ब्लग

एनआरएनए विश्व सम्मेलनः जे देखियो त्यहि लेखियो

एक जना साथीले मलाई सोधे के छ एनआरएन? तिमी पनि उपेन्द्र महतो, जिवा लामीछाने, शेष घले जस्तै एनआरएन हो? उसको शब्दले मलाई खिसिच्ट्युरी गरेको जस्तो पनि लाग्यो र एनआरएनमा कस्ता मान्छे हुन्छन् भनेर बुझ्न खोजेको जस्तो पनि लाग्यो। तर उसलाई सहि जवाफ दिन कोसिश गरे तैपनि ठ्याक्कै मलाई उसको जवाफ दिन कठिन भयो। म एनआरएन चाही हो, त्यति मात्रै भने। एनआरएन के हो भन्ने आम सोचाईको प्रतिनिधित्व त्यहि एक प्रश्नबाट हुन्छ।

सर्वसाधारण व्यक्तिहरुमा आज पनि एनआरएन भनेको के हो भन्ने भ्रम छँदैछ। एनआरएन भन्ने वित्तिकै पैसा ओड्छन र पैसा नै ओछ्याउन भन्ने भ्रम छ। खासमा एनआरएन भनेको विदेशी भुमिमा संघर्षबाट हासिल गरेको सीप, दक्षता र आर्थिक उन्नतिलाई व्यवस्थापन गर्दै समृद्ध मातृभुमिका लागि संयोजन गर्ने दरिलो माध्यम हो। संसारका ठूला र हाल सम्पन्न भएका थुप्रै देशहरुको समृद्धिको शुरुवात प्रवासमा रहेर आर्जन गरेको सीप, क्षमता र आर्थिक लगानीलाई व्यवस्थापन गरेर शुरु भएको उदाहरण छन्। एनआरएनका संस्थापकहरुले नेपालको समृद्धिका लागि त्यहि गर्न खोजेका हुन्। समान्यतय एनआरएन प्रवास र मातृभुमिलाई जोड्ने अभियान हो। आम सोचाई र वास्तविक एनआरएनमा फरक छ। त्यहि फरक छुट्याउन नसक्दा आज एनआरएनप्रति आकर्षणको तुलनामा केहि वितृष्णा बढेर गएको हो।

देशभित्रका राजनीतिक दलहरु होस वा संघ संस्थामाथि विश्वासनीयताको खडेरी परीरहेको बेला यसपाली निर्वाचन गर्ने सन्दर्भमा जे देखियो अभियानको नेतृत्व चयनको बेला अलि लज्जित बनाएकै हो। हामीले एनआरएन विदेशमा बसेर समृद्धि कमाएकाहरुको संस्था हो भन्दै त्यो नेपाली संघ संस्थाहरुमा जस्तो बेथिति हुनु हुन्न चाही भन्छौ तर त्यसलाई पनि आफैँ जस्तो बनाउने कोशिष भने जारी राख्छौ। छोटकरीमा भन्दा यसपाली एनआरएनमा ठ्याक्कै त्यस्तै भएको हो।

एनआरएनलाई शुद्ध र बेथितिरहित बनाउने हो भने नेपाली राजनीतिक दलहरुले कथित ह्वीप जारी गर्ने, हस्तक्षेप गर्ने परम्परा अन्त्य गरौ। अन्यथा आर्सिवाद दिएर समृद्धिको कामना गर्नेहरुले कम्तीमा आफै जस्तो होस भन्ने कामना गर्न छोडौ। सकिन्छ विदेशमा बसेर आएकाहरुबाट केहि सिकौ। हामी एनआरएन भन्नेहरुले आफ्नो संस्था बलियो बनाउन अरुलाई गुहार्ने होईन, आफै गरौं। एनआरएन सुधार्ने हो भने धेरै गर्न पर्दैन, तपाईहरुले आफुले विदेशमा स्थापना गरेको कम्पनिहरुमा जस्तै अनुसाशन, प्रविधि र प्रतिवद्धता लागु गराउनुहोस। तपाईहरुको कम्पनि नेपालमा बसेर संसारको जुनसुकै कुनामा बसे पनि अनुगमन गर्ने काम गर्न मिल्ने अनि एनआरएनमा एउटा प्रतिनिधि कार्ड लिन चारघण्टा लाईन बस्नु पर्ने किन? यो नियति होईन, नियत खराब हो। अनि २१ र्औ शताब्दिमा अनलाईनबाट घरमा बसेर संसार हेर्ने प्रणालीको विकास भैरहँदा हामी भने कागजी मतदान गर्दै सूचना प्रविधिको डंका पिट्छौं। त्यो पनि एकले अर्कोको विश्वास गर्न नसकेर। यी झिना मसिना सुधार अति सजिलो छ तर तपाईहरुको नियत सफा हुनु जरुरी छ।

एनआरएनमा शक्ति सन्तुलन ?

कुनै पनि संस्थामा नेतृत्व चयन दुई किसिमले हुन्छ। एक आफ्ना नजिककलाई छान्छौं अर्को संस्था बुझेको र संस्थाको हितमा काम गर्नेलाई। यसपाली एनआरएनमा संस्था बुझेकोलाई पाखा लगाएर आफ्ना नजिककोलाई जिताउने ठूलै प्रयास भयो। तर संस्थाप्रतिको मायाका कारण नेतृत्व चयनमा प्रभाव पर्ने वर्गले चाहेजस्तो हुन पाएन। एनआरएनको नेतृत्व चयनमा विगत केहि बर्षदेखि संस्थापकहरु नै बलिया रहँदै आएका छन्। आज पनि कसैले स्वीकार गरे पनि नगरे पनि सत्य त्यहि हो। को के कति सक्रिय छन् भन्ने कुराहरु फरक होला। खासगरी उत्तराधिकारी छान्ने कुरामा विगत केहि निर्वाचनहरु हेर्ने हो भने उपेन्द्र महतो र जीवा लामिछानेले चाहेको बाहेक अरु आउन सकेका छैनन्।

उपेन्द्र महतोले छानेको उत्तराधिकारी देवमान हिराचन संस्था अनुकुल नभएको भन्ने परेपछि उनले दोश्रो पटक अध्यक्ष बन्न पाएनन्। तर उनको स्थानमा सशक्त रुपमा जीवा लामिछाने उदाए। जव लामिछाने उदाए उनको प्रभाव पनि एकछत्र रहदै आएको छ। लामिछाने अध्यक्ष रहँदा एक कार्यकाल कै लागि भन्ने उद्घोषका साथ आएका थिए र आफ्नो प्रतिवद्धता पुरा गरेर गए। एनआरएनमा लामिछानेको कार्यकाल संस्थाको मूल्य मान्यता र विधि विधानको संस्थागत गर्ने हिसाबले स्वर्णकाल मानिन्छ। त्यसैले पनि संस्थामा एक छत्र प्रभाव बन्दै गएपछि यसपालीको निर्वाचनमा कुल आचार्यलाई जिताउन भन्दा पनि पूर्वअध्यक्ष जीवा लामिछानेको प्रभाव कम पार्न तीन अध्यक्षहरु एकमत भए। आफुले स्थापना गरेको संस्थाको मूल्य मान्यतालाई जगेर्ना गर्ने बाटोमा आजसम्म लामिछाने एकछत्र सफल छन्।

एनआरएनको बढ्दो क्रेजाई थेग्न आफ्नै सक्रियतामा शेष घलेलाई स्थापित गरे। एनआरएन चिनाउने सवालमा घलेको कार्यकाल पनि महत्वपूर्ण उपलब्धी हासिल गरेकै हो तर दोश्रो कार्यकालमा आफ्नो संस्थागत हित भन्दा व्यक्तिगत घेरामा रमाउन थालेपछि आफैले स्थापित गरेका घलेको कदममा केहि ब्रेक लगाउन लामिछानेलाई निकै मिहेनेत गर्नु पर्‍यो। संस्थागत भन्दा पारिवारिक संरचनामा लैजाने घलेको प्रयास विरुद्ध भवन भट्टलाई अध्यक्ष बनाउने नेतृत्व पनि लामिछानेले गरेका हुन्। भट्टले दोश्रो कार्यकालका लागि कोशिष नगरेका होईनन् तर एकातिर कुमार पन्त र भट्टबीच भएको लिखित सहमति र अर्कोतिर आफ्नो कार्यकालमा काम गर्न नसकेको कुरालाई मनन गर्दै भट्ट चुनाव लडेनन।

पूर्व अध्यक्षहरु घले, हिराचन र भट्ट कुल आचार्य जिताउन लागे। त्यो पनि कुल आचार्यलाई राम्रो भन्न भन्दा पनि लामिछानेको एनआरएनमा बढ्दै गएको शक्ति कमजोर पार्न उनिहरुको एकता देखिन्थ्यो। तीन पूर्वअध्यक्षहरु एकातिर रहँदा पनि पन्त चुनाव जिताउने समूहलाई नेतृत्व गर्ने एकल योजनाकार लामिछाने सफल भएरै छाडे। लामिछानेसंग महतोको केहि नैतिक समर्थन त थियो होला तर त्यो बाहेक खासै भूमिका देखिएन्। बरु डा महतोले एनआरएनमा राजनीतीकरण भएको भन्दै आलोचना गर्न भ्याए।

 पूर्वअध्यक्ष शेष घलेको समूह यस पटक दुई मुद्दा लिएर मैदानमा उत्रिए। अघिल्लो पटक आफ्नो श्रीमतिलाई चुनाव हराएको रिस पोख्न र जानकी गुरुडलाई माहसचिवमा स्थापित गराउन भन्दै चुनावी अभियानमा उत्रिएका थिए। देख्दा आचार्य टीम तर घलेलाई कुल आचार्यलार्इृ जिताउन भन्दा पनि जानकी गुरुडलाई जिताएर एनआरएनका एक जना जानकार व्यक्ति हराएउने योजना अनुसार चुनावी मैदानमा प्रष्ट देखिन्थ्यो। घले समूह यसपाला एक तीरबाट दुई आक्रमण गर्ने लक्ष्यमा असफल भए। पहिलो लामिछानेको उम्मेदवार हराउने र अर्को आफ्नो एजेण्डामा सदैव तगारो बन्दै आएका एनआरएको एकमात्र जानकार डा हेमराज शर्मालाई कुनै पनि हालतमा आउन नदिने थियो। त्यसैले घले पक्ष निर्वाचन आधा सकिदासम्म डा हेमराज शर्मालाई हटाएर जानकी महासचिव बनाउन पाए सहमतिका नाममा जस्तो सुकै कुरा मान्न तयार भए।

चुनावको अघिल्लो दिन भएको विविध नाटकीय श्रृखला र सहमतिको प्रयास सिंगो रुपमा महासचिवमा शर्मालाई आउन नदिनेमा थियो। त्यसको लागि अघिल्लो बर्ष जसरी बद्री केसीलाई घलेले तार्गेट बनाएका थिए यसपाली डा शर्मा त्यहि तार्गेटमा परे। त्यसैले यसपालीको नतिजा संस्थाका लागि हितमा छ। घलेले आफ्नो एजेण्डामा नेपाली कांग्रेसलाई समेत प्रभावमा राख्न सफल भए। नेपाली कांग्रेसले गैरराजनीतिक चरित्रको संस्थालाई भातृसस्थाको व्यवहार गरे तर पनि त्यो चलेन। कुल आचार्य आफै अर्को पटक अध्यक्ष ग्यारेन्टी भए यसपटक उपाध्यक्षमा रहेर काम गर्न चाहान्थे तर उनी केहि व्यक्तिको स्वार्थ टकारावमा परे। कांग्रेसका केही नेताको अकर्मन्यताका कारण एनआरएनमा राजनीतिक चलखेलले सिधा प्रवेश पायो। तर पनि गैरआवासीय नेपाली संघलाई राम्रो बुझेका तथा संघको अभियानलाई दलीय भागबन्डा भन्दा बहिर राख्नुपर्छ भन्ने मान्यता राख्ने युवा नेता गगन थापा, सुरेन्द्र पाण्डे, डा. रामशरण महतलगायतले साथ दिएका थिए।

नेपाली कांग्रेसले संघको नेतृत्वको लागि उम्मेदवार चयन गर्न महान्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित ७ सदस्सीय कार्यदल पनि सक्रिय भयो। लामिछानेले संघको नेतृत्वमा दलीय उम्मेदवार बनाउन नहुने र संघको परम्परा र पूर्वसहमतिको आधारमा नेतृत्व चयन हुनुपर्नेमा जोड दिएपछि कांग्रेस लामिछानेसंग रुष्ट भएको थियो। तर कांग्रेसका नेताहरुले आफ्नो उम्मेदवार हारेको भन्दै त्यो अभियानमा सहभागी हुनेलाई कारबाही गर्न भन्दै नामावली संकलन गरे पनि संस्थाको पदाधिकारीमा जित्ने बहुमत सदस्यहरु कांग्रेस निकट रहेको भन्दै बोलाएरै बधाई दिए भ्याए।

खर्चिलो बन्दै नेतृत्व चयन प्रक्रिया

एनआरएनको चुनाव ठ्याक्कै नेपाली राजनीतिमा देखिने अनौतिक अर्थ लेनदेनसंग मिल्दो जुल्दो देखियो। टिकट काटेर लैजाने, होटलमा राख्ने र खल्तीमा पैसा राखिदिनु पर्ने अवस्थाहरु विकास हुँदै गएका छन्। नेतृत्वमा संस्था बुझेका भन्दा पनि जसले अर्थ व्यवस्थापन गर्न सक्दछ उसैले चुनाव जित्ने अवस्थाहरु बलियो बन्दै गएका छन्। एनआरएनमा अघिल्ला बर्षहरुमा झै यसपटक पनि चुनाव उठ्ने भन्दै प्रचार गर्ने र अन्तिम समयमा आएर प्रतिष्पर्धीसंग पैसा लिएर समर्थनमा छाड्ने प्रवृति झन् बढी देखियो। पदाधिकारीको महत्वपूर्ण पदमा चुनाव लड्नेले मेरो यति भोट छ भन्दै संगै चुनाव लडेकाहरुसंग पैसा लिएर उमेद्वारी छाडेको देखियो। पदाधिकारीदेखि क्षेत्रिय पदहरुमा खुल्लम खुल्ला बार्गेनिड गरेको दृष्यले लज्जित बनायो। केहि चुनावी प्रणलीलाई पनि सुधार नगर्ने हो भने यो घट्ने हाईन बढ्ने देखिन्छ।

एलिट क्लबको कुरा

यो संस्था वास्तवमै धनीहरुको संस्था हो। यो तितो यथार्थलाई स्वीकार गरौं। पैसा छैन भने विश्वको ८१ देशमा छरिएर रहेको एनसिसिमा तपाईको पहूँच कसरी पुग्छ ? विश्वको एक कुनाबाट अर्को कुनामा कसरी यात्रा गर्न सक्नुहुन्छ ? फरक यति हो की यो संस्थामा पैसा भएका, सीप भएका, प्रविधिमा पोख्त भएका सबैको फरक भूमिका छ। सीप, क्षमता र पैसा भएकाहरुले मुलुकको समृद्धिमा सबैको उत्तिकै फरक भूमिका छ र त्यसलाई व्यवस्थापन गर्न एनआरएन एक अभियान हो। यति चाँही भन्न सकिन्छ की सीप भएका र प्रविधिमा पोख्त भएकाहरुको तुलनामा पैसा बढी भएकाहरु नेतृत्वमा हावी भएकै हुन्। संसारमा पैसा भएकाहरु भनौ वा पैसा कमाउन जान्नेहरु राजनीतिमा वा समाजसेवामा हावी हुन्छ नै। यी तिनै कुराको समुचित व्यवस्थापन नै समृद्ध नेपालको लागि एनआरएनए हो। एनआरएनले पछिल्लो समय सीप र पुँजीको व्यवस्थापन गर्न बौद्धिक सम्मेलनको आयोजना गर्यो र सीप र पुँजीको व्यवस्थापन गर्ने चरणमा प्रवेश गरेको छ।

 

 

 

 

प्रकाशित: १७ कार्तिक २०७६ ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App