ब्लग

प्रकृतिले दिएको, राज्यले चिन्न नसकेको अनुपम उपहार हो ‘कर्णाली’

कर्णाली सधैँ रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिन्छ भन्ने र बुझाउनेले पनि कर्णाली बाहिर पुगेर त्यस्तै बुझाए। कर्णाली बाहिरका मानिसहरूले कर्णालीलाई हेर्ने दृष्टिकोण पनि सोही सरह भयो। तर पछिल्ला दिनहरूमा यसबारे क्रमशः सुधार आउँदै छ।

कर्णाली जति विकट छ त्यति नै सुन्दर पनि छ। यहाँको भू–बनोटको प्रचार नभएर मात्रै हो। कर्णालीलाई भू–स्वर्ग भन्दा पनि केही फरक पर्दैन। यहाँ पुगेर अध्ययन गरेकाहरू भन्छन्, ‘प्राकृतिक सुन्दरताले भरिपूर्ण कर्णालीको सुन्दरता देखाउन मात्रै सके कर्णालीलाई यसैले पाल्छ।’

कर्णालीमा पर्यटनको प्रचुर सम्भावना भएका दर्जनौँ स्थान छन्। तर, अधिकांश ओझेलमा छन्। यसको विकासकासँगै प्रचार भने हुन सकेको छैन।

सरकारी उदासीनता र भौगोलिक जटिलताका कारण कर्णालीका सम्भावनाहरू सधैँ ओझेलमा पर्ने गरेका छन्। त्यसैले सुन सिरानी हालेर नुनको खोजीमा हिँडिरहेको कर्णाली सधैँ रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिन्छ।

पटक–पटक चर्चामा त्रिवेणी पाटन

फुल र बुकीले ढपक्क ढाकेर बनेको सुन्दर पाटन। पाटनको बीच भागमा तीनवटा खोलाहरू। तीनवटै खोलाको संगममा सानो मन्दिर। मन्दिरको छेउबाट बगेको पानीको कलकल आवाज। चराचुरुङ्गीको चिरबिर स्वर। यत्रतत्र रंगीचंगी फूलहरू। सजाएर राखिएको जस्तै थुम्का–थुम्का परेको कुहिरो। थरिथरिका जडिबुटीको मग्न बास्ना। यहीँ हो कालिकोटको त्रिवेणी पाटन।

नजिकै देखिने सुन्दर हिमाल, हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्यहरू त्रिवेणी पाटनका मुख्य विशेषता हुन्। समुद्री सतहबाट झन्डै ४ हजार २ सय १९ मिटर उचाइमा रहेको त्रिवेणी पाटनको सौन्दर्य त छँदै छ। ऐतिहासिक धार्मिक तथा पर्यटकीय हिसाबले पनि उत्तिकै महत्त्व बोकेको छ। पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको हो। यो पर्यटकीय सम्भावना बोकेको एवम् विशाल पाटन क्षेत्रको हो। बाजुरा जिल्लामा पर्ने बडीमालिका मन्दिरका कारण पनि यो चर्चामा छ।

त्रिवेणीमा नुहाएर बडीमालिका दर्शन गरे मनले चिताएको पूरा हुने विश्वास गरिन्छ। रोग व्याध नाश हुने, पदोन्नति हुने विश्वास छ। शुद्ध मनले दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जानकारहरु बताउँछन्। 

त्रिवेणीको काखमा रहेका ३२ वटा ठूला–ठूला सुन्दर पाटनहरूले पर्यटकलाई मोहनी लगाउँछ। त्रिवेणी आउने आन्तरिक पर्यटकहरूले भू-स्वर्गको अनुभूति गर्छन्। तर, बाह्य पर्यटकको आगमन भने हुँदैन। भौगोलिक विकटता, यातायातको असुविधा, अन्य आवासीय असुविधाका कारण यो क्षेत्र ओझेलमा परेको छ।

नेपालैकै अग्लो दाबी झरना ओझेलमा

कर्णालीको अर्को प्रमुख पर्यटकीय गन्तव्य भनेको कालिकोटको पचालझरना हो। पचालझरना नेपालकै अग्लो झर्ना भए पनि नेपालकै अग्लो भन्न पाइएको छैन।

तत्कालीन जिल्ला विकास समिति, त्यसपछि स्थानीय सरकार र जिल्ला समन्वय समितिले पटक–पटक पर्यटन बोर्डमा अभिलेख गरी बैधानिक्ता दिनका लागि दाबी पेस गरे पनि नेपाल पर्यटन बोर्डमा अभिलेख नगर्दा नेपालैकै अग्लो दाबी गरिएको पचालझरना ओझेलमा परेको छ।

कालिकोटको पचालझरना कुल ३ सय ८१ मिटर उचाइ छ। हाल नेपालकै अग्लो भनिएको तेह्रथुम जिल्लाको ह्याप्तुङ झरना ३ सय ६५ मिटर उचाइको छ। उक्त ह्याप्तुङ झरनाभन्दा कालिकोटको पचालझरना १६ मिटरले अग्लो छ। तर, पर्यटन बोर्डले कालिकोटको पचालभरनालाई नेपालकै अग्लो झरना भनेर अभिलेख गरी घोषणा नगर्दा नेपालकै अग्लो झरनालाई पनि भन्न पाइएको छैन।

जिल्ला सदरमुकाम मान्माबाट करिब तीन घण्टा गाडी र चार घण्टा पैदल यात्रा गरेपछि प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने पचालझरना निकै रोचक छ।

बाह्रै महिना निरन्तर पानी बगिरहने उक्त झरना सहज रूपमा अवलोकन गर्नका लागि सडक र पदमार्ग निर्माणको कार्य पनि भइरहेको छ। यसको प्रचारप्रसार र सेवा सुविधा दिन सक्ने हो भने यो झरना नेपालकै पर्यटकीय गन्तव्य बन्नेमा दुई मत छैन।

पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले भने, ‘पचालझरनालाई नेपालकै अग्लो झरनाका रूपमा मान्यता दिन पहल भइरहेको छ। यसका लागि पर्यटन बोर्डले नापी विभागमा यसको उचाई नाप जाँच गरी प्रमाणित गर्न पत्र पठाएको बुझिएको छ।’ पचालझरनाबाट खसेको पानी करिब १० किलोमिटर ओरालो बगेर कर्णाली नदीमा मिसिएको छ।

शे–फोक्सुन्डोमा पुग्दैनन् पर्यटक

कर्णालीभित्रको डोल्पा जिल्लामा पर्ने शे–फोक्सुन्डो ताल प्राकृतिक सौन्दर्यका दृष्टिले महत्त्वपूर्ण रमणीय गन्तव्य हो। शे–फोक्सुन्डो ताल धर्तीको अनुपम र सुन्दर उपहार जीवनमा एक पटक पुग्नैपर्ने स्वर्गको एउटा टुक्रा जस्तै भन्छन् यहाँ आउने पर्यटकहरू।

डोल्पाकै सामाजिक अभियन्ता रामचन्द्र न्यौपानेले भने, ‘पदयात्रामा रमाउने र यसको मजा लिनेहरूका लागि शे–फोक्सुन्डो तालको पदयात्रा महत्त्वपूर्ण छ। यो तालमा पुग्नका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको क्षेत्र भएर यात्रा गर्नुपर्छ।’

डोल्पाको प्रमुख आकर्षणको रूपमा रहेको यो तालमा जानका लागि चैत, वैशाख र जेठ महिना तथा भदौ, असोज र कात्तिक अति उत्तम महिना हो। कर्णाली आएपछि शे–फोक्सुन्डो ताल र उपल्लो डोल्पा नजानु भनेको फुर्सदमा पछुताउनु जस्तै हो।

डोल्पाको उत्तरी भेगमा पर्ने शे-फोक्सुन्डो ताल नेपालकै गहिरो ताल हो। यसको गहिराई १ सय ४५ मिटर रहको छ। लम्बाइ ४ दशमलव ८ किमी चौडाइ १ दशमलव ६ किमी रहेको छ।

सदरमुकाम दुनैदेखि झन्डै तीन दिनको पैदल यात्रा पछि शे-फोक्सुन्डो ताल पुगिन्छ। यहाँ पुगेका सबै पर्यटकहरू तालको मनमोहक दृश्यबाट मोहित भएर ताललाई कसैले भू–स्वर्ग भनेर पुकार्छन् भने कसैले नीलो हिराको रूपमा समेत चर्चा गर्छन्।

अर्को रिग्मो तालको नामले पनि चिनिने उक्त ताललाई २०६४ असोज ६ गते रामसार क्षेत्रमा समेत समावेश गरिएको छ। निकुञ्जलाई सन् १९९९ मा विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि समेत प्रस्ताव गरिएको थियो। यहाँको प्राकृतिक सौन्दर्यताकाे हिसाबमा कमै पर्यटकहरू आउने गरेको त्रिपुराकोटका स्थानीय रमानन्द उपाध्यायले बताए।

निकै आकर्षण पर्यटकीय गन्तव्य रारा

कर्णालीका अर्को निकै आकर्षण पर्यटकीय गन्तव्य मुगुको रारा ताल हो। यहाँ बर्सेनि हजारौं पर्यटकहरूको ताँती नै लाग्ने गरेको छ। २०२० साल चैत महिनामा मुगुको रारा ताल पुगेका तत्कालीन राजा महेन्द्रलाई राराले यतिसम्म लोभ्यायो कि उनले राराको सुन्दरतालाई स्वर्गकी अप्सरा उपनाम दिए।

रारामा आगन्तुकलाई स्वागत गर्ने जो कोहीले राराका बारेमा वर्णन गर्दा सबैभन्दा पहिले सुनाउने किस्सा हो यो। हुन पनि नीलो मसी पोखिए जसरी विराजमान छ, रारा। सफा, सुन्दर र निर्मल अनुहारमा गाढा नीलो आकृति लिएको रारामा वरिपरिका सल्ला, धुपीका रुखहरूको बिम्ब कुनै ‘प्रोफेसनल आर्टिस्ट’ को क्यानभास भन्दा कम्ता छैन। सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर टुक्रुक्क बसेजस्तो दृश्यले हरेकलाई मन्त्रमुग्ध पार्छ।

कर्णालीको मुगुमा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध यो ताल समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा टुसुक्क बसेको छ। रारा वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १ सय ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सल्लाघारीको बीचबाट निकै सुन्दर गोरेटो निर्माण गरिएको छ।

घोडाबाट जानेहरू पनि यही मार्ग प्रयोग गर्छन्। यो मार्ग निकुञ्जको बीचमा अवस्थित कोणधारी जंगलको बीचमा छ। चराको चिरबिर, सुरम्य आवाज, झ्याउँकिरीको आवाजले मदहोस पार्छ जोकोहीलाई। राराको छेवैबाट बनाइएको यो बाटोबाट जंगलमा अनेकन फूलहरू मुस्कुराइरहेको देख्दा कसको मन प्रफुल्लित नहोला र ?

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको थियो। तालको औसत लम्बाइ ५ किलोमिटर, चौडा ३ किलोमिटर र गहिराइ १ सय ६७ मिटर छ। रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २ सय ७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन्।

तर, रारामा जाने पर्यटकहरूका लागि न सुविधायुक्त होटल छ। न रारा जाने बाटो नै सहज छ। न अन्य पर्यटकीय पुर्वाधारहरू नै बनेका छन्। जसका कारण एक पटक रारा गएका पर्यटक फेरी फर्किँदैनन्। स्थानीय पदम मल्लले भने, आहा रारा भन्नेहरू नै छ्या सडक भनेर कर्णाली राजमार्गलाई घृणा गर्ने गर्छन्। रारा जाने सडक, होटल र अन्य पूर्वाधारले सम्पन्न बनाउने हो भने राराले कर्णालीको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिनेछ।

पवित्र तीर्थस्थल दैलेखको पञ्चकोसी ज्वाला क्षेत्र

दैलेख जिल्लाको दुल्लु नगरपालिका स्थित पञ्चकोसी ज्वाला क्षेत्र नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकाले यस तीर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तीर्थ पनि भनिन्छ। हिन्दु धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई बैश्वानर तीर्थ भनेर वर्णन गरिएको छ। यस तीर्थलाई अग्नि तीर्थ भनेर पनि चिनिन्छ।

नेपाली भाषाको उत्पत्ति स्थान जुम्लाको सिंजालाई मानिन्छ। त्यससँगै दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको दुल्लु पनि अर्को इतिहास हो। अहिलेसम्मको अध्ययन अनुसार सबैभन्दा पुरानो मानिएको दामुपाल, अढइपालद्वारा शाक्य ९ सय तिन तदानुसार विक्रमसंवत १ हजार ३८ को शिलालेख यसै क्षेत्रमा रहेको छ। यसका साथै विक्रम संवत् १४१४ को पृथ्वी मल्लले बनाएको ७ हात लामो कीर्ति स्तम्भ पनि यसै क्षेत्रमा रहेको छ।

यसका साथै पादुकामा रहेको अशोक चल्लको स्तम्भ शिरस्थानमा रहेको अभिलेखका साथै बाटोभरि जताततै गाडिएका वीर खम्बाहरूमा भएका अभिलेखहरूले नेपाली भाषा तथा पश्चिम नेपालको इतिहास केलाउनमा धेरै महत्त्व राख्छन्। तसर्थ यो क्षेत्रलाई नेपालकै ऐतिहासिक महत्त्व बोकेको स्थानको रूपमा लिइन्छ। कुनाकन्दरा, पहाडका चुचुराहरू मन्दिर र देवस्थलले सिंगारिएको पञ्चकोसी अत्यन्तै सुन्दर छ।

ज्वाला क्षेत्र अन्तर्गत १ सय ८ शक्ति पीठ पर्छन्। भैरवी, मालिका, स्वामी कार्तिक्य, विन्ध्यवासिनी, लामाद्धाला आदि चर्चित छन्। स्थानीय समाजसेवी हिरासिंह थापाले भने, ‘पञ्चकोसी ज्वाला क्षेत्र हिन्दु धर्मावलम्बीका लागि मात्र नभएर बौद्ध धर्मावलम्बीका लागि पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ।’

पश्चिम नेपालका हिन्दु धर्मावलम्बीहरूले यस क्षेत्रमा देव कर्म, पितृकर्मलगायतका धार्मिक अनुष्ठान गर्नाले सिद्धी प्राप्त हुने विश्वास गर्दछन्। पञ्चकोसी दर्शनले पितृ उद्धार, मनोकांक्षा पूरा हुनुका साथै आत्मीय आनन्द र शान्ति प्राप्त हुन्छ।’

यसलाई प्रवर्द्धन गर्नाका लागि केही महिना अगाडि प्रदेश सांसद भण्डारी, दैलेखकै फोटो पत्रकार भरतबन्धु थापालगायतको टोलीले पशुपतिदेखि पञ्चकोसी दैलेखसम्म धार्मिक यात्रा पनि गरेका थिए।

काँक्रेविहार सधैँ ओझेलमा

कर्णालीको प्रवेशद्वार सुर्खेतको वीरेन्द्रनगरबाट १० मिनेट दूरीमा एउटा घनाजंगल छ। जंगलै जंगलको बाटो हुँदै एउटा डाँडाको टुप्पोमा पुग्नासाथ देख्न सकिन्छ बौद्ध देव–देवताका मूर्तिहरू कुँदिएका ढुंगाहरू। यो प्राचीन स्थल नै ‘काँक्रेविहार’ हो।

काँक्रेविहार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित धार्मिक एवं पर्यटकीय स्थल हो। यस स्थलका बारेमा आजसम्म पनि विवाद र रहस्य छँदै छ। यसको नामकरण र निर्माण कहिले र कसरी भयो भन्ने बारेमा अझैसम्म ठोस कारण प्रमाणित हुन सकेको छैन। न त राम्रोसँग यस स्थलवरपर उत्खनन एवं अध्ययन नै हुन सकेको छ।

काँक्रेविहारको बारेमा अझै पनि खोज र उत्खनन गरेर प्रमाणित गर्न नसक्ने हो भने इतिहास गन्जागोलमै रहने छ। पुरातात्त्विक विभागले २०५७ सालमा स्थानीयको माग अनुरूप काँक्रेविहारको भग्नावशेष भएको स्थानमा उत्खनन गरेको थियो। त्यस क्रममा पुरातत्त्व विभागको टोलीले बौद्ध मूर्ति फेला पार्नुको साथै हिन्दु देवी देवताका मूर्तिहरू पनि फेला पारेको थियो। साथै काँक्रेविहार तेह्रौँ शताब्दीमा बनाइएको हुनुपर्छ भनेर अनुमान पनि गरेको थियो।

खस राजाहरू हिन्दु र बौद्ध धर्म दुवै मान्ने भएकाले काँक्रेविहार बनाउने क्रममा धार्मिक सहिष्णुता कायम राख्न दुवै धर्मका मूर्तिहरू राखिएका हुन सक्ने यहाँका जानकारहरूको भनाइ छ। उत्खननले यस कोणबाट सोच्न, अनुमान लगाउन र तथ्य खोज्न सजिलो पारिदिएको छ। यो मन्दिर धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण भए पनि हाल गुमनाम छ।

स्थानीय मिलन श्रेष्ठले भने, काँक्रेविहार मन्दिरमा राख्न खोजिएको मूर्ति हाल प्रहरी हिरासतमा छ। काँक्रेविहार संरक्षित बने भएकाले त्यहाँ अन्य कुनै संरचना निर्माण गर्न नपाउने कानुनी जटिलता पनि भयो। बुद्ध धर्मालम्बीहरू र अन्य जातिगत द्वन्द्वका कारण पनि काँक्रेविहार मन्दिर विवादको सिकार बनिरहेको छ। जसले यो पर्यटकीय स्थल नै ओझेलमा परेको छ।

ढुङ्गाहरू जोडेर जीर्णोद्धार

साढे एक्काइस मिटर उचाइ रहेको काँक्रेविहार मन्दिर विभिन्न किसिमका फुलबुट्टा र देवी–देवताका मूर्तिहरू कुँदिएका ढुङ्गाहरू जोडेर जीर्णोद्धार गरिएको छ।

विक्रम संवत् १२६४ देखि विसं १३७५ को बीचमा तत्कालीन सिंजाका राजा अशोक चल्लले १३२५ तिर यो मन्दिर बनाएको अनुमान छ। विक्रम संवत् २०१२ सालतिर योगी नरहरिनाथले पहिलो पटक काँक्रेविहारलाई चर्चामा ल्याएका थिए।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबजारदेखि करिब पाँच किलोमिटर दक्षिणमा रहेको काँक्रेविहार मन्दिरसम्म पुग्ने पिच सडक बनाइएको छ। मन्दिर परिसरमा घोडा चढ्ने पनि व्यवस्था भएकोले हेर्न आउनेहरूले घोडा चढेर आनन्द लिने पनि गर्छन्।

प्रकाशित: १२ कार्तिक २०८० १३:२८ आइतबार