ब्लग

धनसारमा गृहकार्य

ताङतिङ मेरो गाउँ

प्रकाश गुरुङ

हाम्रा अग्रजहरूले ताङतिङको थोसुको डाँडामा पहिलो विद्यालय २०१३ सालमा खोलेका थिए। विसं २०३१ मा त्यहाँबाट विद्यालय तेउरी खोलाको छेउ माखुमा सारियो। हाम्रो घरबाट हिँडेर थोसुको वा माखु पुग्न १० मिनेट लाग्छ।  

सात कक्षासम्म मैले त्यहीँ पढें। शिक्षकहरू गाउँबाहिर प्रायः कास्की जिल्लाको कालिकाथान र कन्धने डाँडाका थिए। कक्षामा नियमित पढाइ हुन्थ्यो। गृहकार्य, अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र करेसाबारी निर्माणमा जोड दिइन्थ्यो।  

हामी शिक्षकसँग डराउँथ्यौं। त्यसैले सधैं गृहकार्य गथ्र्यौं। अनुशासनमा बस्थ्यौं। विद्यालयमा करेसाबारी निर्माण, पाकशिक्षा र प्रयोगात्मक कक्षा रमाइला हुन्थे।  हामी माटाको चरा, गाई, गोरु आदि पशुपन्छीका प्रतिमा बनाउँथ्यौं।  

साथी ओमबहादुर गुरुङ र म हाम्रो धनसारमा गृहकार्य गरेर अबेरसम्म बस्यौं। रातको एक बजेतिर मट्टितेलको पानस लडेछ। मेरो ढाडमा आगोले पोलेकोे खत अझै छ। धन्न ओमबहादुर बेलैमा बिउँझिएकाले घरमा आगलागी हुन पाएन।  

मलाई सबैभन्दा रमाइलो लाग्ने कुरा विद्यालयमा आँसी, करौती, कोदालो, रन्जा जस्ता पूर्वव्यावसायिक शिक्षाका सामान थिए। सिजनअनुसार हामीलाई करेसाबारीमा काम गराइन्थ्यो। विद्यालयमा कक्षैपिच्छेका करेसाबारी थिए।  विज्ञानमा पनि प्रयोगात्मक कक्षा हुन्थ्यो।  

हामी बाल्यकालदेखि नै पढाइमा मिहिनेती थियौं। हामीलाई भारतीय सेनाका अवकाश प्राप्त भीमबहादुर गुरुङले गणित पढाउनुहुन्थ्यो। उहाँले लडाईंमा एउटा खुट्टा गुमाउनु भएकाले नक्कली खुट्टाको सहारामा हिँड्नुहुन्थ्यो। उहाँले २ कक्षामा एक दिन हामीलाई जोड र घटाउ सिकाउनुभयो। उहाँले सोध्दा मैले हिसाब गर्न जानिनँ। उहाँले त मेरो घाँटीमा लौरो राखेर तान्नुभयो।  

घरमा उहाँले दिएका गृहकार्य गरें र राम्रोसँग पढेर भोलिपल्ट विद्यालयमा गएँ। तर, उहाँले कापी नै जाँच्नु भएन। मैले हिसाब मिलाएको दिन उहाँले गृहकार्य नहेर्दा अघिल्लो दिन कुटाइ खाएकोभन्दा दुःख लाग्यो।  

उहाँ राम्रो पढाउनुहुन्थ्यो तर त्यतिबेला विद्यार्थीलाई पिटेर तह लाउने चलन थियो। हामीलाई लौराले पिटे पनि उहाँ मनैबाट माया गर्नुहुन्थ्यो। त्यसैले गणित पढ्न हामीलाई रमाइलै लाग्थ्यो।  

विद्यालयमा साप्ताहिक कार्यक्रम भैरहन्थ्यो। त्यसमा म कविता, निबन्ध, चित्रकला र खेलकुदमा भाग लिन्थें। तर, दाइदिदीहरूले पनि भाग लिएका प्रतिस्पर्धामा हामी कहिल्यै पहिला वा दोस्रा भएनौं।  

रमाइला थिए ती दिनहरू। हामी गाउँको सभा आँगनमा साँझ सांस्कृतिक कार्यक्रम देखाउँथ्यौं। त्यहाँ नाटक प्रदर्शन र नाचगान गरिन्थ्यो।  

सम्झिन्छु, हाम्रा साथीहरू प्रगतिको बाटामा छन्। खेम गुरुङ चलचित्र कलाकारका रूपमा स्थापित हुनुभयो। उमबहादुर गुरुङ भारतीय सेनामा अफिसर हुनुहुन्छ। कुमारी गुरुङ कुशल शिक्षक बन्नुभयो भने डिलबहादुर गुरुङ दिलु, धनप्रसाद गुरुङ र त्यो बेलाका मेरो कक्षाका सबै साथीले राम्रो गरेका छन्। धेरै साथीहरू भारतीय सेनामा छन्। र कतिपय साथी विदेशमा छन्।  

हामी घरमा पनि राति अबेरसम्म पढ्थ्यौं। एक रात साथी ओमबहादुर गुरुङ र म हाम्रो धनसारमा गृहकार्य गरेर अबेरसम्म बस्यौं। रातको एक बजेतिर मट्टितेलको पानस लडेछ। मेरो ढाडमा आगोले पोलेकोे खत अझै छ। धन्न ओमबहादुर बेलैमा बिउँझिएकाले घरमा आगलागी हुन पाएन।

विद्यालयबाट घर फर्कंदा कहिलेकाहीं माखुको छोर्तेमा हाम्रो घेताने टोल र पण्डित टोलबीच झगडा गथ्र्यौं। तर, रातभरमै रिस मथ्र्यो। भोलिपल्ट हामी सँगै हाँस्दैखेल्दै विद्यालय पुग्थ्यौं। आखिर त्यो हाम्रो बालापन न थियो।    

कलिलो उमेरमा सबै छुकछुके हुन्छन्। हामी पनि थियौं। विद्यालयबाट घर फर्कंदा कहिलेकाहीं माखुको छोर्तेमा हाम्रो घेताने टोल र पण्डित टोलबीच झगडा गथ्र्यौं। तर, रातभरमै रिस मथ्र्यो। भोलिपल्ट हामी सँगै हाँस्दैखेल्दै विद्यालय पुग्थ्यौं। आखिर त्यो हाम्रो बालापन न थियो।  

हामी तिहारमा देउसीभैलो खेलर विद्यालयको कोष पनि बढाउँथ्यौं। विद्यालय संचालक समिति, शिक्षक, विद्यार्थी र अभिभावक मिलेर देउसी खेल्थ्यौं। त्यसबाट प्राप्त पैसाले विद्यालयलाई चाहिने सामान किन्थ्यौं।  

विद्यालयमा बेलाबेलामा अतिथिका रूपमा विभिन्न व्यक्ति आउँथे। एक दिन भारतीय सेनामा कार्यरत नायाब सुवेदार हिमबहादुर गुरुङले पैसाको विषयमा बोल्नुभयो। उहाँले ‘पैसा भन्ने कुरा ठीक हो तर उसको मालिक म्यानेजर बेठीक हो। प्रबन्धकले पैसालाई चलाउन जान्नुपर्छ’ भन्नुभयो।  

हाम्रो पठनपाठन राम्रो थियो तर भौतिक अवस्था भने कमजोर थियो। कोठाका गारा कच्ची थिए। फर्निचर अभाव थियो। चैतवैशाखको हुरीले विद्यालयको छाना उडाएर काले खेतमा पु¥याउँथ्यो।  

कोठाका भुइँ धुलाम्मे हुन्थ्यो। त्यस्तोमा पनि हामी पढ्थ्यौं। विद्यालय र अभिभावकबीच सम्बन्ध राम्रो थियो। शिक्षकहरू घरमा हाम्रो पढाइको अवस्था बुझ्न घरघरमा डुल्थे।  

लाहोरबाट फर्केकाहरूले आफ्ना सन्तान गाउँमै पढाएका थिए। उनीहरू विद्यालयमा आइपर्ने समस्या हल गर्न अगाडि सर्थे।  

तिनताका बाहिरबाट गाउँमा शिक्षक ल्याउन सजिलो थिएन। टाढाटाढाबाट आएका शिक्षकले न्यानो सम्मान पाउँथे। उहाँहरूका लागि घरघरबाट सागसब्जी, चामल र दाउरा उठाउँथ्यौं। ज्यादै आत्मीय थियो वातावरण।    

हामीले पढ्ने बेला काले खेतमा लमजुङ पदयात्रा गर्ने पर्यटकका टेन्ट बाक्लै गाडिन्थे। हाम्रो विद्यालय पर्यटकीय पदमार्गमै थियो। बेलाबेलामा ती पदयात्री हाम्रामा आएर पढाउँथे। विद्यालय छुटेपछि हामी तिनका टेन्टमा जान्थ्यौं। कनीकुथी अंग्रेजी बोलेर डटपेन, चकलेट र खेल्ने कुरा माग्थ्यौं। उनीहरू मनकारी हुन्थे। रमाईरमाई मागेका कुरा दिन्थे।  

हामी कहिलेकाहीँ पर्यटकलाई सांस्कृतिक कार्यक्रम ठेटर नाच देखाउँथ्यौं। तिनका नेपाली गाइडले प्रवचन दिन्थे, ‘तिमेरूले राम्रो पढ्नुपर्छ, पढेन भने दुःख पाइन्छ। यहाँ गोरा (पर्यटक)का भारी बोकेर थुप्रै भरिया आएका छन्। पहिले नपढेको हुनाले अहिले दुःख पाइयो।’  

हाम्रो विद्यालयको प्रगतिमा तत्कालीन प्रधानाध्यापकहरू केशबहादुर गुरुङ, डिल्लीराज ढुंगाना र वामदेव ढुंगानाले कुशल नेतृत्व गर्नुभयो। उहाँहरूलाई शिक्षक, विद्यार्थी र अभिभावकले राम्रो साथ दिएका थिए।  

तिनका कुरा सुन्दा मन कटक्क खान्थ्यो। अनि मनमनै भन्थें, ‘पढेन भने दुःख पाइने रहेछ। म अवश्य पढ्नेछु।’  

यसरी मैले पहिलो विद्यालय हिमालय मिलन माविबाट धेरै कुरा सिक्न पाएँ। आज त्यसकै जगमा उभिएको छु म।  

गाउँले जीवन, बिहानबेलुका घरमा सघाउनुपथ्र्यो। हिउँदमा हाम्रो परिवार बेंसी झर्नेबेला माघे संक्रान्तिभन्दा अगाडि घरमा कोही हुँदैनथे। त्यतिबेला म मावली घोताने टोल र डाँडा थरमा गणेश मामाको घरमा बस्थें। त्यहींबाट विद्यालय आउजाउ गर्थें। बिहानबेलुका चाहिँ मामाहरूसँग गोठमा जान्थे गोठ भएको ठाउँ कुन्द्रोबाट पिँडालु बोकेर फर्कन्थें।  

मामाहरूकोमा बस्दा रमाइलो हुन्थ्यो। बाजेबज्यैहरूले हामीलाई नैतिक शिक्षा, गाउँको संस्कृति, परम्परा र सामाजिक मूल्यमान्यताबारे जानकारी गराउनुहुन्थ्यो। हामीलाई रुद्र सर, प्रेम सर, तप्राङका नन्दराज गुरुङ, घ्याम्रांगको गुमबहादुर गुरुङ, रवि सर, सोमलाल सुबेदी लगायतले एकदम माया गरेर सिकाउनु हुन्थ्यो।  

हाम्रो विद्यालयको प्रगतिमा तत्कालीन प्रधानाध्यापकहरू केशबहादुर गुरुङ, डिल्लीराज ढुंगाना र वामदेव ढुंगानाले कुशल नेतृत्व गर्नुभयो। उहाँहरूलाई शिक्षक, विद्यार्थी र अभिभावकले राम्रो साथ दिएका थिए।  

हाम्रो विद्यालयमा पढेकाहरू आज विभिन्न सम्मानित ठाउँमा पुगेका छन्। लक्ष्यबहादुर गुरुङ बेलायतमा उपमेयर हुनुभएको छ। जितबहादुर गुरुङ संयुक्त राष्ट्र संघमा काम गर्नुहुन्छ। होमा गुरुङ थकाली अनुसन्धानकर्ता हुनुहुन्छ। त्यस्तै संस्कृतिकर्मी वेदबहादुर गुरुङ (श्याम) हाम्रो मादी गाउँपालिकाको प्रमुख बनेर सेवा गर्दै हुनुहुन्छ। अनि मचाहिँ गाउँमै पढाउँदै छु।  

(हिमालय मिलन मावि, ताङतिङ, कास्कीका प्रधानाध्यापक गुरुङको प्रकाशोन्मूख पुस्तक ‘ताङतिङ मेरो गाउँ’को एक अंश।)  

प्रकाशित: ३१ असार २०७७ ११:५८ बुधबार

अक्षर ताङतिङ मेरो गाउँ