ब्लग

प्रकृति दोहनको परिणाम भोग्दैछौं हामी

गौरी तमु

आजभन्दा २५ वर्षअघि मेरी बज्यू(हजुरआमा)ले भन्नुहुन्थ्यो, ‘पानी पनि किनेर खानुपर्ने दिन आउँछ नानी । धेरै खेर नफाल ।’ घर नजिकै धारा थियो । धाराभन्दा नजिक चौबिसै घन्टा बगिरहने कुलो । अल्लि पर हिउँदमै मान्छे बगाउने जय श्री खोला । जंगलका खोल्साखोल्सी र खेतबारीमा पानीका मूल फुट्थे । जता हे¥यो त्यतै पानी नै पानी हुन्थ्यो ।  

केटाकेटी थिएँ, पानीमा खेल्थे, पानीमै रमाउँथे । त्यतिबेला अचम्म मान्थें, बज्यूले किन यस्तो भन्नुभएको होला ? कहिलेकाहीं मलाई बुज्युसँग रिस पनि उठ्थ्यो । किन झूट बोल्नुभएको होला भनेर । उहाँले यसो भनेर जानुभएको पनि २५ वर्ष पुगिसकेको छ । म अहिले दिनहुँ जार र बोत्तलको पानी किनेर खानन बाध्य छु ।

पच्चीस वर्ष अगाडिको जस्तो न अहिले वनजंगल छ, न खोलानाला न जंगली जनावर नै । कतिपय पानीका मुहान सुकिसके । खोला कुलो जत्रो भएका छन् । कुलाहरू सुकेर कमिला हिँड्ने राजमार्ग बनेका छन् । अतिवृष्टि र अनावृष्टि बढ्दो छ । नदी दोहनका कारण त्यस वरपरका मानव बस्ती नै जोखिममा परिरहेका छन् । खेतीयोग्य जमिन कंक्रिटको जंगल बनेको छ । कुवा, इनार र चापाकलजस्ता शब्दको अर्थ केही समयपछिका पुस्ताले शब्दकोशमा खोज्नुपर्ने अवस्था आउँदैछ । पानीको हाहाकार शहर बजारमा मात्रै होइन, गाउँघरमा पनि उस्तै छ । बल्लतल्ल बिहानबेलुकी मात्रै धारामा पानी आउँछ । कतिपय ठाउँमा त घन्टौ लाइनमा बसेर एक गाग्रो पानी ल्याउनु पनि नेपाली महिलाका लागि ठूलै युद्ध जित्नुजस्तो भएको छ । यो दुई फरक पुस्ताबीच या लामो समयपछि देखिएको परिवर्तन होइन । एकै पुस्ताले २५ वर्षमा देखेको र भोगेको डरलाग्दो अवस्था हो ।

विकास र समृद्धिका नाममा मान्छेले प्रकृतिमाथि चरम दोहन गरिरहेकै छ । यस्ता कुकृत्यका नाइके पूँजीवादी मुलुकको गल्तीको परिणाम हाम्रो जस्ता गरीब मुलुकले विनाकारण भोग्नु परिरहेको छ । उनीहरूले प्रकृतिको विनाश बाँच्नका लागि मात्र गरेनन्, बरु विलासिता, पूँजी सञ्चयन र विश्व प्रतिस्पर्धाका लागि समेत गरे ।  

हामी बेलाबेलामा सुन्छौ, पत्रपत्रिकामा पढ्छौं, जंगली जनावरले मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पु¥याए भनेर । जब मान्छेले प्राकृतिक सीमा नाघेर वन जंगल फँडानी र जंगली जनावरको चोरी शिकारी गर्छ तब बासस्थान र आहाराको खोजिमा जनावर बस्तीमा प्रवेश गर्छन् । यसरी प्रवेश गर्दा उनीहरू आफूसँगै खतरनाक भाइरस पनि लिएर आउँछन् जुन हाम्रा लागि दुःख लाग्दो कुरा हो ।    

अनुसन्धानले देखाएको छ कि संसारमा देखापर्ने संक्रमित रोगमध्ये करीब ७५ प्रतिशत जनावरबाटै सर्छन् । तर आज जनावरलाई जंगल छाडेर मानव बस्तीमा प्रवेश गर्नुपर्ने बाध्यात्मक परिस्थिति निम्थ्याउने हामी नै हौं । मान्छेले बिर्सेको छ, यो पृथ्वी सबै प्राणीको साझा घर हो । यहाँ बाँच्ने अधिकार जति मान्छेलाई छ त्यति नै अधिकार अरू जीवजन्तुलाई पनि छ । 

हामी मान्छेलाई संसारकै सर्वश्रेष्ठ विवेकशील प्राणी ठान्छौं । तर, हाम्रा क्रियाकलाप विवेकशील देखिँदैनन् । बरु विवेकशील त प्रकृतिको नियममा चल्ने अमानुष हुन् । प्रकृति र मानव समाज परिपुरक हुन् । तर आज पृथ्वीलाई खतरा छ भने यिनै स्वार्थी, लोभी र सन्काहा प्रवृत्तिका मान्छेबाटै छ ।  

विकास र समृद्धिका नाममा मान्छेले प्रकृतिमाथि चरम दोहन गरिरहेकै छ । यस्ता कुकृत्यका नाइके पूँजीवादी मुलुकहरूको गल्तीको परिणाम आज पनि गरीब मुलुकले विनाकारण भोग्नु परिरहेको छ । उनीहरूले प्रकृतिको प्रयोग बाँच्नका लागि मात्र गरेनन्, बरु विलासिता, पूँजी सञ्चयन र विश्व प्रतिस्पर्धाका लागि गरे । जसका कारण पृथ्वीका वन्यजन्तु र वनस्पति लोप हुँदै जान थालेका हुन् । उनीहरूले अलिकति मात्र पनि विवेक प्रयोग गरेको भए आजको जस्तै महामारी विश्वले पटकपटक भोग्नुपर्ने थिएन ।

हामी बाँच्न चाहन्छौं र मानव सभ्यतालाई युगौयुगसम्म पुस्तान्तरण गर्न चाहन्छौ भने प्रकृतिलाई जितेर होइन, सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन ।      

पृथ्वीमा अहिले सात अर्ब बढी जनसंख्या छ । तर यो भारलाई पृथ्वीले सन् १९७० देखि नै थेग्न छाडिसकेको छ । अठारौं शताब्दीको मध्यदेखि उन्नाइसौं शताब्दीको मध्यसम्म भएको औधोगिक क्रान्तिपछि वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढ्दो क्रममा छ । यसले पृथ्वीको चक्रिय प्रणालीमा चुनौती थपिदिएको छ । वन विनासका कारण विश्वमा प्रत्येक वर्ष करीब एक करोड ३० लाख हेक्टर जमिन उजाड भइरहेको छ । जनसंख्या वृद्धि, वन विनास, औधोगीकरण र शहरीकरणका कारण पृथ्वीको तापक्रम बढेसँगै हिमाल र हिमनदी पग्लन थालिसकेका छन् । नेपालकै कतिपय हिमताल फुट्ने जोखिममा छन् ।  

म करिब डेढ दशकदेखि पोखरामा छु । पोखरामा बस्नु भनेको प्रत्येक दिन माछापुच्छ«े र वरपरका हिमालसँग साक्षात्कार हुनु हो । तर डेढ दशकअघिको माछापुच्छ«े र अहिलेकोमा धेरै परिवर्तन आइसकेको छ । सेतै हिँउले ढाकिने माछापुच्छ«े र वरपरका हिमाल अचेल काला पत्थर जस्ता देखिन थालेका छन् ।  

मलाई शंका छ, प्रकृतिमाथिको मानवीय प्रवृत्ति यस्तै रहिरहे अबको २५ वर्षपछि मेरा नातानातिना पुस्ताले माछापुच्छ«ेमा हिँउ होइन कालो पत्थर मात्रै देख्नुपर्ने त होइन ?

‘पृथ्वीलाई पर्यावरण र जैविक विविधता विनाश तथा जलवायु परिवर्तनका कारण होइन, बरु हाम्रो स्वार्थ, लोभ, मूर्खता र उदासीपनले नरक बनाएको छ’, वातावरण अभियानकर्मी जेम्स गुस्तेभ स्पेथको यो भनाइले पृथ्वीलाई नरक बनाउनुमा एक मात्र दोषी मान्छे नै हो भन्ने प्रस्ट हुन्छ ।  

जब मान्छेले जथाभावी प्रकृतिमाथि प्रहार प्रारम्भ ग¥यो तबदेखि नै मानव सभ्यतामा महामारी देखा पर्दै आए । यस्तै महामारीमध्ये यतिबेला कोरोना भाइरस (कोभिड–१९)ले आक्रान्त बनाएको छ । यो विश्वले दोस्रो विश्व युद्धपछि सामना गर्नुपरेको ठूलो समस्या हो । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको महामारीका कारण एक तिहाई विश्व नै लकडाउनमा छ । कतिपय मुलुकले विश्व स्वास्थ्य संगठनको निर्देशन पालना गरेर पूर्ण रूपले लकडाउन गरेका छन् भने कतिपयले आंशिक ।  

मलाई शंका छ, प्रकृतिमाथिको मानवीय प्रवृत्ति यस्तै रहिरहे अबको २५ वर्षपछि मेरा नातानातिना पुस्ताले माछापुच्छ«ेमा हिँउ होइन कालो पत्थर मात्रै देख्नुपर्ने त होइन ?

जुनजुन मुलुकले डब्लुएचओको निर्देशनलाई पूर्ण पालना गरेका छन्, ती मुलुकमा महामारी नियन्त्रणमा आउँदै छ । तर डब्लुएचओको निर्देशनलाई अटेरी गर्ने र कोभिड–१९ लाई ‘चिनियाँ भाइरस’को संज्ञा दिने अमेरिका नै अहिले सबैभन्दा बढी महामारीको दलदलमा फसेको छ ।

कोरोनालाई सुरुवाती दिनमा सामान्य रूपले लिएका शक्तिशाली भनिने मुलुकलाई नै अहिले कोरोना रोकथाममा हम्मेहम्मे परिरहेको छ । दिनहुँ संक्रमितको संख्या र मृत्यु दर बढिरहेको छ । करोडौंको रोजगारी गुमेको छ । विश्व अर्थतन्त्र ध्वस्त प्रायः छ । महामारीबाट सबैभन्दा बढी अमेरिकाका जनता मरिरहेका छन् । सिकागोको तथ्यांकअनुसार मर्नेमा श्वेतको तुलनामा अश्वेत र गरीबको मृत्युदर ७० प्रतिशतले बढी छ । यो गम्भीर विषय हो ।  

त्यति मात्र होइन, यसै हप्ता श्वेत प्रहरीद्वारा मारिएका अश्वेत समुदायका जर्ज फ्लोएडको घटनापछि अमेरिकाका दर्जनौं राज्यमा कफ्र्यू लगाइएको छ र पनि ट्रम्पको विरोधसहित जनताको सडक प्रदर्शन रोकिएको छैन । यता राष्ट्रपति ट्रम्पलाई आफ्ना नागरिक मरेकामा भन्दा देशको अर्थतन्त्र खस्केकामा र आफ्नो राष्ट्रपति पद चीनले खुस्काइदिनेमा बडो चिन्ता भएको जस्तो देखिन्छ । ट्रम्प जनताको शवको थुप्रोमाथि चढेर भन्दै छन्, ‘नोभेम्बरमा हुने चुनावमा मलाई रोक्न चीनले जे पनि गर्न सक्छ ।’

जनताका आधारभूत आवश्यकता(स्वास्थ्य)को बजेट कटौती गरेर अस्त्र शक्ति प्रदर्शनको आडम्बरमा उत्रिएको पूँजीवादी राज्यव्यवस्थाको यो भन्दा नाङ्गो नाच अरू के हुनसक्छ ? महामारीविरुद्धको यो युद्धमा प्रष्टसँगै प्रमाणित भइसकेको छ कि सामाज्यवादी पूँजीवादी मुलुकलाई समाजवादी मुलुकले पछि पारिसकेका छन् । जसको ज्वलन्त उदाहरण हो, वर्षौदेखि अमेरिकाको आर्थिक नाकाबन्दीमा परेको मुलुक क्युवाले इटालीलाई पठाएको चिकित्सकीय सहयोग ।

कोरोनाले विश्वका शक्तिशाली भनिने मुलुकको दम्भ मात्रै तोडेन, एक्काइसौं शताब्दीमा स्वास्थ्य विज्ञानले हासिल गरेका सबै प्रगतिमाथि चुनौती थपिदिएको छ । समयसमयमा देखापर्ने यस्ता भाइरसको प्रकृति, प्रभाव र प्रकार बेग्लाबेग्लै हुने भएकाले यसको पहिचान, परीक्षण र पुनः परीक्षण गरेर औषधी पत्ता लगाउन निकै लामो समय लाग्छ । त्यतिबेलासम्म विश्वले अकल्पनीय क्षति व्यहोर्नुपर्ने हुन्छ । यस्तै मानवीय क्षति हामीले हाम्रै युगमा सन् २००२ मा दक्षिण चीनमा सुरु भएर ३० मुलुकमा फैलिएको सार्स र सन् २०१२ मा साउदीबाट सुरु भएर २७ मुलुकमा फैलिएको मार्सबाट व्यहोरिसकेका छौं ।

अहिले कोरोनाका कारण त्योभन्दा बढी क्षति व्योहोरिरहेका छौं । यो सत्य हो कि हामीले एक दिन कोरोना महामारीमाथि विजय प्राप्त गर्ने नै छौं । पृथ्वीमा यस्ता महामारी बेलाबेलामा आइरहनेछन् । भाइरससँगको हाम्रो लडाइँ चलि नै रहने छ ।

अहिलेसम्म कोरोनाको औषधि पत्ता लागेको छैन । यसको रोकथाम र नियन्त्रण भनेकै सामाजिक दूरी कायम राख्नु, हाँछयँु गर्दा वा खोक्दा मास्क प्रयोग गर्नु, साबुनपानीले राम्रोसँग हात धुनु, रुघाखोकी, ज्वरो आएमा वा कोरोना संक्रमणको शंका लागेमा तुरुन्त चिकित्सकको सम्पर्कमा जानु, एकान्त बासमा बस्नु, आत्मविश्वास बढाउनु, रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका खानेकुराका साथै प्रशस्त मात्रामा तातो पानी र झोलिलो पदार्थ खानु हो ।  

अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्ना नागरिक मरेकामा भन्दा देशको अर्थतन्त्र खस्केकामा र आफ्नो राष्ट्रपति पद चीनले खुस्काइदिनेमा बडो चिन्ता भए जस्तो देखिन्छ !

लकडाउन नै नगरे पनि तुलनात्मक रूपमा अरू मुलुकमा भन्दा जापानमा किन कम संक्रमित र कम मृत्यु भइरहेको छ ? यसबारे डा. विकासानन्दले एउटा रोचक कुरा बताएका थिए, ‘जापानी प्रत्येक दिन कम्तीमा दुई घन्टा सेरिन योकु अर्थात् जंगल स्नान गर्छन् । उनीहरू जंगलमा खाली खुट्टा बोटविरुवाका हाँगा, पात, फूललाई स्पर्श गर्दै हिँड्छन् । जंगलमा रूखले आफूलाई खतरनाक भाइरस, ब्याक्टेरिया, फङ्गसबाट बचाउन फाइटोनसाइट नामक केमिकल्स उत्पादन गर्छ । उक्त केमिकल्सले मानिस, वनस्पति र अन्य प्राणीलाई पनि विभिन्न भाइरसको संक्रमण हुनबाट बचाउँछ । अतः जापानमा कम संक्रमित र कम मृत्यु हुनुमा प्रकृतिसँगको सानिध्य नै हो ।’

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि तुलनात्मक रूपमा अरू मुलुकमाभन्दा कम संक्रमित हुनु र मृत्युदर कम हुनुका धेरै कारणमध्ये एउटा कारण प्रकृतिउन्मुख नेपाली संस्कृति र जीवनशैली पनि हुनसक्छ ।

हामी प्रकृतिबिना हाम्रो जीवनको कल्पनासमेत गर्न सक्दैनौं । यदि हामी बाँच्न चाहन्छौं र मानव सभ्यतालाई युगौयुगसम्म पुस्ता हस्तान्तरण गर्न चाहन्छौ भने प्रकृतिलाई जितेर होइन सँगसँगै सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन । होइन भने संसारबाट डाइनोसर युग अन्त्य भएजस्तै मानव युगको अन्त्य नहोला भन्न सकिन्न । 

प्रकाशित: २२ जेष्ठ २०७७ १३:०२ बिहीबार

विविध कोभिड १९ लकडाउन प्रभाव