ब्लग

स्वर्ग बंक - ३


बुद्धिसागर - एक हुल यमदुत आइरहेको देखेर महादेव अर्को गल्लितिर लागे। म एक्लै भएँ। यमदुतहरू मेरो छेउ आए। 'महाराजले बोलाइस्सेको छ,' एउटाले भन्यो, 'तुरुन्त हाजिर हुने।' म हिँडेँ। यमदुतले पछ्याए। यमराज अघिपछि यमदुत लगाएर बगैंचामा टहलिरहेका थिए। यमराजसँग एउटी युवती पनि थिइन्। मैले यमराजलाई निहुरेर दर्शन गरेँ। 'क्यानाम्, यिनको नाम एलिसा हो। असिस्टेन्ट राख,' यमराजले युवतीतिर इसारा गरे, 'यिनलाई जर्नालिजममा रुचि छ।'

एलिसा हाँसिन्। गालामा खोपिल्टा पर्‍यो। नसालु आँखा। रसिला ओठ। लामो केश। फिक्का बुट्टा भएको फिक्का हरियो सारी। त्यस्तै ब्लाउज। अग्ला सेन्डिल। हिँड्दा टक्टक् आवाज आउँथ्यो। उनलाई देख्नेजति पग्लेर पानी नभए त मरीजाऊँ।
उनले नमस्ते गरिन्।
मैले नमस्ते फर्काउँदै भनेँ, 'तपार्इं साह्रै सुन्दर हुनुहुन्छ।'
'थ्याङ्स,' उनले आँखा घुमाइन्।
'क्यानाम राम्री हुन्नन् त? य मिस यमलोक भइसकेकी हुन्। क्यानाम जर्नालिस्ट, कस्तो रातो गाला बनाएको?' यमराजले शंका गरे, 'क्यानाम लाइन मार्ने होइन नि! तातो तेलमा डुबाउन नपरोस्!'
यमराजका अघिपछि हिँडिरहेका यमदुतले आफ्नो कम्मरको तरवार बेस्मारी अँठ्याए।
'महाराज, म मरेको मान्छेको त्यत्रो ल्याकत के हुनु,' मैले हात जोडेँ, 'जिउँदै हुँदा त केही लछारपाटो लागेन।'
एलिसा खित्त हाँसिन्।
'क्यानाम ह्याँ जोक चल्दैछ?' यमराजले मुर्मुरिँदै आफ्नो लठीको हिराजडित बिँड समाए, 'जाऊ खुरुक्क। कफी बनाऊ। म आउँछु।'
एलिसाको अनुहार खस्कियो। उनी लुरुक्क दरबारतिर लागिन्।
'क्यानाम पर्ख एलि,' यमराजले नम्र आवाजमा बोलाए। एलिसा फर्किन्। यमराजले छेउमा टन्न फुलेका फूलमध्येबाट बाबरी फूल चुँडे। र, एलिसाछेउ पुगे।
'क्यानाम, यसलाई कफी-टेबुलमा सजाऊ।'
एलिसा हाँसिन्। कर्के नजरले मलाई हेरिन्। मैले आफ्नो हृदयभित्र फर्किन थालेको बाबरीफूललाई लुकाउँदै नहाँसेजस्तो गरेँ।
एलिसा ढोकामा के पुगेकी थिइन्, ढोकेले हाँस्दै ढोकामा फर्फराइरहेको मखमली पर्दा पन्छाइदियो र केही भन्यो। एलिसा हाँस्दै भित्र पसिन्।
'ओइ लन्ठु, यता आइज,' यमराज रिसले थरथरी काँपे। बिचरा ढोके दगुर्दै आयो र घुँडा टेकेर यमराजका अघि शिर निहुरायो।
'क्यानाम हिरो बन्छस्?' राता आँखा बनाउँदै यमराजले उसलाई हेरे। र, अरू यमदुतलाई भने, 'यस्लाई तुरुन्त जेल हुलिदेऊ। क्यानाम छ महिना।'
'महाराज, अब यस्तो गर्दिनँ। माफी पाऊँ' भन्दै ढोके रोयो। तर, उनले सुनेनन्। चार जना यमदुतले उसलाई घिसारे।
मेरो ढुकढुकी बढ्यो। यमलोकमा 'लभ' गर्न खोज्नु यत्ति महंगो?
'कति महंगो?' यमराजले सोधे।
लौ बा मेरो सातो गयो। यमराज हृदयको कुरा पनि बुझ्छन् क्यारे।
'के महंगो महाराज?' मैले हात जोडेँ।
'क्यानाम, ब्रोडसिड पत्रिका निकाल्न कत्ति महंगो पर्छ भनेको?'
मेरो सास आयो, 'महाराज म भोलि नै हिसाब-किताब दिन्छु।'
'लौ त जर्नालिस्ट, म एकछिन विश्राम...,' बोल्दाबोल्दै यमराज टक्क अडिए। किनभने, पाँच-छ जना धुलाम्मे यमदुतले एउटा दुब्लो कायाको मान्छेलाई लतार्दै ल्याइरहेका थिए। उसका दुवै गोडा भुइँमा लतारिएका थिए। ऊ डरले कालोनिलो भएको थियो।
'क्यानाम, मलाई राँग अंग्रेजी सिकाउने?' यमराजले उसको पेटमा लट्ठीले घोचे।
'महाराज, मैले त सही नै सिकाएको थिएँ। हजुर्को प्रनाउन्सेसन ...।'
'चुप!' यमराज थरर काँपे, 'क्यानाम, कति पढ्या छस्?'
'संस्कृतमा पिएचडी हुँ, सरकार।'
'लौ मार्‍यो,' यमराज हाँसे, 'क्यानाम, पढेको संस्कृत ... सिकाउने इङलिस?'
'सरकार पढेको त अंग्रेजी नै हो। पिएचडी गर्न बिहारतिर जाँदा संस्कृतको सस्तो पाइयो।'
'क्यानाम यस्लाई तुरुन्त जेल पठाऊ' भन्दै यमराज दरबारतिर बढे।
'महाराज, जिउँदो हुँदा पनि मेरो आधा उमेर जेलमै बितेको हो,' ऊसले अत्तालिँदै घुँडा टेकेर करायो, 'महाराज, माफी पाऊँ।'
यमराले उसलाई फर्केर पनि हेरेनन्।
म बाहिर निस्कन गेटतिर लागेँ।
अल्लि पर पुगेको थिएँ, एलिसाको आवाज आयो, 'एकछिन पर्खनुस् त!'
म बडो मुडमा फर्किएँ।
एलिसा दगुर्दै आइरहेकी थिइन्। उनी नजिक आउँदा उनको शरीरको मिठो बासना मैले महसुस गरेँ।
'हजुरलाई दरबारको पश्चिमतिरको क्वाटर नम्मर २४ मा सुत्ने व्यवस्था छ,' उनले एकै सासमा सुनाइन्।
'इट्स माई प्लेजर,' मैले अंग्रेजी ठेलेँ।
उनका ओठ काँपे, 'वेलकम होम।'
हे प्रभु, म किन पहिल्यै मरिनँ?
...

रातको सवा नौ बजेको थियो। महादेवले मलाई एउटा भट्टीमा लगे। भित्रको होहल्ला सडकसम्म आइरहेको थियो। भट्टीको होचो ढोकामा थोत्रो र मैले हरियो पर्दा झुन्डेको थियो। ढोकाको निधारमा लामो साइनबोर्ड टाँगिएको थियो -
उहि कान्छादाईको सेकुवा पसल
नर्क शाखा। पृथ्विकै स्वाद।
ठूलो काउन्टरपछाडि भुँडे साउजी चुरोट डुङडङ्ति उडाउँदै हाँसिरहेको थियो। हामी भट्टीमा पस्नेबेला ऊ एउटालाई सुनाइरहेको थियो, 'हेर्नुस् हजुर, नर्क आएर फाइदै भो। मेरा पैसा नतिरेर मरेका जति सप्पै मापा यतै आरछन्। असुल गरिरहेको छु।'
हामीले कुनातिरको खाली टेबुल रोज्यौं।
कोठामा छ वटा टेबुल थिए। टेबुलमा टनाटन मान्छे। मुख बंग्याउँदै, हात झट्कार्दै कुरा गरिरहेका थिए। महादेवलाई देखेर कसैले वास्ता गरेन।
एउटा केटो आएर अर्डर लिन हामीछेउ उभियो।
'चिसो,' मैले भनेँ।
महादेवले मलाई अचम्म मान्दै हेरे। र, उनले आफ्ना लागि हाफ बोतल जिन अर्डर गरेँ। सर्पकान्तका लागि दुध।
अर्डर आइपुग्यो।
महादेव जिनको चुस्की लिन थाले। म चिसोको। सर्पकान्तको जिब्रो दुधको कटौरामा लप्लपाइरह्यो।
'ब्रो, एक पेग लेऊ,' महादेवले रक्सीको सिसी मेरो गिलासतिर ढल्काए। मैले स्वाट्ट गिलास आफूतिर तानेँ।
'भो प्रभु, एकछिन पछि यमराजलाई भेट्नु छ,' मैले दाँत देखाएँ।
महादेवको गर्दनबाट तलतिर झुकेर सर्पकान्त आफ्नो लप्लपाइरहेको जिब्रो महादेवको गिलासतिर सोझ्याइरहेको थियो। महादेवले उसको तालुमा प्याट्ट हाने र मलाई भने, 'छ्या ब्रो, कस्तो कुरा गरेको? देख्दैनौ, के लेख्या छ?'
मैले बोलतमा साडीझैं बेरिएको कागजमा लेखिएका ठुल्ठुला देवनागरी अक्षर पढेँ -
'जिन, किसै गरेपनि उनले कहाँ थाहा पाउँछिन्?'
'जिन हो जिन, अफिस टाइमको रक्सी... जति लगाऊ, थाहै हुन्न,' महादेवले मलाई उत्साह दिएँ।
हो त?
आज मन रोमान्टिक छ। जे पर्ला पर्ला। मैले गिलास अगाडि सारेँ। महादेवले अलिकति जिन खन्याइदिए।
'ल ब्रो, चियर्स,' महादेवले गिलास उठाए। मैले ठोक्काएँ।
'मितबा, म पनि खाने,' सर्पकान्तले टाउको नचायो।
'चुप लाग्, स्वाँठ,' महादेव झर्किए, '१८ वर्ष पुगेपछि पिउने।'
सर्पकान्त ट्वाँ भयो।
म त्यति पिउँदिनथेँ। दुई-चार घुट्कोमै बसेको टेबुल रिङ्न थाल्यो। झलझली एलिसाको अनुहार आँखा वरिपरि नाच्यो।
'ब्रो अचानक मुसुमुसु हाँस्न थाल्यौ, के सम्झ्यौ?' महादेव चुस्की लगाउँदै हाँसे।
'भन्नु र प्रभु?'
'नभने पनि म पत्ता लगाउन सक्छु।'
भन्दिऊँ न त। मैले लजाउँदै भनेँ, 'प्रभु, मेरो लभ पर्‍यो।'
'ए बाई... लभ पर्‍यो... लभ पर्‍यो,' सर्पकान्त नाच्यो।
मैले महादेवलाई एलिसा र मेरो पहिलो भेटघाट सुनाएँ।
महादेव मेरो कुरा सुनेर गम्भीर भए। र, भने, 'ब्रो, एलिटसित लभ गर्नु हँुदैन।'
म झस्किएँ।
'ब्रो, बनारसबाट निस्कने स्वस्थानी पढ्या छैनौ? मेरो स्याड लभ स्टोरी छ नि त्यसमा,' महादेवले फेरि चुस्की लाए, 'मेरो लभ स्टोरी पुरा भएन ब्रो। सतीदेवीको बाउ ठिस निस्क्यो। उही क्या दक्ष प्रजापति। यै काँधले प्रेमको लास बोकेर हिँडे ब्रो।'
महादेवका आँखा छिपछिप भए।
'प्रभु, भगवान भएर रुने?' मैले गिलाससहित हात जोडेँ।
'के भगवानको हर्ट हुन्न?' महादेवले आधा गिलास स्वाट्ट पारे, 'भगवानका दुख्ख तिम्लाई के था?'
म के बोलूँ?
'ब्रो, आई एम भेरी स्याड... पुरानो घाउ बल्भि्कयो,' महादेव जुरुक्क उठे, 'आज मुन हेर्दै टोलाउँछु।'
महादेव स्वाट्ट हिँडे।
मैले बिल तिरेँ।
बाहिर सडक सुनसान थियो। राँगा कराएको आवाज बेस्मारी आइरहेको थियो। महादेव अघिअघि थिए, म पछिपछि।
चन्द्रमा नर्कको आकाशबीच थियो। म चन्द्रमा हेर्दै हिँडिरहेँ।
...

'हे˜˜,' ठूलो आवाज आयो, अँध्यारो गल्लीबाट।
म टक्क अडिएँ। गल्लीबाट एउटा कुकुर फुत्त बाहिर आयो। लौ, गोलीको पेटी बाँधेको। दुवैकानमा टप। घाँटीमा सुनको मोटो सिक्री। घुँडासम्मका बुट। तालुमा कालो चस्मा। अनि, दुवै हातमा बन्दुक।
'यस्तो पूर्णिमाको झलमल रातमा महोदयहरू कता?' कुकुरले बन्दुक ताकेर सोध्यो।
बन्दुक देखेर सर्पकान्त डरायो।
पहिलोपल्ट बोल्ने कुकुर देखेर म अचम्म। महादेव त चन्द्रमातिर हेरेर टोलाइरहेका थिए।
'म यो उराठलाग्दो सहरमा आजै आएको हुँ। मनमा अलिअलि संकोच छ। महोदय भनिदिनुहुन्छ कि यो कुन स्थान पर्‍यो?'
सर्पकान्त डराएको थाहा पायो कि? कुकुरले बन्दुक पाइन्टका दुवैतिरका जेबमा हुल्यो।
'नर्क पर्‍यो,' म अझै अचम्म मानिरहेको थिएँ।
'म नरकमा पो?' कुकुरले शान्त आवाजमा भन्यो, 'आखिरमा जिन्दगी भाग्यको खेल न हो। अब मनको आकाशलाई जति चिथोरे पनि केही हुँदैन।'
मैले महादेवतिर हेरेँ। लौ उनी त आँसु पुछ्दै रैछन्। जो हेर्‍यो उही भावुक। आज ग्लुमी सन्डे पर्‍यो कि क्या हो?
'महोदय त नेपाली नै हुनुहुँदो रैछ,' कुकुरले मतिर हेर्‍यो।
मैले टाउको हल्लाएँ।
अनि, कुकुरले महादेवतिर हेर्‍यो, 'उहाँ ऋषिको को पर्नुभयो? उहाँको मन किन औंसीझैं कालो? उहाँको आँखामा किन मोतीजस्तो आँसु?'
छ्या, के भनेको होला? मैले केही बुझे त मरीजाऊँ। खुस्केट कुकुर परेजस्तो छ। महादेव अघि बढे, कुकुरतिर हेर्दा पनि हेरेनन्। म पछि लागेँ।
'हे˜˜,' कुकुर बुरुक्क उफ्रिँदै महादेवमा अगाडि टक्क अडियो।
'सडक मेरो इमान हो, सडक मेरो प्राण हो। सडक मेरी आमा, सडक मेरी जहान हो,' कुकुरले हिंस्रक दाँत देखायो, 'मेरो सडकमा मेरै अपमान? मेरो प्रश्नको उत्तर नदिने?'
उसले बन्दुक स्वाट्ट जेबबाट तान्यो। औंलामा फनन्न नचायो। र, हामीतिर ताक्यो। मेरो सातो गयो। बन्दुक देखेर होइन, उसका दाँत देखेर। टोक्यो भने त नर्कमा रेबिजका सुई खोज्न कहाँ जाने?
'ओई डग, टेन्सन नदे,' महादेव गर्जिए, 'एक त्रिशुल खालास्।'
'एक पेस्तोलमा तीन गोली,' कुकुरले पेस्तोल ख्यार्र-ख्यार्र पार्‍यो, 'तीन जीवन... तीन मृत्यु। अहिले ड्याम्म गोली चल्यो भने भोलि ऐया निस्कन्छ। महोदय, मृत्यु प्यारो कि जीवन?'
कुकुरले महादेवको निधारमा ताक्यो।
'यस्की मा,' महादेवको निधारको डल्लो हल्लियो। उनले अचानक कुकुरको ढाडमा त्रिशुल बजारे। 'मरेँ नि,' चुइँचुइँचुइँ ... कुकुर बेस्मारी चुइँकियो र उसले छुलुक्क मुत्यो।
'महोदय, अप्ठ्यारो-अप्ठ्यारो बोल्ने... अनि बन्दुक ताक्ने?' म हाँसेँ, 'डामियो हैन ढाड?'
कुकुरले आँसु पुछ्यो।
'भन् तँ को होस्?' महादेवले फेरि त्रिशुल ताके, 'कुकुर त यस्तो हुन्न।'
'म टमी डियर हुँ। फिल्मको हिरो,' कुकुरले काँतर आवाजमा भन्यो, 'मेरा नौ फिल्मले एकाउन्नांै दिन मनाएका छन्, पृथ्वीमा। यसरी ढाडमा बजार्नु त भएन नि!'
'अनि नबुझिने-नबुझिने बोलेर टेन्सन दिने?' मैले ठूलो स्वरमा भनेँ।
'के गर्नु दाजु?' टमी डियर चुइँकियो, 'फिल्मको डाइलग रट्दा-रट्दा त्यस्तै बोल्ने भएँ।'
कतै ठूलो स्वरमा राँगो करायो।
'उहाँ ठूलै ऋषि पर्नुभो?' टमी डियरले सोध्यो।
'होइन, उहाँ महादेव हो।'
'महादेव?' उसका आँखा ठुल्ठुला भए। ऊ एक्कासि महादेवको गोडामा लडिबुडी गर्न थाल्यो। 'प्रभु गल्ति भो, माफी पाऊँ,' उसले हात जोड्यो।
महादेव अघि बढे।
ऊ अल्मलियो। मलाई हेर्दै खिस्स हाँस्यो, 'अनि तपार्इंचैं को?'
'पत्रकार।'
'दाजु-दाजु,' टमी डियरले हात जोड्यो, 'महादेवले माफ गरून्-नगरून्, हजुरचैं माफी दिनुस्।'
म हाँसेँ र अघि बढेँ। टमी डियर अँध्यारो गल्लीमा फुत्त पस्यो।
महादेव टोलाउँदै हिँडिरहेका थिए। सर्पकान्त काँधमा निदाएको थियो। म एकछिन चुपचाप हिँडिरहँे।
एक्कासि टमी फुत्त अगाडि आयो।
'दाजु-दाजु,' ऊ हिस्स हाँस्यो, 'एउटा कुरा सोधूँ भनेर।'
'के?' म अडिएँ।
'नर्कमा फिल्म बन्छन् कि बन्दैनन्?'
...

'दाजु, नर्कमा अरू कुकुर छैनन्?' टमीले पुच्छर हल्लाउँदै सोध्यो, 'मेरो नाकले पत्ता लगाउन नसकेको हो कि?'
'खोइ, मैले त देख्या छैन,' म हाँसेँ, 'चन्द्रमामा पहिलोपल्ट पुग्ने कुकुरले इतिहास बनायो। अब तिम्रो पनि इतिहास हुने भो... नर्क आउने पहिलो कुकुर भनेर।'
हिहिहि... सर्पकान्त नक्कली दाँत देखाउँदै हाँस्यो। ऊ छाताझैं ठिङ्ङ उभिएको थियो। महादेव मुत्र डोनसन गर्न झ्याङतिर लागेका थिए।
हामी नरक महानगरछेउको थुम्कोमा थियौं। जहाँबाट सारा महानगर देखिन्थ्यो। राँगाका पाँचवटा भीमकाय मूर्ति देखिइरहेका थिए। तिनका आँखामा गुलुप जडेजस्तो लाग्थ्यो, किनभने ती बेस्मारी बलिरहेका थिए।
'दाजु, नर्कमा त लोडसेडिङ हुन्न कि क्या हो?' एकछिन टोलाएपछि टमीले सोध्यो, 'म मर्नुभन्दा त अघिल्लो दिनसम्म उता अठार घन्टा लोडसेडिङ थियो। मज्जै रैछ है, नर्क त।'
मैले गाला कन्याएँ।
'अनि कसरी मर्‍यौ त?' मैले सोधेँ।
'जति माथिबाट हामफाल्यो फिल्म उति चल्छ भनेर डाइरेक्टर सापले धरहरा चढाए,' टमी टोलायो, 'झ्याम्म हाम फालेको... भुइँमै नपुगी यता आएँ।'
ऊ अरू पनि भन्न खोज्दैथ्यो, महादेव झाडीबाट निस्किए।
'धत् ब्रो, जुगा लागेर हैरान,' हाम्रो छेउमा आएर महादेव बसे।
'मित बा... मित बा,' सर्पकान्त उनको काँध चढ्यो, 'म नाच हेर्ने।'
'तान्डव?' महादेव हाँसे।
'होइन, डिस्को,' सर्पकान्तले आफ्नो पुच्छर महादेवको कम्मरको डमरूमा हिर्कायो, डम-डम।
'ल डग, डान्स गर्, म माफी दिन्छु,' महादेवले टमीतिर हेरे।
ऊ लजायो।
डम-डम डमरू बज्यो। टमी कम्मर मर्काई-मर्काई नाच्न थाल्यो। एकैछिनमा सर्पकान्त पनि मिसियो। म त हाँसेरै हैरान। एकैछिनमा टमी र सर्पकान्त थकित भए। टमी थ्याच्च बस्यो। सर्पकान्त महादेवको काँधतिर लाग्यो।
'प्रभु, बिहानै हुन थालेजस्तो छ। अब लाग्नुपर्छ,' मैले भनेँ, 'मैले बिहानै यमराजलाई भेट्नुपर्छ।'
'त्यो यम ब्रोले तिम्लाई सम्पादक बनाउँछु भनेर रिङाउने भो,' ओरालो झर्दै गर्दा महादेवले भने, 'राँगो चढेर हिँड्नेले पनि के गरिखाला?'
'राँगो चढ्नेकै भाग्य बलियो महाराज,' म खित्त हाँसे।
'आफूलाई भोजपुरी फिल्मको अफर आथ्यो,' बाटोछेउको झ्याङमा तुरक्क तुर्क्याउँदै टमीले भन्यो, 'नमरेको भए कार चढ्थँे। मरिहालेँ... राँगो चढ्ने भाग्य रहेन। फिलिमको नाम नै खत्रा थ्यो - मोर भैया टमी हिरो बनल वा, सुरमा लगाइल वा...
टमीले फिल्मको नाम पुरा भन्न पाएकै थिएन, गुरुरुरु पाँचवटा राँगा धुलो उडाउँदै आए। हामीलाई फनक्क घेरे। पछिपछि यमदुत थिए।
'शुभप्रभातमा पसिनै पसिना भएर कता?' एउटाले सोध्यो।
अरूले तरबार उचाले। राँगाहरूको कोखामा लामा-लामा ब्यानर थिए- नरक प्रहरी प्रभाग।
'यसो घुमेको,' म नम्र भएँ।
'नर्कलाइ पशुपति ठान्या छस्?' अर्को बम्कियो, 'नर्कमा यस्तो सान?'
पशुपति? मैले यताउता हेरेँ, महादेव त गायब। टमी ट्वाल्ल परेको थियो।
मैले यमराज र मेरो सम्बन्धबारे बताएँ। प्रकाशोन्मुख पत्रिका नरक दैनिकको सम्पादक भनेर चिनाएँ।
'अनि यो कुकुर?'
'म हिरो हुँ।'
'ए, अभिनयकर्ता?' सबै यमदुत हाँसे। पहिलो गर्जियो, 'खानतलासी लेऊ।'
मसँग त्यस्तो आपत्तिजनक बस्तु थिएन। म चोख्खिएँ। टमीको गोजीबाट दुइटा बन्दुक निस्किए।
बन्दुक? सारा यमदुतले कराउँदै टमीलाई घेरे। एउटा पेस्तोल समाउँदै कड्कियो, 'नर्कमा लौह हरियार? षड्यन्त्र?'
'होइन हजुर, यो त नक्कली हो,' टमी चुइँकियो।
यमदुतले प्याच्च थुक्यो। मुलाले खैनी खाको रैछ।
'हतियार सक्कली होस् कि नक्कली,' उसले तरबारको टुप्पाले टमीको पेट घोच्यो, 'नियत त उही हो। यस्को पाता कस।'
एकैछिनमा टमी रस्सीमा बेरिएको थियो। लामो जिब्रो बाहिर निकालेर फ्याँ-फ्याँ गरिरहेको थियो।
'तँसँग केही थिएन, बाँचिस्,' यमदुतले मलाई भने र टमीलाई घिसार्न थाले।
'दाजु बचाउनुस्,' टमीले कुइँकुइँ कुइँकिदै भन्यो।
'चिन्ता नगर, म यमराजसित कुरा गरेर छुटाउँला,' मैले ठूलो स्वरमा भनेँ।
'एई, यत्रो धाक?' एउटा दगुरेर आयो र मेरो पानीपेटमा बुट बजार्‍यो। म घुप्लुक्क ढलेँ। अँध्यारो भो।
...

ठूलो स्वरमा राँगो करायो।
मैले आँखा उघारेँ। सर्पकान्तको टाउको मेरा आँखामाथि थियो। सर्पकान्तले टाउको नचायो, 'मित बा, होस आयो।'
'ब्रो, उठ्यौ?' महादेवले मेरो निधार सुमसुम्याए, 'ट्यापेहरूले गोदे हैन?'
मलाई झनक्क रिस उठ्यो। परेको बेला टाप दिने पनि के भगवान?
'प्रभु, अब मलाई हजुर्को संगत गर्नु छैन,' मैले कपडामा लागेको धुलो पुछेँ, 'यस्ता भगुवा पनि भगवान हुन्छन्?'
म ठमठमी हिँडेँ। कोखा चस्किरहेकै थियो।
महादेव पछिपछि आइरहे।
'ब्रो, मैले चाहेको भए, सबैलाई एकैचोटि खत्तम पारिदिन्थेँ,' महादेवले मेरो हात समाए, 'मेरो कुरा राम्ररी सुन, मैले एकपल्ट हेल्प गरेँ भने तिमी अर्को पल्ट पनि हेल्प माग्छौ। मैले जानी-जानी हेल्प नगरेको। तिमी आफूले आफूलाई हेल्प गर्न सिक।'
म बोलिनँ। हिँडिरहेँ।
अबेरपछि हामी नरक महानगरको बीचमा थियांै। बिहानपख भएर होला, मानिसहरू यताउता टहलिरहेका थिए। थरीथरी मानिस, थरीथरी स्वभाव। विभिन्न भाषा। कोही-कोही भने राँगाका अग्ला मूर्तिमा अबिर छर्किरहेका थिए।
'ल त ब्रो, तिमी त बेहोस भएर पनि निदाइहाल्यो। सर्पकान्तलाई दुध ख्वाएर म पनि सुत्न जान्छु,' महादेवले मुलचोकको छेउमा उभिएर भने।
'कहाँ जानुहुन्छ सुत्न, प्रभु?'
'उही जेल,' महादेव हाँसे, 'मलाई आउन-जान कस्ले रोक्ने?'
म हिँड्नै लागेको थेँ। 'मरेँ मरेँ। पोल्यो पोल्यो,' ठूलो आवाज मेरो पछिल्तिरबाट आयो। मैले फर्केर हेर्नै पाइनँ, हुरीझैं आएको एउटा मानिस मसित बेस्मारी ठोक्कियो। फुर्लुङ्ङ ढल्यो। ए बा, उसको ज्यान त एकदमै निलो।
ऊ गुजुज्ज फिज काढिरहेको थियो। नेपाली नै रैछ। ऊ उठ्यो। आँसु पुछ्यो। फेरि करायो, 'मरेँ-मरेँ। पोल्यो-पोल्यो।'
के भाको होला यस्लाई?
उसले छेउमा उभिएका महादेवको काँधको सर्पकान्तलाई देख्यो र चिच्यायो, 'यसैले हो मलाई डसेको। यसैले हो। मारिदिन्छु।'
ऊ महादेवतिर लम्कियो। महादेवले ऊतिर त्रिशुल सोझ्याए।
'ए जोगी, बीचमा नआ,' ऊ चिच्यायो, 'उसले मेरा सारा सन्तानलाई डस्यो।'
'मितबा, मैले होइन,' सर्पकान्त डरायो।
त्यो मान्छे फेरि चिच्यायो र महादेवतिर उफ्रियो। महादेवले त्रिशुल उसको तालुमा बजारे, ऊ बेहोस भएर ढल्यो।
'प्रभु, सर्पले डसेको मान्छे यस्तो हुन्छ र?'
'होइन ब्रो,' महादेवले सर्पकान्तको तालु सुम्सुम्याए, 'सर्पले डसेको त मर्छ, सक्कियो। यस्तो दुख्ख पाउन्न।'
'अनि यस्लाई के भाको होला त प्रभु?'
'ब्रो, तिम्रो पृथ्वीलोकमा त सर्पभन्दा डेन्जर कुरा छ,' महादेवले भने, 'त्यसले डस्यो भने यस्तै हुन्छ। त्यसले डसेको सुरुमा थाहा हुन्न... पोइजन भरिएपछि लास्टमा यस्तो हुन्छ।'
'के हो प्रभु त्यो?'
'सत्ता।'
...

थकित म दरबार पसेँ। ढोकेले चिनेको रैछ, पस्न दियो। यमराजसँग कुरा गरेर टमीलाई छुटाउनु थियो।
'महाराज बगंैचामा होइसिन्छ,' यमदुतले भन्यो।
बगैंचामा पुग्दा त म आश्चर्यचकित भएँ। चिया पिउँदै एलिसा र यमराज हाँसिरहेका थिए। एलिसाको छेउमा गमक्क परेर टमी बसिरहेको थियो।
'क्यानाम जर्नालिस्ट, कता बरालिएर आयौ?' यमराज मलाई देखेर हाँसे, 'यता आऊ, ठूलो आर्टिस्टसित परिचय गराउँछु।'
म हिस्स पर्दै अघि बढेँ।
एलिसाले मलाई वास्ता गरिन। मेरो मन पोल्यो। म लुत्रुक्क परेर छेउमा उभिएँ।
'उहाँ हुनुहुन्छ आर्टिस्ट - टमी डियर।'
मैले पनि वास्ता गरिनँ।
'अब एलिलाई जर्नालिजममा रुचि रहेन, अब आर्टिस्ट बन्छिन्,' यमराजले एलिसालाई आँखा झिक्काए।
टमीले मलाई इसारा गर्‍यो। मैले उसको मुखछेउ कान लगेँ। उसले भन्यो, 'दाजु, म अब एक्टिङ गुरु भएँ। यो केटीले पनि मलाई लाइन देकी छ।'
अनि ऊ मुसुमुसु हाँस्यो, 'म किन पहिल्यै मरिनँ?'
...

प्रकाशित: २८ श्रावण २०६७ २०:३५ शुक्रबार