ब्लग

बात, पित्त र कफ के हो ? त्रिदोषको सन्तुलन कसरी राख्ने ?

आफ्नो स्वास्थ्य आफ्नै हातमा

रामदेवी महर्जन, योग तथा उचित आहार, विहार र विचार प्रशिक्षक।

हामी खाना खान्छौ, जे खाँदा पनि मन पर्ने र मन नपर्ने हेरेर खान्छौ। मन परेको खाना धेरै खाने र नपरेको खाना कम खाने गर्छौं। अधिकांश मानिस मन पर्ने र नपर्ने भावमा खाना खान्छन्। कोही भन्छन्, मलाई माछामासु मनपर्छ। मलाई पिरो मनपर्छ। मलाई अमिलो मनपर्छ। यसरी मन परेको खाना धेरै र मन नपरेको खाना कम खाने गर्नाले मन परेको खाना शरीरलाई आवश्यकताभन्दा बढी हुन्छ र मन नपरेको खाना शरीरलाई आवश्यकताभन्दा कम हुन जान्छ। यसले गर्दा शरीरलाई चाहिने खाना र रस कम हुने अनि नचाहिने खाना, रस बढी हुने हुन्छ र शरीरमा मल अर्थात् विकार संचय हुन्छ जसले शरीर संचालनका काममा गडबडी भई समस्या आउँछ जसलाई हामी रोग भन्छौ।  

बुझ्नु पर्ने कुरा हाम्रो शरीर संचालनका लागि चाहिने खाना संतुलित हुनुपर्छ। शरीर संचालन ठिक राख्न खाना के कसरी खानुपर्छ भन्ने जान्नु अघि हाम्रो शरीर गठनबारे बुझ्नु जरुरी छ।  

वातावरण पनि गर्मी र हामीले खाएको खाना पनि गर्मी बढाउने भएमा दुवै गर्मी जुधी शरीरमा पित्तसम्बन्धी समस्या आउँछ। त्यसैले एकतर्फी मात्र नहेरेर आफ्नो शरीरको अवस्थालाई ख्याल गरौं। आहार भनेको शरीरको अवस्था र वातावरण हेरेर गर्नुपर्ने विषय हो।

शरीर गठनबारे आयुर्वेदको भनाइ

हाम्रो शरीर पन्च महाभूत पृथ्वी, जल, वायु, अग्नि र आकाश मिलेर बनेको छ। यही पाँच महाभूतमा आत्म जसलाई हामी स्वास या प्राण भन्छौ त्यो मिसिएपछि सजीव हुन्छ। यही सजिवको शरीरमा दोष, धातु र मल गरी तीन घटक हुन्छन्।  

दोष के हो ?

बात, पित्त, कफलाई दोष भनिन्छ। आर्युवेद विज्ञानमा दोषहरूलाई दुई भागमा विभाजन गरिएको छ। पहिलो, ‘शारीरिक दोष’ जसलाई बात, पित्त र कफ गरी तीन भागमा विभाजन गरिएको छ भने दोस्रो, ‘मानसिक दोष’लाई रज र तम गरी दुई भागमा।

यी तीन दोष स्वास्थ्यको मूल आधार हुन्। यीमध्ये कुनै एक दोष मात्र असन्तुलन भयो भने स्वास्थ्यमा समस्या आउँछ। यी दोषहरू पाँच महाभूत मिलेरै बन्छन्।

दोषहरूको बनौट

१. बात दोष–वायु र आकाश मिलेर बात दोष बन्छ।  

२. पित्त दोष–अग्नि जसलाई हामी ताप भन्छौ, अग्नि मिलेर पित्त दोष बन्छ।  

३. कफ दोष–पृथ्वी र जल मिलेर कफ दोष बन्छ।

मनपरेको खाना धेरै र मन नपरेको खाना कम खाने गर्नाले मनपरेको खाना शरीरलाई आवश्यकताभन्दा बढी हुन्छ र मन नपरेको खाना शरीरलाई चाहिनेभन्दा कम हुन जान्छ। र शरीरमा मल अर्थात् विकार संचय हुन्छ जसले शरीर संचालनका काममा गडबडी भई समस्या आउँछ जसलाई हामी रोग भन्छौ।

दोषहरूको काम  

बातको कामः वायुले शरीरलाई संचालन गर्ने काम गर्छ। शरीरका सबै अंगको गति अर्थात् शरीरको हलचल बातको कारणले हुन्छ। त्यसैले बातको काम श्वास फेर्न सजिलो गर्नु, शरीरमा रस आदि धातुहरू राम्रोसंग बग्नु, शरीरबाट मल, पिसाब निस्कासन गराई शरीरमा उत्साह गराउने काम गर्छ।  

पित्तको कामः पित्तको मुख्य काम आहारलाई पचाउनु, शरीरलाई आवश्यक ताप दिनु, भोक प्यास सन्तुलन गर्नु हो।  

कफको कामः शरीरको विकास गर्न, शरीरलाई बल र शक्ति दिने काम गर्छ। शरीरमा घाउचोट हुँदा भर्ने, जोर्नीहरूलाई हलचल गर्न सहयोग गर्छ भने कफले शरीरको तौल ठिक्क मात्रामा राख्ने गर्छ। त्यसैगरी कफले सहनशीलता, संतोष र धैर्य दिने काम गर्छ।

यी तीनै दोषहरूको संतुलन नै स्वस्थ शरीरको पहिचान हो। हाम्रो शरीरमा जति पनि समस्या आउँछन्  यी त्रिदोषको असंतुलनले आउने गर्छन्। हामीले खाएको खाना ठिक भएमा यी दोषहरू आफ्नै ठाउँमा बसी शरीरको धातु बन्ने काम गर्छ भने बढी या घटी भएमा आफ्नो ठाउँबाट सरेर मल विकार बन्छ। तसर्थ हामीले खाने खाना यी तीन दोषहरूलाई संतुलित राख्ने खाना हुनुपर्छ।  

यी त्रिदोष सबैमा समान हुँदैन। हामीले गर्ने आहार, विहार, विचार र वातावरणका कारणले दोषहरू कम वा बढी हुने गर्छ। वातावरण र शरीरको गुण हेरी खाना मिलाएर खाएमा दोषहरूलाई समान राख्न सकिन्छ। त्रिदोषहरू संतुलन हुने गरी खाना खान कुन खानामा के दोष हुन्छ, कुन रसले के बढाउँछ भन्ने ज्ञान हुनु जरुरी छ।

बातवद्धर्क खाना  

वायु बढाउने खालका खानाले बात बढाउने गर्छ।  

अन्नः दुई दलीय अन्नहरू, पच्न गाह्रो हुने खानाहरू माछा, मासु, अन्डा र प्रोटिन प्रधान खानाहरू बढी खानाले बात बढाउने गर्छ। केराउ बढी वायुकारक हुन्छ ।

तरकारीः तोरीको साग, पालुंगोको साग, कुरिलो, भान्टा, फर्सी, लौका, कर्कलो, गाँठे मुला, तितेकरेला, सलगम, हरियो केराउ, मुला, स्कुस, च्याउ, काँक्रा, सेतो काउली, बन्दा, स्कुसको मुन्टा, सलाद पत्ता, मस्यौरा आदि बातवद्र्धक हुन्। गुन्द्रुक र तामा धेरै बात बढाउने खाना हुन्।  

फलफुल– अमिलो गुणका सबै फलफुलले बात बढाउँछन्। जस्तै मेवा, सुन्तला, हरियो मकै, आँप, कटहर, कागती, अमिलो काफल, गोलभेडा, लप्सी, भुइँकटहर, खरबुजा, अमिलो भोगटे, अमिलो आरुबखडा, अँगुर आदि।  

सुकेको फल र नट्स– ओखर, काजु, बदाम, मुंफली, काँचो नरिवल आदि।  

पित्तवद्र्धक खाना  

गर्मी गराउने खालका सबै खानाले पित्त बढाउँछन्।  

अन्न–अन्नमा कोदो सबैभन्दा बढी गर्मी बढाउने हुन्छ। त्यसैगरी सुक्खा भुटेको, पोलेका खाना जस्तै रोटी, भुटेको मकै, भटमास, गहुँ आदिले पनि पित्त बढाउँछन्। मह अत्याधिक पित्तवद्र्धक हुन्छ। रुघा लागेका बेलामा तातोपानीमा मह र कागती राखेर खाँदा गर्मी बढाई रुघा निको हुन्छ।

पेय पदार्थ–चिया, कफीले गर्मी बढाउँछ। त्यसैगरी मादक पदार्थहरू, चुरोट, खैनी, पानपराग जस्ता नशाजन्य पदार्थले अत्यधिक पित्त बढाउने र अनिन्द्रा गराउने हुन्छ।  

तरकारी–तितेकरेला, पुदिना, धनिँया, गुन्द्रुक, मुलाको पात आदि पित्तवद्र्धक हुन्।

मरमसला–सामान्यतः सबै मरमसलाले गर्मी बढाउँछन्। अदुवा, लसुन, जिरा, मरिच, दाल्चिनी, ल्वाङ, बेसार, नुन, खुसार्नी आदि सबै मसला वर्ग र गरम मसला।  

फलफूल–अमिलो गुणका फलहरूले ग्याँस बढाई पित्त बढाउँछ। आँप, अमिलो सुन्तला, कागती, लिची, अमिलो काफल, अमिलो ऐंसेलु, गोलभेडा, लप्सी, भुइँकटहर, अमिलो भोगटे, मुन्तला, अमिलो आरुबखडा, स्ट्रबेरी, अंगुर, चुत्रो, बयर आदि।  

सुकेको फल र नट्स–किसमिस, छोकडा, पेस्ता, खजुर आदि। छोगडा भिजाएर खाएमा गर्मी कम गराउँछ।

कफवद्र्धक खाना

गुलियो, कार्बोहाइड्रेट बढी भएका, -याल, प्याल्ल,  चिल्लो भएका खाना कफ बढाउने हुन्छन्।  

अन्न–हामीले खाने एक दलिय अन्न जस्तै भात, ढिँडो, च्याँख्ला, गहुँ, मकै, फापर आदिको मात्रा बढी खाएमा कफ बढ्छ। त्यसैले यी खानेकुरा शरीरलाई चाहिने मात्र खानुपर्छ। त्यसैगरी काँचो, चिसो, चिल्लोले पनि कफ बढाउँछ। ध्यान दिनुपर्ने कुरा दूधलाई पोसिलो आहारका रूपमा लिइन्छ तर दूधको दैनिक प्रयोगले कफ बढ्ने र पछि गएर श्वासप्रश्वास सम्बन्धि समस्या देखिने हुन्छ। त्यस्तै चिनी र चिनीबाट बनेका सबै परिकार कफवद्र्धक हुन्छन्।  

तरकारी–रामतोरीया, सिस्नुको साग, तोरीको साग, बन्दा, सेतो काउली, तामा, काउलीको पात, बेटुको साग, स्कुश, न्यूरो साग, काँक्रो आदि।  

फलफुल–कफ बढेको अवस्थामा फलफुलले कफ बढाउने काम गर्छ। त्यस्तो बेलामा उसिनेर वा तातोपानीमा डुबाएर खाँदा राम्रो गर्छ।  

सुकेको फल र नट्स–पिस्ता, खुर्पानीको भित्रको वियाँ कफवद्र्धक हुन्छ। नट्सहरू चिल्लो हुने भएकाले सबै नट्स नरिवल, ओखर काजु, बदाम, मुंफलीले कफ बढाउँछन्।  

पेयपदार्थ–चिनी मिसाएर बनाइएका पेयपदार्थहरू कफकारक हुन्छन्।

रस–अचेल खाना मीठो गराउन रसहरूको प्रयोग हुन्छ। आयुर्वेद अनुसार रसहरू ६ प्रकारका हुन्छन्– गुलियो, अमिलो, नुनिलो, पिरो, तीतो र टर्रो।

यी ६ रस आपसमा मिसिँदा धेरै रस बन्छन्। यी ६ वटै रस मानिसलाई स्वास्थ ठिक राख्न आवश्यक पर्छ। तर यी रस मन लागेर बढी खाने र मन नलागेर नखाने गरेमा शरीरमा रसहरूले गर्ने काममा असंतुलन भई दोषहरू घटीबढी हुनजान्छ र शरीरमा दोष असंतुलन भई समस्या देखापर्छ। त्यसैले यी रस खाँदा शरीरको अवस्था र वातावरण हेरेर खानुपर्छ।

हामीले खाएको खाना मिले वा नमिलेको देखिने पहिलो ठाउँ हाम्रो शरीर हो र पहिलो लक्षण देखापर्ने ठाउँ पनि शरीर नै हो। ल्याबमा चेक गर्दा पछि मात्र थाहा पाइन्छ तर शरीरमा खानेवित्तिकै लक्षण देखा पर्छ। त्यसैले शरीरलाई मापदण्ड बनाएर शरीरको बोली र शरीरको प्रकृतीलाई बुझेर खाना खाने, दैनिक योग तथा व्यायाम गर्ने र उचित विचार गर्ने गरेमा हामी घरमै बसेर स्वस्थ रहन सक्छौ।

कुन रस बढी खाँदा कुन दोष बढ्छ ?  

बात–पिरो, तीतो, टर्रो बढी खानाले बात बढाउँछ।  

पित्त–अमिलो, नुनिलो, पिरो बढी खानाले पित्त बढाउँछ।  

कफ–गुलियो, अमिलो, नुनिलो बढी खानाले कफ बढाउँछ।  

यी रसहरू मिलाएर खाएमा शरीरलाई किटाणुबाट बचाई प्रतिरोध क्षमता बढाउँछ भने चाहिनेभन्दा बढी खाएमा रोगको कारण बन्छ।

माथि उल्लेख गरिएका सबै खाना आफ्नो शरीरको अवस्था ठिक भएमा मात्रा मिलाएर खाएमा हानी गर्दैन तर यदि शरीरमा समस्या छ वा कुनै प्रकोप बढेको अवस्था छ भने जुन प्रकोप बढेको छ त्यसमा खान नुहने खाना खानु हुदैन। त्यसैले दोषहरू त्यत्तिकै बढ्ने वा घट्ने हुँदैन। हामीले गरेको खानपान नमिलेर नै बढ्ने तथा घट्ने हुन्छ।  

बात अर्थात् वायु बढ्नुका कारणहरू

प्रोटिन प्रधान खानाहरू जस्तै माछा, मासु, अण्डा, दुग्ध पदार्थ, दाल गेडागुडी आदि धेरै खानाले।  

मादक पदार्थ सेवन गर्नाले।  

रुखो, तितो, पीरो खाना बढी खानाले।  

पानी कम पिउनाले।  

दिसापिसाब रोक्नाले।

धेरै नखाई बस्नाले।  

राती धेरै ढिला सुत्नाले।  

धेरै तनाव वा चिन्ता गर्नाले।  

धेरै चिसोमा खेल्नाले।  

सामान्यत उमेर बढ्दै जाँदा वृद्धावस्थामा वायु विकार बढ्छ भनी मानिन्छ। त्यसैगरी वर्षा ऋतुमा, साँझपख र चिसोमा बात बढ्ने हुन्छ। तर अचेल अनुचित आहार, विहार र विचारका कारण सानै उमेरदेखि बात बढेको पाइन्छ।  

बात बढ्दा देखिने लक्षणहरू

बात बढ्दा शरीरका हाडजोर्नी र मांसपेशी सम्बन्धी समस्या हुन्छ ।  

पहिलो लक्षण शरीरमा कडापन आउनु, विहानीपख शरीर अररो हुनु। सबै जिउ तथा जोर्नीमा कडापन आई चलाउन नमिल्नु र बिस्तारै हिँड्दै जाँदा वा काम गर्दै जाँदा कडापन हराउँदै जानु पहिलो लक्षण हो।  

मुखको स्वाद खल्लो र नमिठो हुन्छ।

पाचन ठिक ढंगले नहुनु।  

मुख सुक्ने र मन चंचल हुने हुन्छ।  

निद्रा कम लाग्छ।  

हातखुट्टाका जोर्नी दुख्ने, रातो हुने र सुन्निने समस्या आउँछ।  

बात बढ्दा के गर्ने ?

प्रोटिन र प्रोटिन प्रधान खाना नखाने।

बातवद्र्धक तरकारी नखाने।  

न्युट्रल खाना मात्र खाने।

पानी नियमित पिउने।

ठिक समयमा सुत्ने र बिहान सबेरै उठ्ने।

शरीरबाट पसिना निस्कने गरी दैनिक विहान ४५ देखि १ घण्टा फ्रेस हावामा हिँड्ने अथवा योग व्यायाम वा अन्य सम्पूर्ण संचालन हुनेगरी व्यायाम गर्ने।

यदि दुखाइ वा सुन्नेको छ भने दुखाइ बढ्ने गरी व्यायाम नगर्ने।

पित्त बढ्नुका कारण

धेरै पिरो, अमिलो, नुन तिखो खानाले।  

चिया, कफी जस्ता गर्मी गराउने पेय पदार्थ पिउनाले।  

बढी चिल्लो, तारेको वा भुटेको खानाले।  

खाना बारंबार तताएर खानाले।  

रक्सी तथा मादक पदार्थ खानाले।  

चुरोटखैनी आदि धूमपान गर्नाले।  

बढी गर्मी ठाउँ वा घाममा बस्नाले।  

धेरै तनाव, रिस, चिन्ता गर्नाले।  

पित्त युवा अवस्थामा हुने मानिन्छ। पित्त गर्मी मौसममा, मध्य दिनमा र खाना पच्न लागेको अवस्थामा पित्त प्रकोप हुन्छ।

पित्त बढ्दा देखिने लक्षण

अधिकांश पेट, छाला र पाचनसम्बन्धी समस्या हुने गर्छ।  

मुखको स्वाद तीतो हुन्छ।

शरीर तातो हुन्छ।  

टाउको दुख्छ, छाती घाँटी पोल्छ।  

मुख सुक्छ, प्यास बढी लाग्छ।  

रिंगटा लाग्ने, वाकवाक लाग्ने, वान्ता हुने र धेरै पित्त बढेमा बेहोस हुनेसम्म हुन्छ।

पसिना बढी आउने र गनाउने हुन्छ।  

दिशा, पिसाब पहेंलो हुने र बढी गनाउने हुन्छ।  

बढी रिस उठ्ने, मन चंचल हुने हुन्छ।

आँखा पोल्ने र चिलाउने हुन्छ।  

शरीरमा घाउ खटिरा आउँछ। अनुहारमा ससाना गर्मी खटिरा आउँछन्।  

छालासम्बन्धी समस्या आउँछ।  

पित्त बढ्दा के गर्ने ?

विहान हरेक दिन चिसो पानीले खलल नुहाउने।  

गर्मी गराउने कुनै पनि खाना नखाने।  

खाना चपाईचपाई खाने। खानासंग पानी नपिउने।  

काँचो खाना सलाद, फलफूल र हरिया तरकारी प्रशस्त खाने।  

बिहानीको चिसो हावामा हिँड्ने अथवा योगव्यायाम गर्ने।  

गर्मी गराउने खालका विचारहरू जस्तै रिस, घृणा र तनावमुक्त रहने।

कफ बढ्नुका कारण  

गुलियो र कार्वोहाईड्रट प्रधान खानाहरू जस्तै भात, रोटी, ढिँडो, च्याख्ला, च्यूरा, मकै आदि बढी खानाले पनि कफ बढ्छ।  

माछा, मासु, अण्डा र विशेष गरी दूध र दूधबाट बनेका परिकार धेरै खानाले।  

चिनी र चिनीबाट बनेका मिठाई, चिल्लो खानाले।  

नट्स बढी खानाले।  

धेरै आराम गर्नाले। दिउँसो सुत्नाले।

आवश्यकताभन्दा बढी खानाले।  

लेसिलो, -याल्ल, प्याल्ल परेका खानाले।  

परिश्रम कम गर्नाले।  

बसन्त ऋतु र जाडो याममा कफ प्रकोप बढ्ने गर्छ। त्यसैगरी विहान र रातको पहिलो प्रहरमा कफ प्रकोप बढ्छ। सामान्यतः बालबालिकामा बढी प्रकोप हुन्छ।

कफ बढ्दा देखिने लक्षण

अधिकांश श्वासप्रश्वास सम्बधि समस्या कफको कारणले हुन्छ। जस्तै रुघाखोकी लाग्नु, सिंगान बग्नु, स्वास्स फेर्न गाह्रो हुनु आदि।

मुखको स्वाद गुलियो हुनु।

आलस्य हुनु, शरीर मोटाउँदै जानु।  

पाचन शक्ति कमजोर हुनु।  

भोक बढी लाग्नु।  

मुखबाट -याल बग्नु।  

आँखामा चिप्रा आउनु।  

घाँटीमा केही अड्केको जस्तो हुनु, घाँटी खसखस हुनु।

निद्रा बढी लाग्नु।

कफ बढ्दा के गर्ने ?  

कफ कारक खाना कम गर्ने।

हल्का पित्तवद्र्धक खाना खाने।  

विहान सबेरै उठ्ने ।

दैनिक व्यायाम गर्ने।

काँचो, चिसो, चिल्लो नखाने।

कफ बढेका बेलामा सलाद खानुपर्दा उसिनेर मात्र खाने या सलाद नखाई तरकारीकै मात्रा बढाउने।  

पानी मन तातो प्रयोग गर्ने।

टाउको, छाती र घाँटीलाई न्यानो बनाउने।  

यदि शरीरमा यी तीन मध्ये एक प्रकोप बढेको छ भने जुन बढेको छ त्यो कम गरी अरु मिलाएर खाँदा समन हुन्छ। जस्तै पित्त बढेको छ भने हल्का कफवद्र्धक आहार खाँदा पित्त कम हुन्छ भने कफ बढ्दा हल्का पित्तवद्र्धक आहार खाँदा कफ कम हुन्छ। तर यसरी खाँदा कहिलेकाही एक दोष समन गर्न खोज्दा अर्को दोष बढ्न सक्छ। त्यसैले जुनसुकै प्रकोप बढे पनि न्युट्रल आहार खाएर पानी उचित तरीकाले खाने र नियमित व्यायाम गर्नाले विस्तारै दोष समन हुने र शरीर मलमुक्त भई निरोगी बन्छ।  

त्रिदोष सबैमा समान हुँदैन। हामीले गर्ने आहार, विहार, विचार र वातावरणका कारणले दोषहरू कम वा बढी हुने गर्छ। वातावरण र शरीरको गुण हेरी खाना मिलाएर खाएमा दोषहरूलाई समान राख्न सकिन्छ। त्रिदोषहरू संतुलन हुने गरी खाना खान कुन खानामा के दोष हुन्छ, कुन रसले के बढाउँछ भन्ने ज्ञान हुनु जरुरी छ।

न्युट्रल खाना अर्थात् सबै अवस्थामा खान सकिने आहार 

अन्नः एक दलीय खन्नहरू जस्तै भात, ढिँडो, च्याख्ला। तर यिनको मात्रा बढी भएमा कफ बढाउँछ। फापर पनि न्युट्रलमा पर्छ।  

तरकारी– रायो साग, चंसुर साग, मेथी साग, सुपको साग, फर्सीको मुन्टा, परवल, हरियो सिमी, हरियो बोडी, हरियो लसुन, हरियो प्याज, ब्रोकाउली, घिरौंला, पाटे घिरौंला, करेला, गाजर, गाजरपत्ता, लट्टे साग, खोले साग, कोइरालो आदि।

फलफुल–गुलियो स्याऊ, गुलियो मौसम, गुलियो नासपाती, पाकेको केरा, गुलियो हलुवावेद, गुलियो आरुबखडा, जामुन, जुनार, गुलियो आरु आदि। ध्यान दिनु पर्ने कुरा, केरामा कार्वोहाईडे«टको मात्रा बढी हुने भएकाले सलादका रुपमा नलिनु बेस हुन्छ।  

अन्त्यमा

आयुर्वेद विज्ञानको यो सिद्धान्तलाई बुझेर खाना खाएमा कुनै पनि ठूलो रोग लाग्नुभन्दा अगाडि नै समस्या समाधान गर्न सकिन्छ। त्यसैले सबैभन्दा पहिला आफ्नो शरीर कुन प्रकृतिको छ र कुन दोष बढेको छ त्यो बुझ्ने र त्यसअनुसार खाना मिलाएर खाँदा तीन दोषहरू ठिक स्थितिमा रहन्छन्। स्वस्थ रहन सकिन्छ।  

अहिले संसारभर कोरोना भाइरसको महामारी छ। शरीरको प्रतिरोध क्षमता बढाउन र शरीरमा ताप कायम राख्न गर्मी गराउने खालका आहारमा जोड दिने गरेको पाइन्छ। जस्तै बेसार पानी, कागती मह पानी, जुवानो पानी, तुलसी पत्ता आदि। शरीरमा कफ बढेको अवस्था छ भने शरीरमा ताप बढाउन यी आहार लिनु ठिक हुन्छ। तर शरीरमा गर्मी बढेको अवस्था छ भने फेरि गर्मी गराउने खालका आहार धेरै गर्दा शरीरमा झन् गर्मी बढी पित्तसम्बन्धी समस्या आउन सक्छ। त्यसैले यी गर्मी गराउने आहार आफ्नो शरीरको अवस्था हेरेर दिनको १ वा दुईपटक मिलाएर खाँदा पित्त दोष हुन पाउँदैन। साथै यी चिज खाँदा शरीरमा पोल्ने, गर्मी हुने, टाउको दुख्ने, छाती, घाँटी पोल्ने, अनिद्रा हुने भएमा प्रयोग गर्नु हुँदैन।  

अहिले गर्मीको वातावरण छ। वातावरण पनि गर्मी र हामीले खाएको खाना पनि गर्मी बढाउने भएमा दुवै गर्मी जुझी शरीरमा पित्तसम्बन्धी समस्या आउँछ। त्यसैले एकतर्फी मात्र नहेरेर आफ्नो शरीरको अवस्थालाई ख्याल गरी खानाले शरीरको अवस्था ठिक हुन्छ। आहार भनेको शरीरको अवस्था र वातावरण हेरेर गर्नुपर्ने विषय हो। अहिलेको अवस्था शरीरमा पित्त अर्थात् गर्मी बढेको अवस्था छ भने गर्मी गराउने खालका खाना भन्दा ताजा तरकारीका सुप र हरिया तरकारी मिलाएर खाँदा शरीरलाई राम्रो गर्छ ।  

बुझ्नुपर्ने कुरा

हामीले खाएको खाना मिले नमिलेको देखिने पहिलो ठाउँ हाम्रो शरीर हो र पहिलो लक्षण देखापर्ने ठाउँ पनि शरीर नै हो। ल्याबमा जाँच्दा पछि मात्र थाहा पाइन्छ तर शरीरमा खानेबित्तिकै लक्षण देखा पर्छ। त्यसैले शरीरलाई मापदण्ड बनाएर शरीरको बोली र शरीरको प्रकृतीलाई बुझेर खाना खाने, दैनिक योग तथा व्यायाम गर्ने र उचित विचार गर्ने गरेमा हामी घरमै बसेर स्वस्थ रहन सक्छौ।

तसर्थ आयुर्वेदको यो त्रिदोषको नियमलाई बुझेर, आफ्नो शरीरको अवस्था र वातावरणलाई ध्यानमा राखी खानपान गरेमा हामी सदा स्वस्थ रहन सक्छौ। यो हजारौं बर्षदेखि प्रमाणित भएको प्राकृतिक नियम हो। प्रकृतिको स्वस्थ हुने यो सरल नियमलाई पालना गरी हामी सबै स्वस्थ रहौं र अरूलाई पनि स्वस्थ रहन प्रेरित गरौं।  

(महर्जन प्रकृतिप्रेमी समूह, निरोगधाम, सातदोबाटो ललितपुरकी योग तथा उचित आहार, विहार र विचार प्रशिक्षक हुन्।)  

प्रकाशित: ६ भाद्र २०७७ ०५:२३ शनिबार

आफ्नो स्वास्थ्य आफ्नै हातमा स्वास्थ्य