योसमेत तीन साल भइसकेछ दसैँमा टीका नलगाएको । पूर्खा दाङ जिल्लाबाट बसाईँ सरी आएकाले दङ्गाली भन्दाभन्दै दङ्गाल थर लेख्दै आएका छौं हामी । एउटै बाजेको सन्तान हामी बढ्दै जाँदा अहिले डेढ सय परिवारमा बाँडिएका छौं । ठूलो परिवार भएकाले सुतक पर्दा होस् या जूठो, चाडबाड बिथोलिइहाल्छ । यो साल ठूली आमा र ठूलोबाको जूठो बारिरहका छौँ । खानपिन चले पनि टीकाटाला चलेन । दसैँको रौनक मान्यजनबाट टीका, जमरा र आर्शिवाद लिनुमा छ । त्यसबाट बञ्जित हुँदा दसैँ खल्लो हुने नै भयो ।
त्यसो त सिन्धुपाल्चोकमा बिगत दुई सालदेखि दसैँले उमंग ल्याउन सकेको छैन । गएको वर्ष वैशाख १२ को भूकम्पले सर्वाधिक क्षति पु¥याएको जिल्ला हो सिन्धुपाल्चोक । घर छैन । जिल्लावासी जस्ताको अस्थायी टहरोमा आश्रित छन् । भूकम्पमा ३ हजार ५ सय ७० जना गुमाएका सिन्धुवासी गत वर्षको दसैँमा शोकमा थिए । त्यसैले दसैँ रौनक हराउने नै भयो । यो दसैंमा पनि दसैँले टहरोभित्र पटक्कै उमंग भित्र्याउन सकेन ।
उसो त दसैँ रौनक वर्षेनी घट्दै गएको छ । केही दिनअघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले चाडबाडलाई पुनर्परिभाषित गर्नुपर्छ भने । उनले के बुझेर भने थाहा छैन । मेरो बुझाइमा आधुनिक पुस्ता चाडबाडलाई आफैँ पुनर्परिभाषित गर्न तल्लिन छ । अर्थात आधुनिकता र भित्रदोँ विदेशी संस्कृतिले हाम्रा चाडबाड त्यसै पनि खल्लो बन्दै गइरहेका छन् । मौलिकता क्रमशः हराउँदै गएको छ ।
म खुब सम्झिरहेको छु बच्पनको दसैँ । म केटाकेटी हुँदा (२०–२५ वर्षअघि) र अहिलेको दसैँ बीच निकै ठूलो अन्तर पाउँछु । आहा ! त्यो दसैँ । घटस्पाथनाको दिनदेखि लिंगे पिङ हाल्न टोलैपिच्छे केटाकेटी भेला भएर बाबियो उठाउन थाल्थ्यौँ । जम्मा भएको बाबियो एक ठाउँमा राख्थ्यौँ ।
हरेक दिन त्यसलाई धोइपखाली सुकाएर मजबुत बनाउँथ्यौँ । फूलपातीको बिहान गाउँको ठूलो आँगनमा भेला भएर ठूलाबा–काकाबाहरुले पिङ बाटिदिन्थे । हामी केटाकेटी बाबियोको गाँस बनाएर सघाउँथ्यौँ । यो दिन हाम्रा शरीरमा नयाँ लुगा हुन्थे । वर्षमा एकचोटी हो यही दसैँमा शरीरले नयाँ लुगा भेट्टाउँथ्यो । त्यो लुगा निलो रंगको पोलिस्टरको सर्ट र पाइन्ट हुन्थ्यो । विद्यालय पोशाकको समेत काम गर्ने गरी खर्च जोगाउन यो लुगा किनिदिन्थे बाआमाले ।
त्यतिबेला बालीघरे प्रथा थियो । दर्जीले लुगा सिलाइ दिन्थे । हाम्रा दर्जीलाई हामी साईँला बा भन्थ्यौँ । घटस्थापनादेखि स्कुल बन्द हुने भएकाले हाम्रो बास उनैकोमा हुन्थ्यो । धर्ना कसेर रोइकराइ गर्न सके उनले अरुको भन्दा पहिला लुगा सिलाइ दिन्थे । त्यसो नगर्नेको लुगा दसैँमा तयार हुन्नथ्यो । उनीहरु दसैँमा पूरानै लुगा लगाउन बाध्य हुन्थे । नयाँ लुगा सिलाउन नभ्याउँदा वा साईँलाबाले नसिलाइदिँदा धेरै दसैँ पूरानै लुगामा मनाएको छु मैले पनि । केटोकटी मन न हो त्यति बेला खुब रुन आउँथ्यो ।
हाम्रा साईँलाबाको लुगा सिलाउने खास सीप थिएन सायद, या भनौँ चापले भ्याउँदैनथे कि ! गोजी पाइन्टको बाहिरै टाँसिदिन्थे । त्यो गोजीमा धेरै चिउरा नअट्दा जात्रै हुन्थ्यो । दसैँमा मात्र चिउरा पेटभरी खान पाउँथ्यौँ हामी । अघिपछि खाने त्यति चलन थिएन । त्यै पनि शरीरले नयाँ लुगा भेट्टाएकामा खुट्टा भुईँमा हुन्नथ्यो । धान भिजाएर आधा रातमा चिउरा कुट्न आमासँग चौतारा र सिरुवारीका मिल गएको सम्झना अझै ताजै छ । दिनभर कुर्दा पनि पालो आउन्नथ्यो । चिउरा कुट्न दुई दिनसम्म पालो कुरिन्थ्यो ।
अष्टमीका दिन घर–घरमा खसी काटिन्थ्यो । सक्नेले फूलपातीकै दिन बोका र पाठी पूजा गरेर मासु शिकार गर्थे । मेरो परिवारमा अक्सर अष्टमीको दिन मात्र खसी ढल्थ्यो । अघिल्लै दिन मासु खानेका घरमा खुब ढुक्थ्यौँ हामी लोभले । कसैले मायाले खान दिन्थे, कोहीले देखेको नदेख्यै गर्थे । मासुको यतिबिघ्न लोभ लाग्नुको कारण थियो, दसैंमा मात्र खसी काटिनु । मलाई याद भएसम्म अघिपछि मासु खाने त्यति चलन थिएन । मासु र चिउरा खान पाएपछि हामी केटाकेटीलाई के चाहिन्थ्यो र !
बोकाइनडाँडामा फूलपातीको दिन साँझ पिङ थापिन्थ्यो । त्यहाँ जोडी बर र पीपलका रुख छन् । ती अझै छन् । पिङ खेल्न केटाकेटीले पालो पाउँदैनथे । पहिलो सक्ने (बल हुने) ले खेल्थे । हामी केटाकेटी राति मात्र पिङ खेल्न पाउँथ्यौँ । बा, काका, काकी, दिदीहरु पिङ झट्कालेर बरपीपिलको पात टिप्थे । त्यो दृश्यले खुब रोमाञ्चित बनाउँथ्यो । हामी त्यसै गर्न प्रयास गथ्र्यौँ तर साना भएकाले सक्दैनथ्यौँ । दिदीहरुले दोहोरी खेलाउँदै पिङ झट्काउन सिकाउँथे । अलि ठूलो भएपछि मैले पनि पिङ मच्चाएर बरपीपलको पात लुछेको छु निकै पटक । पात लुच्छ्नेलाई साथीसँगी अब यो हिउँदमा तेरो बिहे हुन्छ भन्थे । पात टिप्नेहरु लाजले भुतुक्कै हुन्थे । पात टिप्दा म पनि थुपै पटक लाजले भुतुक्कै भएको छु ।
पिङमूनि ओखर खेल्ने चलन थियो । काका, दाजुहरु पैसा राखेर ओखर खेल्थे । हामी केटाकेटी कसले बाजी मार्छ भनेर उत्सुकतापूर्वक हेथ्र्यौ । त्यतिबेलासम्म गाउँमा तास खेल्ने खासै प्रचलन थिएन । गाउँका अगुवा (हजुरबा, बा र काका) हरु जुवा खेल्थे । त्यो पैसामा खेलिँदैनथ्यो । रमाइलोको माध्यम थियो जुवा । म ५–६ कक्षामा पढ्दा गाउँमा तास भित्रियो । खासगरी राजधानीमा जागिर गर्ने काका, दाइहरुले दसैँमा तास खेल्ने चलन भित्र्याए । तर उनीहरु शान्तपूर्वक खेल्थे रमाइलोका लागि । हामी केटाकेटीले त्यसलाई पछ्याउन थाल्यौँ ।
दसैंको सिजन बारीमा कोदो लहलह हुर्किरहेको हुन्छ । हामी दाजुभाइ कादोघारीभित्र लुकेर तास खेल्थ्यौँ । बाआमा र काका–काकीहरु हाम्रो पिछा गर्थे । किन कि त्यतिबेलासम्म गाउँमा तास खेल्नु राम्रो मानिदैनथ्योँ । कान निमठ्दै हामीलाई पक्रन्थे परिवारले । एक पटक तास खेल्दा खेल्दै गर्दा म तुलसी दाजुबाट रंगे हात पक्रिएको छु । उनले कन्सिरीको रौँ तान्दा मैले तुरुक्कै नयाँ पोस्टिरको पाइन्ट पिसाब फेरेर भिजाएको थिएँ त्यति बेला । त्यसउप्रान्त आजसम्म मेरा हातले तास समाएको छैन ।
टीकाको दिन हामी केटाकेटीको लागि थप विशेष रहन्थ्यो । नयाँ लुगाको साथमा टीका र जमराले चिटिक्क सजिनु त छँदै थियो, मान्यजनबाट दक्षिणामा पैसा पनि पाइन्थ्यो । घरमा छोराहरुलाई दक्षिणा दिने चलन थिएन । छोरीहरुले मात्र पैसा पाउँथे । सुकी, मोहर र एक, दुई रुपैयाँको नोट देखाएर दिदीबहिनीहरु हामीलाई गिज्याउँथे । त्यतिबेला खुब झोँक चलेर आउँथ्यो । मामा धेरै हुने केटाहरु पैसाको धक्कु लगाउँथ्ये । आफ्नो त मामा एक जना मात्र । दक्षिणामा त्यस्तै सुकी, मोहर पाइन्थ्यो । पछि मामाले एक, दुईको नोट दक्षिणा दिन थाले । त्यतिबेला एक, दुई रुपैयाँ पनि निकै ठूलो थियो । दालमोठ चिउरा पेटभरी खान पुग्ने आउँथ्यो । पिप्लामेट खान त केही दिनैलाई पुग्थ्यो ।
त्यतिबेला मेरो घरमा पानासोनिक क्यासेट थियो । टीका थाप्न बा क्यासेट घन्काउँदै सुसुराला निस्कन्थेँ । मामाघर जान पाउँदा म त्यसै मख्ख । बाले काँधमा बोक्ने क्यासेटको गीतको तालसँगै म र बहिनीहरु नाच्दै पछि लाग्थ्यौँ । मलाई सम्झना भएसम्म त्यतिबेला लोकदोहोरी गीतका चलन खासै सुरु भएको थिएन । तारादेवी, कोइलीदेवी, नारायणगोपालहरुको गीत बढी बझ्थे । कि मंगलधुन घन्कन्थ्यो । पछि प्रेमराजा महतहरु लोकदोहोरी गीत लिएर आए । उनीहरुको गीतको तालमा कम्मर मर्काइ–मर्काइ नाच्दै बाको पछि लागेर मावली गएको हिजै जस्तो लाग्दैछ ः
पानको पात
माया तिम्लाई सम्झन्छु दिनको रात
मस्र्याङदी सलल ......................।
प्रकाशित: २७ आश्विन २०७३ १३:१२ बिहीबार