ब्लग

साना मान्छे हैनन?

नेपाल र भारतको सीमामा कतिपय स्थानमा यता हो कि उता खुट्याउन सकिँदैन। यता का पशु चर्दै उता पुग्छन्। उताका यता आउँछन्। यसैगरी घाँस दाउरा गर्नेहरू पनि अलमलिन्छन्। त्यति बेला सरकारी सुरक्षाकर्मीको कोपभाजन हुनपुग्ने अभागीको बिचल्ली हुनसक्छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले २०११ को फरबरी १७ का दिन वनबाट समातेर लगेको हर्कबहादुर शाही बेपत्ता भएका छन्। शाहीलाई एसएसबीका जवानले समातेर लगेको देख्ने साक्षी छन्। करिब डेड वर्ष बित्दा पनि हर्कबहादुर भने बेपत्तै छन्। स्थानीय प्रशासनले एसएसबीले लगेको छैन भन्ने उत्तर दिएको बताएको छ। बर्दिया जिल्ला प्रशासनले गृह मन्त्रालयलाई यस विषयमा पत्राचार गरेको छ रे! शाही पत्नी जुनकिरीबाहेक सायद, अरूले उनलाई बिर्सिसके।
हर्कबहादुर शाही कुनै साहुजी वा नेता भएको भए, सरकारी कर्मचारी वा पत्रकारै भएको भए पनि यस्तो बेवास्ता हुने थिएन कि? घाँसदाउरा गरेर गुजारा गर्ने सामान्य व्यक्ति मानव अधिकारकर्मीको पनि चासोको विषय सायद होइन। हुन त, ठूला छिमेकीको त बाख्रा पनि निर्धाको करेसाबारीमा नडराई पस्ने गर्छ। यस्ता घटना भइरहन्छन् होला। यत्ति हो, साना सधैँ हराउनेमा पर्छन्। अमेरिका र मेक्सिकोको सीमा जोडिएको छ। थुनिनेमा सधैंजसो मेक्सिकन पर्छन् रे! नेपाल-भारतको त कुरै भएन। हाम्रो विशेष सम्बन्ध छ। यतायता भइरहन्छ। यत्ति हो आउने उताका हुन्छन् र हराउने यताका हुन्छन्। चीनको अदालतमा कुनै नेपालीले जति नै बेकसुर भए पनि टेबल फुटाउने र ढुंगामुढा गर्ने आँट गर्ला र? नेपाल प्रहरीले एसएसबीले जसरी कुनै भारतीयलाई ल्याएको भए के हुन्थ्यो होला? चिनिया सेनाले चलाएको गोली लागेर नेपाली सैनिक अहिले मरेका भए चीनले माफी माग्थ्यो? अथवा यसरी भनौं, चीनले माफी माग्नु र क्षतिपूर्ति दिनुपर्छ भन्ने आँट अहिलेका शासकले गर्थे? उत्तर मसँग पनि छैन!

प्रकाशित: २५ असार २०६९ ०३:३७ सोमबार