ब्लग

देउमाई

हाम्रो गाउँ, राम्रो गाउँ

बालिका थपलिया

‘भगवानले गाउँ बनाए र मानिसले शहर’ गाउँ र शहरको अन्तरबारे निकै सुनिने यो भनाइ मन, मुटु र मस्तिष्कमा घुमिरहेछ। समयको चक्रलाई पछ्याउने क्रममा अहिले म हरियालीले भरिपूर्ण सुदूरपूर्वी इलाममा छु। कर्मघरमा बसेर यहा“को सौन्दर्य नजिकबाट नियालिरहंदा साँच्चिकै गाउँ भगवानकै उपहार रहेछ भन्ने विश्वास गर्दैछु।  

गाउँ प्रकृतिसँग नजिक हुन्छ र शहर कृत्रिमतासँग। काठमाडौंबाट झन्डै सात सय किलोमिटर टाढाको इलामस्थित कुइभीर गाउँ त झनै प्रकृतिको वरदान नै हो। हाल यो इलामको देउमाई नगरपालिकामा पर्दछ। सुन्दर चियाबारीका  कारण पानीटार क्षेत्र पनि दिनदिनै पर्यटकीयस्थल बन्दैछ। नगरपालिकाको केन्द्रविन्दु मंगलबारेको छेउमा पर्छ पानीटार।  

निश्छल मन भएका नरनारीको बसोबास भएकाले पनि इलामको देउमाई क्षेत्र आफैंमा अनुपम छ। प्राकृतिक सौन्दर्यका दृष्टिले आँखैभित्र राखिरहूँझैं लाग्ने इलामका विभिन्न भागको फेरो लगाएपछि यो ठाउँ साँच्चै प्रकृतिकी मानसपुत्री हो कि भन्ने भान पर्छ।

देउमाई नगरपालिकाको सिमानामा पर्ने गजुरमुखीधामलाई संरक्षण र प्रचारप्रसार गर्न सकेमा इलामकै महत्वपूर्ण धार्मिकस्थल बन्न सक्छ। खोला किनारमा रहेको मन्दिर क्षेत्र प्राकृतिक हिसाबले समेत सुन्दर छ। यहाँ हरेक वर्षको कात्तिकमा मेला लाग्छ। यो ठाउँमा वर्षैपिच्छे भक्तजनको घुइँचो हुन्छ।  

कुइभिरसम्म मोटरबाटो पुग्न नसकेकाले यो क्षेत्र ओझेलमा परिरहेको छ। यहाँबाट वरिपरि हेर्दा रमणिय दृश्य देख्न सकिन्छ। वैशाखमा ढकमक्क लालीगुराँस फुलेर रनवनलाई रंगीचंगी बनाउँछ। देउमाई नगरपालिका–१ चमैतास्थित धप्परटार भन्ने ठाउँ हुँदै यहाँ पुग्न सकिन्छ। यसको नजिकै पर्छ इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजार जहाँ व्यापारीले बेच्न राखेको हरियो खुसार्नी र घिउ अनि हातेपत्तीको सजावट रमितलाग्दो देखिन्छ। स्थानीयले उब्जाएका ताजा सागसब्जी पनि यहा“ किनबेच गरिन्छ। ताप्लेजुङस्थित ठूलो पाथीभरा दर्शन गर्ने यात्रुले आफूलाई चाहिने सामाग्रीको जोहो गर्न सक्छन्।           नगरपालिकाको केन्द्रविन्दु मंगलबारेको छेउमा पर्छ पानीटार। चियाबारीले हराभरा बनाएको यो ठाउँ घुम्नलायक छ। देउमाईको पर्यटकीय पहिचान बन्दैछ पानीटार। यी ठाउँ नजिक भएको एउटै गन्तव्यमा समेट्न सकिन्छ। राँके र कुइभिर एउटै बाटोमा भेटिन्छन्। पानीटार र गजुरमुखी जाने पनि बाटो मिल्छ। राँकेमा रात बिताउन होटलहरू  छन्। यता अत्यधिक चिसो हुने भएकाले घुम्न आउनेले न्याना लुगाफाटो व्यवस्था गर्नुपर्छ। भुइँकुहिरो यहाँको परिचय भएकाले जाडो पनि अर्को विशेषता। मंगलबारेमा पनि गाँसबासको राम्रो व्यवस्था छ।  

पर्यटकीय दृष्टिले ओझेल परेको देउमाई क्षेत्र घुमफिर र किनमेलका लागि राम्रो गन्तव्य बन्न सक्छ। यसलाई व्यवस्थित गर्न स्थानीय निकायको ध्यान पुग्नु अनिवार्य छ। अवसर पाएमा यो क्षेत्र पनि कन्याम, श्री अन्तुझै चर्चित हुनेमा दुईमत छैन्। अब तीर्थाटन र प्राकृतिक सौन्दर्यको आनन्द लिन देउमाई परिसर नया“ आयाम बन्न सक्छ। 

मंगलबारे

पाँच ‘अ’ अर्थात अलैंची, आलु, अदुवा, ओलन, अकबरे जस्ता नगदेवालीले मात्र होइन, निश्छल मन भएका नरनारीको बसोबास भएकाले पनि इलामको देउमाई क्षेत्र आफैंमा अनुपम छ। प्राकृतिक सौन्दर्यका दृष्टिले आँखैभित्र राखिरहूँझैं लाग्ने इलामका विभिन्न भागको फेरो लगाएपछि यो ठाउँसाँच्चै प्रकृतिकी मानसपुत्री हो कि भन्ने भान पर्छ। हामी रैथानेलाई त यस्तो लाग्छ भने अन्यत्रबाट आउनेलाई पक्कै पनि इलाम बिर्सिनै नसकिने थलो बन्छ।    

सिंगो इलाम आफैंमा पर्यटकीय जिल्ला। इलाम स्वर्गझै सुन्दर हुनुमा यहाँको भूगोललाई निर्णायक मान्नुपर्छ। हल्का मट्याइला डाँडा र चारखोलाले कुँदेका उर्वर बेंसी यहाँका गहना। कृषिकर्म इलामेलीले जन्मैले पाएको सीप बनेको छ। यदि यी डाँडा ढुङ्गैढुङ्गाले बनेका भए के अर्थ रहन्थ्यो र त्यो सीपको? हावापानी र किसानको मन मिलेजस्तो देखिन्छ। दुईतर्फको संगमले इलामलाई सुगन्धित बनाएको छ। अझ पर्यटकले पाहुना भएर आउँदा सुनमा सुगन्ध थपिदिएका छन्। यहाँ आएर फर्कनेहरू कहिल्यै नबिर्सिने सम्झनाको पोकोपुन्तुरो लिएर जान्छन् । अनि चिनजानका साथीभाइलाई घुम्न प्रेरित गर्छन्।  

दार्जिलिङ सीमावर्ती इलामको नाम सुन्नासाथ अधिकांशले सोच्ने गर्छन् ‘सुन्दर चियाबारी भएको रमणीय पहाड।’  डेढसय वर्षअघि रोपिएको चिया यहा“को गौरव। चियाले इलाम र इलामवासीकै सम्पन्नताको चिनो बोकेको छ। हरियाली चियाबारीको गन्तव्यलाई ‘पूर्वको स्वर्ग’ पनि भनिन्छ। इलामको नाम सुन्नासाथ सबै आश्चर्यचकित हुन्छन र भन्छन् ‘अहा इलाम अहा’ भन्ने उपमा पाउनलायक छ इलाम।  

प्राकृतिक सौन्दर्य, मौलिक जीवनशैली र खेतीपातीबाटै सुधारिएको आर्थिक अवस्थाको पर्याय बनेको इलाम यहींका बासिन्दाको अहोरात्र प्रयासले यत्तिको बनेको हो। पर्यटन विकासमा गाउँलेहरू सक्रिय छन्। त्यसैले इलाम आशलाग्दो गरी माथि उठेको छ। त्यसैले त इलामलाई ‘पहाडकी रानी’ भन्छौं हामी ।  

सूर्योदय र हिमश्रृंखला दृश्यावलोकनका लागि ख्याति कमाएका यहाँका डाडाँडाकाँडाको उचाइ देख्दा आफैं अग्लिएको अनुभव हुन्छ। सन्दकपुर र अन्तुडाँडा पुग्नैपर्ने ठाउँ। ती गन्तव्यलाई गाउँलेले पर्यटकको पहु“चमा पु-याएका छन्। कात्तिकदेखि वैशाख महिनासम्म सूर्योदयको दृश्यावलकोन गर्न सकिन्छ। त्यो दृश्यपान गर्न धेरै सङ्ख्यामा आन्तरिक तथा बाहय पर्यटक आउने गर्छन्। सुन्दरता देखेर मोहित हुन्छन्। अनि कन्यामस्थित सानो पाथीभरा दर्शन गर्न उकालिन्छन्।  

दुर्लभ वनस्पति, जीवजन्तु र जडीबुटी पाइने माइपोखरीमा ट्याक्सी चढेर जुनसुकै बेला जान सकिन्छ। इलाम सदरमुकामबाट यहा“सम्म पुग्ने पिच बाटो बनाउने प्रयास भइरहेको छ। ‘चम्पकारन्य’ अर्थात् नौ कुना भएको माइपोखरी भारत वर्षमा पवित्र मानिएका तीन तीर्थस्थलमध्येको एक। वरिपरि जंगल बीचमा अवस्थित पोखरी आकर्षक छ। हरेक वर्षको ठूली एकादशीमा यहा“ मेला लाग्छ। माइपोखरीको दर्शन गर्न भक्तजनको ओइरो लाग्छ। नजिक र टाढाका मान्छे यहा“ पूजाआजा गर्न र प्राकृतिक छटाको आनन्द लिन आउँछन्। सधैं अखण्ड सत्यधुनी बलिरहेको पवित्र गन्तव्य माइपोखरीमा नौ कुनाको भएकाले तिनमा शैलपुत्री, ब्रम्हाचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यानी, कालरात्री, महागौरी र सिद्धिदात्री नामका देवीको शक्ति रहेको विश्वास छ।  

इलामका भित्री गाउँसम्मै यातायात पहुँच विस्तार भइसकेको छ। यत्रतत्र मोटर गुड्न थालेपछि गाउँलेको मेरो जस्तै दैनिक दिनचर्या पनि सहज छ। चियावारीको मनोरम दृश्यावलोकन गर्न सकिने कन्याम र धार्मिक पर्यटकीयस्थलको विकासमा स्थानीय अग्रसर छन्। त्यसैले छोटो समयमै ती ठाउँको मुहार फेरिएको छ। इलामका धेरै ठाउँले पर्यटकीयस्थल बन्ने सम्भावना बोकेका छन्।  

‘अरू कसैले गरिदेला भनेर पर्खिंदा काम नभएपछि आफैं लागिप-यौं’, अचेल इलामेलीको मुखबाट यस्तै वाक्य सुनिन्छ। फलस्वरूप छिन्टापु, कन्याम, जौवारी, तुम्लिङ, माङ्मालुङ जस्ता ठाउँ उज्यालिएका छन्। इलामेलीको परिश्रम र लगनशीलताले नै यो खुसीयाली निम्त्याएको हो। अब यसैगरी चम्किने पालो छ देउमाई क्षेत्रको।  

यात्रा र किताबबाट जीवनमा धेरै ज्ञान लिन सकिन्छ।  इलाम पनि एउटा खुला पुस्तक हो। जसको धार्मिक, प्राकृतिक, सांस्कृतिक र कृषिजन्य महत्व छ। लेखकलाई त झन् यसको सुन्दरताले भुतुक्क बनाएको छ। गीतकारका लागि मायालु भाव बनेको छ र कलाकारको लागि सुटिङस्थल। मीठामीठा कोसेलीको इलाममा भण्डार नैं छ र त कवि भूपी शेरचनले लेखेका छन्ः    

‘आफ्नो वरिपरि

भीरपाखा र कान्लाभरि  

थुम्काथुम्का चिया र  

झुम्काझुम्का अलैंची उमारेर,

सन्तोषले एक्कासि सुस्मित उठेकोझैं  

हरियो भरियो इलामलाई देख्ता मलाई

नेपालभरि अलिअलि इलाम छर्न मन लाग्यो ।

(पर्यटन प्रवद्र्धन मञ्च नेपालले आयोजना गरेको ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध प्रतियोगितामा पुरस्कृत लेख।)  

गजुरमुखि

प्रकाशित: २ श्रावण २०७७ १०:४० शुक्रबार

घुमफिर देउमाई हाम्रो गाउँ राम्रो गाउँ