ब्लग

पोखरा एक्सप्रेस

‘पोखरा आइपुगेको हो?' मैले आँखा मिच्दै सोधेँ। माइक्रोबसले घ्याच्च ब्रेक लगाएको थियो।
उनीहरू हलल्ल हाँसे। म अर्धनिद्रामै अकमकिएँ।
‘बल्ल जुँगेखोला आइपुग्यो, कुम्भकर्णजी,' टाँस्सिएरै बसेको साथीले फरमायो। ‘जुँगेखोला?' म फेरि अकमकिएँ। निद्रा पुरै खुलिसकेको थियो तर मलाई काठमाडौं-पोखरा रुटमा यस्तो नाउँ भएको कुनै ठाउँ याद थिएन।
‘यल्ले जुँगेखोला भनेर बुझ्दैन क्या,' अर्को साथी मतिर फर्कंदै बोल्यो, ‘ओए, हामी बल्ल नौबिसे कट्यौं, नैकापमा डेढ घन्टाजति जाममा परियो।'
‘ओहो... बल्ल नौबिसे,' म फुसफुसाएँ। घडी हेरेँ, एघार बज्दै थियो।


माइक्रोबस तातेको छ। हुप्प गर्मी छ। घामपट्टि परेकाले मेरो जिउ पनि मज्जाले तात्तिएछ। काठमाडौंबाट हिँडेको तीन घन्टा भैसकेछ। बेलुका नभई पोखरा नपुगिने भयो!
म्युजिक प्लेयरमा नेपाली गीत बजिरहेको छ।
मबिना कसैकसैलाई
मुस्किल छ पोखरामा।


म छु आज धेरै टाढा
मेरो दिल छ पोखरामा।
गीत सुनेर नाक खुम्च्याएको अघिल्लो सिटको भाइले कानमा आइपोडको तार घुसार्‍यो र टाउको हल्लाउन थाल्यो। सायद कुनै अंग्रेजी नम्बर सुनिरहेको छ।


म आँखा बन्द गरेर फेरि निदाउने प्रयास गर्न थालेँ, सहयात्रीहरूको कल्याङमल्याङ सुन्दै।
‘जुँगेखोला भन्ने नाम कसरी राखेको होला है?' सँगैको साथी बोल्यो।
‘पक्कै पनि खोलाले जुँगा पालेको थियो होला, जयनन्द चन्दको जस्तै,' अर्को साथी खित्कितायो।
मैले हाँसो थाम्न सकिनँ। जयनन्द चन्दले खेलेका पुराना नेपाली फिल्महरू हेरेको थिएँ, जहाँ उनी बाक्लो जुँगामा ताउ लाउँदै मोटो स्वरमा गाउँलेहरूलाई हपारिरहेका हुन्थे।


‘को जयनन्द चन्द?' साथीले चिनेको रहेनछ।
‘त्यत्ति पनि चिन्दैनस्? नेपाली फिल्मको पुरानो भिलेन क्या!'
‘जुँगेखोलाले जुँगाचाहिँ कसरी मिलाउँथ्यो होला है! सेभ कसरी गर्थ्यो होला!'
दुवैजना ताली पिट्दै मरिमरि हाँस्न थाले।
...

‘ओए, मच्छेडीखोला आयो है!' अलिअलि झकाउँदै थिएँ, साथीले कोट्यायो। बाटोमा पर्ने कुनै खोला होला!
मेरा उट्पट्याङ साथीहरूलाई व्याख्या गर्न दिने हो भने कुनै जमानामा मच्छेडीखोलामा लामखुट्टेको बाक्लो बस्ती हुनुपर्छ। काठमाडौंका सबै लामखुट्टे यहीँबाट बसाइँ सरेका हुन् पनि भन्दिन सक्छन्।


माइक्रोबसमा निदाउनै के सकिन्थ्यो! त्यहीमाथि बाटोको एउटै खन्ड सद्दे छैन। तीस टनसम्म भारी बोक्ने टिपरले तप्तप् पानी चुहाउँदै, चिसो बालुवा झार्दै पृथ्वी राजमार्ग सुर्खेतबाट जुम्ला जाने बाटोजस्तै खत्तम पारिसकेका छन्। मलेखुबाट काठमाडौं आउने लेन त जुम्ला राजमार्गभन्दा गएगुज्रेको छ, जताततै खाल्डैखाल्डा। यिनै खाल्डामा कति मोटरसाइकल दुर्घटना परिसके। आधाजस्तो ठाउँमा पिच पनि देखिँदैन। महादेवबेसीपारि एक ठाउँ त राजमार्गमै खेत रोप्दा पनि हुनेजस्तो हिलो छ।


‘हेर् त यता, यही हो फिरफिरे,' साथीले कुहिनाले ठेल्दै बाहिर देखायो। बैरेनी आइपुगेछ।
‘के फिरफिरे?' मैले बुझिनँ।
‘बालुवा चाल्ने फिरफिरे क्या! डाँडा काटेर, भित्ता खारेर, खोला सुकाएर निकालेको बालुवा यही फिरफिरेले चाल्छ र काठमाडौं जान्छ।'
‘अर्थात् यिनै डाँडाहरू मासेर काठमाडौंमा घरहरू बनिरहेका छन्,' अर्को साथी बोल्यो।


‘बिचरा फिरफिरे!' साथी चुक्चुकायो, ‘हामी नेपालीजस्तै रहेछ।'
‘हा... हा... हा... कसरी?'
‘हामी नेपालीजस्तै निर्जीव र भावहीन छैन त? हेर् न! फिरफिरे प्रयोग गरेर बालुवा व्यापारीले टन्न पैसा कमाएका छन्, हामी नेपालीको टाउकामा टेकेर भएजति सबै नेताहरू प्रधानमन्त्री बन्ने ख्वाब पालिरहेछन्।'


‘यसपालिको चुनावले पनि प्रधानमन्त्री नछान्ने भयो।'
‘किन चाहियो त प्रधानमन्त्री? देश यसै पनि चलिरहेकै छ!'
‘यही हो चलेको? तिमीले देशको ढुकढुकी छामेका छौ? नेताहरूले छामेका छन्? के थाहा, चलिरहेको पनि छ कि छैन!'


‘मरिसक्यो त?'
‘खै यार, मृत्युशैयामा होला।'
‘राजनीति यस्तो भएपछि मान्छे किन नजाउन् विदेश! एकबारको जुनी हो यार, सबैलाई सुखसँग बाँच्ने अधिकार छ। यी नेताहरूको फुटबल बनेर किन बस्नु यो देशमा?'
‘साला, भएजति सबै नेतालाई एक/एक दिन प्रधानमन्त्री बनाइदिनुपर्ने!' साथीहरूको गफ सुनेर आफूलाई थाम्न नसकेको अर्को यात्री रन्कियो।


‘त्यस्तो होइन, सबैलाई यही त्रिशुलीमा एक/एक गरेर... ,' अर्को यात्री राजमार्ग किनारमा बगिरहेको नदीतिर औंला तेर्स्याउँदै कड्कियो।
माइक्रोबसको माहौल अचानक गम्भीर भयो।
सँगैको सिटकी स्पेनी युवतीलाई गफ दिइरहेका बुढा चुप लागे। ड्राइभरले गियर चेन्ज गर्‍यो। ऊसँगै टाँस्सिएर बसेकी पोटिला र राता गाला भएकी गाउँलेजस्तो देखिने युवती सम्हालिई। कालो हेडब्यान्ड लगाएको किशोर खलासीले झ्यालबाट पिच्च थुक्यो।


कलंकीबाट माइक्रोबस चढेदेखि लगातारजसो फोनमा कुरा गरिरहेका अधवैंसे झस्किए। फोनमा उनले गफ दिएको सुन्दा भर्खरै कांग्रेसको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चुनिएका हुन् भन्ने बुझिन्थ्यो।
‘ल है, चियानास्ता गरौं,' मलेखुको एउटा होटलअघिल्तिर ड्राइभरले गाडी साइड लगाउँदै गर्दा खलासी चिच्यायो र स्वाइँअ ढोका खोल्यो।
...

‘कसरी हुन्छ र योपल्ट पनि? एमाले र माओवादीले देश डुबाए,' कृष्णभिर कट्दै गर्दा महाधिवेशन प्रतिनिधि फोनमा बोल्दै थिए।
उताबाट बोलेको सुनिएन।


‘कांग्रेसलाई दिनुपर्ने हो तर कसले मान्छ र? एमाले सहमतिमा आउने होइन, झलनाथजीलाई आफैं बन्नु छ। प्रचण्ड कमरेड त प्रधानमन्त्री पाइएन भने सासै जालाजस्तो गर्दैछन्।'
उताबाट के भने कुन्नि, महाधिवेशन प्रतिनिधिले जवाफ फर्काए, ‘सिद्धान्तको राजनीति गर्नुपर्ने हो तर पदलोलुपताले देश सकिने भयो। एमाले-माओवादीलाई प्रधानमन्त्री नभई नहुने! यो देशमा कांग्रेसबाहेक कसैले केही गर्न सक्दैन, बुझ्नुभयो?'


मेरो साथी प्याच्च बोल्यो, ‘ओ सर, तपाईंको कांग्रेसले पनि छोडिदिए हुन्छ नि, रामचन्द्र बाजे पनि अहिले हुन पाइएन भने जीवनभरि प्रधानमन्त्री हुनै पाइँदैनजस्तो गरेर किन बसेका?'
महाधिवेशन प्रतिनिधिले रेस्पोन्स गरेनन्। फोनमै व्यस्त थिए, ‘फर्केपछि कुरा गरौंला, खै त्यो फन्ड पनि आएन, किशोरजीको प्रपोजलमा दम भएजस्तो लागेन।'
उताबाट जवाफ आएपछि उनले कुरा टुंग्याए, ‘हेरौं। काठमाडौं आएपछि मिलाउँला नि। ल अहिले राखौं है। ओके... ल... ल... बाइ।'
...

‘दिदी, तपाईंलाई सजिलै छ नि?' ड्राइभरसँग टाँस्सिएकी युवतीले पछाडि सिटमा बसेकी आफ्नी साथीको खबर लिन खोजी। उसका गाला कलंकीमा माइक्रोबस चढेभन्दा रात्तिएका थिए।
‘ठिकै छ,' फुस्रो कपाल समेट्दै साथीले भनी। ऊ पछाडि अडेस लाग्ने ठाउँ नभएको बीचको सिटमा अप्ठ्यारोसँग बसेकी थिई। जिउ पुष्ट थियो तर अनुहारमा कुनै रंग थिएन। मैलोमैलो कुर्ता लगाएकी थिई। बेलाबेला छेउको यात्रीको अनुहार हेर्थी तर ऊ झकाएको थियो। व्यस्त मान्छेजस्तो फोन हरदम हातैमा राख्थी। कुनै सोल्टासँग फोनमा कुरा गर्दा अनुहार अलि चम्काउँथी। सोल्टा हतारहतार फोन राख्न खोजेजस्तो गर्थ्यो।


‘म दुई/तीन दिनमा फर्केपछि भेट्न आउँला नि,' उसले सोल्टालाई भनी। सोल्टाले के भन्यो कुन्नि, ऊ हाँसी। फोन काटियो।
अगाडिको सिटमा ड्राइभरसँग टाँस्सिएर बसेकी उसकी साथी मस्किँदै थिई।
‘आँबुखैरेनी आउन लाग्यो,' ड्राइभर बोल्यो।


‘पोखरै गइदिउँला नि त!' उसले ड्राइभरलाई कुहिनाले ठेली। खोलेका कपालको माथिल्लो भागमा क्लिप बाँधेर ऊ राम्री देखिएकी थिई। मेरो सिटबाट उसको टाउको ड्राइभरको सिटमा पुरै ढल्किएको देखिन्थ्यो।
‘पोखराबाट कसरी फर्कन्छौ त राति?' ड्राइभरले गियर चेन्ज गर्दै सोध्यो।
‘भोलि आउँदा ल्याइदिनुहुन्छ होला नि त!' युवती अझै टाँस्सिई।
कंलकीमा उनीहरू दुवैजना चढ्ने बेला पछाडि बसेकी साथीचाहिँ ड्राइभरसँगैको सिटमा बस्न खोजेकी थिई। ड्राइभरले आँखा सन्काएपछि खलासीले भनेको थियो, ‘दिदी, तपाईं पछाडि बस्दिनू।'


बुढा फेरि स्पेनी युवतीलाई गफ दिन थाले। ऊ बोर मानेजस्तो गर्दै थिई। ‘यु नो, आइ सपोर्ट स्पेन इन वर्ल्डकप,' बुढाले अंग्रेजी झारे। युवती हाँसेजस्तो गरी।
‘स्पेन ब्युटिफुल?' बुढाले फेरि चाटे। युवतीले मुन्टो हल्लाई।
‘ब्युटिफुल पिपुल, ब्युटिफुल कन्ट्री,' बुढा अझै बोल्न छाडेनन्। के बुढाले युवतीलाई लाइन मारेका हुन्?
युवतीले वास्ता गरिन। आङ तन्काउँदै छेवैको साथीसँग स्पेनी भाषामै गफिन थाली। बुढा ‰यालबाट बाहिर हेर्न थाले।


सबैभन्दा पछाडिको सिटमा एउटी अधवैंसे महिलाले पच्चीस वर्षजतिको युवकको काँधमा टाउको बिसाएकी छे। जिउ पुरै छोडिदिएकी। युवकको कान रातो भएको छ। महिलाको अनुहारमा कुनै सौन्दर्य छैन। चालीस कटिसकी होला!
कलंकीमा यिनीहरू सँगै चढेका होइनन्। सुरुमा महिला चढेकी थिई, निकै पछिमात्र युवक चढेको हो। बेलाबेला महिला युवकको कानमा फुस्फुसाउँदै छे।
काठमाडौं-पोखरा रुटको यो बीससिटे माइक्रोबसमा सायद संसारभरिका सबै चरित्र जम्मा भएका छन्!
...

गाडीले मुग्लिङबाट पोखराको बाटो समात्यो।
झ्याल पुरै खोलेँ। हावा मेरो अनुहार छोएर माइक्रोबसभित्र छिर्‍यो।
मुग्लिङबाट त्रिशुलीपुल कटेपछि बाटो बिग्रिएको छैन। धन्न! यी पहाडहरूमा बालुवा पाइँदैन। नत्र धादिङका ठेकेदारहरूले यहाँका जीवन्त पहाड सबै खोसि्रसक्ने थिए, राजमार्ग बिजोग पारिसक्थे।


अखबारमा पृथ्वी राजमार्गवरपरका अवैध बालुवाखानीको समाचार छापिएपछि काठमाडौंमा दुई साताअघि मेरो एउटा साथी भन्दै थियो, ‘हिजो मैले के सपना देखेँ, थाहा छ? बालुवा निकालेका दुईतिरका डाँडाहरूले धकेल्दै ल्याएर काठमाडौंबाट पोखरा जाने बाटै मिचिदिएको! राजमार्ग भएको ठाउँमा त खारेका नांगैनांगा होचा डाँडामात्र पो देखिएका।'
मेरो दिमागमा हठात आएको थियो, ‘साथीको सपना यथार्थ भइदियो भने काठमाडौंबाट पोखरा कसरी जाने होला? तिनै डाँडैडाँडा बुर्कुसी मार्दै?'
...

‘पिपली लाइभ हेरिस्?' मनले अनेकौं तानाबाना बुनिरहेकै बेला साथीले फेरि कोट्यायो।


मैले ‘हेरेँ' भन्ने भावमा मुन्टो हल्लाएँ। भारतका न्युज च्यानल र पत्रपत्रिकाहरूले गर्ने चुत्थो पत्रकारिताको धज्जी उडाएको यो हिन्दी सिनेमा अहिले सहरमा हाउसफुल चलिरहेको छ।
‘हामी नेपाली पत्रकारको चरित्र पनि त्यो सिनेमाभन्दा फरक छैन। आफूले नै रचना गर्ने पात्र, कोट र घटनालाई विस्तार गरेर हामी समाचार बनाइरहेका छौं,' साथी गम्भीर भयो।
‘घटनाको गहिराइ र गम्भीरता समातेर रिपोर्टिङ गरे पो पढ्न हुने केही सामग्री आउँथ्यो!' अर्को साथी बोल्यो।


‘इन्डियन न्युज च्यानल त इन्टरटेनमेन्टका लागिमात्र हुन्।'
‘हाम्रा पनि कम छैनन्।'
‘अखबारमा पनि सबै सतही र आफैं गडिएका समाचार हुन्छन्।'


‘नेपालका पत्रपत्रिकाचाहिँ कुन गतिला छन्? हामी टुप्पाटुप्पा कुदेर समाचारको नाउँमा बकमफुसे शब्द जोडेर जागिर खाइरहेका छौं।'
‘प्रधानमन्त्री चुनावकै न्युज हेर न, नयाँ कुरा कुनै पेपरमा आउँदैन। खाली बैठक भएको, सहमति नभएको न्युजमात्र।'
‘प्रधानमन्त्रीको चुनाव सधैं अड्काइरहने भित्री कुरा के हो भनेर कुनै पेपरले कहिल्यै खोजेका छन्?'


‘हाम्रा पोलिटिसियन पनि त उस्तै छन्, पिपली लाइभकै जस्ता।'
‘संविधान र शान्ति प्रक्रियाको नाममा मूर्ख बनाइरहेका छन्।'
‘जनतालाई भेंडाभन्दा बढी केही ठान्दैनन्।'
‘थाहा छ? यिनलाई जनताको श्राप लाग्नेछ।'


काठमाडौं, राजनीति र प्रधानमन्त्रीको चुनावबाट वाक्क भएको मलाई साथीहरूको गफमा कुनै चाख थिएन। झ्यालबाट देखिएका हरिया डाँडाहरूको भरपुर आनन्द लिइरहेको थिएँ। काठमाडौंको ‘एब्सर्ड' दुनियाँभन्दा तनहुँका यिनै डाँडामा खेती गरेर बस्दा जिन्दगीमा बढी आनन्द हुन्थ्यो होला!
...

‘ओए, उठ्... ,' साथी करायो।
म तन्द्राबाट बाहिरिएँ। तनक्क आङ तन्काएँ। माइक्रोबसमा एक प्रकारको शान्ति महसुस भएको छ। सायद यहाँभित्रको संसारले दिनभरिको यात्रापछि चैतन्य पाएको छ।
यात्री पातलिएका छन्। थुप्रै बाटोमै झरे होलान्! घाम मधुरो भएको छ।


दक्षिणी डाँडामा फेवातालपारि विश्व शान्ति स्तुप टल्कियो। पश्चिमतिर सराङकोट देखियो। पूर्वतिर काहुँडाँडाको टावर घामले उज्यालो भयो। उत्तरमा माछापुच्छ्रे चम्कियो।
प्रमोद खरेलले गाएको गीतको बोलजस्तै दिल त पोखरामै थियो, म पनि आइपुगेको छु।

प्रकाशित: ५ भाद्र २०६७ ००:१३ शनिबार