ब्लग

ह्यापी गुरुपूर्णिमा!

मनोज दाहाल - साउनको पहिलो सोमबार पशुपति क्षेत्रको भीड छिचोलिनसक्नु थियो। झरी परिरहे पनि रंगिबिरंगी साडी वा कुर्तासुरुवालमा सजिएका महिला हातमा पुजाथाली बोकेर छिचोल्न घन्टौं लाग्ने लाममा हँसिलो अनुहारमा उभिएका थिए। हत्केलामा मेहन्दी र नारीमा हरिया चुरा लगाएर युवतीहरू झन् राम्रा देखिएका थिए। त्यही लाममा मैले उसलाई देखेँ।
म मुस्काएँ। एक वर्षपछि उसलाई देख्दै थिएँ। कालो जिन्स र बैजनी रंगको फुलस्लिभ टिसर्टमा तिब्बती तन्त्र कुँदिएको लकेट झन्डै नाभीसम्म झुन्डेको थियो। हातमा कुनै पुजाथाली थिएन। फ्रेन्चकट दाह्री राखेको उसका खुट्टामा यो झरीमा पनि छालाका जुत्ता टल्किएका थिए, छेउछेउमा अलिअलि हिलो लागेको थियो। मलाई देख्नेबित्तिकै ऊ पुरानै स्टाइलले ठूलो स्वरमा हाँस्यो, हो...हो...हो...गर्दै।
भन्यो, 'के हो दाइ, भेटघाट छैन आजकाल।'
म मुस्काएँ। सोधेँ, 'तिमी पनि यो लाइनमा?'
उसले ठूलै स्वरमा हाँस्दै भन्यो, 'भोलेबाबालाई हेलो गरूँ भनेर, दाइ।'
'कस्तो भयो त मुक्तिनाथ टि्र्रप?' मैले सोधेँ।
ऊ अझै ठूलो स्वरमा हाँस्न थाल्यो।

********************************************

डेढ वर्षअघि मैले कपुरलाई पहिलोपल्ट भेटेको थिएँ। कपुरकी दिदीले अमेरिकाबाट फोन गरेर उसका लागि बानेश्वरमा एउटा कोठा खोज्दिन भनेकी थिई। हाम्रो कुनै जमानाको खास सम्बन्धको फाइदा उठाएकी थिई सायद। उसको फोनले म एकैछिन टोलाएको थिएँ।

कपुरलाई कोठा खोज्दिनु सुखद रहेन। २० वर्षे ठिटोको 'लोकल गार्जेन' हुन गाह्रै रहेछ। कोठा खोजिदिएको तेस्रै दिन घरबेटी दिदीको फोन आएको थियो, 'भाइ, कपुर त गाँजा तान्छजस्तो छ, माथ्लो तलासम्मै गनाउँछ, एकचोटि आएर सम्झाइदिनुपर्ला।'

********************************************

तीन महिनापछि घरबेटी दिदीले अत्तालिँदै फोन गरेकी थिइन्। 'भाइ, कपुर त तीन दिन भयो घर नआएको।'
म पनि आत्तिएँ, 'कहाँ गएछ त लम्फु?'

धन्य! भोलिपल्टै उसको फोन आयो। बनारसबाट। उस्तै गरी हाँसिरहेको थियो।

'दाइ, अवन्तिका थिई नि, ऊसँग मेरो ब्रेक भयो, अनि मनलाई केही शान्ति मिल्ला कि भनेर म त बनारस चल्दिएँ। हिजो र आज दिनभरि मणिकर्णिका घाटमा बिताएँ, मस्ती भयो। धर्मशालामा खानेबस्ने पनि सस्तै रै'छ, रमाइलो भइरहेको छ। एकदुई दिनमा फर्किन्छु।'

********************************************

घरबेटी दिदीको सधैंको सिकायतबाट वाक्क भएर एकदिन मैले उसको कोठामा छड्के गरेको थिएँ। ढोकामा ताला लगाएको थिएन। ट्याकट्याक पारेँ। प्रतिक्रिया आएन। चुकुल घुमाएँ, घर्‍याक्क खुल्यो। खाटमा सुतिरहेको रहेछ।

कोठामा अलिअलि गाँजा गनाइरहेको थियो। भुइँमा थुप्रै किताब छरिएका थिए। कुनै पल्टाएका, कुनै नपल्टाएका। पाइलट बाबाको 'हिमालय कह रहा है', ओशोको 'शरीर और तन्त्र', प्रभुपादको 'दि साइन्स अफ सेल्फ रियलाइजेसन', स्वामी भास्करानन्दको 'मेडिटेसन : माइन्ड एन्ड प्राक्टिसिङ पतन्जलिज योगा' र शिवपुरीबाबाबारे लेखिएका दुइटा किताब थिए।

एकदुइटा उपन्यास पनि थिएजस्तो लाग्छ। दुईचारवटा प्रिन्टआउट पनि थिए। ल्यापटप खुल्लै थियो, गायत्रीमन्त्र बजिरहेको। एउटा प्रिन्टआउटमा 'बेनेफिट्स अफ च्यान्टिङ गायत्री मन्त्र' शीर्षक थियो। कुनामा किताब राख्ने बाँसको र्‍याक थियो, कोर्सका दुईचारवटा र दर्शनका दुईचारवटा किताब नमिलाई राखेको थियो।
मैले उसलाई उठाइनँ। ढोका तानेर फर्किएँ।

********************************************

एकदिन उसले तपोवनबाट फोन गर्‍यो र भन्यो, 'दाइ, म क्याथर्सिस गर्न आएको, रमाइलो भइरहेको छ।' क्याथर्सिस भनेको मेडिटेसनको प्रारम्भिक अवस्था रहेछ, शरीर हल्लाउँदै छिट्छिटो गतिमा सास बाहिर फ्याँक्ने।


एकदिन जमलबाट फोन गर्‍यो, 'दाइ, म विपश्यना जान लागेको। घरबेटी दिदीलाई भन्दिनू ल! ११ दिनमा फर्किन्छु।' बुढानीलकन्ठमा दसदिने विपश्यना ध्यान गर्न जान लागेको रहेछ।

एकदिन रत्नपार्कबाट फोन गर्‍यो, 'दाइ, बनेपामा एकजना योगी छन् रे, ध्यान सिकाउने, म उनलाई भेट्न जान लागेको, एक रात बसेर फर्कन्छु।'
एकदिन पाइलट बाबाको आश्रमबाट फोन गर्‍यो, 'दाइ, एकदिन आउनू तपाईं पनि, राम्रो ठाउँ छ। बाबाले मलाई शक्ति दिइरहनुभएको छ।'

एकदिन शिवपुरी बाबाको आश्रमबाट फोन गर्‍यो, 'दाइ, यहाँ बाबाको समाधि छ, उहाँ बितेको ५० वर्ष हुन लाग्यो। उहाँले ध्यान गरेकै ठाउँमा अहिले समाधिस्थल बनाएको छ। मलाई त यहाँ आउँदा बेग्लै आनन्द लाग्छ, दुई घन्टा ध्यान गरेको पत्तै हुँदैन।

********************************************

मलाई ऊसँग वाक्क लाग्न थालेको थियो। धनी बाबुआमाको एक्लो छोरो थियो। बाबुआमा धनगढीतिर व्यापार गर्थे। भएकी एउटी दिदी बिहा गरेर अमेरिका गइसकेकी थिई। ऊ नैनीतालमा तीन वर्ष प्लस टु फेल भएर काठमाडौं आएको थियो। बानेश्वरकै प्लस टुमा फेरि पढ्दै थियो। कलेजबाट पनि सिकायत आइरहन्थ्यो। कहिले चारपाँच दिनसम्म कलेज जाँदैनथ्यो रे। एक दिन बानेश्वरको रेस्टुरेन्टमा आफैंलाई पढाउने सरलाई रक्सीको सुरमा झन्डै पिट्देछ।

यो केटो राम्रो अभिभावकत्व नपाएर बिग्रियो भन्ने लाग्थ्यो। जहिल्यै ध्यान, ध्यान भनेर वाक्क लगाउँथ्यो। कहिले शिवपुरी बाबाको स्वधर्मबारे कुरा गर्थ्यो, कहिले पाइलट बाबाले सिकाउने क्रियायोगको व्याख्या गर्थ्यो। एकचोटि फोनमा रामदेवको योग सिक्दैछु भन्थ्यो।

मलाई कहिलेकाहीँ राति बाह्र बजेपछि फोन गर्थ्यो र ह्वाँह्वाँ रुन्थ्यो। रोएका बेला अंग्रेजीमा बोल्थ्यो। 'दाइ, मलाई कसैले बुझेन, बुबाआमाले पनि बुझेनन्, दिदीले झन् के बुझ्थी, अमेरिकामा बुढासँग रमाइरहेकी छे, तपाईंलाई भेटेपछि खुसी भएको थिएँ, बुझ्ने मान्छे पाएँजस्तो लागेको थियो। तर, आजकाल तपाईं पनि टाढिनुभयो, दाइ,' ऊ रुँदै भन्थ्यो। मलाई नरमाइलो लाग्थ्यो। केही गर्न सक्दिनथेँ। मेरा घरपरिवारका आफ्नै समस्या थिएँ।

बीचमा घरबेटी दिदीको फोन आउन छाडेको थियो। म आफ्नै दुनियाँमा थिएँ। पत्रकारिताको दिनचर्या व्यस्त थियो। बिहान ८ बजे निस्केको म कहिलेकाहीँ घर पुग्दा रातिको बाह्रै बज्थ्यो। भर्खरै बिहे गरेकी श्रीमती पनि झर्कन्थी। जिन्दगी देखेर कहिलेकाहीँ दिक्क लाग्थ्यो। कहिले त छुट्टीको दिन पनि सम्पादकले काम लगाउँथे। श्रीमती वाक्क मान्थी, 'कस्तो जागिर हो यो, हप्ताको एक दिन पनि छुट्टी नहुने!'

********************************************

एक वर्षअघि मर्निङ वाकमा पशुपतितिर गएका बेला कसैले च्याप्प हात समात्यो। झसंग भएँ। उही रहेछ।
'कहाँ बरालिएको?' मैले सोधेँ।

'म शिवपुरी बाबाको आश्रम जान लागेको दाइ, ल आज तपाईं पनि जानुपर्छ, यहीँ नजिकै छ,' उसले तान्यो।
अनकनाउँदै हुन्छ भनेँ। तिलगंगाको गल्फ कोर्स कटेर अलिकति उकालो चढेपछि ध्रुवस्थली भन्ने डाँडा रहेछ। दुईतीन मिनेट हिँडेपछि जंगलको वातावरण मलाई रमाइलो लाग्यो। काठमाडौं नै होइनजस्तो शान्त थियो। अलि अगाडि एकान्तमा काँडेतार बारेको आश्रम रहेछ।

हामी आश्रमको गेटबाट भित्र छिर्‍यौं। दुईतीनजना मान्छे चिया पिइरहेका थिए। ऊ उनीहरूसँग मुस्कायो र सोझै समाधिस्थलतिर लाग्यो। म पनि पछिपछि लागेँ। एउटा पक्की घरको ढोका उघार्‍यो। शिवपुरीबाबाको समाधि रहेछ, चारपाँचजना ध्यान मुद्रामा थिए।
भित्र छिर्नेबित्तिकै रमाइलो लाग्यो, मनबाटै आनन्द आएजस्तो। ऊ एउटा चकटीमा बसेर ध्यान गर्न थालेपछि भने औडाहा भयो। दस बजे अफिसमा मिटिङ थियो। केटोले आज मेरो जागिर खाने भयोजस्तो लाग्यो। म समाधिस्थलबाट बाहिरिएँ र उफ्रिरहेका बाँदरहरू हेरेर मन भुलाउने प्रयास गर्न थालेँ।
दस मिनटमा ऊ निस्क्यो।
'सरी है दाइ, ढिला भयो होला, म त यहाँ आएपछि एकछिन ध्यान नगरी उठ्नै सक्दिनँ,' उसले भन्यो।
मलाई आश्रमका मान्छेहरूसँग चिनायो। 'दाइ पत्रकार हो, फुर्सदै हुन्न उहाँलाई, आज बल्ल तानेर लिएर आएको,' ती मान्छेहरूसँग भन्यो। उनीहरू खुसी भए। मलाई आफ्नो मान भएजस्तो लागेर रमाइलो लाग्यो।

'आउँदै गर्नू न,' उनीहरूले भने। चिया खाएर जानू भन्दै थिए। उसैले भन्यो, 'दाइलाई आज हतार छ, अर्को दिन खाउँला।'
ढाँट्नु हुँदैन, आश्रमको वातावरण र त्यहाँ व्याप्त शान्तिले मलाई रमाइलै लागेको थियो। तर, गल्फ कोर्स आइनपुग्दै मैले आश्रम बिर्सिसकेको थिएँ। मेरो दिमाग कतिखेर घर पुगेर नुहाइधुवाइ सकी अफिस पुग्नु भन्ने चिन्ताले ढाकिएको थियो।

********************************************

फेरि ऊ हरायो। न कतै भेटिन्थ्यो, न फोनै आउँथ्यो। घरबेटी दिदीले पनि फोन गर्दिनथिन्। मलाई हाइसन्चो भएको थियो। बीचमा रिपोर्टिङका लागि दुई साता तराई गएको थिएँ। फस्ट पेजमा पाँचछवटा टप न्युज गरेको थिएँ। सम्पादक निकै खुसी भएका थिए। यसपालि अवार्ड पाउँछु होलाजस्तो लागेको थियो। श्रीमतीलाई सुनाउँदा हौसिएकी थिई।

धेरै लामो समयपछि एक महिनाअघि उसले मलाई फोन गरेको थियो।

'मुला, कहाँ हराएको तिमी?' मैले हप्काएँ, 'ल, शनिबार घरमा खाना खाने गरी आऊ।'

'हुन्छ दाइ, तर मुक्तिनाथबाट फर्केपछि, म त अहिले बेनीमा छु।'
'को-को गएको?' मैले छक्क पर्दै सोधेँ।
'म र कलेजको एउटा साथी। चिन्नुहुन्छ नि, दिवाकर क्या!'
'दिवाकर गएको रै'छ त पहिला?'

'कहाँ दाइ, ऊ त पोखरासम्म पनि आएको रै'नछ।'
'ल ल, राम्ररी जानू। यत्तिकै बरालिएर हिँडेका छन् ठिटाहरू। जानुअघि भन्नु त पर्थ्यो,' म रिसाएँ र फोन राख्दिएँ।
आज अचानक ऊ पशुपतिमा भेटिएको थियो।

********************************************

'मुक्तिनाथ टि्र्रप रमाइलो भयो दाइ। पहिलेदेखि नै जान्छु भन्ने लागेको थियो। जोसैजोसमा गइयो। पैसा नपुगेर जोमसोममा होटलवालालाई रिक्वेस्ट गरेर फ्रिमा खाना खाइयो। जे भए पनि मुक्तिनाथ गज्जब ठाउँ रहेछ दाइ।'
उसको अनुहार चम्केको थियो। एक वर्षअघि भेटेभन्दा राम्रो देखिएको थियो।
'यो के लकेट लगाएको?' मैले सोधेँ।

'मुक्तिनाथबाट फर्कंदा बाटोमा तिब्बती क्याम्प रहेछ। त्यहाँ रिक्वेस्टमा लिएको। लकेटको अगाडिपट्टि छ नि यो, तिब्बती क्यालेन्डर हो, पछाडि तन्त्र कुँदेको छ। तन्त्र कुँदेको भाग छातीपट्टि लगाउँदा इनर्जी आउँछ रे।'
'तिमी मान्छौ यस्तो हावा कुरा?'

उसले अंग्रेजीमा भन्यो, 'दाइ, यसले मलाई आत्मविश्वास दिएको छ। तपाईंको आत्मविश्वास बलियो भयो भने तपाईंलाई जे पनि काम गर्ने आँट आउँछ, होइन?'

********************************************

मैले घर फर्केपछि पनि उसको चम्किलो अनुहार बिर्सन सकिनँ। घरबेटी दिदीलाई फोन गरेँ, 'दिदी, के छ आजकाल कपुरको खबर?'

'ओहो भाइ, आजकाल त ऊ पूरै सप्रेको छ। बिहानै नुहाउँछ। ध्यान गर्छ। राम्ररी पढ्न थालेको छ। गाँजा त पर, चुरोट-सुरोट पनि खाँदैन। केटाकेटीलाई कोठैमा ट्युसन पढाउन थालेको छ। मेरा नानीहरूलाई पनि बिहानबेलुका पढाइमा हेल्प गर्छ। तीनचार महिना भयो, घरबाट पैसा पनि मगाउन छाडेको छ रे।

********************************************

बिहानै उसले मलाई फोन गर्‍यो। नागरिक शनिबार आइपुगेकै थिएन।

'गुड मर्निङ दाइ, म त्रिखण्डी जाँदै गरेको। पाइलट बाबा आउनुभएको छ, यो उहाँको अहिलेसम्मकै लामो नेपालयात्रा हो, तीन साताको। म उहाँसँगै छु।'

'कहाँ त्रिखण्डी?'

कुलेखानीको बाटो हेटौंडा जाँदा बाटोमा पर्छ, भैंसेदेखि अलि अगाडि। पाइलटबाबाले त्यहीँ १५ वर्ष साधना गरेपछि गुरु गोरखनाथको दर्शन पाउनुभएको थियो र हरिबाबाबाट दीक्षा लिनुभएको थियो।'

'ती बाबा त राजनीतिक रूपमा निकै विवादास्पद छन्, होइन?'

'हो दाइ, मिडियाले उहाँलाई विवादास्पद बनाएको छ। तर, मलाई त्योसँग केही लेनादेना छैन। उहाँलाई पनि भएजस्तो लाग्दैन। मैले उहाँका राम्रो लागेका पक्ष आफूमा उतार्ने प्रयास गर्ने हो। उहाँको 'तु ही तेरा शिल्पकार' भन्ने भनाइ मलाई खुब मन पर्छ।'

म केही बोलिनँ।

'खासमा तपाईं नै तपाईंको शिल्पकार हो नि, होइन र दाइ? तपाईं नै त्यस्तो पात्र हो, जसले तपाईंलाई बनाउन वा बिगार्न सक्छ, होइन?'

'चौबीसै घन्टा ध्यान-ध्यान भनेर हिँड्नु पनि राम्रो होइन नि, भाइ। अहिले त राम्ररी पढ्नु नै तिम्रो लागि ध्यान हो।'
'हो दाइ, पढ्नु मेरो लागि ध्यान हो। तर, पढेका बेला अवन्तिकालाई सम्झेँ भने त्यो त ध्यान भएन नि। क्लासमा बसेको बेला घर सम्भि्कन्छु। जुन बेला जे काम गर्‍यो, त्यसमै डुब्नु राम्रो हो, तर मन बरालिएपछि काममा पूर्णता आउँछ? जे गर्दा पनि एकाग्र भएर गर्नु ध्यानकै एउटा अवस्था हो। तर, हामी २४ घन्टामा के कामकाहिँ ध्यानले गर्छौं? खाना खाँदा तपाईंको दिमागमा अफिसको काम आइरहेको हुन्छ, अफिसमा भएको बेला भाउजूको याद आउँछ। न तपाईंले खाएको ज्यानमा राम्ररी लाग्छ, न अफिसको काम नै राम्रो हुन्छ। होइन?'
होजस्तो लाग्यो।

'दाइ, भोलि गुरुपूर्णिमा हो। सम्पादक पनि तपाईंका गुरु होलान्। तपाईंलाई कलेजमा पत्रकारिता सिकाउने गुरु पनि होलान्। तर, तपाईंको खास गुरु तपाईं नै हो दाइ। भोलिदेखि पाँच मिनेट भए पनि ध्यानमा बस्न थाल्नुभयो भने अर्को वर्षको गुरुपूर्णिमासम्म तपाईं गहिरो ध्यानी भइसक्नुहुन्छ, तपाईंले गर्ने काम अझ राम्रो हुन्छ, तपाईंले बाँच्ने दुनियाँ झन् रमाइलो हुन्छ। ह्यापी गुरुपूर्णिमा!'

प्रकाशित: ७ श्रावण २०६७ २२:३० शुक्रबार