विभिन्न सुरक्षाका विधि तथा उच्च सतर्कताका उपायहरू अवलम्बन गर्दागर्दै पनि विश्वभर कोरोना संक्रमणको त्रास दिन प्रतिदिन झन्झन् बढ्दो दरमा देखिरहेको अवस्था छ ।
जनसंख्याको हिसाबले हेर्दा ठूलो होस् वा सम्पूर्ण प्रविधिको हिसाबले सम्पन्न राष्ट्र चीनको वुहानबाट गत डिसेम्बर अन्ततिरबाट विश्वलाई नै चुनौती दिने गरी महामारीको रूपमा फैलिएको संक्रमण हाल विश्वलाई नै व्यापक चुनौती दिदै सम्पूर्ण राष्ट्रवासीहरूलाई नै आक्रान्त तुल्याएको अवस्था छ ।
यस भाइरसले शक्ति सम्पन्न राष्ट्रका रूपमा कहलिएका राष्ट्रहरू पनि अछुतो रहेका छैनन् अझ भनौ तिनै राष्ट्रहरूमा महामारीको रूपमा फैलिएको छ । चाहे युरोपेली मुलुक हुन् वा अन्य मुलुक हुन सम्पुूर्ण राष्ट्र त्रसित रहेको अवस्था छ । संक्रमण दरको अध्ययन गर्दा हाल सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । हाल अमेरिकामा संक्रमितको संख्या करीब १६ लाखको हाराहारीमा पुगेको छ ।
विश्व महामारी कोरोना भाइरसको संक्रमणका कारण संक्रमितको संख्या आधा करोड नाघिसकेका छन्, जसमध्ये मृत्यु हुनेको संख्या करीब साढे ३.५ लाख छ भने त्यसैगरी २३ लाख जति निको भई घर फर्किसकेको अवस्था छ ।
त्यसैगरी नेपालको सन्दर्भमा हेर्दा सम्पूर्ण विश्व समुदाय नै यस कोरोना संक्रमणले आक्रान्त भएको अवस्थामा यस कोरोनाको उदग्मस्थल चीनको छिमेकी राष्ट्र अर्थात् हाम्रो देश नेपाल पनि अछुतो कहाँ रहन सक्छ र ? संक्रमण सर्तकताको हेतुले गरिएको लकडाउनले २ महिना पार गरिसकेको अवस्थामा जम्मा संक्रमित संख्या ७ सय पुगिसकेको छ जसमध्ये चार जनाको निधन समेत भएको छ भने १ सयभन्दा बढी संक्रमित संक्रमणलाई जितेर उपचारपछि घर फर्किसकेको अवस्था छ ।
मानिसहरू सुरक्षित रहन चाहन्छन् । तर समस्या नचाहेर पनि हामी असुरक्षित भइसकेका छौ । कोरोना भाइरस एउटा घातक जीवाणु, जसलाई हामी देख्न सक्दैनाैं र जब यो हामीभित्र छिर्छ हामीले यसको उपचार गर्न सक्दैनाैं अर्थात् भनौ हालसम्म पनि विकसित तथा सम्पूर्ण रूपले सक्षम कहलिएका राष्ट्रहरूले पनि यस रोगको उपचार पद्धति तथा औषधि पत्ता लगाउन सफल नभइरहेको अवस्था छ ।
त्यसैले कैयौं मानिसहरू घरबाहिर निस्कन, जीवनयापनका नियमित काम गर्न होस् या आफ्ना बालवालिकाहरूलाई स्कुल पठाउन साथै सहज रूपमा आफ्नो दैनिकी सञ्चालन गर्न हिचकिचाइरहेका छन् ।
मानिसहरू पहिले जस्तो जीवनयापन गर्न चाहन्छन् तर लकडाउनको कारण घरबाहिर निस्किनन पाएका छैनन् । विश्व स्वास्थ्य संगठनका अनुसार यसको संक्रमणबाट जोगिने उत्तम उपाय भनेको अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किनु नै हो । एकातिर सुरक्षाको ग्यारेन्टी नहुन्जेल यी विभिन्न कुरामा लगाइएको रोक कायम हुनुपर्ने अवस्था रहेको छ भने अर्काेतिर यी रोकहरूले विभिन्न नकारात्मक असर जस्तै मानसिक रोगमा वृद्धि, आर्थिक कठिनाइ, भोकमरी तथा शिक्षामा हुने क्षति जस्ता जोखिम उत्तिकै मात्रामा रहेका छन् ।
उत्तरतिरको यस भाइरसको उद्गमथलो चीन र दक्षिणतिरको ठूलो दरमा संक्रमण फैलिएको राष्ट्र भारत भएकै कारण संक्रमणको दर नेपालमा पनि बढ्दै गएको छ । विगत २ महिनादेखि सम्पूर्ण गतिविधि स्थिर अवस्थामा रहेको छ । साथै आर्थिक तथा प्रशासनिक गतिविधि नै स्थिर अवस्थामा रहेको छ ।
एकातिर दैनिक ज्यालादारी गरी आफ्नो दैनिकी गुजारा गर्ने तथा कृषि पेशामा आवद्ध कृषकहरू मर्कामा रहेका छन् भने अर्कोतिर कृषकको मेहनतले उब्जेका उत्पादनले बजार पाएको छैन । त्यसैगरी शहर केन्द्रित वर्गले पैसा नै तिरेर पनि उक्त उत्पादन सहज रूपमा खरिद गर्न सक्ने अवस्था छैन । कृषकका उत्पादन खेतबारीमै कुहिरहेको अवस्था छन् भने कतिपय ठाउँमा कृषकहरूले सित्तँैमा उक्त उत्पादन ठाँउठाँउमा वितरण गरिरहेको अवस्था पनि छ ।
विशेष गरी नेपालमा कृषिमा आश्रित समुदायको संख्या ठूलो मात्रामा रहेको छ । अबका दिनहरूमा अर्थात् मुख्य कृषि बाली धानको खेती गर्ने बेला भइसकेको अवस्थामा कृषकहरू मल र बिउबिजनका निम्ति सम्बन्धित निकायसम्म पुग्न सकिरहेको अवस्था छैन । खनजोतका लागि उपकरणको असहजताको अवस्था यथावत् नै रहेको छ । यी सम्पुर्ण समस्याहरूको समाधानका निम्ति सम्बन्धित निकायहरूको ध्यानाकर्षण हुनु जरुरी रहेको छ ।
सरकारबाट घोषित लकडाउनको अवधि सकिन करीब एक साता बाँकी रहेको अवस्थामा सम्भावित व्यक्तिहरूको कन्ट्रायाक ट्रेसिङ गरेर सबैको परीक्षण सक्नुपर्छ र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप सावधानी अपनाई आर्थिक तथा अन्य गतिविधि क्रमबद्ध रूपमा एवं कामको प्राथमिकता क्रमअनुसार वर्गीकरण गरी संचालनमा ल्याउनुपर्छ जसले गर्दा संक्रमणको सम्भावना अझ कम भएर जानुका साथै दैनिक जनजीवन सामान्य हुनेछ भन्ने कुरामा आशा राख्न सकिन्छ ।
प्रकाशित: १४ जेष्ठ २०७७ ०७:१९ बुधबार