी गभर्नरले -ऊ त्यस टेबुलमा कालो टोपी लगाएर बस्ने बच्चु दाइ भनेर चिनाइदिए । उनलाई पनि केही समयअघि त्यहीँ गीतकार विश्वम्भर प्याकुरेलले चिनाइदिएका रहेछन् ।

अरु लाखौं जस्तै म पनि बच्चु दाइका गीतको फ्यान । अहिले होइन १५ वर्ष अघि होला मैले बच्चदाइसँग फोनमा लामो कुरा गरेका थिएँ। भेटेर अन्तवार्ता लिने कुरा गरेँ। तर, जवाफ पाएँ ' अहँ हुँदैन, मसँग कुरा गरेको छाप्न पाउनु हुन्न्' ।


अहिले म उनीसँग पुग्दा यही सोचेँ के भन्ने ? सँगै जाँदा लाग्यो नचिने पनि चिने जस्ता, नजिक बस्दा पनि मनै चंगा बनाउन सक्ने बच्चु दाइ । यो मेरो पहिलो भेट थियो । कुरै कुरामा १५ वर्ष अघिको प्रसंग उठाएँ अनि विस्तारै अहिले अन्तर्वार्ता छाप्न मिल्थ्यो कि सोधेँ । उही पुरानो जवाफ 'अहँ हुँदैंन (हाँस्दै) अहिले त कति कति नयाँ छाइसके ।'


हामी तपाईँका गीतका फ्यान हौं। १५ वर्ष अघि हाम्रा दाइहरुको ठुलो समूह थियो तपाईलाई मन पराउने त्यही बेला मैले फोन गरेको थिएँ । बच्चु दाइको हँसिलो अनुहारमा जवाफ आयो 'ए हो र।' त्यसबेला बच्चु दाइ पशुपति सँधै जानुहुन्थ्यो । अहिले सोमबारमात्र । सोधेँ हाल बसाई कहाँ छ ? उत्तर हाँसोमात्र । टेबुलवाट उठेर खाना खान जाँदा फेरि अर्को प्रश्न राखेँ दाइको उमेर कति भयो । फेरि यस्तै जवाफ 'उमेर नभनौं भन्नु हुँदैन भन्छन् । उमेर त गोप्य हुन्छ नि ।'


सँगै बसेका ३० वर्षदेखि जहाज उडाउँदै आएका पाइलट आधा घण्टा देखि मोबाइलमा बच्चुदाइका गीत खोज्दै थिए । बच्चु दाइका फ्यान ती पाइलट ३५ वर्ष अघि भेटेका रहेछन् । खानाका टेबुलमा उनले रोमाञ्चित हुँदैं बच्चु दाइको त्यो आँखाले लौन मार्‍यो भन्ने गीत गुनगुनाए । पाइलटको भाखालाई संकेत गर्दै 'ल कस्तो राम्रो हैं । कसैको आँखा सम्झेर यो गीत गाउनु भएको थियो कि ? '

होइन, गीत गाउँदा अन्त सम्झिँदैन ।'
तर, गाउनु अघि मन भित्रैदेखि भावना आउनु पर्छ भन्छन् नि ?
होइन पर्दैन त्यस्तो होइन यसरी गीत गाउने हो ।
अहिले गाउन मन लाग्दैन
'गाउन त मन लाग्छ नि तर, स्वर अब छैन ।' मैले पत्याइनँ ,बच्चुदाइको स्वर बुढ्यौली भए पनि स्पष्ट र तिखो भने थियो ।
हामी जीवनको बारेमा कुरा गर्न गयौं । मैले नै बढी कुरा कोट्याउनु पर्ने अवस्था थियो । कुरा गरिरहंदा बच्चुदाईको प्रतिकृया हुन्थ्यो 'धेरै समय देखि भेटे जस्तो सधै चिने जस्तो' । यही प्रसंगमा जीवनमा प्रवेश गर्यो । जीवनलाई जटिल बनाउनु हुदैंन मैले भने । हो नी बच्चु दाईको उत्तर आयो - किन बनाउने सधैं खुशी हुनु पर्छ ।
मेरा साथीहरु कुरेका छन् जाउं त ? हामी के सहयोग गर्न सक्छौं दाइलाई ? म परे भनि हाल्छु नी यहांहरु हुदैं हुनुहुन्छ -यो उत्तरपछि हामी छुटि्यौं ।' यस पछि घरमा आएर उनी बच्चुदाइको गीत सुनिरहंे

मायाले मेरो मायाले
टाढै बसे पनि नसम्झंदा पनि रुवांउछ किन
यो मायाले, मेरो मायाले ...............।

सगै विताउंदाका अरु प्रसंग थिए । बच्चुदाइलाई सम्झंदै सम्झंदै नलेखुं नेलुखं जस्तो लाग्यो । बच्चुदाइ गीत संगितमा नजिक भए जस्तो कता कता टाढा भागे जस्तो । अरुले गीत गुनगुनाईदिंदा साथ दिन लागे जस्तो, सगैंहुदां आत्मिय जस्तो, पहिलो भेटमै चिने जस्तो, आंखामा राखेपनि नबिझाउने जस्तो । तर, बच्चुदाइ म माफ माग्छु , मन नपराउने भए पनि लाखौं तपाईका फ्यानका लागि यति भन्ने आंट गरें ।

प्रकाशित: १२ भाद्र २०६६ १२:३० शुक्रबार