‘हामी अहिले ठिन्लेको प्राणपखेरु उडाइदिने भिरमा आइपुग्यौँ। घोडासहित खसेका थिए उनी यहीँबाट र उठ्न सकेनन् त्यसपछि। यो ठाउँलाइ छेप्का भन्छन् मित्र!’
डोल्पाली पत्रकार विष्णु देवकोटाले आँखै अघिल्तिरको भिरतिर औँल्याए। स्याङ्ताबाट बिहानै हिँडेका हामी केही पर मात्र पुग्दै थियौँ त्यतिबेला। भिरैभिरको बाटो। फोक्सुन्डो खोलाको छङछङ ध्वनि पृष्ठभूमिमा। माथि फोक्सुन्डो ताल नपुगुन्जेल नै उकालो बाटो। बाटोको विकट अवस्थाले कहाली लगाउँथ्यो ठाउँठाउँमा । कतैकतै त पहरा खोपेर खुट्टा मात्र अडिने गरी बनाइएको बाटो। मन डराइरहेकै थियो। त्यसमाथि ठिन्ले लडेर मृत्यु भएकै भीरको बाटोमा पुग्दा अझ सजग हुँदै गन्तव्यतिर लागियो।
तर्कना न हुन् नदीका छालजस्तै भएर आउजाउ गरिरहन्छन् मनमा। प्रश्न गरेँ मनमनै, यस्तो अक्करमा पहिलो चोटि कसले र कसरी कोरे होलान् डोरेटो? सम्झँदा पनि अपार श्रद्धा उर्लेर आउँछ मनमा ती पुर्खाप्रति, जसले आफ्नो ज्यानको बाजी लगाएर पहरा कोतरे र मान्छेलाई आवतजावतको विकल्प दिए।
‘हिमालयन क्याराभान’ फिल्मका नायक डोल्पाकै बासिन्दा थिए, ठिन्ले। फ्रान्सेली चलचित्र निर्देशक एरिक भ्यालीले निर्माण गरेको फिल्ममा जीवन्त अभिनय गरेकै कारण उनलाई धेरैले चिन्थे। माथिल्लो डोल्पाको जीवनभोगाइमा केन्द्रित छ फिल्मको कथावस्तु। पात्र र परिवेश पनि उतैको। केही समय चर्चाको चुचुरोमै थियो संसारलाई डोल्पा चिनाउने यो फिल्म।
फोक्सुन्डो तालबाट बगेर आएको पानी चट्टाने पहाडको खोँचलाई नाघेर हाम्फाल्दा बनेको भव्य झरना देखिन्छ त्यहाँबाट। स्वाँस्वा र फ्वाँफ्वाँ गर्दै उकालो चढ्दाको थकान बिर्साउनु त्यसको विशेषता। प्रकृतिको असाधारण आकर्षणले लोभ्याउँछ मन।
ठिन्लेसित प्रत्यक्ष रूपमा देखभेट हुने मौका त पाएको थिइनँ मैले। अखबारहरूमा भने धेरै चोटि पढेको थिए उनलाई। पछिल्लो समय पेटको क्यान्सरबाट पीडित थिए रे उनी। उपचारका लागि काठमाडौँ धाइरहनुपर्ने अवस्था। उपचार गरेर फर्किने क्रममा डोल्पा सदरमुकाम दुनै हुँदै घर जाँदै रहेछन् उनी त्यो दिन पनि। उनी चढेको घोडालाई अर्को दिशाबाट आएको खच्चडले धक्का दिँदा घोडासँगै छेप्काको भिरबाट खसेका उनी त्यसपछि कहाँ उठ्न सके र? लडेको केही समयमै इहलीला समाप्त भएको थियो उनको, २०७३ वैशाख १२ गते।
डोल्पा पुगेका बखत मलाई पनि उनका बारेमा केही सोधीखोजी गर्न मन थियो नै। डोल्पाकै विष्णुजी पनि यो यात्राभर साथमा रहने संयोग जुरेकाले उनीसामु उत्सुकता बर्साउन पाएँ। धेरै कुरा त उनले बाटोमै बेलीबिस्तार लगाए। पढेको र सुनेकोभन्दा अलि बढी चिन्न पाएँ मैले ठिन्लेलाई, उनकै गाउँठाउँ पुग्दा।
डोल्पाको विकटताको हृदयस्पर्शी तस्बिरलाई अभिनयमार्फत संसारभर देखाए ‘हिमालयन क्याराभान’का प्रिय नायकले। तर के थाहा उनलाई कुनै दिन त्यही विकटता नै आफ्नो मृत्युको कारण बन्ला भनेर? एउटा नमिठो आकस्मिकता न रहेछ मृत्यु, सबैका लागि।
डोल्पाको सदरमुकाम दुनैसम्म बल्लबल्ल जोडिएको छ सडकसञ्जाल। धेरै विकट, निकै असुविधायुक्त छन् अझै डोल्पाका धैरै गाउँबस्ती। सामान ढुवानीको एक मात्र माध्यम खच्चड। बाटोमा ठाउँठाउँमा भेटिन्छ खच्चडको लर्को। भिरालो र साँघुरो बाटोमा डरै लाग्ने। विपरीत दिशाबाट आएका खच्चडका बथानलाई बाटो छोड्न बटुवाहरू निकै सजग बनेको देखेँ। खच्चड आएको सङ्केत पाउने बित्तिकै हत्तपत्त कुनापट्टि लेस्सिनुपर्ने रहेछ। त्यस्ता अप्ठेरामा आफू छेउतिर लागेर बाटो छोड्न थालियो भने छङ्गाछुर भिरबाट खसेर कता पुगिन्छ के पत्तो! के प्राचीन युगको कठिनाइको झल्को दिन पर्याप्त छैनन् यस्ता दृश्यहरू?
जीवनभोगाइका दुर्दशालाई सङ्केत गर्ने अनेक बिम्बहरू देखेँ मैले ठाउँठाउँमा। कटक्क कुँडियो मन। लाग्यो, समयसँगै हिँड्न कहिले सक्ला डोल्पाले?
असार ११ को बिहान छिट्टै खाजा खाइवरी हिँडेका थियौँ हामी स्याङ्ताबाट। -याचीमा पुगेर दिउँसोको खाना खाएर दिनभरको हिँडाइले लखतरान पर्दै साँझ बास बस्न झरना पुग्यौँ। आरामदायी बास पाइयो त्यहीँको झरना होटलमा। खासमा यो ठाउँको नाम त चुनुवार रहेछ तर अचेल सबैले झरना नै भन्छन्। त्यहाँ रहेको झरना होटलकै प्रसिद्धिका कारण यस्तो सम्भव भयो। लोक जनजिब्रोले तागतको उदाहरण हो यो पनि।
असार १२ गते बिहान। सबेरै लागियो झरनाबाट फोक्सुन्डो तालतिर, हाम्रो यात्राको गन्तव्य। झन्डै २ घण्टा जति त नाकै ठेस्सेलाजस्तो नागबेली उकालो। हिँड्दाहिँड्दा हत्तुहैरान परिने। उकालो सकिनै लाग्दा पुगिन्छ, झरना भ्यु टावर। यहाँ पुग्नेको मुखबाट हमेसा फुत्किरहेकै हुन्छ, ‘आहा, क्या राम्रो, झरना!’
फोक्सुन्डो तालबाट बगेर आएको पानी चट्टाने पहाडको खोँचलाई नाघेर हाम्फाल्दा बनेको भव्य झरना देखिन्छ त्यहाँबाट। स्वाँस्वा र फ्वाँफ्वाँ गर्दै उकालो चढ्दाको थकान बिर्साउनु त्यसको विशेषता। प्रकृतिको असाधारण आकर्षणले लोभ्याउँछ मन।
बाटो जतिसुकै अप्ठेरो किन नहोस्, अझ अक्करे भिरका मुटु नै लुगलुग कमाउने साँघुरा गोरेटोमा नै पाइला नाप्न किन नपरोस्? यात्राको उत्कर्षमा टेकेपछिको असीम आनन्दका तुलनामा ती सबै फिक्का लाग्छन्। कठिनाइले कहाँ छेकिँदोरहेछ र गन्तव्य ? यात्रामा निस्किएको पाँचौ दिन फोक्सुन्डो ताल पुग्दा निकै प्रफुल्लित भयो मन।
अलिकति माथि पुगेपछि तेर्सो र हल्का ओरालोजस्तो छ बाटो। वनबुट्यान र हरियालीबीचको रमाइलो बाटो। केही बेर हिँडेपछि पुगिन्छ तालकिनारको रिग्म गाउँ। गाउँकै छेउतिरबाट फैलिएको छ प्रसिद्ध फोक्सुन्डो ताल।
बाटो जतिसुकै अप्ठेरो किन नहोस्, अझ अक्करे भिरका मुटु नै लुगलुग कमाउने साँघुरा गोरेटोमा नै पाइला नाप्न किन नपरोस्? यात्राको उत्कर्षमा टेकेपछिको असीम आनन्दका तुलनामा ती सबै फिक्का लाग्छन्। कठिनाइले कहाँ छेकिँदोरहेछ र गन्तव्य ? यात्रामा निस्किएको पाँचौ दिन फोक्सुन्डो ताल पुग्दा निकै प्रफुल्लित भयो मन।
चट्टाने पहाडले काँखमा अड्याएर राखेको विशाल र गहिरो ताल। जति हेरे नअघाइएलाजस्तो निलाम्मे जलराशि। निलो आकाशलाई ताकेर उभिएका हिमालका लहर देखिन्छन् तालबाट नजर माथि उठाउँदा।
प्रकृतिले रचेको एउटा अद्भुत कला। मानौँ, भौगोलिक विकटता पनि गौण छ, तालको चामत्कारिक सौन्दर्यका सामु। हो, असामान्य सौन्दर्य छरेर मुस्कुराइरहेझैँ लाग्छ फोक्सुन्डो। हिमालबाट पग्लेर खोल्सा, खोला हुँदै झरेको पानी जम्मा भएको ताल विशाल देखिन्छ। स्थानीयहरू भन्छन्, ‘पुरै ताल घुमेर राम्ररी हेर्न दुई दिन लाग्छ।’
तिब्बती भाषाकै एउटा भाषिका बोल्छन् यताका नेपाली। भोटे भाषा भनेर पनि चिनाउँछन् उनीहरू आफ्नो भाषालाई। उनीहरूका अनुसार तिब्बती भाषाको ‘फु सुङ छो’ बाट तालको नाम फोक्सुन्डो रहन गएको हो। ‘फु’ भनेको भित्री, ‘सुङ’ भनेको तीन खोलाको सङ्गम अर्थात् त्रिवेणी र ‘छो’ भनेको ताल। हिउँका ढिक्का र डाँडाकाँडाका मूलबाट निस्किएका पानी बग्ने डैकुथाङ, छोलोफुक र घाघार तीन वटा खोलाको मिलन भएको छ यो तालमा।
लुक्तोङ हाङ्याक, रिनाक, घाङ्घार टाक र याक्लाङ जस्ता पहाड र काङ्ताकातोङ हिमाल र कान्छेन राल्बा हिमाल पनि नजिकै छन्। तालबाट निस्केको पानी रिग्म गाउँबाट बग्दै केही पर पुगेर खस्छ, जसलाई फोक्सुन्डो झरना भनिन्छ। झरनाबाट खसिसकेको पानी खोलाका रूपमा बग्दै जान्छ। खोला बनेर बगेपछि फोक्सुन्डो खोलाका रूपमा बदलिन्छ चिनारी। बग्दैबग्दै गएर ठुलीभेरीमा समाहित हुनपुग्छ यो खोला।
हिउँ पग्लिएर आएको पानी न हो, चिसोको कुरा के गर्नु? शरीर नै झननझनन बनाउँदै थियो। एकै छिन तालको छेउमै भए पनि छप्ल्याङ छुप्लुङ गरेर मज्जा लिइयो। पौडी खेलियो पनि के भन्नु, शरीर पवित्र पारियो फोक्सुन्डोको पानीले भिजाएर।
३ हजार ६ सय ३५ मिटर उचाइमा रहेको तालको लम्बाइ पाँच किलो मिटरभन्दा बढी रहेको बताइन्छ। अँग्रेजी वर्ण ‘वाई’ आकारमा फैलिएको छ ताल। एउटा सुन्दर पर्यटकीय गन्तव्य हो शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने यो ताल।
तालको पानी कञ्चन छ। निकै चिसो पनि। यति गहिरो र विशाल तालमा पौडी खेल्नु जोखिमलाई निम्त्याउनु हो भन्ने राम्ररी थाहा थियो तर थामिएन मन। होसियारीसाथ कवि भूपिन र म सँगै पौडिन पस्यौँ छेउतिर। हिउँ पग्लिएर आएको पानी न हो, चिसोको कुरा के गनु? शरीर नै झननझनन बनाउँदै थियो। एकै छिन तालको छेउमै भए पनि छप्ल्याङ छुप्लुङ गरेर मज्जा लिइयो। पौडी खेलियो पनि के भन्नु, शरीर पवित्र पारियो फोक्सुन्डोको पानीले भिजाएर।
गाउँका लोकसंस्कृतिकर्मीहरू निस्वार्थ भावले आफ्नो भाषा, कला र संस्कृति जोगाउन योगदान पु¥याइरहेका हुन्छन्। मेलापात, घाँसदाउरा, चाडपर्व र अन्य शुभकार्यहरुमा जुट्नु बाहेक अरू के नै ध्येय हुन्छ र यस्ता कलाकर्मीका? व्यक्तिगत प्राप्तिका कुनै लालसा जोडिएका हुँदैनन् यस्ता सुकर्ममा। न प्रसिद्धिको प्यास, न धन आर्जनको लालच। हुन्छ त केवल सुकर्मदेखि सुकर्मसम्मको यात्रा।
हामी फोक्सुन्डो पुगैकै दिन हाम्रो ‘फोक्सुन्डो काव्य यात्रा–२०७६’ को आयोजक कन्सेप्ट नेपालले डोल्पाको सुदूर गाउँमा बसेर लोकसंस्कृति संरक्षणमा योगदान पु¥याउँदै आएका चार जना स्थानीय अग्रजलाई ताल किनारमा सम्मान ग¥यो। सम्मानित हुने साधकहरू थिए– टुङ्नावादक एवं गायक निमा लातार बैजी, लोकगायिकाहरू नाम्दाक लामा, होइसेर डोल्मा बैजी र काष्ठकलाका गुरु एवं समाजसेवी सेम्दुक आङक्याल रोकाया। उनीहरुलाई जनही १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो।
‘कहिल्यै आशा नगरिएको सम्मान पायौँ हामीले। यहाँको लोकसंस्कृतिको जगेर्ना गर्न उत्साह थपिएको छ,’ एकै बोली सुनियो सम्मानित हुनेहरूका। खुसीका रङले उज्यालिए उनीहरूका अनुहार।
हामी फोक्सुन्डो पुगैकै दिन हाम्रो ‘फोक्सुन्डो काव्य यात्रा–२०७६’ को आयोजक कन्सेप्ट नेपालले डोल्पाको सुदूर गाउँमा बसेर लोकसंस्कृति संरक्षणमा योगदान पु-याउँदै आएका चार जना स्थानीय अग्रजलाई ताल किनारमा सम्मान ग-यो। उनीहरुलाई जनही १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो।
नपत्याइँदो पाराले भव्य बन्न पुगेको थियो कार्यक्रम। गाउँका लामा गुरु, जनप्रतिनिधि, संस्कृतिकर्मी र गाउँलेको उपस्थिति थियो त्यहाँ।
निमाको टुङ्नाको धुनमा गीत गुन्जाए लोकगायिकाद्वय नाम्दाक र डोल्माले। गीतमा कम्ती छचल्किएन हृदयको भावध्वनि। स्थानीय भोटे भाषाका लोकगीत गायनमा मात्र कहाँ हुनु, परम्परागत नृत्यकलामा समेत उत्तिकै अब्बल रहेछन् यी दुबै गायिका। निमा टुङ्ना बजाउन उस्तै माहिर। उनीहरूका प्रस्तुतिमा को मुग्ध नहुनु? झुम्यौं हामी सबै।
गीतका हृदयस्पर्शी लयसँगै टुङ्नाको टुङटुङे धुन नजिकै रहेको फोक्सुन्डो तालका निलाम्मे लहरहरूमा मिसिन पुगेका थिए। साँच्चै गज्जबको अनुभूति सँगाल्न पाइयो। लाग्यो, स्थानीयताको आस्वाद मिसिएका शुद्ध कला यसरी नै त बाँचेका छन् हाम्रा गाउँबस्तीमा।
खप्तड यात्राका क्रममा अघिल्लो वर्ष पनि यस्तै रमाइलो भएको थियो। कन्सेप्ट नेपालले त्यो बेला सुदूरपश्चिमका ३ जना गुमनाम कलासाधकहरूलाई यसै गरी सम्मान गरेको सम्झिएँ। सम्मान कार्यक्रममा उनीहरूले पनि भव्य लोकसांस्कृतिक प्रस्तुति पस्केका थिए। मन्त्रमुग्ध नभइएको कहाँ हो र त्यहाँ पनि? राज्यको नजर पर्न नसकेको विकट स्थानका यस्ता कलाकर्मीको सम्मानले निकै अर्थ राख्छ भन्ने सोच्छु म। कन्सेप्ट नेपालले थालनी गरेको यो सत्कर्मले निरन्तरता पाइरहोस्!
आफैंमा सुन्दर कविताजस्तो, मनै हर्ने कलाजस्तो बिछट्ट राम्रो छ फोक्सुन्डो। यस्तोमा के चुप बस्न सक्थेँ त्यहाँ पुगेका कविहरू? पुगैकै दिन दिउँसो स्थानीय लोककलाकर्मीको सम्मान र उनीहरूको सांस्कृतिक प्रस्तुतिपछि दोस्रो चरणमा सुरु भयो कविहरूका चुरिफुरी। तालको नीलो र कञ्चन पानीमा पालैपालो मिसिन पुग्यो काव्यध्वनि पनि। पत्रकार अमृत भादगाउँलेको जोसिलो उद्घोषणसँगै कविता वाचनको मेसोमा सुनिए भूपिन खड्का, हेमन यात्री, गनेस पौडेल, हेमन्त विवश, सागर उदास र दीपेन्द्रसिंह। के सुर चलेछ, कवि अभय श्रेष्ठले चाहिँ रन्काए नेवारी गीत।
हाम्रो यात्राटोलीका कलाकार कृष्ण नेपाली पनि किन हात बाँधेर बस्न सक्थे? फोक्सुन्डो ताललाई त्यहीँ स्केच गरेर रङ र रेखामा देखाउन भ्याए। कलाको लहरमा थपियो कला। यो अर्को रौनक बन्यो तालकिनारको मेहफिलमा।
साँझतिर चिसो हिमाली सिरेटोको स्पर्शले मुटु लुगलुग कमाउन थालेपछि मात्र निमा लामाको ‘होटल हिमालयन’ भित्र छिरेर आगो ताप्न थाल्यौँ। रोचकताका अनेक रङ र रसले भरियो त्यो दिन। प्रकृति र संस्कृतिका अध्यायहरूमा जति जीवन्त कला अन्त कता भेटिनु?
फोक्सुन्डो नजिकै चिटिक्क परेको गाउँ हो, रिग्म। ताल हेर्न र डोल्पा घुम्न आउने पर्यटकका लागि होटलहरूको सुविधा पनि छ यहाँ। काठमाथि विछ्याइएका ढुङ्गा र ढुङ्गालाई माटोले छोपेका घरका छाना। पुरानै शैलीका घरहरू पनि देख्न सकिन्छ, स्थानीयता झल्किने। केही गाउँलेहरूसँग चिनाजान र कुराकानी गर्न पनि पाइयो त्यहाँ। कुराकानीकै क्रममा थाहा भयो, हरेक वर्षको ३ महिना रित्तो हुने रहेछ यो गाउँ। पुस, माघ र फागुनमा अत्यधिक हिउँ पर्ने हुँदा गाउँका सबै जना डोल्पाकै तल्ला भूभागमा सरेर समय कटाउने रहेछन्। यही मौसमका लागि भनेर सबैका वैकल्पिक घरहरू बनेका रहेछन् तलतल बेसीपट्टि। गाउँलेहरू त्यतै सरेर बस्दा रहेछन् ३ महिना।
त्यति बेला मानवविहीन रिग्म गाउँमा चकमन्नता बाहेक केही हुन्न भन्ने सुन्दा अनौठो लाग्यो मलाई। रिग्मबासीले सुनाए, ‘जाडो याममा हिउँ नै हिउँले छोपिन्छ यो गाउँ, बस्नै सकिन्न। त्यसैले हामी ३ महिना चाहिँ तलतिर झरेर बस्ने गर्छौं। यो हाम्रो बाध्यता।’
फोक्सुन्डो तालको मोहनी रूपमा भुुल्दै र ताल किनारमा आयोजित कार्यक्रममा रम्दै बिताइयो फोक्सुन्डो पुगेको पहिलो दिन। साँझतिर चिसो हिमाली सिरेटोको स्पर्शले मुटु लुगलुग कमाउन थालेपछि मात्र निमा लामाको ‘होटल हिमालयन’ भित्र छिरेर आगो ताप्न थाल्यौँ। रोचकताका अनेक रङ र रसले भरियो त्यो दिन। प्रकृति र संस्कृतिका अध्यायहरूमा जति जीवन्त कला अन्त कता भेटिनु?
प्रकाशित: १९ भाद्र २०७७ ०१:१२ शुक्रबार