ब्लग

फाल्गुनन्द हिँडेको बाटोमा...

नियात्रा

पाँचथरको लब्रेकुटीमा महागुरु फाल्गुनन्दको प्रतिमा। तस्बिर: अमृत भादगाउँले

बेग्दै मज्जा मिल्छ पहाडी बाटोका उकाली र घुम्तीहरू छिचोल्दै अघि बढ्दा। जङ्गलले ढाकिएका हरिया थुम्काथुम्कीका बीचबाट सफा र नीलो आकाश नियाल्नुको रौनक कम्ती आनन्ददायी हुन्न। नेपालको पूर्वी पहाड घुम्ने क्रममा इलामको माइपोखरीमा बास बसिएको थियो एक रात। बास बसिएको शेर्पाजीको होटलबाट आँखा मिच्दैमिच्दै निस्किएका थियौँ, बिहान सबेरै। केही पर कञ्चन पानी कलकल बगिरहेको पुवा खोला तरेर नेपालटार, बाघखोर, देउराली, पासाङटारजस्ता ठाउँहरू पार गरेपछि पुगिन्छ राँके। राँकेबाटै सुरु हुन्छ, पाँचथर जिल्ला। त्यहाँबाट पनि अगाडि बढ्दै जाने हो भने पुगिन्छ सरसर शीतल हावा बहिरहने पौवाभञ्ज्याङ।  

किरात धर्मसंस्कृतिको उन्नयन, मानवता, अहिंसा, शान्ति र प्रकृति संरक्षणका लागि धेरै काम गरे उनले। आफ्ना महान् कर्मका कारण उनै फाल्गुनन्द लिङ्देन पछि चिनिए किराँत धर्मका महागुरु र समाजसुधारकका रूपमा।  

हामी गाडीबाट खुत्रुक्क ओर्लिदा छिप्पी सकेको थिएन बिहानी घामका किरणहरू। कलिला तर चम्किला किरणहरू छरिँदा उज्याँलिँदै थियो पौवाभञ्ज्याङ। त्यहीँको एक होटलमा आफ्ना रुचिअनुसारका खाद्य परिकार तयार गरिराख्न भनेर केही बेर टहलिन निस्किने विचार आयो। गाडीमा बस्दाबस्दा पट्यार लागिसकेको थियो ज्यानलाई पनि। नजिकैको साधुटार पुगेर किन नफर्किने? यताउति नजर डुलाउँदै पाइला अघि बढाइयो। आधी घण्टा जतिमा पुगिँदो रहेछ अलिकति माथि डाँडामा रहेको टारमा।  

‘आहा, कति रमाइलो रहेछ है!,’ कानमा ठोक्किन आइपुगे आवाजहरू। दृश्य लोभलाग्दो नै लाग्यो मलाई पनि। हो, यसै ठाउँलाई भनिँदो रहेछ साधुटार।

अघिल्तिर कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल झलल झल्केको। टारको बीचमा पानी टिलपिलाइरहेको नीलो पोखरी, आँखाको नानीजस्तै सुन्दर। पोखरीलाई पृष्ठभूमि बनाएर आफ्नो आकृतिलाई क्यामेरामा कैद गर्न आतुर देखिए युवायुवतीहरू। नेपालको पूर्वी पहाडको एउटा पाटोको सौन्दर्य राम्रैसँग देखिँदो रहेछ त्यहाँबाट। बुकीफूलहरू, सल्लाका बोटहरू र लेकाली चौरहरू। के मात्रले सुन्दरता थपेको छैन र साघुटारको परिवेशलाई?  

साधुटारमा प्रकृतिप्रेमि समूह

‘खुबै रमाउँछन् यहाँ आउनेहरू। कतिपय पर्यटकहरू यहाँ आएर टेन्ट टाँगेर बस्न पनि थालेका छन् अचेल,’ स्थानीय कमल मुखियाले भने, ‘घुमफिर गर्नेहरू कताकताबाट आइ नै रहन्छन्। पहिलेभन्दा धेरै प्रचार भइसकेको जस्तो लाग्छ। हामीलाई त आफ्नो गाउँ यसै पनि रमाइलै लाग्छ।’

साधुटारको प्राकृतिक सौन्दर्यले फुरुङ्ग भयो मन। शरीरमा पैदा भयो ताजगी। पौवाभञ्याङ फर्केर बिहानको खाना खाइवरी लागियो अर्को गन्तव्य सिलौटीतिर। पौवाभञ्ज्याङदेखि हामीसँगै थिए पाँचथरका पूर्व सांसद अइन्द्रसुन्दर नेम्बाङ पनि। गफिँदैगफिँदै हिँडियो उकालैउकालो बाटो।  

नेपालको पूर्वी पहाडको एउटा पाटोको सौन्दर्य राम्रैसँग देखिँदो रहेछ साधुटारबाट। बुकीफूलहरू, सल्लाका बोटहरू र लेकाली चौरहरू। के मात्रले सुन्दरता थपेको छैन र साघुटारको परिवेशलाई?  

‘पाँचथरको अग्लो स्थान हो सिलौटी,’ पूर्व सांसद नेम्बाङबाट जानकारी पाइयो, ‘किराँत धर्मका महागुरु तथा समाजसुधारक फाल्गुनन्दको समाधिस्थल पनि त्यहीँ छ।’

गफको तालमा पाइला चाल्दै जाँदा करिब ४० मिनेटमा पुगियो सिलौटीको अग्लो डाँडामाथि। किराँत धर्मका महान गुरु एवम् समाज सुधारक फाल्गुनन्दको समाधिमा श्रद्धा प्रकट गरियो। शान्ति, अहिंसा र मानवताको बाटो देखाउने यस्ता महापुरुषको योगदान सम्झिँदा मात्र पनि उनीहरूप्रति सम्मानभाव चुलिन्छ।  

महागुरुको जीवनका उतारचढाव असामान्य लाग्छन्। विश्वयुद्धताका गाउँका तन्नेरी साथीहरुसँगै बेलायती सैनिकमा भर्ती हुन पुगे उनी। लडाइकै सिलसिलामा पुगे बर्मा। युद्धजन्य विध्वंसको कालो धुवाले छोपिँदै थियो मानवताको उज्यालो त्यति बेला। बमबारुदका कोकोहोलोमा मिसिएर आउने मानवचीत्कार कहाँ सुनिसाध्य हुन्छ र? त्यहाँका हृदयविदारक दृश्यले बदलियो उनको मन। आफ्नो आत्माको आवाज सुने, ‘कदापि मान्छे मार्नु हुन्न।’ त्यसपछि परित्याग गरे सैन्यसेवा र देश फर्किएर होमिए मानव कल्याणको पुण्य कर्ममा। किरात धर्मसंस्कृतिको उन्नयन, मानवता, अहिंसा, शान्ति र प्रकृति संरक्षणका लागि धेरै काम गरे उनले। सत्कर्मकै कारण न हो जीवनको उचाइ चुलिँदै जाने। आफ्ना महान् कर्मका कारण उनै फाल्गुनन्द लिङ्देन पछि चिनिए किराँत धर्मका महागुरु र समाजसुधारकका रूपमा।  

सिलौटी

महागुरुबारे कुरा गर्दै एकैछिन सुस्ताइयो सिलौटीको शीतलतामा। डाँडाबाट टाढाटाढाका रमाइला पहाडी दृश्यहरू नियाल्दा मज्जा लाग्छ। त्यहाँ धेरै बेर ढिल्याइँ नगरी अर्को महत्वपूर्ण स्थान लब्रेकुटीतिर लम्किए हाम्रा पाइला। आँखा रमाउने हरियाली। स्वच्छ, शान्त र सुन्दर परिवेश। लब्रेकुटीलाई फाल्गुनन्दको कर्मभूमिका रूपमा चिनिन्छ, जहाँ उनले सत्यधर्म मुचुल्का जारी गर्नेजस्ता ऐतिहासिक कार्य गरेका थिए।  

विभिन्न प्रकारका बोटबिरुवा र रूखहरूले घेरिएको यो ठाउँ जति मनमोहक छ, त्यति नै विशिष्ट इतिहासको साक्षी पनि हो। त्यस क्षेत्रमा मात्र उनै महागुरुद्वारा १ सय ८ प्रजातिका बोटबिरुवा रोपेर हुर्काइएको भन्ने थाहा पाइयो। लाग्यो, जैविक विविधता संरक्षणमा उतिबेलै पनि निकै चासोका साथ काम गरेका रहेछन् उनले।  

अनेक प्रजातिका सल्ला, चाँप आदिका रूखहरूलाई छुँदै ताजा हावा बहिरहेका छन् त्यहाँ। यस्तो स्वच्छ र शीतल हावाको स्पर्शले गराउने अनुभूति कति मनोरम होला? त्यस्तै प्राकृतिक परिवेशसँग साक्षात्कार गर्नेहरूले मात्र थाहा पाउन सक्छन्।  

लब्रेकुटीमा महागुरुद्वारा स्थापना गरिएको मन्दिर, उनको निवासस्थानलगायतका संरचना त देख्न पाइन्छ नै। उनका अनुयायीहरूले उनले एकीकृत गरेका मुन्धुमका ग्रन्थहरू, उनले प्रयोग गर्ने गरेको गरेका चिम्टा, ऐना, त्रिशूल र उनी सुत्ने गरेको खाट पनि जतनसाथ जोगाएर राखेको देख्न सकिन्छ। विसं १९४२ मा इलाममा जन्मेर २००५ मा पाँचथरमा दिवङ्गत भएका फाल्गुनन्दको कपाल अझै सुरक्षित राखिएको रहेछ। प्राङ्गणमा उभ्याइएको छ उनको ठूलो प्रतिमा।

प्रकृतिप्रेमी समूहको हाम्रो टोली त्यहाँ पुग्दा किरात माङ्हिम (मन्दिर) का सेवासाबा (पुजारी) ध्रुव तुम्बापो, मन्दिर व्यवस्थापन समितिका सचिब सुवास तुम्बापोलगायत केही स्थानीयहरूसँग चिनजान र कुराकानी गर्ने मेलोमेसो पनि मिल्यो। नयाँ ठाउँ पुग्दा मनमा जिज्ञासाका तरङ्गहरू उब्जिनु स्वाभाभिकै हो। त्यस्ता जिज्ञासामा सही जानकारी पस्कने पात्र भेटिनु अर्को सुखद संयोग बन्छ।  

फाल्गुनन्दद्वारा पारित गराइएको सत्यधर्म मुचुल्का अर्थात् धार्मिक घोषणापत्रमा नारीलाई सम्पत्तिको हक दिने, विविध जाति र धर्मका मान्छेसँग बन्धुत्व कायम गर्ने, हत्याहिंसा नगर्ने, शाकाहारी बन्ने, धार्मिक संस्कारमा समेत जाँडरक्सीको प्रयोग नगर्ने, खाडीको कपडा आफैंले उत्पादन गरेर लगाउने, नेपालीपन जोगाउने जस्ता कुरा लेखिएका छन्। साँच्चै अनुकरणीय छैनन् त यी कुरा?

‘विसं १९७८ मा महागुरु यहाँ आउनुभएको भन्ने ऐतिहासिक पुष्टि छ,’ मन्दिर व्यवस्थापन समितिका सचिब सुवास तुम्बापोले लब्रेकुटीको चिनारी दिँदै भने, महागुरुले विसं १९८३ मा यहाँ माङ्हिम स्थापना गर्नुभयो। विसं १९८५ मा यहाँका सुब्बाहरूलाई जग्गा दान गर्न लगाउनुभयो। हाल ३ सय ४७ रोपनी जग्गा यो माङ्िहमको नाममा दर्ता छ। विसं १९८८ वैशाख २४ गते उहाँले यही ठाउँमा किराँत धर्म पुनरुत्थानको क्रममा ७ बुँदे सत्यधर्म मुचुल्का जारी गर्नुभयो।’

दीपेन्द्रसिंह थापा

सचिब तुम्बापोबाट छोटो समयमै पनि केही महत्वपूर्ण कुरा थाहा पाइयो। उनका अनुसार लिम्बुवान क्षेत्रका त्यो बेलाका गाउँका प्रमुखहरू, बुद्धिजीवीहरू र अगुवाहरूको सभा बोलाई  फाल्गुनन्दद्वारा पारित गराइएको सत्यधर्म मुचुल्का अर्थात् धार्मिक घोषणापत्रमा नारी समानताका र नारीलाई सम्पत्तिको हक दिने, विविध जाति र धर्मका मान्छेसँग बन्धुत्व कायम गर्ने, हत्याहिंसा नगर्ने, शाकाहारी बन्ने, धार्मिक संस्कारका कार्यहरूमा समेत जाँडरक्सीको प्रयोग नगर्ने, खाडीको कपडा आफैंले उत्पादन गरेर लगाउने, नेपालीपन जोगाउने जस्ता कुरा लेखिएका छन्। साँच्चै अनुकरणीय छैनन् त यी कुरा?

भूटानी प्रविधिबाट माटोको धुलो मात्र प्रयोग गरेर बनाइएको एउटा ठुलो घर पनि त्यहाँ देख्न पाइयो पहिलो चाटि। स्थानीयहरूले श्रमदान गरी बाटो, भवन र अनेक भौतिक संरचनाहरू बनाएका रहेछन्। टाढाटाढाबाट आउने अतिथिका लागि यही बास बस्ने प्रबन्ध मिलाइँदो रहेछ। एक पटकमा २ सय जनासम्म बास सक्ने व्यवस्था रहेछ अहिले।

पर्यटकका लागि मात्र नभई धर्मसंस्कृति र मानव सभ्यताका क्षेत्रमा रुचि हुनेहरू अध्ययनअनुसन्धानकै क्रममा पनि पुग्ने गर्छन् ज्ञान र चेतनाका यस्ता उद्गम स्रोतमा। यहाँ नेपालका मात्र नभई भारत, भूटान, म्यानमारलगायतका विदेशी मुलुकहरूबाट समेत धार्मिक पर्यटक र अनुसन्धाताहरू आउँदा रहेछन्। भूटानबाट मात्र १ वर्षमा ५ सय पर्यटक  आइपुगेको दृष्टान्त मन्दिर व्यवस्थापन समितिका पदाधिकारीबाट सुनियो।  

‘प्रवेशद्वारबाट भित्र पसिसकेपछि महागुरुको यस पावन कर्मभूमिमा नाङ्गै खुट्टा हिँड्नुपर्छ भन्ने मान्यता राखिएको छ। यसबाट चाहिँ महागुरुले टेक्नुभएका, उहाँका पाउले स्पर्श गरेका चिजहरू हाम्रा शरीरमा पनि लीन हुन सकून् अनि विश्वशान्ति, मानवता, अहिंसाजस्ता विषयमा हामी एकाकार हुन सक्छौँ र सकौँ भन्ने ध्येय राखिएको छ,’ सुवास तुम्बापोको बोली निकै टड्कारो थियो।  

त्यहाँबाट तल लालीखर्क झरुन्जेलसम्म पनि कताकता प्रतिध्वनित भइरहेजस्तो आभास भए महागुरुका कर्मभूमिमा सुनिएका वाणीहरू।  

गज्जब लाग्यो परिवेश नै। समय बितेको पत्तै भएनछ लब्रेकुटीमा। बस चढ्ने ठाउँसम्म हिँडेर पुग्दा झमक्क साँझै परिसकेको थियो। गाडी चढेपछि आधा घण्टा जतिमा पुगियो पाँचथरको सदरमुकाम फिदिम। त्यही  बास बसियो त्यो रात।  

जंगली फूल

प्रकाशित: २० असार २०७७ ०१:४० शनिबार

अक्षर नियात्रा महागुरु फाल्गुनन्द