ब्लग

खुट्टा दोब्रिएकी छोरी

त्यतिखेर काठमाडौं मेडिकल कलेज जोरपाटीमा थियो।

प्रसुति वार्डमा एउटी आमाले चर्को प्रसव वेदनापछि बच्चा जन्माइन्। उनको छटपटी रोकियो। नवजात शिशुको चित्कार गुन्जियो। एकछिनमा आमाका आँखा शिशुमा पुगे र तप्पतप्प आँसु खस्न थाले। खुसीका आँसु थिएनन् ती।
कुनाबाट हेरिरहेकी एउटी दुब्ली नर्स छक्क परिन्- बच्चा जन्मिसकेपछि आमा रोएको पहिलोपल्ट देख्दैथिन्।
असह्य भएर सोधिन्, 'किन रुनुभएको, दिदी?'
'हेर्नू न बैनी, यसका खुट्टा!' आमा अझै रुँदैथिन्। नवजात शिशुको एउटा खुट्टा दोब्रिएको रहेछ। मेडिकल साइन्सको भाषामा क्लबफिट।
'मैले यल्लाई के गरी हुर्काउनु? यसले पछि गएर के गर्ली?' आमा आँसुले भरिएका आँखाले दुब्ली नर्सलाई नै हेरिरहेकी थिइन्।
नर्सले आमाको हात समाइन् र भनिन्, 'तपाईंकी छोरी भविष्यमा मजत्ति भए हुँदैन?'
'कसरी हुन्छे? जन्मँदै अपांग छे, तपाईं सद्दे मान्छेजस्तो कसरी हुन्छे?'
नर्सले गाउनभित्र लगाएको प्यान्ट अलिकति माथि सारिन् र अप्रेसन गरेका खुट्टा देखाइन्। 'दिदी, मेरा त जन्मँदा दुइटै खुट्टा दोब्रिएका थिए, त्यहीमाथि मेरी आमासँग मलाई हुर्काउने र उपचार गर्ने आर्थिक क्षमता पनि थिएन। अहिले हेर्नुस्, नर्स भएर तपाईंको अगाडि उभिएकी छु, ममा केही खराबी देख्नुभएको छ?'
आमाको सुँक्कसुँक्क नर्सले प्यान्ट माथि सारेर अप्रेसन गरेका खुट्टा देखाउँदै बन्द भइसकेको थियो। दोब्रिएका खुट्टा अप्रेसन गरेर सिधा पारेको प्रस्टै देखिन्थ्यो।
****

माघले यसै पनि कँपकँपी छुटाउँछ। त्यहीमाथि इलामको पहाडी गाउँ- जितपुर। जाडोले आमाको प्रसव वेदना झनै थपिएको छ। केहीबेरको छटपटीपछि बल्ल नानी जन्मिई, शान्त भइन् आमा। एकैछिनमा आफ्नो हृदयको टुक्रालाई हेरिन् र तर्सिन्। नानीका दुवै खुट्टा दोब्रिएका छन्।
गरिबी र अभावले आक्रान्त घरमा दुवै खुट्टा दोब्रिएर जन्मेकी छोरीले के खुसी ल्याउन सक्थिन्?
सहरमै त क्लबफिटको उपचार महंगो र गाह्रो हुन्छ, जितपुर गाउँमा यी खुट्टा फेरि सोझिएलान् भनेर कसले सोच्न सक्ला!
खुट्टा दोब्रिएकी छोरी चार वर्षकी भइन्। हिँड्नसक्ने कुरै भएन। डाँडामा रहेको घरबाट बाँसको खपेटामा चिप्लेटी खेल्दै स्कुल जान थालिन्।
रमा कार्कीको अस्तित्व संसारले स्वीकार गरिसकेको थियो।
****

जोरपाटी एसओएसकी काउन्सिलर नर्स स्मार्ट छिन्। बिएन सिध्याएर मनोविज्ञानमा स्नातकोत्तर गर्दैछिन्। शारीरिक अशक्त बालबालिकाको हेरचाह उनको जिम्मेवारी हो। शारीरिक अशक्त ५० जना बालबालिकाले उनलाई सधैं व्यस्त बनाउँछन्। सहर आउने खासै फुर्सद पनि हुन्न, उति काम पनि हुन्न। जोरपाटी एसओएस नै उनको घर भइसकेको छ। खाने, बस्ने, सुत्ने, रमाउने, काम गर्ने, गीत सुन्ने, गीत गाउने यहीँ।
****

क्लबफिट भएर इलाम जितपुरमा जन्मेकी रमा जोरपाटी एसओएस आइपुगिन्, बुबाले चिनेका एक व्यक्तिको सहृदयताले। यहीँकी छोरी भइन्।
उपचार प्रक्रिया सुरु भयो। दुई वर्ष प्लास्टरमै बस्नुपर्‍यो। अप्रेसनपछि बल्ल ठिक भयो। दस क्लास पढ्दासम्म विशेष खालका जुत्ता लगाउनुपर्थ्यो।
सायद गरिबी र शारीरिक कमजोरीले उनलाई कुसाग्र बनाएको थियो। जोरपाटी एसओएसबाट प्रथम श्रेणीमा एसएलसी गर्ने पहिलो सन्तान भइन्। भानुभक्त मेमोरियल हाइस्कुलबाट २०५० सालमा एसएलसी गर्दा उनी आम किशोरीझैं स्वस्थ र सामान्य भइसकेकी थिइन्। मनमा सपना, आँखामा जिज्ञासा र व्यवहारमा अल्हडता भएकी काठमान्डुकी किशोरी।
****

मलाई काउन्सिलर नर्सको इन्टरभ्यु गर्नु छ। चुनौतीपूर्ण छ उनको काम- शारीरिक अशक्त बालबालिकालाई समाजमा पुनर्स्थापित हुनसक्ने बनाउनु! एकैप्रकारका असामान्य बालबालिकासँग दिनभरि, वर्षैभरि बस्नु गाह्रो काम होइन?
'चार वर्ष भयो, मैले यहाँ काम गरेको,' इन्टरभ्यु सुरु भयो।
उनका कोटहरू सार्न थालेँ :
जीवन बाँच्ने मनोविज्ञान र प्रेरणाले हो!
संसारका सिपहरू जानेको आमा हुनुपर्छ!
जीवनका रंगहरू बु‰नुपर्छ!
'म यी बालबालिकालाई मानसिक रूपमा स्वस्थ बनाउन चाहन्छु, त्यसपछि उनीहरूको शारीरिक अस्वस्थता गौण हुन्छ, बिस्तारै आफ्नो अवस्था स्वीकार गर्न थाल्छन्,' उनी गम्भीर भएर इन्टरभ्यु दिइरहेकी छन्।
****

रमाका सपना, जिज्ञासा र अल्हडतासँग उनकी आमा डिल गर्थिन्। एसओएसकी आमा। रमालाई कहिल्यै महसुुस भएन, यी उनकी आफ्नी आमा होइनन्!
आमाले उनी डाक्टर बनून् भन्ने चाहेकी थिइन्। रमालाई नर्स बन्ने इच्छा थियो। आफ्नो अशक्त शरीर सम्झेर रमालाई नर्सिङ पढ्नुपर्छ भन्ने लागेको थियो।
एसओएस आमाले भनेकी थिइन्, 'यस्तो पेसा रोज, जसले गर्दा तिमीलाई मानिसले सधैं खोजिराखून्। सधैं मानिसलाई सेवा गर्न पाइरहू!'
जितपुरकी आमा त मधुरो सम्झनामा पनि आउँदिनथिन्! रमालाई वास्ता पनि थिएन। आमाले पनि सायद माया मारिसकेकी थिइन्। काठमान्डु लैजाने भनेर आफूबाट छुटेकी छोरी अहिलेसम्म बाँचेकै होली भन्ने पनि के भर!
एकदिन जोरपाटी एसओएसमा एउटी अधबैंसे महिला आइन्। रूपरंगले नै बताउँथ्यो, उनी कुनै सुदूर पहाडबाट आजै काठमान्डु उत्रेकी हुन्।
'रमा, यी तिम्री आमा हुन्,' एसओएसकी आमाले भनिन्।
'नाइँ, उहाँ मेरो आमा होइन, तपाईं नै मेरो आमा हो,' रमा चिच्याइन्। एसओएस आमाको फरियाभित्र आफूलाई लुकाइन्।
एसओएस आमाले भनिन्, 'हेर छोरी, मैले त तिमीजस्ता कति रमा हुकाइसकेकी छु कति। तिमीलाई जन्म दिने आमा त उहाँ नै हो। उहाँ नै तिम्रो आमा हो, छोरी!'
आमा रोइन्। आमाहरू रोए।
आमाले ठानेकी रैछन्- बुबाचाहिँले सहरमा कतै बिचल्ली पारेर छोडिदिए रमालाई।
त्यो रात आमा घन्टौं रोइरहिन्।

****
'बालगृहहरूमा असल आमा साह्रै महŒवपूर्ण रहेछ। विवेक भएको आमा। आमाजस्तै आमा। मनोविज्ञान बुझेर व्यवहार गर्ने आमा,' काउन्सिलर नर्सको इन्टरभ्यु जारी थियो।
बालगृहका आमाहरूलाई बोल्ड बनाउनु उनको काम हो। आमा र बालबालिकाबीच मध्यस्थता गर्नुपर्छ। आमाहरूलाई शिक्षाप्रद काम गर्न सिकाउनुपर्छ।
जोरपाटी एसओएस त उनको घरै भयो! 'घर' भन्ने संस्थासँग पनि जोडिएकी छन्। मानसिक अशक्त बालबालिकाका लागि काम गर्ने संस्थामा पनि सघाउँछिन्। 'बालबालिकामा हुने मानसिक अशक्ततालाई अटिजम भनिन्छ, यस्ता नानीहरूका लागि काम गर्दा मलाई आनन्द लाग्छ,' काउन्सिलर नर्सले भनिन्।
'बालबालिकाको मनोविज्ञान बु‰नुपर्छ, मायालु स्पर्शले उनीहरूको पीडा आधा कम हुन्छ,' उनी बोल्दै गइन्, 'उनीहरूलाई असल र स्वस्थ नागरिक बनाउन पारिवारिक वातावरण दिनुपर्छ।'

****
रमाले ललितपुर नर्सिङ कलेजबाट आइएन गरिन् र १९ वर्षमा काठमाडौं मेडिकल कलेजमा नर्सिङ सुरु गरिन्। दुब्लीपातली तर टाठी नर्सको इन्टरभ्यु लियो अस्पतालले, जागिरअघि।
'कसरी गर्न सक्छौ? दुब्लीपातली छौ, क्लबफिटको अप्रेसन पनि गरेको रहेछ!'
उनले भनिन्, 'मेरो दुब्लोपना र अपांगताले तपाईंहरूलाई कुनै बेफाइदा गर्दैन, बरु मेरो सक्षमताले संस्थालाई धेरै फाइदा पुर्‍याउँछ।'
जागिर पाइन् र दुई वर्ष काम गरिन्।
त्यसपछि नेपाल मेडिकल कलेजमा काम गरिन् तीन वर्ष। डिकोन भन्ने संस्थामा काम गरिन्- निर्माण क्षेत्रमा काम गर्ने महिला र महिला बेचबिखनका विषयमा। नेतृत्व कसरी विकास गर्ने भन्ने तालिममा सहभागी हुन डिकोनका तर्फबाट फिलिपिन्स गइन्।
भिक्षुहरूको संस्थामा काम गरिन्। गुम्बामा स्कुल नर्स बनेर बसिन्। साथीहरूमाझ उनलाई वर्कोहलिक भनेर चिनिन्थ्यो।
जीवनका आयाम बुझ्दै गइन्, रंगहरूमा भिज्दै गइन्, तरुणी बन्दै गइन्। एसओएस छाडेर एक्लै भाडामा बस्न थालिन्, भाटभटेनीमा।
एसओएसमै छँदा संगीतकार राम थापाले उनलाई संगीत सिकाए। 'लाली रंगले' भन्ने लोकगीत एल्बममा गीत गाइन्। 'गोर्खाली' ब्यान्डमा काम गरिन्।
सिनेमा पनि खेल्न भ्याइन्- 'अपराध'मा कृष्टि मैनालीको साथी भएर। राजेश हमालसँग त्यसैबेला चिनजान भयो। त्यसैबेलादेखि हो, राजेश हमाल शारीरिक रूपमा अशक्त बालबालिकासँग नजिक भएका।
एचबिसी रेडियोमा काम गरिन्। 'सीता' टेलिसिरियलमा अभिनय गरिन्।
बौद्धको स्तुपा कलेजबाट हस्पिटल नर्सिङमा बिएन गरिन्। रिह्याबमा काम गरिन्। अहिले मनोविज्ञानमा स्नातकोत्तर गर्दैछिन्- परीक्षा चलिरहेको छ। शारीरिक अशक्त बालबालिकाका लागि पैरवी गर्छिन्।
भगवान्, कतिथोक गर्न सक्छिन् यी छोरी?
अस्ति भर्खरै न्ह्यु वज्राचार्यको संगीतमा शारीरिक अशक्त बालबालिकाका लागि आयोजित 'अर्केस्ट्रा' सांगीतिक कार्यक्रममा सहभागी भइन्।
'संगीत थेरापी हो, मेडिटेसन हो,' उनले न्ह्युको कार्यक्रममा सहभागी हुनुको कारण खुलाइन्, 'यसले मन शान्त बनाउँछ।'
लता मंगेशकर मन पराउने रमालाई अरुणा लामाको यो गीत खुब मन पर्छ- यो मन त तलाउ हो, ढुंगा नफ्याँक। आनी छोइङ डोल्मा र न्ह्यु त मन पर्ने नै भए। चर्को होइन, मधुर संगीतकी पारखी हुन् उनी।
नाटक हेर्न गुरुकुल गइरहने रमा निशा पोखरेलकी फ्यान हुन्। हर्मन माइनर एकेडेमिक अवार्डका लागि मनोनीत भइसकेकी छन्।
सेल पकाउनदेखि घरका सबै काम गर्न सिकेकी छन्। आफूलाई आर्टिस्टिक भन्न रुचाउने रमा गर्व गर्छिन्, 'म एकजना बच्चादेखि वृद्धसम्म पनि कम्युनिकेट गर्न सक्छु।'
साँच्चै, एउटी पूर्ण युवती बनेकी छन्!

****
'नर्सिङमा मात्र केन्द्रित भएको भए मैले जीवनका रंग कहाँ बुझ्थेँ? एकांगी भएर बाँच्थेँ, होइन?' इन्टरभ्यु चल्दै थियो।
'म केही महिना झापा पनि गएको थिएँ, नर्सकै रूपमा काम गर्न, गाउँगाउँमा स्वास्थ्यकर्मीको खाँचो बुझेँ त्यसबेला,' म उनका कुरा सार्दैथेँ, 'नक्कली डाक्टरहरूले कसरी मानिस ठगिरहेका छन् भन्ने थाहा पाएँ।'
'एसएलसीपछि मैले एसओएस छाडेको १० वर्षभन्दा बढी भइसकेको थियो। एसओएसले रमाले काम गरिदेओस् भन्ने चाहिरहेको थियो। तर, अरूले भन्दा पनि आमाले भनेरै मैले एसओएसमा काम थालेकी हुँ।'
२७ वर्षअघि जोरपाटी एसओएसको चौथो सन्तानका रूपमा यहाँ आएकी खुट्टा दोब्रिएकी छोरी अहिले यहीँ काउन्सिलर नर्स बनेर काम गरिरहेकी छन्।
उनलाई जीवनका थुप्रै रंगहरू चिनाउने एसओएसकी आमाको चोला उठिसक्यो। आमाबुबा, दाजुभाइ, बैनी सम्पर्कमा त छन्। तर, उनको अपनत्व एसओएसकै बालबालिकासँग बढी छ, परिवार र आफन्तभन्दा। आखिर यही एसओएसले हो, उनलाई जीवन दिएको!
'आफू जन्मेको गाउँमा पनि के गर्न सकिन्छ भनेर म सोचिरहन्छु।'

****
इन्टरभ्यु सक्किन लागेको थियो।
मैले सोधेँ, 'हिरोहिरोइन मन पर्दैनन्?'
'हिरोइनका रूपमा होइन, साधारण मानिसका रूपमा करिश्मा मानन्धरको संघर्ष मन पर्छ। संघर्ष गर्दै गए ढिलोचाँडो एउटा गन्तव्यमा अवश्य पुगिन्छ भन्ने पाठ दिएकी छन् नि उनले, होइन?'
एसओएस जोरपाटीमा प्रत्येक बिहान जब उनी शारीरिक अशक्त बालबालिकालाई फिजियोथेरापी गराउन फिजियोरुम जान्छिन्, आफ्ना दोब्रिएका खुट्टा याद आउँछ, चिप्लेटी खेल्दै बाँसको खपेटामा बसेर स्कुल झरेको याद आउँछ, संघर्ष याद आउँछ, एसओएस र जितपुरका आमा एकैचोटि याद आउँछन्। शारीरिक अशक्त बालबालिकासँग झनै प्रेम जागेर आउँछ।
एसओएसका संस्थापक हर्मन माइनर याद आउँछन् जसले भनेका छन्, 'इफ यु क्यान रिड एन्ड राइट, यु क्यान स्पिक द ल्याङ्वेज अफ लाइफ एन्ड नक द डोर अफ अपरच्युनिटी।'
अहिले रमा कार्की बुट्टा कुँदेको रातो सर्ट, कटन प्यान्ट र स्टाइलिस जुत्ता लगाएर शरीर लच्काउँदै तपाईंको अघिल्तिरबाट हिँडिन् भने जन्मिँदा उनका दुवै खुट्टा दोब्रेका थिए भन्ने अनुमान गर्न सक्नुहुन्छ?

प्रकाशित: २ आश्विन २०६७ ०९:४२ शनिबार