ब्लग

अपी हिमालसँगको अपार आत्मीयता

अपी हिमाल सुदूरपश्चिमकै अति सुन्दर अग्लो शिखर हो । सुदूरपश्चिमकै गौरवमय धुरी हो। ७,१३२ मिटर उचाइको यस हिमालको काख टेक्ने अभिलाषामा यात्रा काठमाडौँबाट सुरु हुन्छ। काठमाडौँबाट धनगढी अनि धनगढीबाट दार्चुलाको गोकुलेश्वर सम्मको यात्रा एकै दिनमा सम्पन्न हुन्छ। गोकुलेश्वरबाट बिहानै हिँड्छौँ गाडीमा। चमेलिया नदीको किनारै किनार गुडिरहेछौँ। चमेलियालाई स्थानीयले चौलानी नदी भन्दा रहेछन्।

करिब  डेढ घण्टा गाडीको यात्रा पछि दार्चुला जिल्लाको मार्मा गाउँपालिका स्थित लाटिनाथ मन्दिर पुग्छौँ। म नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा जन्मिएको मानिस सुदूरपश्चिमको यो तीर्थमा आइपुगेको छु। मेरा बाबु बाजे पिता पुर्खा कसैले पनि नटेकेको ठाउँ। कसैले पनि नदेखेको तीर्थ। कुन संजोगले ल्याइपुर्‍यायो होला मलाई। सम्झेर छक्क पर्छु। लाटिनाथ बाबाको आशीर्वाद लिँदै त्यसपछि हामी चमेलियाको तिरैतिर अपी हिसमाल गाउँपालिकाको प्रवेश बिन्दु मकरिगाड तर्फ लम्किन्छौ।

करिब १ ‍घण्टा ३० मिनेट पछि चमेलियाको आडैमा अवस्थित मकरिगाड पुगियो। मकरिगाडमा अपी हिमाल गाउँपालिकाको सहकार्य र समन्वयमा नेपाल पर्यटन वोर्ड र यु. एन. डि. पि. अन्तर्गत सञ्चालित एस। टि। एल। आर। पि। परियोजनाद्वारा निर्माण गरिएको पर्यटन सूचना केन्द्र र कोसेली घर उद्घाटनको कार्यक्रम थियो। सो उद्घाटनको लागि पालिका अध्यक्ष सहित नेपाल टेलिभिजनको टिम भेटियो।सबैको उपस्थितिमा उद्घाटन गरियो। अपीको प्रवेश द्वारमा यसरी पर्यटन सूचना केन्द्र र कोसेली घरको सञ्चालनले अपीको झन उचाइ र गरिमा बढाएको आभास भयो। पर्यटन सूचना केन्द्र र कोसेली घर उद्घाटन पश्चात् गाडीको यात्रालाई त्यही बिट मार्दै पालिकाको हेट क्वाटर भएको खण्डेश्वरी स्थित नौपाटा होमस्टेको लागि यात्रा प्रस्थान हुन्छ।

नौपाटाको उकालोमा ढुङ्गाको सिँढी रहेको छ। उकालोमा स्वाँ स्वाँ गर्दै, बोट लमा बोकेको पानीको घुट्की सँगै करिब ४ घण्टाको पैदल यात्रा पछि नौपाटा पुगियो। पालिकाका अध्यक्षको टिमको हामीलाई दरिलो साथ रहेको थियो।नौपाटा पुग्दा संस्कार र संस्कृतिले भरिएको आथित्यता मिल्यो। त्यहाँको आमा समूहको सत्कारको बयान शब्दमा गर्दा कमी भएको हुन्छ। स्थानीय छलिया नाचको विशेषता अर्कै छ।

सबै पाहुनालाई छलिया नाच नचाउने त्यहाँको चलन नै रहेछ।धेरै बेर छलिया नाचियो।थकानको अनुभूति नै भएन। त्यो सत्कार। त्यो गाउँको परिवेश अनि एकै ठाउँमा झुरुप्प भएर मिलेर बसेको सुन्दर बस्ती सँग सामिप्यता पाउँदा।त्यो रमाइलो पश्चात् त्यो दिनको बास नौपाटा होमस्टेमा भयो।स्थानीय परिकारको मेजमानको स्वाद मिठो र बेग्लै अनुभूति लिँदै बसियो। मनमा कुरा खेलिरहेको थियो भोलिपल्ट काठमाडौं फर्किने कि अपी हिमाल बेस क्याम्प जाने। मेरो रुम पाट्नर साथीले दाइ तिमि बेस क्याम्प जाउँ सधैँ यस्तो मौका मिल्दैन। साथीको यो कुराले बेस क्याम्प जानको लागि उत्प्रेरणा जगाएको थियो।

भोलिपल्ट, बेस क्याम्प जानको लागि बिहानै देखी साथीहरूको तयारी भइरहेको थियो। मेरो दोधारे मन पनि बेस क्याम्प जानको लागि तयार भयो। बिहानको खाजा खाएर पालिका अध्यक्ष भगत सिंह ठेकेरे बोहरा, प्रहरी चौकी प्रमुख, नेपाल टेलिभिजन टिम, नागरिक दैनिकको पत्रकार, नेपाल पर्यटन वोर्ड, एस। टि। एल। आर। पि। परियोजनाका साथीहरू र स्थानीय भाइबहिनी लगायतको टोली ८ बजे तिर बेस क्याम्पको लागि प्रस्थान भयो। नौपाटाबाट सितीको लागि पाइला अघि बढ्यो।

चौलानीले हामलाई पर्खिरहेको थियो। नौपाटाबाट पाटु, घुसा,नाली, आरुखोट हुँदै सिती पुगियो। बिहानको खादा पाटुमा व्यवस्था थियो। पाटुमा पनि नौपाटाको जस्तै छलिया नाचद्धारास्थानीय बासिन्दाले हामीलाई स्वागत गर्नु भयो। त्यहाँको खानाको स्वादले हामी सबैलाई मोहनी लगायो। खाना पछि अक्करे भिरको बाटो हुँदै सिती तर्फ अघि बढियो।बाटोमा स्थानीय व्यक्तिको आतिथ्यता स्विकार्दै, बाटोमा भेटिएका चिलका बथानको उडान हेर्दै, तल पट्टि चौलानीको सुस्केरा सुन्दै, साथीभाइका मिठा गफ सुन्दै जाँदा बाटो काटेको पत्तै भएन।

बेलुका झम्मे साँझमा सिती पुगियो। त्यहाँको होमस्टेको सत्कार पनि नौपाटा र पाटुको भन्दा कम थिएन। छलिया नाच अब हाम्रो लागि मन मुटुमा बसिसकेको थियो। अलि अलि छलिया नाच्न पारा आउन थाली सकेको थियो। सितीका आमा दिदीबहिनी दाजुभाईहरुसँग छलिया नाच धेरै बेर नाचियो। त्यहाँ स्थानीय जडीबुटी हालेको चियाको बेग्लै स्वादको महसुस गरियो। स्थानीयको स्वागत,सानो औपचारिक कार्यक्रम पश्चात् अंगत जगारी दाइको होमस्टेमा बास बस्ने प्रबन्ध गरिएको रहेछ।त्यसपछि हामी वासस्थान तिर लम्किऊ। स्थानीय जौ को सातु अनि मोहीले हामीलाई स्वागत गरियो।त्यो स्वाद अहिले पनि जिब्रोमा झुन्डी रहेको छ।त्यो घरका सम्पूर्ण परिवारले पाहुनालाई गरेको मिठो व्यवहारले हामीलाई प्रफुल्लित बनायो।

भोलिपल्ट बिहान सखारै धौली ओडारको लागि यात्रा सुरु भयो। अपि हिमाल जाने बाटो सजिलो छ। पर्यटन विभाग, नेपाल पर्यटन वोर्ड र अपि हिमाल गाउँपालिकाले पदमार्गमा राम्रो लगानी गरेको देखियो। अव यस पश्चात् बस्ती बाटोमा कमै भेटिन्छन्। हरियो जङ्गल,  चौलानी नदीको एकनासको आवाजले बेग्लै वातावरणको रन्को दिन्थ्यो।तर ठाउँ ठाउँमा पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले बनाएका अतिथि विश्राम गृह भने भेटिन्थ्यो।

सितीबाट खायकोट, छिरछिरे, सिमार, दमोल९दोभान० हुँदै धौलीओडार साँझमा पुगियो। धौलीओडार पुग्न चाही अलि कठिन भएको अनुभूति भयो। यात्रा जति कठिन हुन्छ त्यति नै अविस्मरणीय र रमाइलो नि हुँदो रहेछ। धौलीओडार पुग्दा त यात्रा सम्पन्न भएको आभास भयो।तर भोलीपल्ट बिहान २ घण्टाको यात्रा बाँकी रहेको थियो।

भोलिपल्ट बिहानै  पालिका अध्यक्ष सहितको टोली हामी भन्दा चाडै उठेर बेस क्याम्प तिर लाग्यो। हामी पनि बिस्तारै अपी हिमाल बेस क्याम्प तिर प्रस्थान गर्यौ। सुस्केरा हाल्दै अघि बढियो। छेउछाउ यार्साको टिप्नको लागि बनेका कटेजरगोठ आँखाले नियाल्दा लाग्छ कि सबै गाउँ यतै उल्टेर आएको जस्तो भान हुन्थ्यो।यार्सा त्यस क्षेत्रको बासिन्दाको प्रमुख आम्दानी स्रोत रहेछ।

बालक देखी जेष्ठ नागरिक सम्म त्यहाँ भेटिए। यार्सा टिप्नेहरू फुर्सदको समयमा क्रिकेट, भलिबल, क्यारिमबोड खेली रहेको देखियो। कति स्कुल बिदा लिएर पनि यार्सा टिप्न आएको पाइयो।यार्साको महत्त्व त्यहाँ पुगेपछि अझ बढी रहेको पाइयो। यी सबै कुराको प्रत्यक्ष नियाल्दै स्वर्गको एउटा टुक्का जस्तो लाग्ने अपी बेस क्याम्प पुगियो। आँखाले देखेका सबै वरिपरिका भूभाग हिउँले सेताम्मे भएर फुलेका थिए।

हिमाली फूलहरू हिउँले छपक्क छोपिएका थिए। वरिपरि सबै हिमालले ढाकेको थियो।बेसक्याम्पलाई हिउँले छोपेको थियो। हिउँ प्रेमीहरूको लागि असाध्यै सुन्दर परिवेश थियो। आँखा नझिम्काई हेरिरहूँ जस्तो लाग्ने। हिउँ खेल्दै, फोटो खिच्दै, नाच्दै हाम्रो टोलीले रमाइलो गरिरहेको थियो।कोही ड्रोनबाट फोटो, भिडियो खिचिरहेका थिए। पुरै रमाइलो दृश्य देखिन्थ्यो।

यो रमाइलो पछि कोही साथीहरू कालिढुङ्गा ताल तर्फ प्रस्थान गर्नु भयो। कालिढुङ्गा ताल बेसक्यामपबाट करिब ५/६ घण्टा जति टाढा रहेछ।हामी थाकी सकेको हुनाले त्यता जाने आँट गरेनउ।हामी चाही चमेलिया नदीको उद्‍गम स्थल (मुहान) तर्फ प्रस्थान गरेऊ। करिब एक घण्टाको समय पश्चात् मुहान पुगियो। अपी हिमाल यात्रा एक अविस्मरणीय, रमाइलो, साहसिक र देश चिन्ने यात्रा रह्यो।

 (लेखक गुणराज भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत हुन्।)

प्रकाशित: ३२ जेष्ठ २०८१ १७:५८ शुक्रबार

#Api_Himal_Basecamp #Api Basecamp