ब्लग

हँसिला पाइलटको यादमा...

पाइलट सुजित लामा ढुंगाना

चक्र कार्की

सबैका लागि खुसी र उत्साह बोकेर आउने नयाँ वर्ष सुजित लामा ढुंगानाको जीवनमा अँध्यारो बोकेर आयो। उनले ३४ वर्षकै उमेरमा वैशाख १ गते यो धर्ती छाड्नु प-यो। २०७६ सालको नयाँ बर्ष आमा ल्हेमी लामाका लागि भयानक कालो दिन भयो। जीवनमा तामाको मुना जस्तो कलकलाउँदो सन्तान गुमाउनु प-यो। निष्ठुरी दैवले उनलाई त अकालमै चुँडेर लग्यो नै, परिवार, आफन्त र इष्टमित्रलाई पनि धुरुधुरु रुवायो। धुरुधुरु नरोउन् पनि कसरी, सबैका आँखाका नानी थिए सुजित। संघर्षले खारिएका प्रतिभा थिए।  

मैलें २०७५ सालको मंसिरमा आमा ल्हेमी लामालाई फाप्लुमा भेटदा छोरो पाइलट भएको खुशी बेग्लै थियो। आमाको छोराप्रतिको विश्वास, भरोसा थियो। उनले भनेकी थिइन्, ‘चराझैं जहाज उडाएर घरकै आँगनमाथि आउँछ। फेरी भुर्र उडेर जान्छ।’  

मैलें त्यस बेला सुजितकी आमाको छोरा पाइलट भएको मन खुसी देखेको थिएँ। हो, हाम्रो समाजले सन्तानलाई अनेक हण्डर र आर्थिक दुःख झेलेर डाक्टर, पाइलट, इन्जिनियर बनाउन मरिमेट्छ। जायजेथा बेचेर, चलअचल दौलत सकेर भए पनि सन्तानको सुन्दर संसारका लागि आमाबा त्याग गर्छन्।  

निकै संघर्ष गरेर पाइलट बनेका सुजित लामा ढुंगाना सधैं मुस्कुराइरहन्थे। उनकी आमा ल्हेमीले निकै संघर्ष गरेर उनलाई हुर्काएकी थिइन्। लुक्लाको विमान दुर्घटनामा यो देशले पसीनाको मोल बुझेको एउटा जुझारु पाइलट गुमायो।  

आमाको एक्लो प्रयास र लगानीले सुजित पाइलट बनेका थिए। ल्हेमीका आँखामा खुशीका रेखा स्पष्ट थिए। ‘मेरो मेहेनत र धैर्यताले सफलता मिलेको छ भाई’ उनले भनेकी थिइन्, ‘हिमाली भेकमा यात्रा गर्दा कुनै बेला भाइले उडाको प्लेनमा उड्नु निर।’

चक्र कार्की

त्यो दिन मैले भनेको थिएँ, ‘मौका आउला नि दिदी।’  

तर त्यो मौका कहिल्यै आएन। हाम्रो भलाकुसारी भएको ६ महिनापछि दुर्घटनामा उनी विते।  

आमाले सुजितलाई पाइलट पढाउँदा खाएको हण्डर पनि मलाई सुनाइन्। हो, एक दृढ र पहाडजस्ती आमाले हुर्काएर पढाएको सन्तान थियो सुजित। एउटी महिलाले अनेक आरोह, अवरोह, घामपानी पचाएर नेपाली आकाशमा प्लेन उडाउन सक्ने पाइलट बनाउने साहसी आमाले सन्तानलाई अल्पायुमै गुमाउँदा धर्ती फाटे र आकाश झरे जस्तै भयो।  

मैलें सुजितलाई ओखलढुंगाको सोब्रुमा बस्दा नै चिन्थें। आमा मिशन अस्पतालमा जागिर गर्थिन। त्यसबेला उनी ओखलढुंगामै पढ्थे। सानै उमरेमा अलिपाको कुरा गर्थे। मुसुक्क हाँसेर मात्र बोल्ने उनको बानी थियो। पाइलट भएपछि भने तीन चार पटक मात्र भेटें हुँला। स्वाभाव उस्तै हाँसेर बोल्थे। आमाप्रति उनी निकै बफादार र जिम्मेवार थिए।  

सुजित जस्ता होनकार युवा मात्र होइन अरु पाइलट पनि हिमाली र पहाडी भेगका विमानस्थलमा उडान भर्दाभर्दै बिलाएका छन्। नेपालका विमानस्थल मध्ये लुक्लाको तेन्जिङ हिलारी विमानस्थल संसारकै साहसिक र खतरनाक मानिन्छ। दुई दशदेखि लुक्लामा साना ठूला गरी दर्जर्नौ प्लेन दुर्घटना भएका छन्। सयौंले ज्यान गुमाएका छन्। हिमाली भेगमा छिनछिनमा हुने मौसम परिवर्तन र अन्य कारणले पनि दुर्घटना भएका छन्।  

उनी एउटा पाइलट बन्नुमा आमा, मावली र उनको आफ्नै मेहेनत परेको थियो। खासमा उनका वुबा र आमाबीच अन्तरजातीय प्रेमविवाह भएको थियो। आमा सोलुखुम्बुकी शेर्पीनी ‘ल्हेमी लामा’ र बाबु चाबहिल, काठमाडौंका बाहुन ‘अर्जुनप्रसाद ढुंगाना’।

आमा ल्हेमीका साथमा सुजित।  

नेपाली हवाई आकाश सुरक्षित छैन भन्ने बहस लामै भएको छ। राज्य र सम्बन्धित निकायले नेपाली उडान सुरक्षित राख्न गम्भिर ध्यान दिनुपर्छ। वायु सेवा संचालकहरूले पनि पहिला सुरक्षा भन्ने मन्त्र बनाउनु पर्छ। सुरक्षा बिधिले सुजितजस्ता होनहार पाइलटले अल्पायुमै ज्यान गुमाउनु पर्दैन र ल्हेमीजस्ता महिला बुढेसकालमा सहाराविहिन बन्नु पर्दैन।  

हो, भवितव्य हुन्छ। तर, त्यसलाई न्यूनिकरण गर्ने विधि पहिल्याउनु पर्छ।  

एकल आमाले निकै दुःख गरेर हुर्काएकी सन्तान सुजित। उनी एउटा पाइलट बन्नुमा आमा, मावली र उनको आफ्नै मेहेनत परेको थियो। खासमा उनका वुबा र आमाबीच अन्तरजातीय प्रेमविवाह भएको थियो। आमा सोलुखुम्बुकी शेर्पीनी ‘ल्हेमी लामा’ र बाबु चाबहिल, काठमाडौंका बाहुन ‘अर्जुनप्रसाद ढुंगाना’।  

सुजितं २०४२ साउन १० गते बुधबार काठमाडौंको प्रसूति गृहमा जन्मिएका थिए। उनी जन्मेको ८ महिनामै आमा र बुवाबीचको सम्बन्ध बिग्रियो। त्यतिबेला आमा १८ वर्षकी मात्र थिइन्। उनी स्यानो किराना पसल चलाउँथिन्। पतिसँगको सम्बन्ध तोडिएपछि उनले ८ महिने छोरालाई माइतीघर सोलुखुम्बुको फाप्लुमा पठाइन्।  

जीवनले नयाँ मोड लियो। प्राणभन्दा प्यारो शिशुबाट टाढिएर एक्लै बस्न आमाको मन किन मान्थ्यो र! दुई महिनापछि उनी पनि फाप्लुमा पुगिन्। त्यतिबेला उनले टेष्ट पास गरिसकेकी थिइन्। लगत्तै दुःख गरेर अनमी पढिन्। अनमी बनेसँगै २०४६ पुसमा ओखलढुंगाको मिशन अस्पतालमा जागिर खान थालिन्।  

पाँच वर्ष लामो प्रेमपछि २०७५ असारमा मात्र फुर्र्वा शेर्पासँग वैवाहिक जीवनमा बाँधिएका थिए उनी। विवाह भएको वर्ष दिन नपुग्दै श्रीमती, आमा र आफन्तलाई छाडेर उनी स्वर्गमा पुगे। दैव कति निष्ठुर बन्न सकेको?

श्रीमति फूर्वाका साथमा।  

विसं २०४३ वैशाख १ देखि मामाघरमा बस्न थालेका सुजितको बाल्यकाल त्यतै बित्यो। शेर्पा संस्कृति र जीवनशैलीमा हुर्किए उनी। आमा ल्हेमीले उनलाई २०४८ सालमा ओखलढुङ्गास्थित लालीगुराँस आवासीय माध्यमिक विद्यालयमा भर्ना गरिदिइन्। जागिरको सिलसिलामा आमा जताजता पुग्थिन् उनी त्यतैत्यतैका विद्यालयमा पढ्थे।  

उनले ३ कक्षादेखि ८ कक्षासम्म धरानको दिपेन्द्र प्रहरी स्कुलमा पढे। उनी सानैदेखि पढाइमा तेज थिए। स्वभाव पनि सहयोगी र मिलनसार थियो। उनी कक्षा ९ र १० सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित जनजागृति माध्यमिक विद्यालयमा पढे। त्यहीँबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण पनि गरे।  

सानैदेखि उनी डाक्टर बन्न चाहन्थे। त्यसका लागि विज्ञान पढ्नुपर्ने भयो। त्यसैले २०५७ सालमा एसएलसी उत्तीर्ण भएसँगै उच्चशिक्षा अध्ययन गर्न काठमाडौं आए। काठमाडौको न्यू मिलेनियम कलेजबाट आइएस्सी गरे। त्यसपछि डाक्टर पढ्नलाई शिक्षण अस्पताल महाराजगञ्जमा दुई पटक प्रवेश परीक्षा दिए। भनसुन चल्ने त्यहाँ उनको नाउँ निस्कने कुरै भएन, निस्केन।  

पछि उनले सोचाइ बदलेर पाइलट बन्ने चाहना आमालाई सुनाए। आमा पाइलट बनाउन राजी थिइनन्। उनलाई पाइलटको जागिर रिस्की लाग्छ। छोराको जिद्धीका अगाडि एउटी आमा पग्लिन्। उनले भएका गरगहना बेचिन्, सञ्चय कोषमा जम्मा भएको रकम झिकिन्। यसरी सुजितलाई पाइलट कोर्ष गर्न फिलिपिन्स पठाइन्।  

उनको जीवनको सपना भन्नु नै सुजित न हुन्। उनले पनि राम्रोसँग पाइलट कोर्ष पूरा गरे। भारतबाट आइटीपिसी कोर्ष पनि गरे। फिलिपिन्समा २ सय घण्टा उडान भरेका थिए उनले। त्यसपछि नेपाल आएर समिट एयरलाइन्समा ‘को पाइलट’ भएर जहाज उडाउन थाले। उनले नेपालका हिमाली र पहाडी विमानस्थलमा उडान गरे। समिट एयरमा ६ सय घण्टा उडान भरिसकेका थिए।  

उनी समय समयमा परोपकारी काम गर्थे। गरीब दुःखीको सेवा गर्थे। साथीभाइलाई समय दिन्थे। पाइलट सधैं व्यस्त हुन्छन्। चाडपर्व पनि भन्न पाउँदैनन्। देश नयॉ वर्षको उल्लासमा रमाइरहेका बेला २०७६ वैशाख १ गते सुजित रामेछापको मन्थलीबाट लुक्लामा यात्रु ओसारिरहेका थिए। यात्रुलाई लुक्लामा छाडेर मन्थली फर्कनेक्रममा लुक्ला विमानस्थलको रनवेमा समिट एयरको जहाज चिप्लिएर हेलिप्याडमा उड्न लागेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किनपुग्यो। त्यो दुर्घटनामा उनको दुःखद् निधन भयो। त्यो खबरले दुनियाँ स्तब्ध बन्यो।  

पाँच वर्ष लामो प्रेमपछि २०७५ असारमा मात्र फुर्र्वा शेर्पासँग वैवाहिक जीवनमा बाँधिएका थिए उनी। विवाह भएको वर्ष दिन नपुग्दै श्रीमती, आमा र आफन्तलाई छाडेर उनी स्वर्गमा पुगे। दैव कति निष्ठुर बन्न सकेको? आमा ल्हेमी र श्रीमती फुर्वाको एक मात्र सहारा ढल्यो। क्षणभरमै एउटा चम्किलो दियो निभ्यो। आफन्त र साथीसँगीको प्यारो मान्छे खोसियो। त्यतिमात्र होइन, यो देशले पसीनाको मोल बुझेको एउटा जुझारु पाइलट गुमायो।  

अचानक एउटा तन्नेरी सपनाको अवसान भयो। उनको निधनबाट आमा ल्हेमी र श्रीमती फुर्वालाई ठूलो चोट पुगेको छ। बाँचुञ्जेल सायद उनीहरूका आँखा ओभाना बन्ने छैनन् !  

सुजित! तिम्रो जन्म फेरि यही सुन्दर देश नेपालमा होस्।  

अल बिदा सुजित!

प्रकाशित: १६ भाद्र २०७७ ११:२५ मंगलबार

पाइलट हवाई दुर्घटना