ब्लग

रोटीबेटी र अपहरणको 'सम्बन्ध'

थाहा छ, पिठो पारिबाट आएन भने हाम्रो भान्सामा रोटी पाक्दैन। यताको केटाकेटी र उताको केटीकेटाको विवाह भएन भने समाज नै खुम्चिन्छ। त्यसैले छिमेकी मुलुक भारतसँग नेपालको रोटीबेटीको सम्बन्ध भनिएको हो। तर, पेट(रोटी) र इज्जत(बेटाबेटी)को सम्बन्ध निर्वाह भइरहेको यो दुई देशबीच भने अर्को पनि साइनो प्रमाणसहित जोडिन खोजिरहेको छ। अपहरण अर्थात अपराधको सङ्गिन रुप।
प्रमाण नै चाहियो भने उदाहरण प्रशस्त छन्। पछिल्लो समयमा विराटनगरको सामाजिक र व्यावसायिक क्षेत्रमा सक्रिय ७० वर्षका उद्योगपति गङ्गाविशन राठीको भारतीय भूमिमै अपहरण हुनु र त्यही मारिएको घटनाले भारतसँगको नेपालको समाजिक सम्बन्धलाई आपराधिक प्रवृतिका व्यक्तिहरुले बदनाम र त्रसित बनाइरहेको छ। सिलिगुडीका जग्गा व्यवसायी सुरेन्द्रकुमार मिश्रसँगको छोटो समयको दोस्तीमा विश्वास गरेर भाइसँग कोलकाता जाने रेल्वेको टिकट क्यान्सिल गरेर उद्योगपति राठी किन सिलिगुडी कुदे? अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने हुन्छ।


विराटनगरवासी भन्छन्, 'राठीको स्वभाव र व्यवहार नै जोसुकैले धार्मिक र सामाजिक कार्यमा बोलाउँदा हार्दिकतापूर्वक स्वीकार मात्र नगर्ने भौतिकरुपमा उपस्थिति नै जनाउने खालको थियो।' अपराध गर्नेलाई गजबको बहाना मिल्यो। धार्मिक छलफल। बोलाइयो राठीलाई विराटनगरबाट। रुपमा धार्मिक छलफल भनिए पनि, सारमा भने धर्मले कहिल्यै पनि नरुचाएको हिंसाको तानाबाना बुनियो। सरल, सहज र सजिलो मानिसलाई छानेर भारतमा अपराध कर्म गर्नेले नेपाली जनतालाई राठीको हत्यासँगै त्रसित, आतङ्कित र आक्रोसित बनाए।


आफ्नै मुलुकमा धेरै पटक हिंसा, आतङ्क र समस्या भोग्दै आएका नेपाली व्यवसायीका लागि व्यापार-व्यवसाय गर्ने सहज र सरल समयको प्रतीक्षा अझै सकिएको छैन। अब हुन्छ कि भन्ने आशमा जसोतसो व्यापार चलाइरहेका उनीहरु अपराधीको चङ्गुलमा पस्ने क्रम रोकिएन भने दुई देशीय सम्बन्धमा कायम रहेको व्यापार पनि खुम्चने खतरा छ।

गङ्गाविशन राठी
तुलसीराम अग्रवाल
ज्ञानचन्द्र दुगड

यिनीहरु व्यापार-व्यवसाय गरेकै कारण आपराधिक चङ्गुलमा फसाइएका विराटनगरका उद्योगपति हुन्। विशाल ग्रुपका सञ्चालक तुलसीराम अग्रवाललाई विराटनगरको मलाया रोडबाट मर्निङवाककै क्रममा मारुती भ्यानमा कोचेर भारत लगियो। अग्रवालको अपहरण गरेको अभियोगमा पक्राउ परेका विराटनगरको सीमावर्ती बजार जोगबनीका विधायक जाकिर मियाँ र उनका सहयोगी भोलाशङ्कर तिवारीलाई घटनाको लामो समयपछि पक्राउ गरियो। अपराध भएको यतिका वर्षपछि पनि दोषीलाई कानुनी दायरामा ल्याइएपछि न्यायको अनुभूति महसुस गर्न नपाउँदै राठीको अपहरण र हत्याले बेचैन बनाएको छ।


देशकै समस्या र आर्थिक नीतिसँग असन्तुष्टि जाहेर गरिरहेका नेपालका उद्यमी-व्यवसायी सधैं आफ्नो भौतिक सुरक्षाका लागि सशङ्कित भइरहेका छन्। पैसाको प्रत्यक्ष कारोबार गर्नेहरु सधै जोखिममा हुन्छन्। नगद लुटिने वा गुम्ने खतरा बढी हुन्छ। तर, श्रम, पसिना र मिहिनेत गरेर कमाएको दुई पैसाकै कारण ज्यान जोखिममा पर्न थालेको नेपाली व्यवसायीका लागि सोचिदिने र बोलिदिने सरकारी निकायको अभाव छ।

 

मुलुकको दुई नागरिक (उद्योगपति राठी र सँगै शव भेटिएको शिवसेनाका चन्द्र चुडाल)को हत्या हुँदा पनि नागरिकको पहलबाहेक सरकारका तर्फबाट औपचारिकरुपमा संवेदना समेत व्यक्त भएको छैन। आफ्ना दुई नागरिक अर्को मुलुकमा मारिएको घटनाप्रति (सायद) हाम्रा परराष्ट्रमन्त्री अझै बेखबर छन्। सातिर दिमागका अपहरणकारीहरु उम्कन सक्ने खतरा रहेको राठीका परिवारले बताइरहेको बेला पनि सरकारी निकायले उनीहरुको कारबाहीको प्रक्रियाबारे खोजखबर राखेको पाइँदैन।
साइरन जडित गाडीमा गुडिरहेका र भारतीय सुरक्षा निकायकै जवानहरुको स्यालुट पाइरहेका अपहरणकारी मिश्रमाथि कडा कारबाही हुनेमा राठी परिवार सशङ्कित छ।

 

'हामीले सुनेका छौं, पक्राउ परेकाहरु पावरवाला हुन्,' गङ्गाविशनका भाइ चम्पालालले संवेदना व्यक्त गर्न आउने नेपाली नेताहरुसित दुखेसो पोखिरहेका छन्। उद्योगपति चम्पालालको भनाइले ज्यान गए पनि त्यो अपराधमा संलग्नहरु उम्कने खतरा छ। अझै केही व्यवसायीहरुको लिस्ट तयार छ भन्ने हल्लाले पनि विराटनगरका उद्यमी-व्यवसायीलाई चिन्तित तुल्याएको छ। राठी परिवारको शङ्का निवारण गर्न पश्चिमबङ्गालको सरकारले पक्राउ परेका दुई अपहरणकारीको सूक्ष्म अनुसन्धानका लागि अधिकारसम्पन्न आयोग गठन गरिदिए बेस। अपहरणलगत्तै सिलिगुडी र नेपाल प्रहरीले देखाएको सक्रियता र अनुसन्धानलाई राठी परिवारले प्रशंसा गरिरहे पनि मिश्रको त्यहाँको सरकारी निकायसँग जोडिएको सम्बन्धले भने थप सशङ्कित बनाएको हो।


विहारको जोगबनी नाकाबाट कारोबार गरिरहेका पूर्वी नेपालका उद्यमी-व्यवसायीहरुले त्यहाँको सुरक्षामा चुनौती थपिएपछि केही वर्षअघिबाट पश्चिम बङ्गालको सिलिगुडी नाकालाई तुलनात्मकरुपमा सुरक्षित ठाने र त्यही नाकाबाट कारोबार विस्तार गरे। विराटनगरका व्यवसायीहरुको दिन सिलिगुडीमा बित्छ भने रात विराटनगरमा। विराटनगर र सिलिगुडीको साइनो उद्यमले गर्दा निकट भएको हो। व्यापार-व्यवसायका लागि बाक्लो आउजाउ हुने सिलिगुडी क्षेत्र पनि अब सुरक्षित रहेन। केही महिनाअघि भारतकै पन्जाबबाट अपहरणमा परेका मञ्जित सिंहलाई सिलिगुडी नाकाबाटै नेपाल ल्याइएको थियो। मोरङ प्रहरीले राजमार्गको पथरी क्षेत्रमा नियमित सुरक्षा जाँच गर्ने क्रममा अपहरणकारीले हातखुट्टा बाँधेर राखेको मारुती भ्यानबाट उनी उम्केर बच्न सफल भएका थिए।


बिहारमा नितिशकुमार सरकारले शान्ति-सुरक्षामा गरेको कडाइ र लामो अन्तरालपछि पश्चिम बङ्गालको पनि फेरिएको राजनीतिले सीमा जोडिएको नेपाली इलाकामा ‘प्रभाव' पारेको छ। जसले पनि भन्छ, ‘बिहारबाट नितिसले लखेटेका अपराधी सीमावर्ती नेपाली इलाकामा लुकेका छन्।' माधवकुमार नेपालको सरकारले पारित गरेको र त्यसपछि आएको झलनाथ खनालको सरकारले ‘एक्सन' मा जान आदेश दिएको विशेष सुरक्षा योजनाले मध्यपूर्वी तराईमा हतियारको बलमा ‘अपराध' गर्नेहरुलाई सुस्त बनाएकै हो। बिहार र नेपालको तराईमा भएको सुरक्षा सतर्कता र लामो समयदेखि राज गरिरहेको कम्युनिष्ट शासनको अन्त्यपछि अपराधीहरु पश्चिम बङ्गालको ‘राजनीतिक सङ्क्रमणकाल'को फाइदा लुटिरहेका छन।


‘मास बेस' पार्टीको रुपमा चर्चित बनेको त्रिणमूल कांग्रेसका नेतृ ममता बनर्जीको सरकारले पश्चिम बङ्गालमा सुशासनको लहर अझै चलाइसकेको छैन। विराटनगरकै उद्योगपति तुलसीराम अग्रवालको अपहरणमा संलग्न रहेको भनिएका जोगबनीका विधायक मियाँ र उनका सहयोगी सिलिगुडी नाकाबाटै नेपाल पस्न खोज्दा प्रहरीको फन्दामा परेका थिए। ‘सेटिङ र पावर' भएको भए जोगबनी नाकाबाट पनि उनीहरु नेपाल पस्न सक्थे। तर, सिलिगुडीकै बाटो रोज्नुमा त्यहाँ बढेको सुरक्षा कमजोरी र मौलाउँदै गएको अपराधले उनीहरुलाई हौसाएको हुनसक्छ। पश्चिम बङ्गालमा भइरहेको आपराधिक वारदातलाई रोक्न त्यहाँको सरकारले सक्रियता देखाउनुपर्छ। नेपाली उद्यमी-व्यवसायीलाई सुरक्षित महसुस गराउन यहाँको सरकारले तत्परता देखाउनुपर्छ।

प्रकाशित: २४ माघ २०६९ ०६:२४ बुधबार