डा. बाबुराम भट्टराई प्रधान मन्त्री भएपछि समाचारमा तरङ्ग उठेका छन्। सस्तो र नेपालमै एसेम्बल्ड गाडीले डिलरसीप खुला गरेको गरेको छ। डाक्टरसावले गोल्छा हाउसमा निर्मित गाडी चढेपछि राष्ट्रिय उद्योगपति दङ्ग छन्। रुखो अर्थतन्त्रको मुहानमा भेलै निकाल्ने मूल फुट्ने उनीहरुको अपेक्षा छ। उनीहरु यही कारण अहिले बाबुरामलाई हिरोभन्दा कम आँक्दैनन्। त्यो पनि फिल्मी हिरो।
केही वर्षपहिले बलिउडमा एउटा फिल्म बनेको थियो- नायक। त्यसका हिरो अनिल कपुर क्यामरापर्सनबाट एक दिन मुख्य मन्त्री बन्ने अवसर पाउँदा राज्यमा सबैखाले क्रान्ति गर्न सफल हुन्छन्। स्थानीय उत्पादनको प्रबर्द्धनदेखि कालोबजारी र मिसावट गर्ने सबैमाथि उनी खनिन्छन्। यही कारण राज्यभर उनको जयजयकार हुन थाल्छ।
यो फिल्म धेरै नेपालीले हेरेका छन्। हेर्नेमध्येका एक मित्र कपिल लामिछानेले केही वर्षअघि नै उत्साहित हुँदै भनेका थिए- 'पत्रकारिता गर्छु भन्छौ, नायकमा अनिलकपुरले गरेजस्तै गर न ! देशका कालाबजारी सबलाई तह लगाउने गरी।' देउपाटनको शारदा उच्च माविका यी शिक्षक अहिले डक्टर प्रधान मन्त्रीलाई तिनै हिरो अनिल कपुरसँगै तुलना गर्छन्। संयोग नै हो नि डाक्टरसाव प्रधान मन्त्री भएपछि कसैको नजरमा नपर्ने बबरमहलको पश्चिमी कुनो समाचारको खानी बनेको छ। र, त्यहीँबाट तीव्र भएको छ बजार अनुगमन।
गुँदपाक बेच्ने साहूजी समातिएका छन्। मिठाई पसलका उत्पादन खान अयोग्य प्रमाणित भइरहेका छन्। दूध, पानी, तेल, माछा मासु, तरकारी... सबैतिर अनुगमन तीव्र भएको छ। सबैको उत्पादन खान नालायक सावित भइरहेका छन्। काँटा तराजुमा ठग्नेदेखि कम तौल ग्यास दिने उत्पादकसमेत बजारमा त्राहिमाम छन्।
धेरैलाई लागेको छ- यो अभूतपूर्व अनुगमन प्रधान मन्त्रीको कमाल हो। लाग्नु पनि स्वाभाविक हो। दिग्गज र पढेका प्रधान मन्त्री, सबैभन्दा बढी भोट ल्याएर सांसद बनेका प्रधान मन्त्री, क्रान्तिबाट आएका प्रधान मन्त्री। यस्त थुप्रै पगरीले डक्टरसाहेव सुपर हिरो बनेका छन्, सर्वसाधारणको सोचमा।
तर वास्तविकता फरक छ। प्रधान मन्त्रीमा डक्टरसाहेव आउनुपूर्व बबरमहलको सानो कोठाले कुनै काम नगरेको होइन। काम गरेको थियो। अवैध तेल ९ हजार लिटरसम्म जफत गरेको थियो। नामीदामी कम्पनीका तेल, ध्यू, दूध गुणस्तरहीन भएको भनेकै थियो। तर त्यो सानो कोठाको बोली कसैले सुन्थेन। सिमेन्टमा गुणस्तर र तौल नपुगेको अनुगमन पनि यही कोठाका कर्मचारीले गरेका थिए। नेटवर्किङ व्यापारविरोधी अभियान पनि यहीँबाटै सुरु भएको थियो। तर पनि यिनको कामको मूल्याङ्कन भएन। खाद्य भण्डारमा लुकाएर राखिएको खाद्यान्न देखाउने काम पनि यहीँबाट भएको थियो।
धेरैलाई लाग्न सक्छ- यदि काम गरिरहेको भए किन यस्तै चर्चा भएन त त्यतिखेर पनि ? हो, पक्कै यसअघि कामको चर्चा/प्रशंसा नभएकै हो। किन ? किनकि त्यतिखेर मुलुकमा आपूर्ति मन्त्री थिए। व्यापारीहरु सोझै मन्त्रीका बेडरुममा पुग्थे। म्याद सकिएर समातिएको ९ हजार लिटर तेल पनि कम्पनीलाई फिर्ता गर्ने बाध्यता थियो यही सानो कोठालाई। सिमेन्ट कम्पनीले गरेको गडबडी देखाउँदै यहाँका एक अधिकृत झन्डै सरुवामा परिसकेका थिए। नेटवर्किङको विरोधमा उत्रने एक सहसचिव त सरुवामा परिहाले नै।
अहिले आपूर्ति मन्त्री छैनन्। त्यसैले कर्मचारीमा डर छैन। काला बजारियाको डर हैन, मन्त्रीको हप्की खानुपर्ने र सरुवामा पर्नुपर्ने डर। यही कारण दिनहुँ छापा मारेका छन्। निर्धक्क। सानो कोठाबाट मिडियासहित बजारमा अनिल कपुर शैलीमा उत्रेको यो समूहले के के र कति ठूला साहूजीको गोदाममा छापा मार्ला हेर्दै जाउँ।
तर एउटा कुराचाहिँ पक्का छ- अहिले त मुलुक आपूर्ति मन्त्रीबिहीन छ र कर्मचारीले राम्रोसँग काम गरिरहेका छन्, कतै चाँडै आपूर्ति नाम जोडिएका मन्त्री नियुक्त भइहाले भनेचाहिँ अनुगमनको गति पक्कै सुस्ताउने छ वा बन्दै हुनेछ।
प्रकाशित: २९ भाद्र २०६८ ०६:०२ बिहीबार