ब्लग

कमलरी दासताविरुद्धका दुई दशक

२०५६ साल माघको पहिलो हप्ता माघीमा थारू चेलीहरूको किनबेचका लागि मोलमोलाइ भन्ने खबर एक पत्रिकामा छापियो। यो समाचार बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था एफएनसी र नायफको जानकारीमा आयो। लगत्तै संस्थाका प्रतिनिधि सोम पनेरुले कमलरी दासताविरुद्धको अभियान सञ्चालन गर्ने निधो गरे। पत्रिकामा छापिएको समाचारबारे वास्तबिकता बुझ्न दाङको तत्कालीन गोबरडिहा गाविस पुग्दा, समाचारमा छापिएको भन्दा पनि अझ बढी भयाबहको स्थिति रहेको थाहा पाएँ। गाउँभरि कमलरी लानेहरूको भिड लागेको देखियो। घर–घरमा मोलमोलाइ भइरहेको, एउटै घरबाट ३ जनासम्म कमलरी पठाइरहेको अवस्था भेटियो। मानौँ, त्यो गाउँमा खुलेयाम थारू चेलीहरूको बेचबिखन भइरहेको थियो जसरी दशैँका बेला खसी बजारमा भेडा/भाख्राको मोलमोलाइ भइरहन्छ। कमलरी लाने ‘मालिक’ हरूका जिप, कार र मोटरसाइकलले गाउँनजिकका होटल भरिभराउ थिए। माघी सकेर ६ देखि १० बर्षसम्मका कलिला अवोध बालिकाहरू चिनजानै नभएको ब्यक्तिसँग बा/आमा छाडेर कम्तीमा एक वर्षका लागि कमलरी दासी बन्न जान लागेकाहरूको मर्माहत पार्ने रोदनको असामान्य दृश्य जताजतै देख्न सकिन्थ्यो।  

कमलरी प्रथाविरुद्धका सुरुयाती दिनहरू पक्कै पनि सजिला थिएनन्। किनभने कमलरी पठाउने चलन महामारीजस्तै फैलिरहेको थियो। यसका लागि रोकथाम र उपचार दुवै पद्धति सँगसँगै लानुपर्ने जरुरी थियो। तत्काल परिणाम दिन सक्ने योजना सञ्चालन गर्न नसके फिल्डमा टिकेर काम गर्न निकै चुनौतीपूर्ण थियो किनभने त्यसबेला माओवादी र सरकारबीच युद्ध चरम सीमामा पुगिरहेको अवस्था थियो।  

अनेक चुनौतीका बीच नेपाल युथ फाउन्डेसन (नायफ) र असहाय नानीहरूको साथी (एफएनसी) ले २०५६ साल (जनवरी २०००) देखि कमलरी उद्धार र पुनस्र्थापनाका लागि कमलरी उन्मूलन कार्यक्रम सञ्चालन गर्यो(।  सुरुवात ३६ जना कमलरीलाई दासताबाट मुक्त गराएर दासताविरुद्धको अभियान सुरु भयो। त्यतिबेला पत्रपत्रिकामा बर्षैपिच्छे माघीमा पश्चिम तराईका थारू समुदाय बाट २० हजारभन्दा बढी चेली कमलरीका रूपमा बेचिन्छन् भन्ने लेखिरहन्थे।  

मैले यो अभियानमा २००३ देखि प्रमुख अभियानकर्ताका रूपमा जोडिने अवसर पाएँ। कमलरी कुप्रथाको अन्त्य उद्धार गरेरमात्र सम्भव थिएन्, थारू समुदायमा जनचेतना जगाएर कमलरी लाने मूल बाटो बन्द गर्नु जरुरी थियो। साथै, कानुनको अवज्ञा गरी कमलरी राख्ने मालिकहरूलाई पनि वकालतका माध्यमबाट कानूनीरूपमा साक्षर गर्नु पनि जरुरी थियो। यिनै कुरालाई ध्यानमा राखी सन् २००३ देखि कमलरी उद्धार र पुनस्र्थापनाका साथै जनचेतना, वकालत, दबाबमूलक अभियान पनि सञ्चालन गरियो। अटेरी गर्ने मालिकहरूमाथि मुद्दा पनि हालियो। अभिभावकबिहीन कमलरीका लागि छात्राबास खोलियो। जिल्लादेखि केन्द्रसम्ममा दबाबमूलक अभियान चलाइए। फलस्वरूप नेपाल सरकारले कमलरीको मुद्दालाई सबैका साझा मुद्दा मानेर सन् २००९ मा पहिलोपटक मुक्त कमलरीका लागि १२ करोड रुपियाँ बजेट विनियोजन गर्यो्। सरकारको यो सकारात्मक कदमले कमलरी प्रथाविरुद्ध लागेका संघ/संस्था र अभियानकर्तालाई केही हौसला मिल्यो।  

तर दासताविरुद्धको अभियानको मुख्य लक्ष्य कमलरी कुप्रथा अन्त्य गर्नु नै थियो। यसमा नेपाल सरकार उदासीन देखिन्थ्यो। यसका लागि सशक्त आन्दोलनको बिकल्प थिएन्। अभियानमा संलग्न संघ/संस्था र अभियानकर्तालगायत स्वयं मुक्त कमलरीहरू संगठित भएर कमलरी प्रथा अन्त्यका लागि लड्न तयार भएका थिए। किनभने मालिकहरूबाट कमलरी लाने क्रम रोकिएको थिएन्। कमलरी बेपत्ता पार्ने, बलात्कार गर्ने, यौन शोषण गर्ने, यातना दिने, आत्महत्या गर्न बाध्य पार्ने कार्य भइरहेका थिए। फलस्वरूप २०१३ मा भएको दासताविरुद्धको आन्दोलनले कमलरी कुप्रथा अन्त्य गर्यो,। नेपाल सरकारले कमलरी प्रथा विधिवतरुपमा अन्त्य भएको घोषणा गर्योु। यसरी अवोध बालिकालाई बँधुवा बनाउने दास प्रथा कानुनीरूपमै अन्त्य भयो। त्यसपछि सबैको ध्यान, कमलरी पुनस्र्थापना र तिनीहरूका आर्थिक सशक्तीकरणमा केन्द्रित भयो जुन आजसम्म जारी छ।  

यसरी सन् २०२० मा सुरु गरिएको दसताबिरुद्ध अभियानको दुई दशक पूरा भएको छ। कमलरी दासताविरुद्धको दुई दशकको लामो यात्रा धेरै स्मरणयोग्य रह्यो। किनभने प्रतिफल आफ्नै आँखाअगाडि देख्न पाइयो। सबैभन्दा ठूलो सपना त कमलरी दास प्रथा अन्त्य गर्ने थियो, जुन पूरा भएको छ।  

१३ हजार थारू चेली दासताबाट मुक्त पाएर खुला आकाशमा स्वतन्त्र उडिरहने चराहरु झै यो धरतीमा स्वतन्त्ररूपमा  सम्मानपूर्बक जीवन बिताइरहेका छन्। जुठा भाँडा समात्ने हातहरूमा आज कलम/कापी समाइरहेका छन्। हजारौँ मुक्त कमलरी शिक्षाको उज्यालो घाममा जीवन बदल्ने प्रयत्न गरिहेका छन्, हजारौँ मुक्त कमलरी सिप सिकेर आत्मनिर्भर बनिरहेका छन्, कमलरीहरूले आफ्नै संस्था खोलेका छन्। संस्थामार्फत समाजिक रूपान्तरणको काम गरिरहेका छन्।  

हिजोका दिनमा मालिकहरूबाट शोषित पीडित भई समाजबाट पनि अपहेलित र अपमानजनक ब्यबहार खेपेका थारू चेलीहरू आज गाउँ/समाजदेखि देश/बिदेशमा सम्मानित भइरहेका छन्। हिजो संघ/संस्था र अभियानकर्ताले गर्दै आएका काम स्वयं मुक्त कमलरीले गर्न थालेका छन्। सबै संगठित भएर आफ्नो अधिकारका लागि निरन्तर वकालत र खबरदारी गरिरहेका छन्। सरकारले गरेका प्रतिबद्धता सबै पूरा भएका छैनन् तर पूरा हुने क्रममा भने छ। एउटा परिवर्तन देख्न चाहने अधिकारकर्मी अभियानकर्ताका लागि योभन्दा ठूलो खुसी अरू के हुन सक्छ र ?  

माघीको सन्दर्भमा हजारौँ कमलरीको वेदनाको प्रतिनिधित्व गर्ने गीत कमलरी बस्दा सुमा थारू आफैँले रचना गरेकी थिइन् र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ८ मार्च २०१२ मा अमेरिकाको न्युयोर्कमा गाएकी थिइन्। उक्त कार्यक्रममा विश्वका प्रभावशाली महिलामध्ये सुमा पनि परेकी थिइन्– विमेन इन दि वल्र्ड २०१२। उक्त दिवसका दिन बिश्वका हाइ प्रोफाइल महिलाको उपस्थिति थियो। जसमा अमेरिकाकी पूर्वविदेश मन्त्री हिलारी क्लिन्टन पनि थिइन्। जुन गीतले अन्तर्राष्ट्रिय जगतलाई कमलरीको पीडा बोध गराएको थियो। संयोगले त्यसको ठीक एक वर्षपछि २०१३ मा कमलरी प्रथा उन्मूलनको घोषणा भयो नेपालमा। सुमाले गाएकी यो गीत अन्तिम र ऐतिहासिक बन्यो कमलरीका लागि।  

दादु भैया स्कुलमा पर्हना, मै दुःखीछाई जिम्दर्वाक घरम जैना,  

सर्दाभर मलिकिनियाक हातले, मारा खैना कैसिन मेरा यी जीवन,

स्वार्थी बाटो हो हमार दाई बाबा, काकर जन्म देलोत छाई ह ? काकर जन्म देलोत छाई ह ?  

(दाइभाइ स्कुलमा पढने, म दुःखी छोरी मालिकको घरमा काम गर्न जाने, बर्षभरि मालिक्नीको हातबाट पिटाइ खाने, कस्तो मेरो यो जीवन ? स्वार्थी बाटो हो यो हाम्रा आमा बुबा, किन जन्म दियौ त छोरीलाई ?)

पूर्बकमलरी सुमा थारूको जीवन रूपान्तरण भएको छ। उनी देश/बिदेशमा आफूलाई एउटा रोल मोडलका रूपमा चिनाउन सफल भएकी छिन्। हाल प्लस टुमा अध्ययन गरिरहेकी सुमा भबिष्यमा कानुन बिषय पढेर नेपालका महिलाको न्यायमा पहुँच पुर्या्उने काममा संलग्न हुने उनको लक्ष्य छ। मुक्तिपछि नयाँ जीवनमा रूपान्तरण हुने सुमा एउटा उदाहरणीय पात्र हुन्, उनी जस्तै हजारौँ मुक्त कमलरीको जीवन रूपान्तरण भएर समाजका लगि उदाहरणीय बनेका छन्।

अन्तमाः भविष्यमा यस्ता मार्मिक गीत कुनै पनि नेपाली चेलीले लेख्न नपरोस्, गाउन नपरोस्। सुमाले गाएको यो दासताबिरुद्धको चेतनामूलक गीत अन्तिम बनोस्। यही छ मेरो शुभकामना।  

कार्यक्रम संयोजक, नायफ नेपाल

 

प्रकाशित: ३० असार २०७७ ०७:१४ मंगलबार

कमलरी