ब्लग

महामारीमा महिनावारीको पाप !

कोरोना महामारी र वर्षाजन्य विपदले एकैसाथ आक्रमण गरिरहेको भए पनि नेपाली हिन्दू महिलाले आपसमा सकेसम्म खुसी साटासाट गरेर तीज मनाए । सहरी क्षेत्रमा एक महिना अघिदेखि नै भोजभतेर गरेर मनाउने गरिएको तीज यसपालि कोरोना भाइरसले पूरै छेकिदियो ।  

पञ्चमीको दिन थियो । बिहान उठ्न नपाउँदै बाहिर छिमेकी बोलेको सुनियो । आफ्नो धर्म र संस्कृति पनि मान्न नपाइने यो के महामारी आयो भन्दै कोरोनालाई बेस्सरी गाली गर्दै थिए । उनीहरू निकै चिन्तित देखिन्थे । ‘यसपालि पञ्चमी नुहाउन पाइएन । दतिवन गर्न पाइएन...।’ हामीले थाहा पाएदेखि पञ्चमी नुहाएर  शुद्ध नभएसम्म त्यो वर्षको पाप काटिँदैन भन्ने मान्यता छ । त्यही सोच र अभ्यासले  ग्रस्त छौं हामी  । पाप नकाटिने भयो भन्ने डर र चिन्ताले दुःखी स्वरमा उनीहरू पीडा पोख्दै थिए ।  

तिनै छिमेकीकाे कुरा सुन्दै विचार गर्दे थिएँ । त्यही बेला मेरो आफन्तबाट मलाई फोन आयो  र भन्न थाल्नुभयो– ‘दतिवन छ कि छैन ? ल्याइयो कि ल्याइएन ? माटो कहाँको छ ? छैन भने तुलसीको फेदको माटोले सबै विधि गर्नू । घरमैै भए पनि दतिवन गनेर टोक्नू । घरपछाडि लगेर फाल्नू । के गर्ने बगाउने ठाउँमा जान नि पाइएन ।  यसपालि बर्बाद भयो ।’

मेरा छिमेकी, मेरा आफन्तमा मात्र हैन, महिनावारीलाई पाप ठान्ने मानसिकता समाजभरि व्याप्त छ । महिला होस् वा पुरुष, शिक्षित होस् वा  अशिक्षित सबैमा  यो सोचले जरा गाडेको छ ।

अनि फेरि भनन थाल्नुभयो– ‘तिमी त वर्षभरि नै आफैंले पकाएर खान्छौ । महिनावारी पनि बार्दैनौ । त्यत्रो वर्षभरिको छोइछाइ पनि कटाउनुपर्ने थियो । यसपालि पाइएन के गर्नु ! हामीलाई भन्दा पनि त  तिमीलाई पञ्चमी पूजा नलगाई नहुने थियो । कस्तो बर्बाद भयो यो पल्ट । लौ अब जे भए पनि नुहाईधुवाई गर्नू, घरमै भए पनि ऋषिपूजा गर्नू । नजिकै बाहुन छैन होला, मास्क लगाएर घरमै पूजा लगाउन पाको भए जाती हुन्थ्यो । के गनूर्, यो कोरोनाले गर्नु गर्यो !

‘यसपालिको पापले कहिलेसम्म दुःख दिने हो ?’ यति भन्दाभन्दै फेरि थप्नुभयो– ‘आज नि फेरि आफैं पकाएर खाने होला ? आफू खाए पनि घरका छोरा मान्छेलाई नदिनू । आफैं बनाएर खान भन्नू ।  आज केटी मान्छेले छोएको केटा मान्छेले खानु हुँदैन ।’ एकदम दुःखी भएर सचेत गराउनुभयो– ‘पाप लाग्छ बाबै ! कुल जोगाउनू । तिमीहरू मान्दैनौ । अघिपछि जे जे गरे पनि त्यै पञ्चमी गरेर कटाउनुपर्ने । यसपालि त्यो नै भएन । अब के हुने हो ! लौ अब विचार गर है ।’ यति भनेर फोन राख्नुभयो । 

मैले हस् हस् मात्रै भनिरहें । प्रतिवाद गर्न उचित थिएन । मैले सानैदेखि अर्थात् पहिलो महिनावारीदेखि नै महिनावारी भनेको पाप हो र पञ्चमी पाप कटाउनका लागि गरिने कर्म हो भन्ने सुनिरहेकी छु । वास्तवमा त्यो फोनमा मैले एउटी महिलाको मात्र होइन, समाजको प्रतिनिधि आवाज सुनिरहेकी थिएँ । तर आजसम्म गरिएको पञ्चमीले कति पाप कटायो ? मनमा प्रश्न उठिरहेको थियो । 

‘पाप लाग्छ बाबै ! कुल जोगाउनू । तिमीहरू मान्दैनौ । अघिपछि जे जे गरे पनि त्यै पञ्चमी गरेर कटाउनुपर्ने । यसपालि त्यो नै भएन । अब के हुने हो ! लौ अब विचार गर है ।’  

आखिर कुल जोगाउने जिम्मा त महिलाकै रहेछ । अरू कुरालाई सामान्य मान्दामान्दै पनि एउटा वाक्यले मनमा डरजस्तो उत्पन्न गरायो । तर अब कुलको जिम्मा नै पञ्चमी पूजामा जोडियो ।  महिनावारीलाई अपवित्रतासँग जोडियो । देउता रिसाउने, कुल मासिने, डर मनमा छिराउन खोजेको कुरा त  बुझेकी थिएँ  । किनकि कुलचाहिँ पुरुष थिए । त्यहाँ पिृतसत्ता जोगाउनु थियो । मेरा छिमेकी, मेरा आफन्तमा मात्र हैन, महिनावारीलाई पाप ठान्ने मानसिकता समाजभरि व्याप्त छ । महिला होस् वा पुरुष, शिक्षित होस् वा  अशिक्षित सबैमा  यो सोचले जरा गाडेको छ ।

तर यसो भनेर समाज परिर्वतन नै भएको छैन, जहाँको तहीं छ भन्ने पनि होइन । रूढिवादी परम्परामा केही परिवर्तन पनि आएका छन् । तर पनि यसले रूप फेरीफेरी हैकम जमाइरहेको देखिन्छ । महिनावारी कुनै पाप होइन, अशुद्धता र अपवित्रता होइन भन्ने बुझ्न जरुरी छ । महिला आफैंले पनि बुझ्न जरुरी छ । महिनावारी त प्राकृतिक प्रक्रिया हो ।  

महिनावारीका निहुँमा भेदभाव र अवहेलना समाजको तीतो यथार्थता हो । अब त अति भयो । अब अस्वस्थ र अमानवीय अभ्यास परिवर्तन गरौं । रूढिवादी मानसिकता बदलौं ।   

(एमफिल, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौं )

प्रकाशित: ११ भाद्र २०७७ ०१:१२ बिहीबार

महामारी महिनावारी