साकेला आफ्ना पितृप्रति श्रद्धान्जलि व्यक्त गर्न एवं उनीहरूको सामाजिक क्षेत्रको कार्य, योगदानप्रतिको सम्मान र सम्झनाका लागि गरिन्छ। साकेलामा ढोलझ्याम्टा बजाएर सृष्टिका गीत गाउँदै नाचिन्छ। यसमा कोदोको चोखो जाँड, नयाँ अदुवा धान र कुखुराको रातो भाले काटेर प्रकृतिलाई भोग दिने चलन रहेको छ। यसमा केराको पात, माटोको भाँडो (बुछालु) र चिण्डो महत्वपूर्ण सामग्रीका रूपमा राख्ने चलन छ। अदुवा किराँत राईहरूको साँस्कृतिक कार्यको महत्वपूर्ण पवित्र पूजा सामग्री भएकाले अदुवाबिनाको कुनै पनि कार्य विधिवत् सम्पन्न नहुने जनविश्वास छ।
साकेला नाच्नु अगाडि राईहरूको पुरोहित (नछुङ)ले भूमिको पूजा गर्ने परम्परा छ। यस पूजामा मकैको बोट, धानको बिउ, कृषि कार्यमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरू जस्तै कुटो, कोदालो, झम्पल, हँसिया, खुकुरी, हलोको फालीका साथै अन्य हतियार राखेर पनि पूजा गरिन्छ। यी सामग्री साकेला थानको रुखको फेदमा राखी पूजा समेत गर्ने प्रचलन रहेको छ।
किराँत समुदायमा प्रचलित भनाइ अनुसार किराँत राईहरूको सृष्टिकर्ता पारुहाङ र सुम्निमालाई खुसी एवं प्रसन्न बनाउन सर्वप्रथम यो नाच नाचिएको थियो भन्ने किराँती बुढापाकाको भनाइ छ।
पारुहाङ्ग र सुम्निमा नै किराँत जातिको आदिपुरुष र स्त्री हुन्। पारुहाङ र सुम्निमाबाट एकसाथ चार सन्तान जन्मिए। ती चार सन्तानमा पहिलो होँछा (मानिस), माहिलो चाप्चा (बाघ), साहिँलो बर्पा (भालु) र कान्छो ल्खिपा (कुकुर) थिए। पारुहाङ्ग र सुम्निमाबाट जन्मिएको जेठा छोराको जवानी बढ्दै जाँदा पानी भित्र बस्ने नाकिह (नाग) को छोरीसँंग भेट भएर पछि एकआपसमा बिहे गर्ने निर्णय गरे। छोरी बिदाइ हुन लाग्दा बाबुको वाक्षी दाइजोस्वरूप माग्छे। तर नाकिहँ वाक्षी दाइजो नदिने कुरा बताउँदै उनले यदि तिमीलाई यो वाक्षी चाहिन्छ भने ढोल, झ्याम्टा बजाएर कोदो, साकेला स्योपैयाँ पुजेमा त्यही स्थानमा वाक्षी आएर बस्छ भने। यसले सहकाल ल्याउँछ र सुखशान्ति प्राप्त हुन्छ भन्ने किराँत राईहरूको संस्कृतिको बारेमा विगत ५० वर्षदेखि कार्यरत अध्येता रोषन चाम्लीङको भनाइ छ।
आजभोलि पनि साकेला पूजापछि नछुङले साकेलाको वाक्षी निकाल्ने गर्छन्। यही अतिप्राचीन मानव सृष्टिको प्रारम्भिक कालदेखि किराँतहरूले ढोल, झ्याम्टा बजाएर साकेला नाच्दै आएको परम्परा भेटिन्छ। साकेला पूजामा नछुङहरू भोग खान नाग आउने बताउँछन्। नाग सन्तुष्ट भएमा त्यस वर्ष अन्न बाली प्रशस्त उत्पादन हुने, बाढी पहिरो नलाग्ने, रोगव्याधी नलाग्ने वाणी व्यक्त गर्छन्।
होँछा र सिकल्यिमाका तीन सन्तान दुई छोरी तायमा, कियामा र एक छोरा खचिलिपाको जन्म हुन्छ। यिनीहरूको जीवनकालदेखि प्रकृतिका जीवजन्तु चालको अनुकरण र कृषि व्यवसायका विविध कार्यहरूको अनकरण गर्दै अनेक किसिमका सिलीहरूको आविष्कार गर्दै चारी पुज्ने, साकेला नाच्दै पारुहोँ सुम्निमा एवं नाकिहँ र सिक्रिहँमासँग उँभौली वैशाख पूर्णिमा र उँधौली मंसीर पूर्णिमामा रङरी सायकृत (अन्नको सह रहोस् र मनुष्यमा राम्रो होस्) को कामनासहित साकेला नाचिन्छ भन्ने पहिला देखि यो चाड मनाउदै आएका चाम्लीङको कथन रहेको छ।
यो चाड किरातीको घनाबस्ती रहेका पूर्वाञ्चलको धनकुटा, धरान, तरहरा, मोरङका पथरी, लेटाङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, खोटाङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायत विभिन्न जिल्लामा विशेष महत्वका साथ मनाइन्छ। यसका साथै दोलखा र राजधानीको किरात बस्तीमा पनि हर्षोल्लासका साथ यो पर्व मनाउने गरिएको किरात राई यायोक्खाले जनाएको छ।
प्रकाशित: २५ वैशाख २०६९ ०६:५१ सोमबार