ब्लग

'ठालू'को यात्रा, बच्चालाई मर्का

भिभिआइपी सवारीमा बन्ने जामको ठूलै आलोचना हुने गर्छ। नहोस पनि किन अर्काको काममा आफ्नो काम थाँती राख्नु पर्छ। यो ‘प्रबृति’ जति आलोचित भए पनि यसलाई पछ्याउनेको भने कमी छैन। पछिल्लो समय आफ्नो गच्छे अनुसार ‘भिभिआइपी’ बन्ने ‘प्रबृति’ विकास हुँदै आएको छ। यो ‘भिभिआइपी’ बनेर आफ्नो काम गर्न अरुको मतलव नगर्ने प्रबृति साना ‘भिभिआइपी’ले पनि पछ्याएको देखिन्छ। त्यसमा पनि कारमा हिँड्ने र बाइकमा हिँड्ने ‘भिभिआइपी’को आफ्नै ठाँट छ।

कुरा भर्खरैको हो। निरन्तरको झरी पछि अनामनगरको साँघुरो गल्ली हिलोले भरिएको थियो। जताहेर्‍यो त्यतै हिलो। जोगिएर हिँड्न पर्ने। समय त्यस्तै बिहानको ९ बजेको हुँदो हो। विद्यार्थीहरु आफ्नै तालमा स्कुल गइरहेका थिए। अफिस टाइम भएकाले पैदलयात्रीको जमात पनि राम्रै थियो। त्यतिकैमा एउटा गाडी आयो। सायद, हाइवेमा जाम हुने भएकाले होला त्यो गाडिले ‘सटकर्ट’ लिएको थियो।

साह्यै हतारोमा रहेको त्यो गाडी ३० देखि ३५ भन्दा कम गतिमा पक्कै थिएन। हतारो पनि यस्तो थियो की त्यो गाडीले अगाडि हिँडिरहेका विद्यार्थीहरुको मतलब गरेन या गर्न चाहेन। पूर्वबाट हुइँकेर आयो, छ्याप्प हिलो उठायो, पश्चिमतर्फ हुइँकेर गयो। विचरा स्कुल हिँडेका तीन जना विद्यार्थी हिलाम्य बने। अनि अलमल्ल परे। त्यति गरेर ‘भिभिआइपी’ले आफ्नो ठाँट प्रस्तुत गरेर छाड्यो। यो ‘भिभिआइपी’ बनेर कारमा हिड्नेले सायद थाहा पाएन या पाउन आवश्यक ठानेन।  

त्यस्तै प्रबृति देखिन्छ मोटरसाइकलवाला ‘भिभीआइपी’को पनि। यी भिभिआइपीलाई त्यति हतार हुन्छ जति एम्बुलेन्सलाई हुँदैन। दमकलको त कुरै नगरम। देब्रे, दाहिने जुन सुकै साइड होस, थोरै ‘स्पेस’ देखे पर्याप्तै हुन्छ। यदि स्पेस नदेखे ‘फुटपाथ’ त छँदै छ।

बाइकवाला ‘भिभीआइपी’को हतार जाममा अझ स्पस्ट देख्न सकिन्छ। सबैभन्दा पछि आएका ‘भीभीआइपी जामको सबैभन्दा अगाडि पुगेर ‘एक्सिलेटर’ बटारेर आफू ‘भीभीआइपी’ भएको प्रमाण दिन्छन्। त्यस्तै एकपछि अर्को ‘भीभीआइपी’ जाम भन्दा अगाडि लागेपछि एकछिनमा जाम खुल्छ। यति मात्र होइन, यी ‘भिभीआइपी’लाई जेब्रा क्रसिङ्को अर्थ अर्कै छ। अरु सवारीले पैदलयात्रीलाई बाटो काट्ने मौका दिन्छन् तर यी भीभीआइपीलाई भने पैदल यात्रीले मौका दिनु पर्छ। यिनिहरुको जेब्राक्रसिङमा पुग्ने गति देखेर पैदल यात्रीले यिनीहरु भिभिआइपी भएको निर्धारण गर्छन्। अझ ‘ड्युक’ ‘बुलेट’लगायत ‘स्पोर्टस् बाइक’को आवाज सुने पैदलयात्रीले पहिल्यै यिनिहरुलाई जेब्राक्रसिङ छोडेर आफू पारी जाने प्रतिक्षा गर्छन्।

यिनिहरु प्रतिनिधि पात्र मात्र भए। ‘भिभिआइपी’ प्रबृति धेरै तिर देखिन थालेको छ। ‘जसरी हुन्छ आफ्नो काम गर्ने, त्यसमा अरुलाई जेसुकै होस मतलब नगर्ने।’ पसलमा सामान झार्न बाटो जाम गराउनेदेखि फुटपाथमा ग्यारेज खोल्नेसम्मको आफ्नै ठाँट छ। जे होस अरु जे भए पनि देशमा ‘भिभिआइपी’को विकास भने राम्रो भइरहेको छ।

 

 

प्रकाशित: २९ असार २०७६ १०:२४ आइतबार

सवारी_साधन यात्रा सास्ती यात्रु