ब्लग

विमानस्थलदेखि होटलसम्म

विमानस्थलमा महामहिमको भव्य स्वागत भयो। त्यो तय नै थियो। त्यसपछि सलामी। अनि विमानस्थलदेखि होटलसम्म सवारी। अगाडि पछाडि सुरक्षाको गाडी। दायाँ बायाँ कारगेट गाडी । बडा आरामको सवारी थियो । सवारीको सबैभन्दा पछिल्तिर सञ्चारकर्मीहरूको गाडी थियो । उताबाट आएका पत्रकार मित्रहरूका साथ म पनि थिएँ ।

गाडी अगाडि बढ्दै थियो । मन्द गतिमा । सुरुदेखि मसँगै बसेर दायाँ बायाँ गर्दै नगरको अवलोकन गर्दै आइरहेका पत्रकार मित्रले केही सोचेजस्तै गरी मलाई भने, ‘वास्तवमा काठमाडौं पनि हाम्रो काश्मीर जस्तै रहेछ हगि ?’

काश्मीर ! मलाई अचानक हिन्दी फिल्महरूमा देखाइने रोमाञ्चक काश्मीरका दृश्यहरूको कडा सम्झना भयो।

‘हो त नि,’ मैले उत्साहित हुँदै भनेँ, ‘काश्मीर र काठमाडौं उस्तै उस्तै सहर हो । चारैतिर पहाड । बीचमा भ्याली । रमणीय ठाउँ । दुवै टुरिजमका लागि उपयुक्त नगर । तपाईँले ठीक अनुमान लगाउनुभयो मित्र।’

उनले अलिकति मुख बिगार्दै भने, ‘त्यो त हो । तर मैले त्यो अर्थमा भनेको होइन दोस्त ।’

‘त्यो अर्थमा होइन ? अनि कुन अर्थमा त ?’ म छक्क परेँ ।

‘काश्मीरमा जस्तै काठमाडौंमा पनि जता हे¥यो उतै मिलिटरी मात्रै देखिने रहेछ । मैले अघिदेखि हेर्दै आइरहेको छु । बाटोभरि पुलिस र मिलिटरीबाहेक अरु केही देखिरहेको छैन । काश्मीरमा पनि यस्तै हो । त्यस अर्थमा भनेको हुँ ।’ यति भन्दै उनी फेरि गाडीको झ्यालबाट अझ टाढा टाढासम्म हेर्ने प्रयासमा लागे ।

पत्रकार मित्रको अकल्पनीय तुलनाले म अलमलिएँ । मैले भनेँ, ‘हुन त हो । तर त्यस्तो होइन ।’

उनले सोधे, ‘अनि कस्तो ?’

मैले स्पष्ट पारेँ, ‘यो त कफ्र्यु हो नि त । कफ्र्युमा जताततै सैनिक देखिनु स्वाभाविकै हो नि । होइन र ?’

‘कफ्र्यु ? कफ्र्यु किन ?’ अहिले भने उनी झस्के ।

मैले सम्झाएँ, ‘महामहिमप्रति उच्च सम्मान प्रकट गर्न ।’

‘उच्च सम्मान ?,’ उनले टाउको चिलाए, ‘कफ्र्यु लगाएर उच्च सम्मान ?’

‘नेपाल–भारत सम्बन्धै यति गाढा छ कि राष्ट्रपति महामहिमको भ्रमणमा यति कफ्र्यु नलगाउने हो भने उच्च सम्मान प्रकटै गर्न सकिँदैन ।’ मैले खुलस्त गरेँ ।

‘त्यो कसरी ?’ उनले अचम्म मान्दै सोधे ।’

‘हेर्नोस्, नेपाल–भारत सम्बन्ध कति विराटखालको छ त्यो तपाईँ कल्पनै गर्न सक्नुहुन्न । त्यसमाथि भारतीय महामहिमको नेपाल भ्रमण धेरै वर्षपछि भइरहेको छ । त्यसैले यो भ्रमणलाई अत्यन्त उच्च सम्मान प्रकट गर्ने र सकभर अविष्मरणीय बनाउने प्रयास हाम्रो सरकारले गरेको छ ।’

‘ओ..अच्छा...’ उनले केही बुझेझैँ गरे ।

मैले अझ जोडेँ, ‘सुरुमा सरकारले सोचेको थियो, भ्रमणका बेला नगरमा यातायात बन्द गर्नुपर्छ । तर मात्र यातायात बन्दले भ्रमणलाई उच्च सम्मान प्रकट हुँदैन । यातायात बन्द त नेपालमा जसले पनि गर्न सक्छ । त्यसैले देशैभरि सार्वजनिक बिदा गर्नुपर्छ । तर बिदा मात्रले पनि यो उच्च सम्मान प्रकट हुँदैन । बिदाका बेला मानिस यताउति पिकनिक मनाउनतिर लाग्न सक्छन् । त्यसैले सबैभन्दा उच्च सम्मान प्रकट गर्ने हो भने त कफ्र्यु नै लगाउनुपर्छ । त्यसैले सरकारले यो कफ्र्युको निर्णय गरेको हो ।’

‘हुँ...’ उनी गम्भीर भए ।

मैले अझ थपेँ, ‘नेपाल–भारत सम्बन्धै यति ठूलो छ कि त्यसलाई मेन्टेन गर्न पनि कफ्र्यु नै लगाउनुपर्छ । यो भन्दा ठूलो सम्मान हुनै सक्दैन ।’

उनले सुस्तरी भने, ‘तर यसले त जनतालाई सास्ती होला नि । हुँदैन र ?’

‘सास्तीको त नेपाली जनतालाई बानी नै परिसकेको छ मित्र,’ मैले गर्वसाथ भनेँ, ‘भारतले त्यत्रो नाकाबन्दी लगाउँदा परेको सास्ती त सजिलै पचाए भनेपछि यो त के सास्ती हो र ? ठूलो ठूलो सम्बन्धहरूमा सानो सानो सास्तीहरू त भइरहन्छ ।’

पत्रकार मित्रले मतिर टुइँक्क हेरे । अनि बिस्तारै भने, ‘हेर्नोस्, मलाई त यो अलि ठीक छैन कि जस्तो लागिरहेको छ । यस्तो कुरालाई नेपाली जनताले कहिल्यै भुल्ने छैन । यो उचित भएन ।’

मैले भनेँ, ‘हेर्नोस्, हामीले गर्न खोजेकै यही हो । हामी चाहन्छौं कि भारतीय महामहिमको यो नेपाल भ्रमण अविष्मरणीय होस् । युग युगसम्म पनि यसलाई कसैले बिर्सन नसकोस् । कफ्र्युले गर्दा यो निश्चय पनि अविष्मरणीय हुने भएको छ । जनताले भ्रमण बिर्से पनि कफ्र्यु बिर्सने छैन ।’

उनले फेरि पहिलेकै शैलीमा टुइँक्क हेरे ।

मैले पुनः थपेँ, ‘भारतीय महामहिमको अर्को भ्रमण अब कहिले हुन्छ के थाहा ? त्यसैले भ्रमणको कुरा बिर्सन सक्ने सम्भावना धेरै छ । तर यो कफ्र्युले गर्दा त्यो सम्भावना अब टरेको छ । भ्रमण वास्तवमै अविष्मरणीय हुनेवाला छ । तपाईँलाई कस्तो लाग्छ ?’

उनी एकछिन मौन। केही सोचेर उनी बोल्नै लागेका थिए, हाम्रो गाडी रोकियो । सवारी होटलसम्मै पुगिसकेको रहेछ। सबै गाडीबाट उत्रिए । हामी पनि उत्रिएर अगाडि बढ्यौँ । उनले के भन्न खोजेका थिए कुन्नि, मैले सुन्न पाइनँ।    

प्रकाशित: १९ कार्तिक २०७३ ०४:२८ शुक्रबार

विमानस्थलदेखि होटलसम्म