ब्लग

कुइरेनीको माया र रातो पासपोर्ट

भिक्टोरिया कोच स्टेसनमा नेसनल एक्सप्रेसको डोभर जाने बसको टिकट लिएर म बस कुर्दै थिएँ। बस छुट्ने समय पूरै ५ घन्टा बाँकी थियो। साथमा ठूलै सुटकेस भएकाले कहाँ जानु? फेरि त्यो समय लन्डन सहर विरानो नै थियो मेरा लागि। त्यसैले त्यहीँको कुर्चीमा बसेर पर्खिनुको विकल्प रहेन।

झोलामा रहेको पुरानो डायरी पढ्ने र फोटोहरू हेर्ने काम पनि केही मिनेटमै सकिएपछि टोलाएर बसिरहेँ। अलि पर रहेको इन्डियनको पसलमा डेढ पाउन्डमा एउटा भेज समोसा र पेप्सी किनेर खाइसक्दा अर्को एक जना मेरै कदको युवक आयो त्यो पसलमा। मैले खाएकै कुरा किनेर खान लाग्यो। मजस्तै गोर्खाली नै परेछ समोसा नै खान थाल्यो भन्ठानेँ मनमनै। अनि त्यो म नजिकैको कुर्सीमा बस्न आइपुग्यो।

पाँच घन्टा समय कटाउन अलि सजिलो होला, नेपाली परेछ भनेर परिचय गर्ने विचार गरेर सोधिहालेँ, ‘नेपाली हो?'

‘अरे यार, कसरी चिन्नुभयो, दाइ?' उसैले प्रश्न तेर्स्यायो। पहिलो पटकमै त्यसले बोलेका शब्द र दाइ भन्ने कुराले सुरुमै लाग्यो - बेकार बोलेछु। मेरो शंका तब पुष्टि भयो जब हात मिलाउन हात सोझ्याउँदै नजिक आउँदा थाहा लाग्यो, मध्याह्न पनि नहुँदै साथीले दारु दिइसकेको रहेछ।

‘हेर्नुस् न दाइ, कुइरेनीले छोडेर गै,' आफ्नो कहानी पो सुरु गर्‍यो फिल्मी शैलीमा चिन्नु न जान्नुको मान्छेसँग। मैले थाहा पाएँ - उसलाई दारुभन्दा पनि कुनै पीडा लागिरहेको रहेछ र यौटा नेपाली पाउँदा ओकल्न हतारो भयो।

पाँच वर्षअगाडि पढ्न भनेर बेलायत आएको अनि अहिलेसम्म कुनै डिग्री नलिएको र एकपटक पनि घर नगएको उसले क्षणभरमै सुनायो। घरमा सम्पर्क हराइसकेको स्याङ्जाको त्यो ठिटो उसले भन्ने गरेको वा उसलाई लागेको ब्रिटिस (कुइरेनीचाहिँ पक्कै हो) को मायाजालमा परेको रहेछ। बिहान-साँझ रेस्टुराँमा काम गर्ने अनि बाँकी समय त्यही कुइरेनीसँग मोजमस्ती गर्दा दिन, हप्ता र महिनामात्र हैन वर्ष पनि बितिगए। न पढाइ न पैसा, यही कारण घरपरिवारसँग सम्बन्ध रहेन नै।

धन्य, कुनै एसियनको कलेजमा केही सय पाउन्डको भरमा चिठी बनाएर भिसा भने थप्दै रहेछ। अरू जेजसो भएपनि कुइरेनीसँग बिहे गर्न पाए बिस्तारै यतै बस्न पाउने र सेटल भैसक्ने आसमा बसेको केटो छाँगाबाट तब खस्यो जब कुइरेनीले ‘आइ एम नो मोर विथ यु' भन्ने एसएमएस पठाएर टाप कसिछे। त्यसले त्यो नेपाली ठिटोको माया, विश्वास र भएभरको नगद पनि पोको पारिछे।

...

‘कुइरेनीको घरठेगाना केही थाहा नभैकन, किन पछि लागेको त?'

‘विश्वास गरेँ मैले, इमानदार लाग्यो, त्यसले पनि काम गरेकी थिई, उसकै खातामा पैसा जम्मा गरेका थियौं।'

अर्को साल बिहे गर्ने निर्णयसमेत गरेको रे। विश्वास पनि यति गरेछ कि यौटा गोरो छाला भएकी केटीबाहेक केही थाहा नभएकोसँग तीन वर्ष संसार भुलेर बिताएछ। ‘हिजो राति त्यस्तो म्यासेज आयो, मेरो एकाउन्टमा कत्ति पनि छैन, होइन दाइ त्यसले माया पनि गर्थी के,' ऊ रुन पो थाल्यो।

मनमा लाग्यो नेपालमा त स्याङ्जातिरका मान्छे साह्रै चलाख भएको कुरा सुन्न पाइन्छ। यसलाई भने कुन देशकी कुइरेनीले झ्याप पारिछे। अझै भन्दैछ, ‘माया गर्थी।'

पहिले चाख र पछि कताकता नरमाइलो मानेर सुन्दै थिएँ। सोध्यो, ‘दाइ, पब जाने हो? बियर खाऊँ, है?' मैले नखाने बताएपछि भन्यो, ‘दाइ, तपाईंले पढ्नुहोला, भर्खर आउनुभएको रहेछ। रक्सी पनि नखाने भनेपछि पक्कै बिग्रनु हुन्न होला।' फेरि भनेँ, मनमनै, ‘सबै कुइरेनीको नक्कली मायामा भुल्छन् र? अनि दारु खाने पनि त यौटा समय हुन्छ नि!'

उसको पनि दुई घन्टा बाँकी थियो बस छु्ट्न। ऊ लाग्यो बाहिर चुरोट तानेर एकछिनमै आउँछु भनेर। मैले ठानेँ अब यसको गनगन यहाँभन्दा नसुनौं। अनि स्टेसनको अर्को भीडतिर लागेँ सुटकेस गुडाउँदै।

...

साँझमा म जुन घरमा पाहुना भएर बस्न गएको थिएँ त्यहाँ आएका अर्का एकजना पाहुनाले सोधिहाले, ‘ल भाइ बिहे भा छैन भने एक जना कुइरेनी खोज्नुपर्‍यो र रातो पासपोर्टको चक्करतिर लाग्नुपर्छ। यो पढेर त कहिले हो कहिले।'

...

दिउँसोको कुरा सम्झेर मलाई लाग्यो, हामी नेपाली वास्तवमै इमानदार र सोझा छौं। तीन-तीन वर्ष त्यसरी बिनाआधार संसारै त्यागेर विश्वास गर्र्नु कमजोरी त हो नै। पढेर र अन्य प्रक्रिया पूरा गरेर पनि पाउन सकिने कुरालाई कुनै मेहनत नगरी पाउन खोज्नु र दुःखबिना सुख खोज्नुको परिणतिले घर न घाटको बनाउने नै भयो। त्यसकै लागि पैसा डुबाउने। अनि अन्त्यमा न पैसा न पासपोर्ट न पढाइ। समय पनि त्यत्तिकै खेर जाने। हातलाग्यो मानसिक तनाव र कहिल्यै नमेटिने घाउ।

छोटो अवधिको लागि आएकाले पनि लामै समय बस्न चाहनु, केही वर्ष पढेर डिग्री, अनुभव र पैसा जम्मा गर्ने बाटो लामो र झन्झट मानेर छिटोको लागि अन्य विकल्य खोज्दै हिँड्ने बानी बसेको छ। जसरी पनि सेटल हुने, सके कुइरेनीसँग सक्कली, नक्कली बिहे गर्ने, केही वर्ष टिकाउन सक्यो भने आइएलआरको (सधैं बस्न पाउने) भिसा लगायो अनि त कुहिरेनीलाई छाडे पनि भयो। आखिर माया त कुइरेनीको लागेको होइन, भिसा र पासपोर्टको हो। अहिले त धेरै नेपाली पनि आएएलआर पाएर बसेका छन्। एकथरीको आँखा भने तिनै युवतीतिर हुन्छ, तिनलाई हात पार्न सकियो भने त भिसाको ग्यारेन्टीजस्तै हुने भयो। आइएलआर होल्डरले पाउने सुविधाका कारण जुनसुकै उद्देश्य बोकेर बेलायत आएकाहरू धेरैजसोको मनमा सेटल भैछाड्ने मनस्थिति भएको देखिन्छ।

स्टुडेन्ट भिसा सकिन लाग्दैछ, एक दिन कलेजको मुख देखेको छैन भन्ने वा वर्क परमिटको लागि कोसिस गर्दैछु भन्ने विद्यार्थी लन्डनमा थुप्रै भेटिन्छन्। पाँच सात सयमा वर्षभरिको हाजिर गरिदिएर वा होम अफिसलाई चिठी लेखिदिएर भिसाको म्याद थप्न ठूलो गुन लगाएका छन् एसियन कलेजहरूले। जसमा हाम्रै नेपाली दाजुभाइका कलेज पनि कम्ती छैनन्। त्यसो त हालै लन्डनमा नेपाली विद्यार्थी ठग्ने तथा अलपत्र पार्ने काममा नेपाली दाजुभाइकै कलेजले ठूलै र मुख्य सेयर राख्छन्।

लाखौं खर्च गरेर नेपालबाट आएपछि सरकारी नियम मानेर बीस घन्टामात्र काम गर्ने र पढाइमै समय लगाउंँदा घरतिरको आस छिटो पूरा नहुने कारण पनि विद्यार्थीहरू अन्य विकल्पतिर लाग्छन्। अनि पढेरै पनि देशमा गएर के पो पाइएला भन्ने निरासावादी र धेरै हदसम्म तितो यथार्थले यहाँ आएका युवा जसरी पनि यतै अल्भि्करहने मनस्थितिमा देखिन्छन्।

गत साता लन्डन जाँदा ग्रिनविचमा वस्ने चितवनतिरका एकजना भाइलाई फोन गरेको थिएँ, ‘म आज साँझ आउँदैछु। कामबाट कति बजे फर्किनुहुन्छ?' जवाफ आयो, ‘ए दाइ, म त एकजना आइएलआरको चक्करमा बसाइ नै सरेर प्लमस्टिडतिर (नेपालीको बस्ती भएको ठाउँ, जहाँ यतैको पासपोर्ट होल्डर जमेर बसेका छन्) आएको छु।'

लौ, कुइरेनीको जालमा त नफस्नू क्यारे भन्दै फोन राखेँ।

...

खै, हाम्रो देशमा सुविधा र अवसर नभएर हो कि, अरूको देशमा बस्न र उनीहरूकै पासपोर्ट लिनुलाई नै हामीले अन्तिम लक्ष्य जस्तो ठान्ने? म पढ्ने विश्वविद्यालयका अधिकांश विद्यार्थी भारतीय छन्, (विद्यार्थी मात्र के मलाई त देशैभरि भारतीय छन्जस्तो लाग्छ) जसको दोस्रो सेमेस्टर सुरु हुँदै भारतमा जागिरको पक्कापक्की भैसकेको छ त्यो पनि उच्च तलवमानमा। म तुलना गर्छु, हामी नेपालबाट आएकाहरू पढाइ सकेर देश फर्किने हिम्मत गर्न सक्दैनौं न त नेपालबाट पनि त्यस्तो अपेक्षा गरिन्छ। कारण हामीसँग छैन त्यस्तो वातावरण, जहाँ आफ्नो सीपलाई प्रयोग गरौं, आफूलाई पनि फाइदा होस् र देशलाई पनि। अनि सायदै सुरु हुनेछ रातो पासपोर्टको चक्कर। विकसित देशमा भौतिक सुखसुविधा पाएपनि पाइलैपिच्छ हुने प्रत्यक्ष अप्रत्यक्ष जातीय तथा रंगभेद सहनुपर्ने पीडाका कारण राम्रैसँग जमेर बसेकाहरूको मनको कतै कुनामा अवसर पाए देश फर्किने चाहना पाउँछु।

अर्को देशमा बस्न हुरुक्क र हिरिक्कै गर्नु हाम्रो मानसिकता बनाउने हाम्रै देशको गरिबी, अशिक्षा र सिस्टम पूरै काम नलाग्ने भैसक्नु र देश चलाउनेबाट केही पनि आस गर्ने ठाउँ बाँकी नभएरै त होला। भित्री मनमा देशको माया त विदेशी पासपोर्ट र नागरिकता खोज्नेलाई पनि नभएको होइन नि!

प्रकाशित: २० असार २०६७ ००:२३ आइतबार