ब्लग

प्रतिकूलताबीच उत्साहः दसैँको महत्त्वपूर्ण सन्देश

बाढीपहिरोको विपद्ले सिर्जना गरेको प्रतिकूल प्रभावको उपपस्थितिमा आम नेपाली यसपटक दसैँका नाममा उत्साहित हुनुपर्ने अवस्थामा छन्। समस्याका चांग छिचोलेर समाधान पहिल्याउनु सहज हुँदैन। तर नेपालीले प्रतिकूलतामा पनि अनुकूलताको खोजी गरेका छन् र दसैँ  मनाइरहेका छन्। सबैलाई शुभकामना।

नवरथाको समाप्ति पश्चात आज दसैँको दिन। दसैँ अर्थात् विजया दशमी। हिन्दूहरुको महान पर्व। विजया दशमीअन्तर्गत देवीको नौवटै स्वरुपको पूजा सम्पन्न भइसकेको छ। दुर्गा देवीको पूजाको आज समापन हुँदैछ। आम नेपाली समाजमा मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने दिन हो आज। प्रतिकात्मक रुपमा कुनै समाजमा अक्षताको टीका र जमरा ग्रहण गरिन्छ भने कुनै समाजमा जमरा मात्र पनि सिउरिने गरिन्छ। पारम्परिक मान्यताअनुसार आज देवीको यात्रा गर्ने दिन हो अर्थात् प्रस्थानको साइत। प्रस्थान–शुभकार्यका लागि। आजैको अवसरबाट शुभयात्रा भन्ने प्रचलन प्रारम्भ भएको विश्वास गरिन्छ। विश्वास यो पनि गरिन्छ, आजबाट असल कर्मका दृष्टिले मानवले पनि सबै विध्न बाधाको अन्त्य गरेर एक नयाँ जीवन यात्राको प्रारम्भ गर्नेछ, जो शुभ हुनेछ।

दसैँको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वको महत्व यतिमा मात्र सीमित छैन। व्यावहारिक जीवनमा हेर्ने हो भने यस पर्वको महत्व परिवार जोड्नेसँग पनि छ। दसैँंको अवसरमा प्रत्येक नेपाली आफ्नो परिवारमा एकत्रित हुन्छन् र एकअर्कामा समाहित हुन्छन्। टाढाटाढा रहेका परिवारका सदस्य एक ठाउँमा जम्मा हुन्छन् र सबै राग-द्वेष विर्सेर एकअर्काका लागि सहयोगी हात बढाउँदै भविष्यको नयाँ निर्माणमा सक्रिय हुन्छन्। परिवारका सदस्यको कल्याण र उन्नति सबैको अभीष्ट हन्छ। 

यो पर्वले पारिवारिक सम्वादको वातावरण पनि निर्माण गर्दछ जहाँ सबै छलफलमा सहभागी हुन्छन्। तर यस पटक यस मार्गमा प्रकृति केही हदसम्म तगारो बनेको छ। दसैँंभन्दा केही दिन पहिले आएको बाढीपहिरोका कारण उत्पन्न विपदले देशभर समस्या निम्त्यायो। करिव अढाई सय व्यक्तिको मृत्यु हुन पुग्यो  अर्बौको सम्पति नष्ट भयो। हजारौं परिवार प्रभावित हुन पुगे। घरबाहिर भएका नेपाली आवागमनमा असुविधाका कारण घरपरिवारसँग भेट्न नसक्ने अवस्थामा पुगे । जतिजति दिन विते सरकारले अवस्थालाई सामान्य बनाउने जमर्को गर्दै अधिकांश नेपालीलाई दर्शै मान्ने अवस्थाको निर्माण गर्ने प्रयत्न नगरेको होइन। तर छोटो समयमा सञ्चालन गरिएको निर्माण, राहत र उद्धारका प्रयास पर्याप्त हुन सकेका छैनन्।

यसलाई अस्वाभाविक मान्नु भने हुँदैन। पछिल्लो समयमा उपत्यकाबाट दैनिक करिव एक लाख व्यक्ति बाहिरिएको कुरा ट्राफिक प्रहरलिे जनाएको छ। निश्चय पनि यो संख्यालाई उत्साहप्रद नै मान्नुपर्छ र सरकारको प्रयास केही हदसम्म सार्थक भएको मान्नुपर्ने हुन्छ। एउटा महत्वपूर्ण कुरा के हो भने विपदका समयमा त्राण पाउने प्रयत्न एक व्यक्ति वा निकायबाटमात्र सम्भव हुन सक्दैन। यसका लागि सामूहिक प्रयत्न आवश्यक छ।

दसैँ पर्वले हामीलाई वर्षौदेखि पारम्परिकरुपमा यही सामूहिकता र सामाजिक एकताको पाठ पढाउँदै आएको छ। निश्चय पनि यो देश हामी सबै एकत्रित हुने साझा थलो हो र आमनेपाली जनता बृहत् परिवारका सदस्य। तर यस पटकको दशैंलाई अपवाद मान्ने हो भने पछिल्ला वर्षका दशैंले हामीलाई एकत्रित् हुन र एकअर्काको सुखदुखमा एकाकार हुन किन सिकाउन सकिरहेको छैन ?  दशैंले आफ्नो पारम्परिक महत्व किन निर्वाह गरिरहेको छैन र अर्थ गुमाउँदैछ ? हाम्रो समाजले यस्ता प्रश्नको जवाफ खोज्ने प्रयत्न गर्नु अपेक्षित छ।

शान्तिका अग्रदूत बुद्ध र महाज्ञानी विदेहको यस भूमीका जनता अशान्तिका विरोधी हुन्। सारमा नेपालका आमजनता शान्तिकामी हुन्। तर दुर्भाग्य, यस भूमीको पछिल्लो कालखण्डको राजनीति अशान्त र स्वार्थी बन्न पुगेको मानिन्छ। नेपालको पछिल्लो समयको अवस्था मूल्यांकन गर्ने हो भने अवस्था निकै कहालीलाग्दो छ। राजनीतिक दलबीच दूरी बढेको छ। जनस्तरको सम्बन्धको धाँजा फाटेको छ। जनता एकअर्कासँग टाढिएका छन्। झन यतिखेर बाढी पहिरोको विपद्ले देश र जनतालाई थिलथिलो बनाएको छ। यतिखेर आपसी एकताको आवश्यकता अघिपछिको भन्दा बढेको छ भनियो भने अन्यथा हुने छैन।

अहिले संविधान संशोधनको चर्चा पनि छ। अहिलेको सरकारको प्राथमिकता सविधान संशोधनको विषय हो। संविधान संशोधनले देशका समस्याहरुको सम्बोधन गर्ने विश्वास गरिएको छ। मुलुकका सामु देखिएका अहिलेको तमाम जटील समस्याको समाधान नेपालीले गर्न सक्छन् र यसको प्रारम्भ विन्दू संविधान संशोधन हुन सक्छ। तर यसका लागि दलबीच समन्वय हुन सके फराकिलो परिणामको अपेक्षा गर्न सकिन्छ। देशको समस्या समाधान गर्न सबै एकमत हुनुको विकल्प छैन। निश्चय पनि सबै शक्ति सबैतिर फर्केर समस्याको सम्बोधन हुन सक्दैन। यो यथार्थ थाहा हुँदाहुँदै पनि नेपाली राजनीति किन सग्लिन सकेको छैन ? यी सबै प्रश्नका उत्तर देशवासीले चाहेका छन्। यी प्रश्नको उत्तरप्राप्तिमा दुर्गा भवानी सहायकसिद्ध हुन सकुन।

अहिले विपदका कारण पनि नेपाली राजनीति बडो सकसमा छ। यस्तोमा, दलबीचको दुरी कम हुन सकोस। जनस्तरको खाडल पुरिन सकोस। आपसमा सम्वादको वातावरण निर्माण हुन सकोस। दशैंका अवसरमा आमनेपाली एकअर्कामा समाहित हुन सकुन। यति हुन सके जस्तोसुकै समस्या पनि समाधान हुन सक्छ र देश जोडिन सक्छ। यसपटकको दशैंका अवसरमा दुर्गा भवानीले राष्ट्रिय एकता प्रवद्र्धन गरी देशका सबैखाले समस्याको समाधान गर्न शक्ति प्रदान गर्न सकोस। अबको यात्रा सुखद हुन सक्नुपर्छ।

यो कार्य मौखिक शुभकामना आदान-प्रदानबाटमात्र सम्भव छैन। यसका लागि सबैले मन वचनले प्रयास गर्नु अपेक्षित छ। नेपाली राजनीतिमा पछिल्लो दिनमा अरुलाई दोष पन्छाएर आफू ओभानो हुने प्रवृत्ति मौलाएको छ। यो गलत हो। ठीकलाई ठीक र गलतलाई गलत भन्न सक्ने आँट जबसम्म सबैमा हुँदैन तबसम्म राष्ट्रका समस्या सहजै समाधान हुन निश्चय पनि समस्या हुन्छ। र दुखका साथ भन्नुपर्छ, अहिले नेपालमा यसअनुकूलको अवस्था छैन।

माथि पनि चर्चा गरिसकियो यसपटकको अवस्था अनुकूल छैन। प्रतिकूलताबीच पनि दशंैको उत्साहमा कमी छैन। शोकलाई शक्तिमा बदलेर आम नेपाली दशैंमा सहभागी र्भका छन र भइरहेका छन्। वास्तवमा यो अवस्था स्वयंममा दशैंको एक महत्वपूर्ण सन्देश हो। यस पटकको दशैका अवसरमा सम्पूर्ण नेपालीलाई सद्बुद्धि प्राप्त होस र सबैले अहिलेको विषम अवस्थालाई सहज बनाउन भूमिका निर्वाह गर्न सकुन। सबैलाई यही नै शुभकामना।  धर्मेन्द्र झा/रासस

प्रकाशित: २५ आश्विन २०८१ १४:२४ शुक्रबार

#Dashain