ब्लग

म किताबको भरिया

बिरालाले छाउरा के ओसारेको होला र मैले जिन्दगीमा किताबको भारी त्यति ओसारेको छु। किताबको मरिकुच्चे भारी जता जाँदा पनि छुटेको छैन। जहाँ जाँदा होस् ती मसँगै हिँडे - कतै किचिएर, कतै थिचिएर। ती मसँगै अविराम यात्रामा हिँडिरहे। बोक्दाबोक्दै कतिका गाता छुटे। हिँड्दा-हिँड्दै तिनका रङ खुइलिए। कति त यसै कतै हराएर गए। तीमध्ये केही फेरि मेरो अर्को यात्रामा सँगै हुनेछन्।

कतिलाई मायाले मुटुनजिकै राख्छु। प्रत्येक यात्रामा म तिनलाई सुम्सुम्याउँदै झोलामा राख्छु। तिनको गाता बिग्रेला वा डिजाइन कोरिएला भनी लुगाको बीचमा राखिदिन्छु। अलि लामो यात्रामा जाँदा सुटकेसको महत्वपूर्ण हिस्सा तिनैले लिन्छन्। धेरैपल्ट विमानस्थलमा तोकिएभन्दा बढी तौल भएपछि झिकेर हाते झोलामा झुन्ड्याउँदै हिँडेको छु।

कति किताब यात्रामै कतै छुटे। कति पढ्दै नपढी अर्कैका पोल्टामा परे। कतिलाई मायाले आफ्नै मुटुजस्तै किताब दिइयो। कति किताब अझै पढूँला भनी वर्षौंदेखि दराजमा छन्। कहिलेकाहीँ तिनलाई झिकेर हेर्छु। माउले खान थालेको देखेर मन कुटुक्क हुन्छ। जब म ल्यापटपमा अनलाइन पुस्तक पढिरहेको हुन्छु, दराजबाट तिनीहरू मलाई टुलुटुलु हेरिरहेका हुन्छन्। केही बोल्दैनन्। तिनलाई बोल्न दिन त मैले दराजबाट निकालेर पढ्नै थाल्नुपर्छ। कहिलेकाहीँ म उनीहरूलाई भन्छु, 'पख है, म एक दिन कामबाट छुट्टी लिएर तिमीहरूसँग बस्छु।'

***
एसएलसी पास भएपछि म एकजना गाउँकै दाइको साथ लागेर किताब किन्नै भनेर भोजपुरबाट धरान झरेँ। क्याम्पस भर्ना भइसकेको थिएँ। पाठ-सूची भएको सानो पुस्तिकामा रंगीचंगी नाम भएका पुस्तक थिए। ती सबै क्याम्पस पुस्तकालयमा थिएनन्। त्यसमाथि पनि हाम्रो विषय पहिलो पटक लागु भएकाले क्याम्पसले तिनलाई पुस्तकालयमा ल्याइसकेको थिएन। त्योभन्दा बढ्ता, ती किताब आफ्नै पारेर पढ्न मन थियो। पुस्तकालयका किताब धेरै दिन राख्न सकिने पनि त होइन।
धरानका दुईतिनटा पसल चाहारेर किताब किनेँ। एउटा मरिकुच्चे भारी तयार भयो। किताबका पानाभित्रबाट आइरहेको बास्नाले मेरो क्षुधालाई अरू कुत्कुत्याइरहेको थियो। तुरुन्तै बसेर म तिनलाई पढ्न चाहन्थेँ। उकालो लाग्नु थियो, पुस्तकको भारी बोकेर। यथासमयमै म तिनै दाइसँग फर्कें घरतिर। मेरो पहिलो रुचि भने साहित्यिक किताबतिरै थियो।
चौथो दिनमा म घर फर्कें किताबको भारी बोकेर। परिवारका अन्य सदस्यका निम्ति कुनै उपहारका पुरिया थिएनन् मसँग। ती घनघोर रमाइला किताबहरूसँगको संगत सुरु भयो। भीमनिधि तिवारीको 'शिलान्यास' नाटक पढ्दा मैले आफ्नो हाँसो रोक्न सकिनँ। नाटक मञ्चन भएको हेर्न नपाए पनि त्यो किताबले मेरो कल्पनालाई चौतर्फी बढायो। 'सात सूर्य एक फन्को' नामक रमेश विकलको नियात्रा पढ्दा मेरो मनलाई बनाएको चौचौ म अहिले पनि बिर्सन सक्दिनँ। तिनले काठमाडौंदेखि गोसाइकुण्डसम्मको यात्रा वर्णनलाई अद्भुत किसिमले गरेका छन्।

यी केही उदाहरणमात्रै हुन् किताबले पारेका प्रभावका। किताब पढ्ने इच्छाले त्यसको भरिया बनाउँछ। एकपल्ट पढेर मन पराएको किताब कसैलाई दिइहाल्न पनि नसकिने। आफूलाई घत परेको कुनै पंक्ति भविश्यमा हेरौंला भनेर पनि राखिँदो रहेछ। बोकेर हिँडिदो पनि रहेछ। त्यही भएर धरानमा किनेका किताब भोजपुर हुँदै काठमाडौंसम्म आए। कहिले ती बोकेर त्रिशुली किनारमा पुगेँ त कहिले बाइरोडको बाटोतिर हान्निएँ। तिनलाई बोकेर म कहाँ गइनँ? प्रत्येक पटकका डेरा सराइमा ती सबैभन्दा पहिले प्याकिङ भएर यात्रामा अघि लागे। भनौं, काठमाडौंका अँध्यारा गल्लीभित्रका डेरामा ती किताब मैसँग यताउता गरिरहे। किताबमाथि किताब थपिँदै गए।

नयाँ किताब किनेपछि त्यसलाई पहिलोपटक जतनले आफैं पढ्न मन लाग्छ। दिक्क त्यतिबेला लाग्छ, जसले आफ्नो किताब मागेर कसैले कच्याककुचुक पारेर दिन्छ। पहिलो पल्ट किताब छुँदा अर्कै अनुभूति हुन्छ। त्यसबाट आइरहेको मसी र कागजको बास्ना असाध्यै लोभलाग्दो हुन्छ। कुनै किताब पढ्दा रुँदारुँदै हाँसिन्छ। कुनै किताब पढ्दा हाँस्दाहाँस्दै रुइन्छ। जबजब सप्पै मान्छेसँग दिक्क लाग्छ, त्यो बेला किताबै साथी हुन्छ। मलाई त यस्तो लाग्छ, मरेर जाँदा अरू केही नभए पनि किताबचाहिँ लान पाइने भए हुन्थ्यो।
कसैले यो किताब त गज्जब छ भन्दिन्छ, कुदिहाल्छु त्यो किन्न। कुनै पत्रिकाले फुर्का हालेर समीक्षा लेख्दिन्छ, दौडिहाल्छु त्यो लिन। झन्डै एक वर्षअघि इकोनमिस्टले आर्ची ब्राउनको 'द राइज एन्ड फल अफ कम्युनिजम'माथि रोचक समीक्षा छाप्यो। पढ्नासाथ मैले मन्डला बुक प्वाइन्टमा फोन गरेँ। किताब आइसकेको थिएन। केही दिनमै त्यो उपलब्ध भयो मन्डलाबाट। मनमनै डेभिड एल फ्रिडम्यानको 'द वर्ल्ड इज फ्ल्याट'लाई सम्झँदै गमेँ, संसार कति साह्रो चेप्टो भएछ। कम्तिमा किताब पढ्नबाट बञ्चित हुन नपर्ने समय आयो। मन लागेको किताब पाइन्छ यहाँ। केवल फोन गरे हुन्छ वा कसैलाई मेल लेखे हुन्छ।

किताबसँगको यो प्रेम सम्बन्ध अविराम चल्दै आयो। समयसँगै स्वाद परिवर्तन भयो। लवाइ भिन्न भयो। हेर्ने सिनेमा अर्कै भयो। मान्छेसँगका सम्बन्ध बदलिए। हेराइ बदलियो। किताबसँगको अविराम सम्बन्धमा कुनै तिक्तता आएन। फरक यत्ति हो, कुन किताबलाई चाख्ने वा कुनलाई स्वाद लिएर पचाउने हो भन्ने हेक्का तिनको संगतले दियो। कहिलेकाहीँ कुनै किताब देख्दा यी लेखक व्यर्थैमा लेख्छन् भन्ने लाग्छ। अझ वातावरण नोक्सान गरे भन्ने लाग्छ। एउटा राम्रो कितावका निम्ति जति रूख काटिन्छन्, त्यतिनै नराम्रो किताबका लागि पनि।

किताबसँगको यो सम्बन्धमा भने केही मान्छेले नराम्रोसँग भाँजो हालेका छन्। ती सजिलै माग्छन् र फर्काउँदैनन्। त्यसैकारण भनिएको हुनुपर्छ, किताब दिने मूर्ख हो र फर्काउने महामूर्ख। सायद, आफूलाई महामूर्ख बनाउन नचाहने धेरै मानिस सहरमा देखेको छु। एकदिन बडो जान्ने भएर भर्खर किनेर ल्याएको 'सेकेन्ड सेक्स' हातमा ढल्काउँदै हिँडेको थिएँ। एकजना आदरणीय व्यक्तिले बडो प्रेमपूर्वक किताब केही दिनमै पढेर फर्काउने बाचा गरे। मैले तत्काल दिइहालेँ। त्यसपछि, त्यो किताब कहिल्यै फिर्ता आएन। किताब नफर्काए पनि उनीप्रतिको मेरो स्नेहमा कुनै कमि पनि आएको छैन।

एकपल्टको विमान यात्रामा मैले पढिरहेको किताब सहयात्रीले मागिहालिन्। मलाई थाहा थियो, त्यो फर्केर आउने छैन। भयो पनि त्यस्तै। त्यसलाई मैले लगभग माया मारिसकेँ। तर, अझै दिमागबाट त्यो कृतिको आकृति गइसकेको छैन।

यात्रामा किताब बोकेर हिँड्दा त्यसले अनुपम आनन्द दिन्छ। किताबको भारी बोकेर जीवनमा यस्तै सुखद अनुभूति गरेको छु। एलिजावेथ गिलवर्टको चर्चित किताब 'इट प्रे लभ' पढिसकेपछि पनि मैले त्यसलाई घरको दराजमा राखिराख्न सकिनँ। सुन्दर पंक्ति र प्रसंगहरूले मेरो मनलाई पुलकित तुल्याइरहे। एउटा छँदाखाँदाको लोग्ने, घर र करिअर छोडेर हिँडेकी यी लेखिकाको जीवन-अनुभव ८० लाख प्रति बिक्री भइसकेको छ। यो किताबमा लेखिकाले एउटा व्यक्तिले जीवनमा गर्नुपर्ने र देख्नुपर्ने सबै अनुभव गरेको खुलाएकी छन्। 'जे गरे पनि जीवन एउटा सन्तुलन पनि हो,' किताब भन्छ। जीवन भोजन, ध्यान र प्रेमको संगम हो।

हङकङकी साथी लेखिका एलिजावेथजस्तै विक्षिप्त अवस्थामा थिइन्। केही वर्षदेखिको असजिलो विवाह तोड्नु थियो। नयाँ ठाउँमा यात्रा गर्नु थियो। नयाँ करिअर सुरु गर्नु थियो। धेरै दिनको बेचैनी र छटपटीमा उनको समय गुजि्ररहेको थियो। एकदिन उनले सानो भोजको आयोजना गरिन्। एकहुल साथी बोलाइन्। उनको खुसीको कारण थियो, आफ्नो दाम्पत्य जीवनको अन्त्य। उसको त्यो खुसीमा मैले आफूले माया गरेर बोकेको त्यही पुस्तक दिएँ। उनीजस्ती एउटी मुक्त पन्छीलाई त्योभन्दा सुन्दर उपहार अरू हुन सक्दैनथ्यो। 'मैले यसमा लगाएका अन्डरलाइन र चिह्नहरूलाई वास्ता नगरी पढ है,' उनलाई भनँे। उनी खुसीले उज्याली भइन्। म अहिले पनि उनको उज्यालो अनुहार सम्झन्छु र कल्पन्छु, उनले त्यो किताबकी पात्रसँग कति साह्रो तादात्म्य पाइहोलिन्।

***
कोही-कोही किताबका किरै हुन्छन्। किताब कम पाइने वा तानाशाही शासन व्यवस्था भएका ठाउँका मानिसलाई यसको महŒव बढी हुन्छ। त्यस्तो समाजमा बस्नेले छानीछानी किताब पढ्न पाउँदैनन्। सिंगापुरको नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीमा आएकी भिततनामकी मेरी एउटी साथीको कथा निकै रोचक छ। एकदिन प्राध्यापकको कोठामा जाँदा तिनका दराज पुस्तकले भरिएका थिए। तिनी एकपछि अर्को किताब प्राध्यापकसँग सापटी माग्न चाहन्थिन्। तिनले पाइन् पनि। ती सातोटा पुस्तकालयमा घुमीघुमी किताब खोज्थिन्। किताब जति पनि सापटी लिन पाइने भएकाले तिनले खातमाथि खात किताब ल्याउन थालिन्। जब हाम्रो फर्कने समय भयो, तब पुस्तकालयले किताब फर्काउने सूचना दियो। ती हतारिँदै किताब बुझाउन जाने तयारी गर्न थालिन्। त्यतिका किताब कसरी लैजाने? एउटा ठूलो सुटकेसमा पूरै किताब राखेर उनी बुझाउन गइन्। यी पढन्ते मैया त झन् ठूली पुस्तककी भरिया परिछन्।

किताब पढ्ने मान्छेलाई अर्को किताब पढ्ने मान्छेले सजिलै चिन्छ, जसरी एउटा जुवाडेलाई नयाँ सहरमा पुग्नासाथ त्यहाँका रैथानेहरूले चिन्छन्। म जहाँ गएको छु, त्यहाँ मेरा साथीहरूले भव्य-भव्य किताब पसलमा घुमाउन लगेका छन्। फिलिपिन्सको एउटा पुस्तक पसलमा हाम्रो कक्षाका पाँच-छ जना घुम्दै थियौं। एउटी स्थानीय साथीले घोषणा गरी, 'हेर साथी हो, आज म एक हजार पेसोसम्मका किताब तिमीहरूलाई किनिदिन्छु।' हामीले ताली पिटेर उसको यो अफरलाई स्वीकार गर्‍यौं। सबै किताब छान्न थाल्यौं। मेरो कानैमा आएर उसले भनी, 'तिमीले भने एक हजारभन्दा बढीका किताब छान्न सक्छौ।'
फर्केर आउँदा फेरि किताबको भारी थियो। तीमध्ये एउटामा उनले आफ्ना राम्रा अक्षरमा मिठो अनुभूति हुने गरी अटोग्राफ लेखिन्। किताबसँगै एउटा मिठो सम्झनाको भारी बोकेर म फर्कें। मलाई लाग्छ, मेरा प्रत्येक किताबसँग एउटा मिठो सम्झनाका तरेली छन्।
लाग्छ, म जीवनभरि ती सम्झनाका तरेलीको भारी बोकेर हिँडिरहेको हुनेछु।

प्रकाशित: २९ श्रावण २०६७ ०४:१३ शनिबार